Monday, July 27, 2015

‘कस’बाट ‘खस’ विपुल सिजापति

By :
‘कस’बाट ‘खस’
बेबिलोनको कस्साइटबाट पूर्व हिँडेका कस्साइट्सहरु अफगानिस्तानबाट दक्षिण नलागेर पहाडैपहाड अझ पूर्व उक्लेका थिए । कस्साइटबाट आएकाले कसबाट अपभ्रंश भएर खस हुन पुगे । काश्मिर (खस/कसमिर, खस/कसहरुको मिर, अग्लो स्थान), कुमाउँ, गढवालबाट अझ पूर्व लाग्दै कर्णाली प्रदेशमा आएर बाह्रौं शताब्दीमा राज्य सञ्चालन गरेको देखिन्छ, जसको पूर्वी साँध गण्डकीसम्म थियो ।
खसहरु आर्य भए पनि वैदिक आर्य भने होइनन् । न त यिनीहरू वैदिक आर्यले जस्तो वेदअनुसार वेदी (होम गर्ने स्थान) बनाएर या लिङ्गपुजक नै थिए । लिङ्ग पूजा पनि वैदिक आर्यहरुको होइन, असुर द्रविडहरुले गर्ने लिङ्ग पूजा पछि आत्मसात् गरेका थिए ।
खसहरुको धर्म
खसहरु सबै मष्ट र प्रकृतिपूजक नै थिए । मष्ट पूजा गर्न या मृतक आत्मा जगाउन धामी भएता पनि हिन्दुधर्ममा झैं कुनै जातीय विभाजन थिएन । महामानव बुद्धको सन्देश प्रचारसँगै चल्ल र पछि मल्ल भएकाहरुले बौद्धधर्मलाई अपनाउन थाले । सुर्खेतको काँक्रेबिहार त्यसैको नतिजा हो ।
bipul-sinjapati
लेखक विपुल सिजापति

वि.सं. १३६० मा अल्लउदिन खिल्जिले चितोर लिएको अर्को वर्ष त्यहाँका रायठौरलाई (अहिलेका राठौर) अल्लाउदिन खिल्जिले उठिबास पारेपछि भारतका हरुवा राजारजौटाहरुको नेपाल प्रवेश देखिन्छ । यिनलाई महाराज जसु शाहीले आफ्नो छोरी हारमता दिएर समाचवर भन्ने स्थान दाइजोमा दिए । हारमताकी छोरो देवचन्द्ररले वि.सं. १४८४ मा काठमाडौं लुटेर फकिर्एपछि बाजे जसु शाहीले अछाम बुढी चर्पुकोट राज्य दिएका थिए ।
‘थकुली’बाट ‘थकाली’
जसु शाहीका कान्छा छोरा हंसराज शाही जुम्लाबाट थाकखोला आएर बसे । उनले त्यहीका स्थानीयसँग विवाह गरे । उनलाई ठकुरीको सट्टा ‘थकुली’ भनेर बोलाइन्थ्यो । कालान्तरमा उनैका सन्तान थकाली भए ।
खसहरुमा विचलन, जातपात र हिन्दु धर्म
भारतका रजौटाहरुसँग सम्पर्क बढेपछि खस राजाहरु उनीहरूसँग विवाहसम्बन्धका लागि उत्सुक हुन थाले । तर वैदिक हिन्दु तागाधारी (जनै लगाउने) राजाहरु अहिन्दु र तागा नलगाउने खसहरुसँग विवाहसम्बन्ध गाँस्न तयार भएनन् । यहींबाट उताको ठाकुर, राजपुत जस्तै खस राजाहरु र नातेदारहरुले आफूलाई “ठकुरी“ भन्न थाले र हिन्दुधर्म अपनाएर जनै लगाउन थाले । तर केही खसहरुले भने हिन्दू धर्म र जनै अस्वीकार गरिरहे र आज तिनै खसहरु पावइ खसका रूपमा चिनिन्छन् । हिन्दु धर्म अपनाउनाले जातपातको सूत्रपात स्वतः हुन गयो । यस कार्यमा कन्नौजबाट नेपालभित्र आएका अत्री ऋषिका चारभाइ सन्ततीहरुले अझ सहयोग गरे । तीमध्ये जेठा भाष्कर भट्ट षत्याडा बसे । यिनैका सन्तान पछि षत्याडा (खतिवडा) भएका हुन् ।
तर ढाँटेको कुरा काटे पनि मिल्दैन भनेझैं खसहरुले पुर्खादेखि गरिआएको कतिपय परम्परागत प्रचलनहरु त्याग्न सकेनन् र अझसम्म त्याग्न सकिएको छैन । जमरा, अक्षता, पर सरेको बार्ने, देवाली, मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि कार्यहरू आज पनि नेपालका जनसुकै जातले गरिआएका छन् । ती चाहे हिन्दू मतावलम्बी हुन् या बौद्ध मतावलम्बी, सबै खस हुन् । पश्चिमबाट आएर काठमाडौं जिती राज्य गर्न सुरु गरेका मल्लहरुले आफ्नो साथमा ल्याएका जोशी, राजोपाध्याय जस्ता पुरोहितहरु पनि छ डोरे जनै नै लगाउँछन् र तर खसका प्रचलन भने अझै त्याग्न सकेका छैनन् ।
शाह र रक्तमिश्रण
शाहहरु इस्लाम धर्म मान्नेका सन्तान नभएर मगरहरुका थकाली या राजा हुन् । यिनीहरू पनि खस नै हुन् र पछि मात्र हिन्दुमतावलम्बी भएका हुन् । हिन्दु मतावलम्बी भए पनि शाहहरुले जमरा, अक्षता, पर सरेको बार्ने, देवाली, मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि परम्परागत प्रचलनहरु अझसम्म त्याग्न सकेका छैनन् ।
पृथ्वीनारायण शाहका मावली मगर थिए भने ससुराली मकवानपुरका सेन पनि मगर नै हुन् । रणबहादुर शाहले बालबिधवा ब्राम्हणीसँग विवाह गरेका थिए । यिनैका छोरा गिर्वाणयुद्धबिक्रम हुन् । कुँवरहरु पनि तीन डोरे जनै लगाउने खस नै हुन् । राजा सुरेन्द्रले जंगबहादुरलाई हपार्दै ‘तँ खस भएर हाम्रो युवराज्ञी ताक्ने’ भनेर हपारेका थिए तर त्यतिबेलाका बलशाली जंगबहादुरले राजपरिवारसँग वैवाहिक सम्बन्ध कायम गरेरै छाडे ।
राजा त्रिभुवनले पञ्जावका राजकुमारीसँग विवाह गरेका थिए । धीरशमशेरले १८५७ मा लखनउबाट मुगल कन्या जौहर बानो (जुहार बेगम) लाई ल्याएका थिए । उनै मुगलकन्या जौहर बानोबाट जुद्धशमशेर जन्मिए भने जुद्धशमशेरबाट केन्द्रशमशेर । केन्द्रशमशेर राजा वीरेन्द्रका ससुरा तथा रानी ऐश्वर्यका बुबा हुन् ।
खसहरुमा जात
खसहरुमा धर्मको आधारमा नभएर कर्म, पद र स्थानको आधारमा बोलाइने चलन थियो, पछि यही नै जात हुनगयो ।
khas-masto
खसहरुले पुज्ने मष्टो

क) कार्यका आधारमा बनेका जातहरु
भट्ट – राजपुरोहित वा धर्माधिकारी
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
ख) दर्जा, पदका आधारमा बनेका जातहरु
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
ग) स्थानका आधारमा बनेका जातहरु
धिता – धिताल
पाण्डुसेरा – पाण्डे
सिञ्जा – सिंजापति
चैडिलागाउँ – चौलागाई
प्याकुरी – प्याकुरेल
सिम्खाडा – सिम्खडा
तिमिल्सैन – तिमिल्सिना वा तिम्सिना
घमिरगाउँ – घिमिरे
खसहरुमा जातपातको सूत्रपात
पूर्व खाँट्टि खसहरु मनुस्मृति (जो वास्तवमा मनुले लेखेको नभएर भृगु ऋषिले लेखेका हुन्) का आधारमा कुनै जातमा विभाजित थिएनन् । हरेक व्यक्ति आफूखुसी कर्म गर्न स्वतन्त्र थिए र आपसमा कुनै प्रकारको छुवाछुत पनि थिएन । तर राजारजौटाहरु हिन्दू मतावलम्बी हुनु, भारतका राजारजौटाहरुसँग विवाहसम्बन्ध कायम गर्नु तथा उनीहरूको प्रचलन अपनाउनु र कन्नौजबाट आएका भट्टहरुका कारण खसहरुमा बिस्तारै जातपातको सूत्रपात हुनगयो र यो सँगै पछुवाछुतको प्रथा सुरु भयो । तर यहाँ पनि एकरुपता भने कायम छैन ।
ब्राम्हणहरु आफै उपाध्याय जैशी, कुमाइ आदिमा विभाजित छन् । यिनीहरुमा उच्च कुल र नीच कुल भन्ने सोच कायम छ र एकआपसमा बिहावारी चल्दैन । कसैको मृत्यु भएमा हिन्दुस्तानका हिन्दुहरु नुन बार्दैनन् तर अशौचमा नुन बार्ने कार्य खसहरुले गर्थे, जो अहिले पनि कायम छ ।
शाहकालमा पाँडेहरुले नियम बनाउँदा आफूहरुलाई सिधे नुन (खानीको नुन), पालुङ्गो, मुँगको दाल आदि चल्ने अरूलाई नचल्ने नियम बनाएर अरूलाई भने लोप्पा ख्वाइदिए । राज्यको युवराज घोषित गर्नुपूर्व राजा शस्त्रशिल्पीको आरनमा गएर पूजा गर्दथे, शस्त्रशिल्पीलाई पूजा गरेर तरबार बनाउने अभिभारा दिन्थे र त्यही तरबार युवराज घोषित गर्ने दिन युवराजलाई शस्त्रशिल्पीले दिन्थे । यिनै शस्त्रशिल्पी आज कामी कहलाइएर कसरी अछुत भए ? ताज्जुब लाग्छ ।
कसरी फाल्ने जात ? 
कुनै पनि कुराको बारेमा बुझ्न सबैभन्दा पहिले मूलमा नै पुग्नुपर्छ । मूल खुलेपछि सबैकुरा छर्लङ्ग हुन्छ । त्यसैले मूल हेर्ने हो भने माथि नै लेखिएको आधारमा हामी खस हौं र हामीमा जातपात, छुवाछुतको प्रचलन थिएन । त्यहाँ बनेको तरबार जति नियम बने, पछि बनेका हुन् । गान्धीले भारतमा तल्ला जातिका सबैलाई एकमुष्ठ गरेर हरिजन नामकरण गरे तर त्यसको कुनै उपादेयता भने निस्किएन । उल्टो, नेताहरूको लागि यो राजनीति र भोट सङ्कलन गर्ने अचुक अश्त्र बन्न गयो, जुन नेपालमा पनि देख्न सकिन्छ ।
त्यसैले संविधानमा लिखित रूपमा नै छुवाछुत र जातपातमाथि प्रतिबन्ध लगाइए पनि हाम्रो आजको मानसिकतालाई आधार मान्ने हो भने जातपात र छुवाछुत हट्न अझै कम्तीमा १०० वर्ष लाग्नसक्छ । अनि के १०० वर्षसम्म यही रीतिमा चल्ने ?
२००७ सालपछि नाटककार बालकृष्ण शमशेरले सम लेख्न थाले । भारतका प्रख्यात कवि तथा महान् अभिनेता अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन श्रीवास्तव हुन् र जातले कायस्थ हुन् । आज हरिवंशका छोराहरु बच्चन भएका छन् र नाति-पनातीहरु पनि बच्चन नै लेख्नेछन् । कालान्तरमा उनीहरू सरनेम बच्चन नै हुनेछ ।
नेपालभित्र हामी जहाँ जाऔं, पहिले अनुहार हेरिन्छ, जात खुट्याउन नसके नाक हेरिन्छ र त्यसपछि पनि केही नलागेपछि जात सोधिन्छ । र जब जात उजागर हुन्छ तब हाम्रो घृणित जातपात र छुवाछूतको मानसिकता सक्रिय हुन्छ । आज विश्व एकीकरण भइरहेको बेलामा हाम्रो मानसिकता भने अझै जातमै अड्किएको छ । त्यसैले जातपात र छुवाछुतलाई फाल्ने नै हो भने मेरो विचारमा सबैभन्दा पहिले जात फाल्नुपर्छ । जब जात नै नभएपछि कसले सोध्छ जात ?
(यो मेरो व्यक्तिगत विचार हो । कसैलाई व्यक्तिगत रूपमा चोट पार्ने मेरो उद्देश्य होइन । साथै, इतिहासको जानकार नभएकोले दिइएका तथ्यहरू तलमाथि पनि पर्न सक्छन्, धन्यवाद ।)

हामीलाई बाहुनहरुको भाग्यबादले पौरखसून्य बनायो

 डोरवहादुर बिष्ट

चर्चित समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा अन्तर्वार्ता लिने अवसर मिलेको थियो। मुलुकमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएयता जातीय चिनारीको राजनीतिले पनि विस्तारै गति लिन थालेको थियो। प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको हाम्रो समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए। मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन। जनआस्था साप्ताहिकका निम्ति यो पंक्तिकारले उनको अन्तर्वार्ता लिने मौका पाएको थियो। साथमा थिए, फोटोपत्रकार सन्तोष पोख्रेल।
अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भन्ने तर्क पनि अघि सारे। अखबारले यही भनाइलाई शीर्षक बनाएर छाप्यो। चर्चा झन् चुलियो। प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो।
अहिले फर्केर हेर्दा त्यो अन्तर्वार्तामा उनले व्यक्त गरेका धारणा आफैंमा विस्फोटक छन्। उनले आफ्नो अध्ययनबाट देखेका विषयलाई प्रस्ट शब्दमा राखे। उनले आफ्ना धारणामात्र राखेका होइनन्, कर्णालीको बाह्रबीसमा कर्णाली इन्स्टिच्युट खोलेर बसेको तीन वर्ष पुगिसकेको थियो। उनी उताबाट काठमाडौं आएको मौका पारेर हामी अन्तर्वार्ताका निम्ति उनलाई भेट्न गएका थियौं।
यो पंक्तिकारको सम्झनामा अहिले पनि उनी झल्झली छन्। अन्तर्वार्ता दिएको केही दिनमै बेपत्ता भए वा पारिए। त्यसयता उनको खोजी भइरहेको छ। हामीले उनको घरबाहिरै बसेर लामो कुराकानी गरेका थियौं। हाम्रानिम्ति उनका धारणा अगम्यजस्ता थिए। फेरि उनीसँग बसेर उनलाई सुन्ने हाम्रो अग्रिम वाचाबन्धन पनि थियो। तर, त्यो कहिल्यै पूरा भएन। प्रस्तुत अन्तर्वार्ता सामान्य भाषिक सम्पादनसहित जनआस्था साप्ताहिकबाट साभार गरिएको हो।
© नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ। यसको कारण के होला?
अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वाभाविक हो। नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाई सरेको जाति हो। खस-आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन्। उनीहरूले छिटो हिँड्ने जनावरहरू गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे।
किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता छिटो नहिँड्ने जनावर पाले। किराँत वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्वतिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्यो।
किराँत भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ। त्यसले गर्दा खस(आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे(सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो।
© तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त?
धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु। मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्यो भन्ने अर्थ लगाए। अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो।
तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्यो। नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर विवाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र?
© यथार्थमा ‘बाहुनवाद’ भनेको के हो?
ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ। अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन।
सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं। पौरख नगर्ने हामी कहिले खुसी हौंला तर अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो।
हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो। त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ। ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन। पौरख गर्ने जनता नहुँञ्जेल देशले उन्नति गर्दैन।
© तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ। एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला?
संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन। गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो। केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले। संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन।
कसैकसैले त्यसलाई ‘मृतस् भाषा’ पनि भन्छन् किनभने संस्कृत भाषामा बोल्ने चलन कहीँ पनि छैन। यसभित्र अनन्त ग्रन्थ छन्, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यसबाट शिक्षा लिनुमात्र हो। संस्कृत भाषाकै विकास गर्नु होइन। चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे। अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो ।
© तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नुभएको छ। यसको कारण चाहिँ के हो?
खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन। खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो। आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन। त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ?
अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो। अहिले पूर्वतिर धमाधम जनै लगाएर किराँतीलाई बाहुन बनाउने काम डा। प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ। जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो। तर मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुँदेका छन्। आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होलार ?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौं भन्दै जनै लगाइदिँदा तिनै खस बडा सम्मानित भए। पछि बाँकी खसलाई शुद्र हौं भनिरहे। जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो। पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ।
© तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्नै भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ। अहिले प्रयोग कति सार्थक हुँदैछ?
बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन्। सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे। बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें। भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं। बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो। त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन। त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो पर्यो। ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें। तर पूर्वतिर एउटा सकसकी आइसकेको छ, किराँत वर्गमा। त्यसैले म खसान क्षेत्रतिर गएँ। मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु। जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन। बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ। मेरो उद्देश्य साम्प्रदायिक होइन। खसहरूलाई जनजाति बनाउनु हो।
© अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ। यो विवाद तपाईंलाई कस्तो लाग्यो ?
यो कुनै मुद्दा होइन। पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन्। यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो। अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन्। नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन। नेपाल हिन्दू(अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्यो।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो। यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो।
यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन्। स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन्। यो झगडा गर्ने एउटा निहुँमात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ।
© तपाईं बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ ?
पुरोहितका छोराहरूलाई भन्ने गरेको छु भने- तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन। त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक। पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्रर उडेर स्वर्ग जान्छौं’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ।
साभारः गुणराज लुइँटेल– डोरबहादुरको त्यो अन्तर्वार्ताः अन्नपूर्णपोस्ट्, २०७० माघ ४, शनिबार