Wednesday, September 9, 2015

नाजी त्रासदीका द्रष्टा

पुष्ट, मोटो खालको जिउडाल। बाक्लो अनि घोप्टे जुँघा। दुई ओठबीच च्यापिएको सिगार पाइप। पाइपबाट पुतपुताइरहेको धुँवा। एक झलकमा आउने सिग्नेचर आकृति हो यो उनको। सिर्जनामा भने कवि, उपन्यासकार, निबन्धकार, नाटककार, जीवनीकार धेरै भूमिकामा उनले आफूलाई पजनी गरिसकेका छन्।                                                                               
 चित्रकला त उनको सानैदेखिको लगाव। त्यसैले होला चित्रमय लाग्छन्, उनका कविता। 'लेख्दालेख्दै थाकेको बेला चित्र कोरेर म फ्रेस हुन्छु'- उनको चित्रकलाप्रतिको मोहको साक्षी हो धेरै वर्षअघि पेरिस रिभ्युलाई उनले दिएको यो अन्तर्वातांश। उनका धेरै किताबको कभर डिजाइन उनी आफैंले गरेका छन्। मूर्तिकार (स्कल्प्टर) को रूपमा पनि आफ्नो छाप छाड्न भ्याए उनले।उनी अर्थात्, हालै दिवंगत जर्मन लेखक- गुन्टर ग्रास। सन् १९९९ का नोबेल पुरस्कार विजेता।'ठट्टाझैं लाग्ने उनका निर्मम वर्णनगाथामा विस्मृत बनेको ऐतिहासिक मुहार झल्कन्छ'- नोबेल कमिटीको यो फगत फुर्क्याइँ होइन। जर्मनीको इतिहासमा नमेटिने गरी कालो पोतिएको यो आततायी विगत ग्रासको लेखनमा लगातार आइरह्यो। कारण थियो, उनको निजी अनुभव। दोस्रो विश्वयुद्धमा लडाकुका रूपमा जर्मन सेनामा उनी संलग्न थिए। घाइते ग्रास अमेरिकी सैन्य घेरामा परे। एक वर्ष अमेरिकी युद्धबन्दी बनी सजाय काटेर मात्र मुक्ति पाए उनले। हिटलरको नाजी सरकारलाई गरेको यो सेवा उनको लागि प्रेरणा र पीडा दुवै बनिरह्यो जीवनभर, व्यक्तिगत तथा लेखन दुनियाँमा।लेखन दुनियाँमा कसरी छिर्नुभयो? भन्ने पेरिस रिभ्युको प्रश्नमा उनको जवाफ रोचक सुनिन्छ। 'सानो छँदा म साह्रै झूट बोल्थेँ। तर मेरो फट्याइँलाई मेरी आमाले मन पराउँथिन्। म उनलाई यस्ता अनेकौं किस्सा सुनाउँथे। पछि त यी अद्भूत किस्सा आफैंलाई मन पर्न थाल्यो। मैले सोचेँ— यसलाई किन नलेख्ने? लेख्दै जाँदा उपन्यास पो तयार भयो। तर, १२ वर्षको कच्चा दिमागले तयार पारेको कथा पछि आफैंलाई मन परेन। यद्यपि यिनै सन्दर्भहरू बिस्तारै मेरो पहिलो उपन्यास 'द टिन ड्रम'का आधारस्रोत बने।'अंग्रेजीबाहेक अन्य भाषामा लेख्नेहरू विश्व साहित्यमा विरलै चर्चामा रहन्छन्। कि त नोबेल कमिटीको नजरमा पर्नुपर्योा। प्याटि्रक मोदियानोलाई नै लिऊँ न, यसअघि कतिले चिनेका/पढेका थिए र उनलाई? तर ग्रास नोबेल पुरस्कारको बलबुतामा चिनिएका लेखक होइनन्। नोबेल नजर पर्नु झन्डै चार दशकअघिबाटै चर्चित थिए, उनी। श्रेय जान्छ फेरि उही उपन्यास 'द टिन ड्रम'लाई अनि उनको नाजीकालीन विगतलाई। सन् १९५८ मा प्रकाशित उनको डेब्यु उपन्यास। सारा जर्मनवासीलाई नै प्रतीकात्मक पात्रको रूपमा उभ्याएका छन्, यसमा।के छ त त्यस्तो 'द टिन ड्रम'भित्र?दोश्रो विश्वयुद्धको अवधिमा मध्यमवर्गीय जर्मनवासीहरूको भूमिकालाई निर्मम ढंगले कटाक्ष गरिएको छ, यसमा। यो उनको आफ्नै विगतको प्रायश्चित्त पनि हो। उपन्यासको एक अंश यस्तो छ— एक जना पसले नोभेम्बरको एक मध्याह्न पसल बन्द गरेर सहरतिर लाग्छ, आफ्नो सानो छोरोलाई लिएर। त्यहाँ रहेको यहुदीहरूको सिनगोग (धार्मिक कार्यस्थल) मा आगो सल्किसकेको हुन्छ। आगो नियन्त्रकहरू चुपचाप हेरिबसेका छन्। जलिरहेको सिनगोगबाहिर मानिसहरू केही किताब, अचम्मलाग्दा कपडाहरू र अरू खिचि्रङमिचि्रङ सामान जम्मा गर्दै छन्। एकै छिनमा त्यो थुप्रोमा आगो झोसिन्छ। पसले पनि दन्किरहेको आगोको मुस्लोमा आफ्नो हात सेक्न थाल्छ।पसले तथा आम मानिसको चरम बेवास्तामा उदांगिन्छ जर्मन मानसिकता। चाहे त्यो विगतको बर्बरता होस् या त्यसप्रतिको अहिलेको शून्य संवेदना। बहुचर्चित यस उपन्यासको मूल पात्र छ—ओस्कार। शारीरिक रूपमा ऊ रत्तिभर बढ्दैन, बच्चा नै रहिरहन्छ। त्यसैले कुख्यात आस्उइच कन्सन्ट्रेसन क्याम्पमा अरू जसरी मारिए, ऊ बाँच्न सफल हुन्छ तर अपराधबोधबाट भने मुक्त हुन सक्दैन। किनकि उसकी आमा, काका अनि बाउ समेतको मृत्युमा उसकै हात हुन्छ। ओस्कारको चरित्रलाई सबै जर्मन नागरिकको सामूहिक दोष र अपमानसँग तुलना गर्छन्, ग्रास।हिटलरको कप्तानीमा रचिएको 'होलोकोस्ट' (मूलतः यहुदी समुदायको आम नरसंहार) बारे जर्मन नागरकले औंलो तेर्साएको पहिलोपटक थियो, सायद। त्यसैले त जर्मनलगायत कैयौं देशमा प्रतिबन्धको सिकार बन्यो यो उपन्यास। दुई दशकपछि यही उपन्यासउपर सिनेमा बन्यो। भोल्कर स्क्लोन्द्रोफको निर्देशनमा बनेको यो सिनेमा पछि सन् १९७९ को क्यान्स् फिल्म फेस्टिवलमा सर्वोत्कृष्ट विदेशी भाषाको सिनेमामा दर्ज भयो र यो सँगै ग्रासको प्रसिद्धिको दायरा फैलिँदै गयो। 'द टिन ड्रम'पछिका दुई किताब 'क्याट एन्ड माउस' र 'डग इयर्स'ले उनको टि्रलोजी पूरा गरे। 'क्याट एन्ड माउस' ठूलो रुद्रघन्टी भएको एउटा अधबैंसेको कथा हो, जो अरू मान्छेभन्दा बिल्कुलै अलग देखिन्छ। 'डग इयर्स'ले चाहिँ एकीकरणपछिका तीन दशकको जर्मन इतिहास केलाएको छ। निष्कर्षमा जर्मनले आशातीत प्रगति नगरेको निराशा व्याप्त छ पछिल्लो उपन्यासमा।सामाजिक तथा राजनीतिक सन्दर्भका खरो टिप्पणीकार समेत हुन्, गुन्टर ग्रास। विश्व परिवेशवारे सधैं अपडेट रहे उनी। १९८६ मा भारतको कलकत्ता र बंगलादेशको ढाकामा केही समय बिताएर दक्षिण एसियाको आंशिक भूगोललाई समेत छामे उनले। उनीसँगका साहित्यिक तथा राजनीतिक यी भेट र अन्तरक्रियालाई कलकत्ता र ढाकाका कैयौं लेखकले आ–आफ्ना ढंगले अमर बनाएका छन्। यसैमा युरोपेली सीमाबाट धेरै पर पुगेको छ उनको चिनारी। आफूलाई युद्धविरोधी बताउँथे उनी सधैं। गत मध्य मार्चमा एउटा स्पेनी पत्रिकालाई दिएको अन्तर्वार्तामा पनि उनको यही भाव देखिन्छ— 'जताततै युद्ध मच्चिएको छ। युद्ध उन्मादी हामी पहिलेकै गल्ती दोहोर्यााउँदै छौं। तर गल्ती दोहोरिएकै नस्विकार्दा के लाग्छ भने हामी फेरि विश्वयुद्धतर्फ उन्मुख हुँदै छौं। निद्रामा हिँडेजस्तो गरी चालै नपाई।'जनसंख्या वृद्धि तथा जलवायु परिवर्तनजस्ता जल्दाबल्दा विषयमा पनि उनी लेखिरहन्थे, बोलिरहन्थे। 'डेथ अव उड' उनको चित्रसंग्रह हो। यसमार्फत उनले वातावरणीय विनाशप्रति सचेतना सन्देश बाँडेका छन्।लेखनमा 'जादुमय यथार्थता (म्याजिकल रियालिज्म)' का सूत्रधार मानिन्छन्, मार्खेज तर उनै मार्खेजको लेखनीमा ग्रासको धेरै प्रभाव भेट्छन् अर्का नोबेलधारी लेखक ओह्रान पामुक। पामुक थप्छन्, 'फ्रान्सेली लेखक राबले र सेलिनबाट धेरै सिके ग्रासले। जतिसुकै निर्दयी, भयावह र राजनीतिक कथावस्तु भए पनि त्यसलाई लेखकको मौलिक सिर्जनामा कसरी ढाल्ने उनले राम्ररी सिकाए।'खासमा मेल्भिल, फक्नर, दोस प्यासोसजस्ता भिन्न धारका अमेरिकी लेखकका साह्रै प्रशंसक थिए, यी जर्मन लेखक। अमेरिकी लेखक जोन अप्डाइक ग्रासको लेखनकलाका प्रशंसक नै हुन्। तर ग्रासको हरेक खुद्रामसिना कुरामा टिप्पणी गर्ने प्रवृत्तिको भने आलोचक। 'यसरी ज्यादै उपदेशक बनी हिँड्दा उपन्यासमा लेख्न बाँकीचाहिँ के रहन्छ?' अप्डाइक प्रश्न गर्छन्। जर्मनका प्रसिद्ध समालोचक मार्सेल रेइक रानित्स्की उनका कटु आलोचक मानिन्छन्। ओभररेटिड (अतिरिक्त महŒव दिइएका) लेखक मान्छन् उनी ग्रासलाई। ग्रासलाई रानित्स्की कतिसम्म घृणा गर्थे भने ग्रासको उपन्यास 'टू फार अफिल्ड' (१९९५) लाई च्यातचुत पार्दै गरेको दृश्यमा जर्मनीको प्रसिद्ध म्यागजिन 'दे स्पिगल'को कभर पेजमा देखिए उनी। तर अर्का अमेरिकी लेखक जोन इर्भिङका लागि ग्रास सधैं रहे मानक लेखक र स्पष्ट सामाजिक अभियन्ता।गुन्टर ग्रास जर्मनीको सोसल डेमोक््रयाटिक पार्टीसँग आबद्ध रहे लामो समय। फिडेल कास्ट्रोका अनन्य समर्थक उनी। अमेरिकी नीतिका प्रखर विरोधी। सन् १९८० तिरको निकारागुवाको वामपन्थी सान्दानिस्ता सरकारप्रति उनको सद्भाव रह्यो। बर्लिनको पर्खाल ढलेपछि नब्बेको प्रारम्भमा भएको पूर्वी र पश्चिम जर्मनीबीचको एकीकरणको समेत खुलेर विरोध गरे उनले। ग्रासको लेखन तथा समसामयिक टिप्पणी भने कहिल्यै विवादबाहिर रहेन। पछिसम्म विवादका पर्याय नै बनिरहे ग्रास। लगातार मिडियामा छाइरहे। सन् २००६ मा 'पिलिङ द ओनियन (प्याज कोट्याउँदा)' शीर्षकमा प्रकाशित भयो उनको जीवनी (मेमोइर)। यसैमार्फत उनले आफ्नो नाजीकालीन सैन्य संलग्नता सार्वजनिक गरे। खोट औंल्याइयो उनको नियतमाथि। कतिले त उनको नोबेल पदवी नै फिर्ता गराउनुपर्ने माग गरे। यो स्विकारोक्तिले उनलाई लेखनको नैतिक कठघरामा उभ्यायो। यति लामो मौनता किन? प्रश्नको वर्षा भइरह्यो उनीमाथि। उनले भने किताबकै हरफमार्फत आफ्नो बचाउ गरे, 'म मौन बसेँ, किनभने मजस्तै अरू धेरै जना मौन थिए। यस ऐतिहासिक कलंकलाई सामूहिक अपराध बताएर उम्कने कोसिस गरियो। अझ सांकेतिक रूपमा अरू कोहीलाई दोष थोपरेर आफू निर्दोष बन्ने चेष्टा गरियोे। मलाई भने यो मौनताले थिचिरहेको थियो। यतिका वर्षसम्मको यही मौनताकै कारण यो जीवनी लेख्न सकेँ। आखिर यो सत्य बाहिर आउनु अनिवार्य थियो, यसरी आयो।'सन् २०१२ मा अर्को उथलपुथल भयो उनको 'ह्वाट् मस्ट बी सेड (के भन्नैपर्छ भने)' कविता संग्रह प्रकाशन भएपछि। इजरायली नीतिको कडा निन्दा गरेका छन्, यसमा। इरानमाथि आक्रमण गर्न इजरायललाई सैन्य सहायता दिने जर्मन तथा अन्य देशको घोषणाको प्रखर विरोध गरे उनले। 'म पश्चिमाहरूको दोक्ले प्रवृत्तिदेखि वाक्कदिक्क छु,' विरक्तिभावमा लेखिएको यो कवितामा इरानलाई ध्वस्त पार्न र विश्व शान्ति खलबल्याउन खोजेको भनी इजरायलको खोइरो खने। विश्व राजनीतिमा इजरायलको खलनायकी उजागर गरेपछि अरू विवादित बने उनी। वेन्जामिन नेतान्याहुको इजरायल सरकारले त उनलाई आफ्नो देशमा छिर्नसमेत नदिने निषेधाज्ञा जारी गर्यो ।सधैं विवादको केन्द्रमा रहने उनै ग्रासलाई गत हप्ता जीवनको मोर्चाबाट मृत्युले ग्रास गर्योय। तर पनि वादविवादको डबली त खुल्लै छ जहाँ समीक्षा, गवेषणा अनि चर्चा–परिचर्चा चलिरहनेछ उनका कविता, उपन्यास र अन्य रचनामाथि। कम्तीमा पनि 'द टिन ड्रम'को युद्धविरोधी ध्वनि गुन्जिन छोड्नेछैन- केही दशकसम्म।

पाङ्जे हाकिम

  • जीवनका २२ वर्ष दुर्लभ वन्यजन्तु हिउँचितुवाको अध्ययन, अनुसन्धान र संरक्षणमा बिताएका छन् सोम आलेले ।
- राजकुमार बानियाँ, काठमाडौं
सन् २००४ मा सोमले सगरमाथा क्षेत्रमा खिचेको हिउँचितुवाको फोटो भाइरल भयो । सीएनएनले समाचार दियो– ‘स्नो लियोपार्डस् रिटर्न टु माउन्ट एभरेस्ट फर द फस्र्ट टाइम इन फोर्टी इयर्स ।’
भाद्र १९, २०७२- सगरमाथा क्षेत्रमा हिउँचितुवाको जैविक अस्तित्व छ कि छैन ? ४० वर्ष लामो कौतूहललाई किनारा लगाइदिए, नेपाली जीव वैज्ञानिक सोम आलेले । अमेरिकाको सिकागोस्थित इलिनोइस विश्वविद्यालयको पीएचडी रिसर्चका क्रममा चार हजार मिटर माथिका उच्च हिमाली खर्कहरूमा महिनौँ टेन्ट टाँगेर गरिएको त्यो खोजले अहिले पनि रोमाञ्चित बनाउँछ उनलाई । 
सन् २००४ अक्टोबर २४ मा सोमले सगरमाथा क्षेत्रमा खिचेको हिउँचितुवाको फोटो भाइरल भयो । सीएनएनले प्रमुखता साथ समाचार दियो– ‘स्नो लियोपार्डस् रिटर्न टु माउन्ट एभरेस्ट फर द फस्र्ट टाइम इन फोर्टी इयर्स ।’ न्युयोर्क टाइम्स, नेचर डटकमलगायत ६० मिडियामा एक महिनासम्म छाए सोम ।
जीवनका २२ वर्ष दुर्लभ वन्यजन्तु हिउँचितुवाको अध्ययन, अनुसन्धान र संरक्षणमा बिताएका सोम त्यसलाई आफ्नो करिअरकै ‘टर्निङ प्वाइन्ट’ मान्छन् । अलेक्जेन्डर फ्लेमिङलगायत जीव वैज्ञानिकले खुम्बु क्षेत्रमा सन् १९६० को दशकमै लोप भइसकेको बताएको हिउँचितुवाको सगरमाथा राष्ट्रिय निकुञ्ज, स्थानीयले वास्ता गरेका थिएनन् । कतिसम्म भने उनलाई त्यहाँ पठाउने प्रल्हाद योञ्जन र चन्द्र गुरुङले समेत पत्याएका थिएनन् ।
त्यसो त पाइतालाका डोब र खोस्रिएका आधारमा सोमलाई लागिसकेको थियो– यहाँ पक्कै हिउँचितुवा छ । ‘त्यो दिन बिहान फोर्चेदेखि तल डाँफे, मुनाल एक्कासि आत्तिएर कराए,’ उनी सुनाउँछन्, ‘लौ हिउँचितुवा आयो भनेर मैले चार सय एमएमको क्यामरा सोझ्याइहालें ।’
नभन्दै भेटियो, शेर्पा भाषामा सावाँ या सेमु भनिने हिउँचितुवा । ‘साइन’लाई साइन्सले मात्र पत्याउँथ्यो, फोटोलाई दुनियाँले पत्यायो । सन् १९६० ताका निकुञ्ज बनिसकेको थिएन । मुख्य आहारा झारल मासिएपछि तिब्बततिर लागेको रैथाने हिउँचितुवा निकुञ्ज बनेपछि नाङपाला पास गरेर फर्किएको कतिपयको अनुमान छ ।
‘समुदायमा आधारित संरक्षणमा लागेको यतिका वर्षपछि मैले पहिलोपटक हिउँचितुवा देखेको थिएँ,’ उनी भन्छन्, ‘संसारका संरक्षणकर्मीहरूका लागि यो ज्यादै ठूलो खबर थियो भने मेरानिम्ति नेपाल आउने बाटो ।’
उनी अझै सम्झिन्छन्, आफ्नो टोलीका कमल थापा र लालु गुरुङलाई । तीन सदस्यीय टोली लुक्ला पुगेपछि १५ सदस्यीय बनेको थियो । ‘सीता एयरको जहाज लुक्ला अवतरण हुने बेला एयरहोस्टेजले अनौठो हाउभाउ देखाइन् । जहाजको बडी धावनमार्गमा गएर ड्याम्म ठोक्कियो, जहाज दुईपटक जम्प हानेर रोकियो, पछाडिको भागमा आगो लागिसकेछ,’ उनी सुनाउँछन्, ‘प्रहरीले झ्यालको सिसा फोडेर हामीलाई निकाले । पछिल्तिरको पाङ्ग्रा ननिस्किएर जहाज फोर्स ल्यान्डिङ भएको रहेछ ।’ त्यो पुनर्जन्म हिउँचितुवाकै निम्ति थियो भन्ने उनलाई लाग्छ ।
स्नो लियोपार्ड कन्जरभेन्सी (एसएलसी)का क्षेत्रीय संरक्षण निर्देशकसमेत रहेका सोम आफूलाई त्यस्तो ख्याति दिलाउने खुम्बु क्षेत्रमा बर्सेनि पुगेकै हुन्छन् ।
सेतो जिउमा कालो थोप्ला हुने हिउँचितुवा नेपालसहित भारत, चीन, पाकिस्तान, मंगोलिया आदि १२ मुलुकमा पाइन्छन् । नेपालमा तीन हजारदेखि ५ हजार ४ सय मिटरसम्म ताप्लेजुङदेखि दार्चुलासम्म चार सय हाराहारीमा हिउँचितुवा रहेको सरकारी अनुमान छ ।
हिउँचितुवा हिउँमा बस्ने वन्यजन्तु भने होइन । हिउँमा के खाएर बसोस् ? सोमको भनाइमा ट्रीलाइन (वृक्षरेखा) भन्दा माथि र स्नोलाइन (हिमरेखा) भन्दा तल यसको वासस्थान हो । यसलाई अल्पाइन इकोसिस्टमको सूचक प्रजाति मानिएको छ । हिउँचितुवाको पर्याप्त संख्याले स्वस्थ अल्पाइन इकोसिस्टम जनाउँछ । त्यसको अर्थ हिउँचितुवाको आहारा र घाँसे मैदान पर्याप्त हुनु हो ।
हिउँचितुवाको खाद्य जालो पिरामिड आकारमा हुन्छ । घाँंसे मैदान सबभन्दा तल । शाकाहारीहरू मध्यमा । त्यसमाथि मांसाहारीहरू । त्यसमाथि सिनो खाने एस्काभेन्जर । घाँसे मैदान, नाउर, घोरल अनि हिउँचितुवाको सन्तुलन नभए इकोसिस्टम नै खल्बलिन्छ ।
तनहुँको वरभन्ज्याङमा जन्मिएका ४७ वर्षीय सोमका पिता ब्रिटिस लाहुरे रहेछन् । एक्लो छोरा हुनुको लाभ पक्लिहवाको ब्रिटिस क्याम्पमा रहेको स्कुलमा पढ्न पाए । उनले एसएलसी दिएकै साल पक्लिहवा क्याम्प पोखरामा गाभियो । खासमा सोम डाक्टर बन्न चाहन्थे । अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि चिकित्साशास्त्र अध्ययन संस्थानमा ‘ट्राई’ पनि मारेका हुन् तर नामै निस्किएन ।
त्रिभुवन विश्वविद्यालयबाट सन् १९९१ मा जुलोजीमा एमएस्सी गर्दा उनले थेसिसका लागि फिल्ड ताके मनाङ । ‘हुन त बाग्मतीको पानीको प्रदूषणबारे गरे पनि हुन्थ्यो,’ उनी भन्छन्, ‘तर झारा टार्न मन नलागेर नयाँ लोकेसन छनोट गरें ।’थेसिस थियो– घाँसे मैदानमा चरनको प्रभाव । त्यही बेला हिउँचितुवा (स्थानीय भाषामा पाङ्जे) बारे थाहा पाए उनले ।
पाङ्जेले घोडा, याक, भेँडाबाख्रा, गाई आदि घरपालुवा जनावर खाइदिएर गाउँलेलाई सताउँथ्यो । स्थानीयले विष राखेर पाङ्जेलाई मारिदिन्थे । गाउँले र पाङ्जेबीचको द्वन्द्वका कारण राष्ट्रिय (त्यतिबेला श्री ५ महेन्द्र) प्रकृति संरक्षण कोषका सदस्यसचिव चन्द्रप्रसाद गुरुङले उनलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को मनाङस्थित कार्यालयको पहिलो संरक्षण अधिकृत बनाएर पठाए ।
उनले हिउँचितुवा जोगाउनुपर्छ भन्दा धन्न जाइलागेनन् । ‘पाङ्जेले नोक्सान गरिदिनेबित्तिकै छ्याङले मातेका गाउँले रिसाउँदै सीधै एक्यापको अफिसमा आउँथे पैसा चाहियो भनेर,’ उनी सम्झिन्छन्, ‘मैले कहाँबाट ल्याएर दिने पैसा ? अफिसले क्षतिपूर्ति शीर्षकमा बजेट छु्ट्याएको थिएन ।’
अरू सरकारी कर्मचारी मानमनितो खोज्थे । सोम भने जम्काभेट हुनासाथ बुबाआमा, दिदीबहिनी, दाजुभाइ आदि साइनो जोडिहाल्थे । कतै मान्छे मरे लास बोक्न जाने, बिहेमा जन्ती पनि गइदिने । अझ उनले स्थानीय तेन्जिङ गुरुङसँग मीत पनि लगाए । मितेरी गाउँ भनेपछि संरक्षणमा अलिकति सजिलो भयो । एक्यापका कर्मचारीले गाउँलेको सहयोग पनि पाए ।
यसरी समुदायमा आधारित संरक्षणको अवधारणा ल्याएका थिए चन्द्र गुरुङ, मिग्मा नोर्ब‘ शेर्पा र ब्रट कोबनले । मनाङको समुदाय केन्द्रित हिउँचितुवा संरक्षण संसारकै सफल मोडल मानिन्छ ।
बिस्तारै सोमले निस्याङ र नारफु भ्यालीमा सातवटा हिउँचितुवा संरक्षण समिति गठन गरी अक्षयकोष राख्ने व्यवस्था मिलाए । त्यसकै ब्याजबाट पशुधनको क्षतिपूर्ति दिन थालियो । गाउँलेले उनलाई ‘पाङ्जे हाकिम’ भन्न थाले । अहिले पनि उनको परिचय त्यही छ । सोम आले भनेर चिन्ने कमै छन् ।
सोमलाई मनाङ पठाउनुुको पनि पृष्ठभूमि रहेछ । सन् १९९१ तिर जापानी टोली हिउँचितुवाको वृत्तचित्र बनाउन भनेर मनाङको डाँडामा क्याम्प बनाएर महिनौँ बस्यो । हिउँचितुवालाई पल्काउन बाख्रा राखिदियो । सामान्यत दिउँसो सिकार गर्ने हिउँचितुवा झलमल्ल बत्ती बालिदिएपछि राति पनि आउन थाल्यो । आफैं सिकार खोज्ने हिउँचितुवाको बानी बिगारिदिएको भनेर समुदाय रिसायो । पाङ्जे सकिने हल्ला पनि चल्यो ।
मनाङमा काम गर्दागर्दै सोम नर्वे गए र युनिभर्सिटी अफ ट्रोम्सोबाट इकोलोजीमा एमएस्सी गरे । मनाङको चारवर्षे अनुभव लिएर कास्कीको घान्द्रुकमा खटिए । त्यतिबेला नेपालमा भर्खर कार्यालय खोलेको विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)ले बोलाएको थियो उनलाई । तर उनले घान्द्रुकको माया मार्न सकेनन् । संरक्षण शिक्षा अभियानका निम्ति सोमले टीभी, डेक, क्यासेटसहित घुम्ती संरक्षण शिविर चलाए । घरदैलो गरे । सडक नाटक देखाए । रातभरि नाचगान गरेपछि आमा समूहले पैसा माग्थे । उनी बुंगो भएर फर्किन्थे ।
जागिर खाएर अरूले पैसा कमाउँछन्, उनलाई ऋण लाग्यो । अमेरिका जाँदासम्म ऋण तीन लाख पुगेछ । ‘अरूले पैसा जोगाए, अनुभव कमाएनन्,’ उनका अर्का सहकर्मी रोशन शेरचन भन्छन्, ‘उनले अनुभव कमाए, पैसा जोगाएनन् ।’ उनी सोमलाई उदात्त, ठट्यौला र सबैलाई एकैनास व्यवहार गर्न सक्ने व्यक्तिका रूपमा लिन्छन् ।
घुम्ती शिविरको रसरंगका कारण सोमलाई ठिटीहरूले उत्तिकै पछ्याउँथे । कहिलेकाहीँ संरक्षण शिविर सकेर अर्को गाउँ जान लाग्दा उनीहरूलाई फर्काउनै मुस्किल पथ्र्योे । उनी घान्द्रुकमा एक्याप प्रमुख हुँदा तीनवटा लघु जलविद्युत् बन्यो । लघु जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जामा एक्याप अग्रणी संस्था हो । ‘संरक्षणका निम्ति मैले के गरें ? एकोहोरो कति भनिरहने ?’ उनी भन्छन्, ‘मैले गाउँलेलाई सिकाएको होइन, सिकेको मात्र हुँ ।’
सोम सन् २००२ मा अमेरिका गए बायोलोजिकल साइन्समा पीएचडी गर्न । क्यानडाको लेक हेड युनिभर्सिटीबाट पोस्ट डक्टरेट गरेपछि उनी इलिनोइस, मिचिगन र इन्डियाना विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । ‘पढ्न जाँदा मैले जागिर छाड्नुपर्‍यो, जागिर नभएकाले फर्कन सकिनँ,’ उनी भन्छन्, ‘मैले आठ वर्ष एक्यापलाई दिएँ । अमेरिका गएर हरायो भन्न पाइन्न ।’
पछिल्लो समय हिउँचितुवाको साइन सर्भे, क्यामरा ट्रयापिङ, डीएनए टेस्ट, रेडियो कलरलगायत कम्प्लेक्स मोडलिङको सुरुवात भइसकेको छ । ‘यसको संरक्षण र वैज्ञानिक अध्ययन अझै गहन हुनु आवश्यक छ,’ सोम भन्छन्, ‘अझ धेरै गर्न बाँकी छ ।’
पत्नी र छोराछोरीसहित अमेरिकाको सिकागोमा बस्ने सोम आले फर्फेक्ट फिल्डम्यान लाग्छन् । ब्याकप्याक र क्यामरासहित जुत्ताको फित्ता कसेर हिमाली भेगमा नहिँडेसम्म उनको धित मर्दैन । गाउँमा पुग्दा आमा समूह स्वागतम् भन्दै खादा ओढाउँछन्, छ्याङको सगुन टक्र्याउँछन् ।
यी फिल्ड इकोलोजिस्ट स्नो लियोपार्ड नेटवर्क सियाटलको संस्थापकका साथै ग्रान्ट रिभ्यू कमिटी युएसका सदस्य पनि हुन् ।
सोम आलेका रोलमोडल भने विख्यात प्राणीशास्त्री एवं लेखक जर्ज स्यालर हुन् । सन् १९७३ मा स्यालरले डोल्पा गएर हिउँचितुवाका बारेमा पहिलोचोटि अध्ययन गरेका थिए । नेसनल जोग्राफिक लाइफटाइम अवार्डप्राप्त स्यालरका द माउन्टेन गुरिल्ला, स्टोन अफ साइलेन्स, द लास्ट पान्डा, गोल्डेन स्याडो आदि पुस्तक चर्चित छन् । स्यालरसँग डोल्पा घुमेर पिटर म्याथिएसनले सन् १९७८ मा क्लासिक पुस्तक लेखे, ‘द स्नो लियोपार्ड ।’ पुस्तकमा अध्यात्म, शान्ति, ध्यान, पीडा, दु:ख, बुद्धिजम र शून्यका साथै मायावी हिउँचितुवालाई खोजिएको छ ।
‘माउन्टेन मोनार्क’ किताब पढिरहेका बेला स्यालरलाई एकपटक घान्द्रुकमै भेटेछन् सोमले । स्यालरले भनेछन्, ‘द्याट्स माई बुक । आई एम जर्ज स्यालर ।’ उनलाई थकथक लाग्छ, त्यस्तो मान्छे भेट्दा पनि मैले किन सम्बन्ध अगाडि बढाउन सकिनँ ? डिनरमा किन बोलाइनँ ? कसैले सोमलाई सुनाएको रहेछ– नेपालीलाई हेला गर्छन् स्यालर । कतै त्यसैले त होइन ?