Monday, November 30, 2015

सन्दर्भः सामान्य सापेक्षतावादको १०० वर्ष

By :

 

विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार

By : एस.जी. सरदेसाई (अनुवाद : निनु चापागाईं
सन् १९८२ मा ‘माक्र्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् ।


गत पन्ध्र सय वर्ष वा त्यसभन्दा अघिदेखि गीता (छोटकरीमा) ले हिन्दुहरूको सामाजिक, धार्मिक र नैतिक जीवनमा यसभन्दा धेरै पुराना तथा ‘प्रकटित’ वेदहरूको भन्दा पनि महत्तर प्रभाव र आधिकारिता प्राप्त गरेको छ । यस अतिरिक्त यसका स्वघोषित पक्षपाती एवम् रक्षकहरूले असङ्ख्य तथा परस्परविरोधी व्याख्याहरू प्रस्तुत गरेका छन् ।
यस्तो किन र कसरी हुन सक्यो ? विभिन्न समय र परिस्थितिहरूका मानिसहरूलाई विविध तथा एक अर्काका विरोधी व्याख्याहरूका लागि आधार प्रदान गर्ने यस काव्यात्मक, धार्मिक कृतिका के त्यस्ता सकारात्मक तथा नकारात्मक आयामहरू छन् ? कि व्याख्याहरू खास सामाजिक तथा विचारधारात्मक रूपरेखामा सीमित छन् कि कुनै पनि खालका र सबै किसिमका अर्थहरू निकाल्न गीतालाई जेजसरी पनि तन्काउन सकिन्छ ?
 
अन्तर्विरोधी कृति
उदाहरणका लागि हाम्रो स्वतन्त्रताआन्दोलनको अवधिमा अधिकांश हाम्रा देशभक्त (हिन्दु) नेताहरूले आफ्नो राष्ट्रिय अस्मिताको पुनराविष्कारका लागि तथा जनताको आत्मसम्मान, आत्मविश्वास, त्याग र बलिदानको भावनालाई बढाउनका लागि गीताबाट अभिप्रेरणा लिएका थिए । उनीहरूले गीतालाई साम्राज्यवादको विरोधको पक्षमा उपयोग गरेका थिए । यसका विपरीत, स्वतन्त्रतापछिको अवधिमा त्यही गीतालाई ठुलो परिणाममा उल्टो दिशामा प्रयोग गरिएको छ । बढ्दो मात्रामा यो सम्पूर्ण प्रगतिशील र आमूल परिवर्तनकारी शक्तिहरूसित लड्नका लागि जनतामा अन्धविश्वासी, रहस्यवादी, भाग्यवादी विचारहरू भर्न र जनताको मनमा अझ साम्प्रदायिक विषसमेत प्रवेश गराउन भारतीय प्रतिक्रियाको अति महत्त्वपूर्ण विचारधारात्मक हतियार बनेको छ । किन ?
आद्य शङ्कराचार्यले गीतामा ‘आध्यात्मिक’ ज्ञान तथा आत्मोत्सर्ग (ज्ञान तथा सन्यास)को सन्देश देखे । चैतन्य ज्ञानेश्वर तथा विख्यात सन्त कविहरूको दृष्टिमा गीताको अर्थ भक्ति हो, ईश्वरप्रति प्रेम र निष्ठामा डुबेको निरपेक्ष आत्मसमर्पण हो । लोकमान्य तिलक यसले कर्म योग, फलको अलिकति पनि आकाङ्क्षा नराखी गरिने कामलाई व्यक्त गर्दछ भन्दछन् । वास्तवमा तिलकका दृष्टिमा गीताले सत्यम् प्रतिसत्यम्को समेत शिक्षा दिन्थ्यो । यसको अर्थ जस्तालाई त्यस्तै गरी बदला लिनु हो । यसका विपरीत महात्मा गान्धीका दृष्टिमा गीताले हिंसाको विचारबाट प्रदूषित नभएको सत्यलाई सूचित गर्दछ, यसमा खराबीको प्रतिरोध मिसिएको हुन्छ ।
स्वैरकल्पनाजस्तो लागे तापनि ब्रिटिस शासकहरूसमेत आफ्नै शैलीमा गीताका पक्षपाती थिए । उनीहरूको के विश्वास थियो भने भारतीयहरू अति ‘आध्यात्मिक’ तथा परलोकवादी छन्, उनीहरू कुनै भौतिक फलका लागि लालायित छैनन् यसको अर्थ राजनीतिक सत्ताका लागि योग्य छैनन् । गीताले उनीहरूलाई यस्तो बनाएको भन्ने उनीहरूको विश्वास थियो ।
त्यति मात्रै कहाँ  हो र ? गोल्वाल्करले गीताबाट मुस्लिमहरू यस देशका लागि बिराना हुन् र हरेक केही महिनामा तिनलाई विधिवैधानिक रूपले नै मारिनुपर्दछ भन्ने ‘शिक्षा पाए’ । ..जीवित शङ्कराचार्यले पुनामा केही वर्ष अघि के घोषणा गरे भने महिलाहरू र शुद्रहरू घृणायोग्य छन्, किनभने गीताका अनुसार ती ‘पापका सन्तान’ (पाप योनि) हुन् । यो सबभन्दा माथि रजनीश र कृष्ण चेतना समाजले गीताका दिव्य गीतमा ‘उन्मुक्तता’ र ‘मुक्त प्रेम’ समेत फेला पारे !
 कस्तो भद्रगोल  ? कुन सही हो र कुन गलत हो कसरी छुट्ट्याउने ? गीताको सम्मान गर्न सम्भवतः तयार हुने, तर यसको छ्यासमिसेपनको अर्थ निकाल्न नसकिने ‘अबोध्य ज्ञान’का सामु आफ्नो बौद्धिकतालाई बन्धक राख्न नचाहने तार्किक व्यक्तित्व कस्तो होला ?
 
मुख्य उत्तरदायित्व
यो सब अन्यौलका लागि गीता स्वयम्को सारसङ्ग्रहवादी, अस्थिर र आत्म अन्तर्विरोधी स्थिति जिम्मेवार छ ।
यसको उत्तरदायित्व चौतर्फी रूपले महान् ‘भगवान्’ श्रीकृष्णको काँधमा रहेको छ । उनले नै आत्माको अमरत्वको कारणले मृत्युको अयथार्थलाई दार्शनिक रूप दिएर र खराब तथा असलभन्दा माथि उठेर जीवन बिताउने ‘पूर्ण’ मानिस (स्थितप्रज्ञ) लाई गौरवान्वित गरेर आफ्ना बन्धुबान्धबहरूलाई माया गर्ने बिचरा अर्जुनलाई अलिकति पनि संशय नगरी हत्या गर्न बाध्य पारे । वास्तवमा, श्रीकृष्णका सम्पूर्ण गहन प्रवचन सुनेर पनि अर्जुन एक पाइला डेग नचलेपछि उनले अर्जुनलाई विश्वरूप दर्शनबाट आतड्कित बनाए । अर्थात् श्रीकृष्णले आफ्नो मुख बाएर उनलाई तर्साउने काम गरे, अर्जुनले श्रीकृष्णको चाहना र आदेशमा सञ्चालित भैरहेको विश्वब्रह्माण्ड त्यसभित्र देखे ! त्यसपछि मात्र अर्जुन भयावह अपराध गर्न तम्सिए ।
यसको उत्तरदायित्व श्रीकृष्णमा नै छ । उनले गुणहीन तथा रूपहीन (निर्गुण, निराकार) यथार्थलाई एकातिर परम शक्ति हो भनेर जोड दिँदादिँदै पनि अर्कातिर रगत र मासुले बनेका मानव तथा सारथि उनी आफैंलाई सर्वोच्च ईश्वर भनेर र अर्जुनले प्रश्नहीन आज्ञा उनकै मात्र मान्ने हो भन्ने दाबीसमेत गरे ।
यसको उत्तरदायित्व श्रीकृष्णको काँधमा किन छ भने उनले एकातिर फलको आशा नगरी काम गर्नुपर्छ भन्ने ठुलठुला भाषण एकातिर छाँटे (ii, 37) ! भने अर्कातिर अर्जुनलाई युद्धमा मरिहाल्यौ भने स्वर्ग (दिव्य अप्सराहरूको सङ्गत र सुराको बटुको त पक्का नै हुने भयो) मा जानेछौ र युद्ध जित्यौ भने साम्राज्य पाउनेछौ भनेर प्रलोभन दिए (ii, 37) ।
अनि यो सबमा हाँसउठ्दो कुरो के छ भने अन्ततिर (xi, 33) श्रीकृष्ण अर्जुनलाई के समेत भनेर विश्वास दिलाउँछन् भने उनले नै समग्र शत्रु सेनालाई मारिसकेका थिए र अर्जुन त तिनको नभई नहुने विपत्तिको प्रत्यक्ष कारण मात्र बन्न पुगेका हुन् ! क्या महान् ईश्वर जसले थर्थरी कामेर संत्रस्त भएका अर्जुनमा शौर्य भर्दछ र कस्तो ठुलो योद्धा जो समाप्त भैसकेको शत्रुमाथि आक्रमण गर्दछ !
गीतामा यस्ता सयौं प्रस्टसित देखिने असङ्गति र हास्यास्पद स्थितिहरूसमेत भेट्टाउन सकिन्छ । तर हामी त्यस्ता दृष्टान्तहरूबाट पाठकलाई जोगाउन चाहन्छौं ।
यो सब कुरा छाडौं । हामी यस रहस्यको समाधानको नजिक पनि पुगेका छैनौं । र कुरो के भने यस्ता अस्थिर र अहम्वादी कुराहरूको सङ्ग्रहले हाम्रो इतिहासमा कसरी त्यति धेरै जनतालाई मानवताको माया गर्न र तल्लो वर्ग र पछि परेकाहरूको उन्नति गर्नका लागि उत्प्रेरणा दियो होला ? कसरी यसले उनीहरूलाई आफ्नो जीवनको लक्ष्यलाई दृढताका साथ पछ्याउने विश्वास दियो होला ? आफ्नो हातमा गीता बोकेर हाम्रा प्रारम्भकालका क्रान्तिकारीहरूले फाँसीमा चढ्ने साहस गरे होलान् ? यस्ता श्लोकहरूले कसरी करोडौं भारतीयहरूको मनलाई त्यसो गर्न शताब्दी अघिदेखि अहिलेसम्म पनि मन्त्रमुग्ध पारेको होला ?
यस रहस्यको समाधान अमूर्त तर्क वा रौंचिरा पार्ने उपदेशका राशिहरूले गर्न सक्तैनन् । गीता जन्मिएको ऐतिहासिक परिस्थिति र यसले हासिल गर्न खोजेको ऐतिहासिक लक्ष्यहरूको दृष्टिबिन्दुबाट यसलाई हेरेको खण्डमा मात्र हामी यस रहस्यलाई फुकाउन सक्नेछौं । त्यसो गरेको खण्डमा मात्र हामीले यसका असङ्गतिहरूलाई यसमा रातो धागोजस्तै प्रस्ट रहेको सङ्गतिको अनुसेवी अंशहरू हुन् भनेर बुझ्न सक्नेछौं ।
 
उपनिषद्हरू
लगभग इस्वी युगको प्रारम्भ र इस्वी सम्बत् २५० को अवधिभित्र कुनै बेला गीता सङ्ग्रहित भएको हुनुपर्दछ । यसलाई जान्ने हो भने उपनिषद्कालसम्म पुग्नुपर्ने हुन्छ र गीता जन्मिएको समयसम्मको उत्तरवर्ती ऐतिहासिक विकासलाई उल्लेख गर्नुपर्ने हुन्छ ।
उपनिषद्कालमा द्वन्द्वका रूपमा वर्गसङ्घर्ष एकातिर शुद्र तथा उल्लेख्य मात्रामा वैश्य र अर्कातिर ब्राह्मण तथा क्षत्रियहरूका बीचमा अति तीब्र बन्न पुगेको थियो । शुद्रहरूका साथै ती भन्दा तलका (चाण्डाल आदिको) को ‘नागरिक’ अवस्था अत्यन्त त्रासदायक थियो । उनीहरू मानव प्राणी होइन आफ्ना मालिकको इच्छाअनुसार मार्न र कुट्न सकिने मात्र दुइखुट्टे जनावर थिए । शुद्रजस्तै उत्पीडित र शोषित नभए तापनि वैश्यहरू पनि माथिल्ला दुइ वर्णहरूबाट पूर्णतया तिरस्कृत थिए ।
त्यस अवधिमा जनजातीय मुखिया तथा राजाहरूको र खासखास ठाउँमा अल्पसङ्ख्यक जनजातीय गणतन्त्रको उदयसमेत भएको थियो । यसको अर्थ समतावादी जनजातीय प्रथा एवम् परम्पराको उपेक्षा थियो, यद्यपि अति मन्द आर्थिक विकासका कारणले तिनको उन्मूलन भने भैसकेको थिएन ।
यही सामाजिक–धार्मिक जीवनको परिप्रेक्ष्यमा उपनिषद्हरूको विकास भएको थियो र ती आत्मा, ब्रह्मा, कर्म, पुनर्जन्म, र मोक्षका सिद्धान्तहरूसित अन्तर्सम्बन्धित थिए । विचारहरूको यस समग्र प्रणाली वा व्यवस्थाको एकदमै ठूलो वर्ग चरित्र थियो ।
वास्तविक जीवनमा यसको अर्थ के थियो भने ब्राह्मण तथा क्षत्रियहरू यस धरती र स्वर्गका मालिक थिए । किनभने आफ्नो अघिल्लो जन्ममा उनीहरूले पुण्यका कर्म गरेका थिए भने शुद्र र वैश्यले आफ्नो अघिल्लो जन्ममा पापहरू गरेका कारणले आफुभन्दा माथिका ब्राह्मण र क्षत्रियका लागि पसीना बगाउनु र श्रम गर्नुपर्ने हुन्थ्यो ।
जीवनपछि मुक्ति पाउनका लागि उपनिषद्हरूले वकालत गरेको बाटो ज्ञान मार्ग थियो । यसको अर्थ व्यक्ति आत्मा (आत्मा) र ब्रह्माण्डीय आत्मा (ब्रह्मा)को एकता हासिल गर्न वेदहरू तथा गहन ध्यान (बढी महत्त्व तपस्वी जीवनसित संयोजित) को एकाधिकार थियो । यो बाटो नितान्त ब्राह्मण तथा क्षत्रियहरूका लागि आरक्षण गरिएको कारणले यथार्थमा भन्नु पर्दा उपनिषद्हरूमा सम्पूर्ण शुद्र र वैश्यहरूका लागि मुक्तिको मार्ग छैन । उनीहरूको मार्ग भनेको अर्काे जन्ममा वर्णको भ¥याङ्मा माथि उक्लने आशा राखेर काम गर्नु र मर्नु मात्र हो ।
ऋग्वैदिक–उपनिषद्कालका शासक वर्णहरू क्रूर रूपले हृदयहीन तथा दयाहीन थिए । युद्ध, लुटपाट तथा हिंसा नै तिनको सिद्धान्त थियो । प्रेम, सहानुभूति र दयाका लागि ऋग् वेद वा उपनिषद्मा कुनै स्थान छैन । तमुरलेन ऋग्वेदिक ईश्वरहरूको सर्वाधिक शक्तिशाली ईश्वर ‘शत्रु’ शिविरमा आगो र तरबार बर्साउने इन्द्रको अति राम्रो चेला हुन सक्थ्यो।
 
मगधकाल 
मगध सभ्यता क्रमशः गङ्गा उपत्यकामा अघि बढ्दै मगध (दक्षिण बिहार) मा लगभग ७०० इशा पूर्वदेखि ५०० इशा पूर्वमा आइपुग्यो । त्यहाँ  यसले अपरिष्कृत फलामको धातु यति धेरै मात्रामा आविष्कार ग¥यो कि त्यो उपनिषद्कालको अन्तमा अकल्पनीय तथा सोच्नै नसकिने थियो । वास्तवमा उपनिषद्काल र मगधकालको विभाजनरेखा नै ठुलो मात्रामा फलामको आविष्कार गर्नु तथा त्यसलाई गाल्ने र पिट्ने गरेर ज्यावलहरू, सरसामानहरू र हातहतियारहरू असङ्ख्य मात्रामा बनाउनु थियो । म त अझ कतिसम्म भन्न चाहन्छु भने यो भारतको प्राचीन तथा मध्ययुगीन लामो इतिहासमा महान् विभाजन हो ।
यस लेखको विषयवस्तु धर्म एवम् धार्मिक संस्थाहरू भए तापनि सङ्क्षिप्तमा अति ठुलो मात्रामा मगधकालमा भएको फलामको भण्डारणको परिणामस्वरूप त्यसले सामाजिक जीवनको हरेक क्षेत्रमा पारेको विशालतम परिवर्तनको व्याख्या गर्नु आवश्यक हुन्छ । यसका साथै पूर्वपुँजीवादी समाजहरूको तर्काधार तथा बन्धनकारी विचारधारात्मक शक्ति बनेका धार्मिक सिद्धान्तहरू एवम् संस्थाहरू स्वयम् पनि समग्र सामाजिक–आर्थिक विकासका उत्पाद हुन् । यस्तो विकास एवम् विकासको सन्दर्भको अभावमा तिनको वास्तविक अर्थ र महत्त्वलाई बुझ्नै सकिन्न । धर्मको निरूपणलाई त्यसको निरूपणमा मात्र सीमित गर्न सकिन्न । धर्मको प्राचीन भारतीय परिभाषा धारयति इति धर्मः निकै अर्थपूर्ण छ । यसको अर्थ हो ‘धर्मले (समाजलाई) सहारा दिन्छ, सबलाई मिलाएर राख्तछ’ ।
 
फलामको अर्थ बन्चराहरू, कोदालाहरू, फालीहरू, किलाकाँटीहरू, रथको चक्काको बाहिरी किनाराहरू, ज्याबलहरू, हस्तकलाका नयाँ उपकरणहरू, तरबारहरू आदि आदि हो । केही आधारभूत रासायनिक प्रक्रियाहरूको विकास हुनैपर्दथ्यो । उदाहरणका लागि छाला र छालाका उत्पादहरूलाई राम्ररी पक्का बनाउने काम अनिवार्य नै थियो । आरनले फलामको उत्पादनलाई विकसित ग¥यो ।
बन–जङ्गलहरू साफ गरियो । कृषिमा सुधार हुनुका साथै कृषि क्षेत्रमा ठुलो विस्तार आयो । सडकहरू बने, अझ राम्रा र ठुला जहाज बने, व्यापार तथा यातायातको विस्तारले फड्को हान्यो । मुद्रा अर्थतन्त्र, वास्तविक सहर एवम् नगर यसपछि बन्न थाले । अति चाँडो जनसङ्ख्यामा वृद्धि आयो, साथै जीवननिर्वाहका साधनहरू बढे । सभ्यताको भौगोलिक क्षेत्रमा असाध्यै ठुलो विस्तृति आयो ।
आमूलवादी राजनीतिक परिवर्तनहरू, संस्थाहरू एवम् प्रशासनिक व्यवहारमा परिवर्तनहरू अपरिहार्य एवम् आवश्यक बन्न पुगे । जनजातीय वफादारीमा आधारित ससाना उपनिषद्कालीन जनजातीय राजतन्त्र एवम् गणतन्त्रहरू प्रादेशिक राजतन्त्रहरूद्वारा विस्थापित हुन थाले । नयाँ अर्थतन्त्रका लागि उपभोग एवम् औद्योगिक उत्पादहरूको विकासको चालक साधनका रूपमा शक्तिशाली, केन्द्रीकृत राज्यहरूको आवश्यकता थियो । मगध राज्यले उद्योग तथा व्यापारको महत्त्वपूर्ण क्षेत्रहरूमा प्रत्यक्ष रूपले हात हाल्यो । सब खालका करहरू व्यवहारमा ल्याइए, विशाल, तलबी नागरिक प्रशासनयन्त्र खडा गरियो । युद्धका मुख्य हतियारका रूपमा तरबार, बर्छा र रक्षा कवचहरूले धनु, बाण तथा गदालाई विस्थापित गर्न थाले । स्थायी फौज–पैदल सेना तथा घोढचढी सेना–ले पहिलेको रथमा चढेर युद्धमा जाने क्षत्रियहरूको ठाउँ लियो । मगधकालका सबैजसो राजाहरू नवधनाढ्यहरू तथा सैनिक क्रियाकलापमा साहसको कार्य गर्नेहरू थिए, जन्मले क्षत्रिय कुलका थिएनन् । पवित्र ब्राह्मण पौरोहित्यलाई नन्दान्तम् क्षत्रिय कुलम् (क्षत्रिय भारदारहरू एवम् शासकहरू नन्दहरूसितै अन्त भए) भन्ने घोषणा गरियो र यसमा कुनै अनौठो कुरो थिएन ।
धाकृष्ण । पेन्टिङ स्रोत : डब्ल्युएचओए डट इन ।
देशको सांस्कृतिक तथा राजनीतिक केन्द्र स्वाभाविक रूपले नै उपनिषद्कालीन मथुरा–हस्तिनापुर–इन्द्रप्रस्थ क्षेत्रबाट राजगृह र पाटलिपुत्रमा स¥यो । यो समग्र विकासको उत्कर्ष मौर्यसाम्राज्यमा भयो, यसको चरम अवस्था भने अशोकको राज्यकाल थियो । त्यतिखेर यसका सीमाहरू उडिसा, मथुरा र गान्धारसम्म फैलिएका थिए । यो इशा पूर्व २०० को समय थियो ।
भारतीय–आर्यहरूको पहिलो लिपि ब्राह्मी मगधकालमा नै विकसित भएको हो । विज्ञानको प्रणालीबद्ध विकास खास गरी चिकित्सा, खगोल विद्या (गणित ज्योतिष) र गणितशास्त्रको विकास पनि यही युगमा प्रारम्भ भएको थियो ।
यी सब विकासहरूले सामाजिक–धार्मिक जीवन तथा बौद्धिक विवेचना र सोधखोजमा अतिशय ठुलो प्रभाव पारे : मगधअवधिले महान् सामाजिक हलचल ल्यायो, म त यसलाई सामाजिक ‘आन्दोलन’ नै भन्ने गर्दछु ।
यस हलचलको केन्द्रिय बिन्दु के थियो त ? उपनिषद्कालीन समाजका धार्मिक विचारहरू एवम् संस्थाहरूको संरचनामाथि प्रश्न उठाउनु नै यसको केन्द्रिय तत्त्व थियो । चातुर्वण्य (आधारभूत चार जातिको व्यवस्था), वेदहरूको विश्वसनीयता, ब्रह्मा, आत्मा, यज्ञ, कर्म सिद्धान्त, पुनर्जन्म र मोक्ष सबलाई अचानोमाथि राखियो र सबलाई चुनौती दिइयो ।
सबैले के मान्नैपर्छ भने उपनिषद्कालीन समाजको विशिष्ट संरचना थियो तापनि यो सङ्ख्या एवम् भौगोलिक विस्तारका दृष्टिले मगधकालीन समाजभन्दा निकै सानो थियो । यसको संरचना एवम् विचारधारा विशालतर एवम् निकै जटिल मगधको समाजको अनुकूल हुन सक्तैनथ्यो ।
 
प्रारम्भिक बुद्धवादको भूमिका
नयाँ हलचलको मुख्य माध्यम एवम् प्रतीक बुद्धवाद नै थियो । वास्तवमा यो हलचल आफ्नो व्यापकतामा निस्सन्देह निकै व्यापकतर थियो तापनि यो बुद्धवादमा विशिष्टीकृत भएको थियो । यही कारण सामाजिक–विचारधारात्मक दृष्टिकोणबाट मगधकाललाई बुद्धवादी कालका रूपमा पनि उल्लेख गरिन्छ ।
शुद्र, अछुत, आम वैश्य जनसमुदाय, विभिन्न आदिम जातिहरू, दासहरू, ज्यालादार कामदारहरू, मोहीहरू र ‘स्वतन्त्र’ किसानहरूले समेत विविध खालका र असङ्ख्य दासत्व, बाध्यकारी श्रम, महसूल तथा कर, असमानता, शोषण–उत्पीडन आदिको मार खप्नुपर्दथ्यो । जुनसुकै रूपको शोषण बेहोर्नुपरे तापनि भोक, अभाव र शरीरले बेहोर्नसमेत कठिन पर्ने श्रम तीमध्ये अधिकांशको भागमा पर्दथ्यो । एउटा सीमासम्म उपनिषद्कालको तुलनामा धेरै शुद्रहरूको स्थितिमा सुधार आयो, विशाल नयाँ समाजमा उनीहरूलाई दुइखुट्टे जनावरका रूपमा व्यवहार गर्नु न सम्भव थियो न त आवश्यक नै ।
अनिवार्यतः सामाजिक विपत्ति, दुःखकष्ट र सन्तापमा वृद्धि आयो । जातिपातीको जटिलता (हाँगाबिगाँ) यति विशाल भयो कि (त्यसको कारणबारे हामी यहाँ चर्चा गर्न सक्तैनौं) एउटा वर्णका परिधीय उपजाति (पेरिफेरल सब कास्ट्स्)लाई त्यसको निकटतम अर्को वर्णको परिधीय उप जातिबाट छुट्ट्याउनै गाह्रो हुन थाल्यो । ब्राह्मणका तल्लो तहका उपजातिहरू हुन्थे, तर तिनलाई उच्च ब्राह्मण पुरोहितले ब्राह्मणका रूपमा मान्यता दिँदैनथ्यो । आफुलाई क्षत्रिय भनेर दाबी गर्नेहरू पनि थिए, तर तिनलाई पनि ब्राह्मण पुरोहितहरू शुद्रका रूपमा बदनाम गर्दथे । हामीहरूलाई थाहा नै छ यो झगडा अहिलेसम्म पनि जारी छ ।
बुद्ध भनेर पछि संसार प्रसिद्ध भएका असाध्यै मानवगुणसम्पन्न राजकुमार गौतम यो सामाजिक वर्णसड्करता र दुर्गतिका विरुद्ध अघि आए र उनले केही नियमहरू विकसित गरे । उनी समतामूलक जनजातीय परम्परा जीवितै रहेको एउटा सानो जनजातीय राजपरिवारसित सम्बन्धित थिए ।
निस्सन्देह, उनले चुनौती दिनैपर्ने र दिएको पहिलो कुरो औपनिषदीय ब्राह्मण प्रभुत्वको अविभाज्य आधारस्तम्भ बनेका वेदहरूको अमोधत्व थियो । यस अतिरिक्त बुद्ध ब्रह्म, आत्मा र जाति प्रथाका विरुद्ध अघि सरे ।
बुद्ध हिंसाका विरुद्ध उभिए, धर्मयोद्धाका रूपमा उनले अहिंसा, करुणा र मानवतावादको पक्ष लिए । यस सन्दर्भमा के कुरो मनन गर्न आवश्यक छ भने ठूलो मात्रामा गाइवस्तु र घोडाहरूको बध गरिने यज्ञ बलिहरूको बुद्धले चर्को रूपले विरोध गरेका थिए । पशुबलि पशुचारी समाजमा ठिकै थियो, तर कृषि र व्यापारको युगमा प्रवेश गरेको समाजका लागि यो एकदमै अलाभकर थियो ।
स्वाभाविक रूपले जेको विरोध गरिएको हो, त्यसका ठाउँमा अरू केही पुनस्र्थापित गर्न आवश्यक हुन्छ । समाज शून्यमा बाँच्न र सञ्चालन हुन सक्तैन । यससित आफुलाई बाँध्ने केही भौतिक र आत्मिक शक्ति हुन जरुरी छ ।
यस कारण बुद्धले के प्रतिपादित गरे भने संसारको रचना कसैले गरेको होइन, यो सधैं अस्तित्वमा थियो र अविच्छिन्न परिवर्तनसहित यो अस्तित्वमा रहिरहनेछ, आफ्नो परिवर्तनका नियमहरूअनुसार अस्तित्वमा रहिरहने छ ।
उनले एकदमै ठीकसित के प्रतिपादन गरे भने मानिसहरू पहिले समानताको र भ्रातृत्वको जीवनमा बाँचेका थिए । त्यसपछि लोभले, धनको तृष्णाले, हिंसाले र निजी सम्पत्तिले जन्म लिए । विपत्ति, दुःख कष्ट र सन्तापका कारण यिनै हुन् ।
त्यसो हो भने यसबाट मुक्त हुने उपाय के हो त ? पहिलो, सद्गुण र सत्यको जीवन अपनाउनु, र त्यत्तिकै महत्त्वपूर्ण कुरो सङ्घहरू गठन गर्नु हो । सङ्घका सदस्यहरूले निजी सम्पत्ति राख्ने छैनन् र जातीय विभेद र असमानतालाई परित्याग गर्नेछन् ।
बुद्धवाद एउटा अर्को पक्षमा पनि उपनिषदीय सामाजिक–धार्मिक संरचनाभन्दा उन्नत थियो । यो सबका लागि समान रूपले खुला थियो, व्यक्तिका रूपमा व्यक्तिहरूका लागि खुला थियो । तर अर्को संरचनामा व्यक्तिहरूका लागि प्रवेश पाउने अवसर नै थिएन । जोकोही प्रदत्त जातिमा जन्मिएको हुन्थ्यो र यस कारण शुद्र र वैश्यहरू माथि उक्लन र ब्रह्मण र क्षत्रिय बराबर हुन सक्तैनथे ।
यस उद्देश्यका लागि बुद्धले नथाकीकन आफ्नो सम्पूर्ण जीवन लगाए । हिजोआज हामीले भन्ने गरेको पदयात्रा र आम जनअभियान नभएर उनको अन्तहीन यात्रा र प्रवचन (उपदेश) अरू के हुन् त ? के प्रारम्भको बुद्धवादलाई आन्दोलन भन्नु गलत हुन्छ ?
बुद्धभन्दा पनि बढी आमूल परिवर्तनकारी अरू थिए । अजित केश काम्बलीको मत थियो । लोकायतहरू थिए । यी दुवै दर्शनशास्त्रको क्षेत्रमा र जातिप्रथाको खण्डन गर्ने कार्यमा अझ बढी निर्भीक र साहसी थिए । तर मैले अघि बढ्नु छ ।
भारतमा बुद्धवाद कहिल्यै जनधर्म हुन पाएन । तर यो वैदिक–औपनिषदिक–ब्राह्मण धर्मको सामाजिक, विचारधारात्मक र आत्मिक प्रभुत्वलाई हल्लाउन भने शक्तिशाली साबित भयो । औपनिषदिक धर्म, यसको शास्त्रीय रूपमा फेरि कहिल्यै भारतमा पुनर्जीवित हुन सकेन ।
बुद्धवादको पतनका कारणहरू हाम्रो विषयसित सन्दर्भित छन् र तिनका बारेमा छोटकरीमा भन्नु उपयुक्त हुनेछ ।
सर्वप्रथम, जाति र निजी सम्पत्तिबिनाको सङ्घको बुद्धको प्रयोग स्वैरकल्पना थियो र सबै काल्पनिक आदर्शहरू जसरी नै यसको अन्त हुनु स्वाभाविक थियो । किनभने स्वैरकल्पनाहरू समकालनीन ऐतिहासिक अवस्थाको यथार्थमा आधारित हुँदैनन् ।
दोस्रो, तथ्य के हो भने बुद्धले अधिकांश विषयहरूमा सम्झौताको स्थिति अवलम्बन गरेका थिए । त्यस्तोमा प्रस्ट रूपले अनीश्वरवाद र भौतिकवादमा आधारित भएको धर्मले लामो समयसम्म आफ्ना सैद्धान्तिक प्रस्थापनाहरूलाई वहन गर्न सक्तैन । ईश्वर, अन्धविश्वास, धर्म, मोक्षको चाहनाजस्ता कुराहरू मुख्यतः प्रकृतिका सामु मानिसको निरीहता र शोषणकारी, दमनकारी शासकीय वर्गहरूका सामु उत्पीडित जनताको कमजोरीको उत्पाद हो । जहिलेसम्म यी अवस्थाहरूको अस्तित्व रहन्छ ईश्वर, अन्धविश्वास र धर्मको अन्त हुँदैन । वास्तवमा, श्रमजीवी जनताको सामाजिक मुक्तिपछि, प्रकृतिमाथि मानवको पर्याप्त मात्रामा नियन्त्रण भएपछि र समाजले सामान्यतया जीवनका बारेमा वैज्ञानिक दृष्टिकोण विकसित गरेपछि पनि ईश्वर र धर्मले लोप हुन लामो समय लिन्छन् । समाजवादी मुलुकहरूको अनुभवले के पुष्टि गर्दछ भने यो असाध्यै दीर्घकालीन, कठिन प्रक्रिया हो ।
तेस्रो, जाति भारतमा एक साथ सामाजिक, धार्मिक र आर्थिक सङ्गठनसमेत हो । आधुनिक औद्योगीकरणले जातिप्रथालाई कमजोर बनाउन मात्र थालेको छ, यसलाई समाप्त पारेको छैन । बुद्धको समयमा, यो पूर्णतया असम्भव थियो । त्यो दुर्भेद्य किल्लाका सामु बुद्धवाद भुत्ते साबित भयो ।
र अन्तिम कुरो, सबै धर्मसरह यो पनि धन–सम्पत्तिका मालिक र राजनीतिक सत्ताको आज्ञाकारी बन्न पुग्यो । वास्तवमा, बुद्धवादको पुरेतवाद स्वयम् विलास, आडम्बर र परजीवी जीवनका सम्पूर्ण अधःपतनहरूको दलदलमा भासियो ।
बुद्धवादी पुरोहितहरूले बुद्धलाई समेत ईश्वरको शरीर धारण गरेको अवतारमा परिणत गरे । अनीश्वरवादी धर्मका ढोकाहरू जादू, मूर्तिपूजा र भूतप्रेतका लागि समेत खुला गरियो । बुद्धवादले गरेको एउटा कुरा भने रहिरह्यो । त्यो भनेको अज्ञानी गरिब जनसमुदायलाई मुक्तिको आशा दिनु हो, यो दिन उपनिषदीय समाजले उनीहरूलाई पूर्णतया अस्वीकार गरेको थियो । त्यसले त उनीहरूलाई मानवसम्म पनि मान्दैनथ्यो ।
 
मगधपछिका विकासहरू
मौर्यहरू पछिको अर्को ठुलो साम्राज्य सन् ३०० इ.मा आएको गुप्तहरूको ‘शास्त्रीय’ साम्राज्य थियो । तर जुन समयमा गीताको जन्म भएको ई.पू. २०० र सन् ३००का बीचको अवधि पनि चाखलाग्दो छ र यस अवधिका महत्त्वपूर्ण लक्षणहरू छन् ।
यस अवधिले उत्तर–पश्चिमबाट आएका खास गरी इन्डो–ग्रीकहरूका ठुला विदेशी आक्रमणहरू, शक र कुषाणहरूको सामना गरेको छ । देशभित्रै पनि शुङ्ग, शतवाहन, कलिङ्ग आदिका सङ्घर्षरत राज्यहरूको दृश्य अघि आयो ।
व्यापार र उद्योगको विस्तार लगातार भैरह्यो । सांस्कृतिक, आर्थिक र बौद्धिक अन्तक्र्रिया भारत, रोमन साम्राज्य, पश्चिम तथा केन्द्रीय एसिया (कजाकिस्तान, किर्गिजिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान) र चीनका बीचमा असाधारण रूपले विकसित भयो । विज्ञान, मूर्तिकला र वास्तुकलाले अति प्रचण्ड गतिमा विकास गरे । केही शताब्दीका लागि भारतको ‘केन्द्र’ पाटलिपुत्रबाट तक्षशिला बन्न पुग्यो ।
यसका साथै दृश्यमा विघटनका केही लक्षणहरू पनि प्रकट भए । सम्भवतः मौर्यहरूको पतन विदेशी आक्रमणबाट भयो । तर त्यो वास्तवमा त्यो अतिक्रमण अन्तिम कारण मात्रै थियो । अति केन्द्रीकृत र अति कृत्रिम वातावरणमा विशाल र शक्तिशाली साम्राज्यको निर्माण गर्नु एउटा कुरा थियो । त्यति बेलाको यातायात र सञ्चारका प्रचलित साधनहरूको सीमा र अति केन्द्रीकृत राज्यसंयन्त्रको खर्चालुपनले गर्दा त्यस्तो खालको साम्राज्यलाई स्थिर बनाउनु एकदमै फरक कुरा थियो, जुन अति कठिन कार्य हो । मगध राज्य अशोकको शासनकालमा आफ्नो शिखरमा पुगेको थियो, तर त्यसले पनि आफ्नो कमजोरीलाई नै अभिव्यक्त ग¥यो अर्थात् त्यो असाधारण रूपले केन्द्रीकृत थियो र एकदमै बोझिलो थियो । त्यतिखेरका प्राविधिक सीमाहरूभन्दा यो निकै अघि बढेको थियो । अशोक साम्राज्यका भ्वाङ्हरू उनकै जीवनकालमा प्रारम्भ भैसकेका थिए । नयाँ, महत्त्वाकाङ्क्षी सैनिकअभियानका प्रहारबाट क्षतविक्षत हुन यसलाई लामो समय लागेन । यस कारण मौर्यपछिको अवधि राजनीतिक द्वन्द्व र विघटनको एउटा काल थियो । यद्यपि तथ्य के हो भने कुषाण, शक, शतवाहन आदिका राज्यहरू निकै साना थिए भन्ने पनि होइन ।
सामाजिक दृष्टिकोणबाट पनि यस अवधिमा एकदमै अनौठो अवस्था विकास भएको देखिन्छ । उपनिषदीय धर्मलाई बुद्धवादले गहिरो आघात पु¥याएको थियो र यस प्रहारबाट यो फेरि ठीक हुन सक्तैनथ्यो र भएन । तर उपनिषदीय समाजका सामाजिक–धार्मिक बन्धनहरूलाई कमजोर बनाउने पर्याप्त सामथ्र्य बुद्धवादसित थियो तापनि, अशोकले निकै मिहिनेत गर्दागर्दै पनि यसले समाजलाई तलदेखि माथिसम्म बाँध्ने नयाँ  सम्बन्धसूत्र सृजना गर्न सकेन । यस अतिरिक्त यो स्वयम् पनि विकृत भयो ।
के पनि हेक्का राख्न आवश्यक छ भने शक र कुषाणहरूको आक्रमण पर्सियाका राजा साइरस अर्थात् सिकन्दरका जस्ता थिएनन् । ती व्यावसायिक सिपाहीबाट निर्मित सेनाका आक्रमण थिएनन् । ती भारतमा विशाल, जनजातीय आप्रवासन थिए । यो सङ्घटना देशको जातीय संरचना र मगधकालमा राष्ट्रिय चरित्र ग्रहण गरेको चतुर्वर्ण्यमा गम्भीर किसिमले आघात पु¥याउने कारण बन्यो । यो भनेको स्मृतिहरूले ठुलो हौवा खडा गरेको र गीताले पनि सन्त्रासका साथ हेरेको वर्णसड्कर हो ।
यसलाई सामाजिक–धार्मिक विचारधारात्मक शून्य भनौं कि सामाजिक (आर्थिक र राजनीतिक होइन) अराजकता भनौं जे भने पनि मगधकालको अन्तपछि अनौठो एउटा ठुलो सामाजिक अन्तराल विकसित भयो । पुरानो ओइलाइसकेको थियो र नयाँले जन्म लिन बाँकी थियो । यतिखेरको सामाजिक विकासको चरणलाई ध्यान दिने हो भने नयाँ  होइन, तर एकदमै पुनर्नवीकृत धर्मको आवश्यकता प्रस्ट रूपले देखिन्थ्यो ।
 
गीता, पुनर्नवीकृत धर्मको धर्मग्रन्थ
गीता यस धर्मको धर्मग्रन्थ थियो ।
यस धर्मले गुप्तकाल (सन् ३००–५००) मा आफ्नो विकासको पूर्णता हासिल ग¥यो । यो स्मृतिहरू, महाभारत, गीता (महाभारतको एउटा अंश भए तापनि यसको छुट्टै चर्चा हुन जरुरी छ) पुराणहरूमा आधारित र तीसितै गाँसिएको थियो । वास्तवमा गुप्तकालमै महाभारत र पुराणहरूले आफ्नो अन्तिम आकार र अन्तर्वस्तु ग्रहण गरेका थिए ।
यो धर्म नै हिन्दुवाद हो र त्यो हाम्रो अहिलेको समयसम्म प्रचलनमा छ ।
 
गीताले के काम ग¥यो ?
असाध्यै महत्त्वको विषय नभए तापनि गीताका भक्तहरूमध्येका सबैले अभिव्यक्त गर्ने गरेको एउटा कुराबाट यहाँ छुटकारा पाउनु बेस हुन्छ ।
के गीताका श्रीकृष्ण वास्तविक ऐतिहासिक व्यक्तित्व हुन् ?
निःसन्देह, उनी वास्तविक ऐतिहासिक व्यक्ति हुन सक्तैन थिए । किनभने पौराणिक श्रीकृष्णका अलौकिक कर्महरू– तिनमा केही प्रशंसा गर्न लायक पनि छन् तर अधिकांश त्यस्ता छैनन्– इश्वी सम्बत्को सुरुताका भारतमा अस्तित्वमा हुनै सक्तैनथे ।
तर यो कम महत्त्वको विषय हो । प्राचीन कालमा, सबैजसो देशहरूमा सामाजिक कल्पनाले समकालिन सामाजिक सङ्गठनका लागि त्यस्ता व्यक्तिहरूको आवश्यकता बोध गरेको खण्डमा खास व्यक्तित्वहरूलाई जन्माउने काम गर्दथ्यो ।
के साँच्चै इन्द्रको अस्तित्व थियो ? इन्द्रबिनाको ऋग्वैदिक समाज अकल्पनीय छ । र अहिले त ईसामसिहको ऐतिहासिकतासमेत विवादमा छ ।
जे होस्, गीताको बिगुल फुक्ने कोही थियो भने त्यो श्रीकृष्ण नै थिए । यो नै यस विषयको वैज्ञानिक उपचारका लागि पर्याप्त हुन सक्छ ।
गीताको अध्याय चार (श्लोक ७) मा श्रीकृष्णले घोषणा गरेका छन्–‘जहिलेजहिले धर्म मरणासन्न हुनेछ र अधर्मले टाउको उठाउनेछ म त्यतिखेर युगैपिच्छे प्रकट हुनेछु ।’ केका निम्ति ? ‘धर्मको पुनर्स्थापनाका लागि’ (iv.8) यहाँ  व्यक्त सम्पूर्ण अहंकारसहित यस वक्तव्यले वास्तविक अवस्थालाई देखाएको छ । ‘अधर्मले आफ्नो टाउको उठाइरहेको’ भन्ने गीताका लेखकको मनमा जे थियो त्यो वास्तवमा चातुर्वर्ण्य सोपानक्रममा बुद्धवादले सृजना गरेको अन्यौल र शक–कुषाण आक्रमणहरूबाहेक अरू केही थिएन ।
विस्तारमा जानु अघि गीताको ऐतिहासिक उपलब्धिलाई अति सङ्क्षेपमा प्रस्तुत गरिएको छ :
उपनिषद्हरूको मूल स्थितिको रूपरेखाभित्र रहेर गीताले सम्पत्तिशाली शासक वर्गहरूको समकालीन व्यावहारिक तथा विचारधारात्मक आवश्यकतासित मिल्ने गरी थुप्रै परवर्ती परम्परा र दृष्टिकोणहरूलाई परिष्कार र संश्लेषण गर्ने काम ग¥यो ।
 
यस प्रयासका अनिवार्यतः दुई विशेषता छन् । एकातिर यसको निरन्तरता शासक वर्गको भौतिक र विचारधारात्मक आवश्यकतालाई सुरक्षित गर्नुमा रहेको छ भने अर्कातिर यसका असङ्गतिहरू विभिन्न परम्परा एवम् दृष्टिकोणहरूलाई बलपूर्वक संश्लेषणमा ल्याउने यसको प्रयत्नमा व्यक्त भएका छन् । यस्तो बलात् संश्लेषणलाई अलिकति पनि उपेक्षा गर्न सकिन्न ।
अब हामी गीताको ऐतिहासिक भूमिकाको यो सामान्यीकृत चरित्रचित्रणलाई विस्तार एवम् प्रदर्शन गर्नेछौं ।
गीताले सुस्पष्ट रूपले चातुर्वर्ण्य ईश्वरीय हो भन्ने मान्यतालाई, उपनिषदहरू : ब्रह्म, आत्मको आध्यात्मिक प्रत्ययवाद (आदर्शवाद)लाई पुनर्पुष्टि गर्दछ र मोक्ष प्राप्तिका लागि आत्म ब्रह्मसित विलीन हुनुपर्दछ भन्ने कुरालाई पुनः दाबी गर्दछ ।
‘चातुर्वर्ण्यको सृष्टि मबाट भएको हो’ (iv.13) र ‘म’को अर्थ व्यक्तीकृत ईश्वरको अवतार, श्रीकृष्ण हो । यस कारण, आधारभूत अवस्थितिका बारेमा कुनै पनि अर्थहीन कुरालाई सहन गरिँदैन । यसमा के मात्र परिवर्तन भएको छ भने चातुर्वण्र्य ब्रह्म, पुरुष, प्रजापति आदिबाट सृष्टि गरिनुको सट्टा अब मानव रूपको ईश्वरबाट सृष्टि भएको छ । यसका बारेमा हामी पछि छलफल गर्नेछौं ।
ब्राह्मणका पूज्य, पवित्र र ‘स्वाभाविक’ (स्वभावज) कर्तव्यहरू र समान किसिमले शासकका रूपमा क्षत्रियका शौर्यपूर्ण ‘स्वाभाविक’ कर्तव्यहरूका बारेमा अठारौं अध्यायमा प्रस्टसित किटान गरिएको छ ।
वैश्यहरूको ‘स्वाभाविक’ कर्तव्यहरूमा कृषि र पशुपालन पर्दछ । व्यापारलाई यसमै गाभिएको छ । उपनिषद्हरूसम्म व्यापारको कमै महत्त्व थियो ।
जे होस्, शुद्रहरूको ‘स्वाभाविक’ कर्तव्यहरूमा बारेमा गीताले अधिकतम र सर्वाधिक निर्दयी जोड दिएको छ ।
‘शुद्रको स्वाभाविक कार्य (कर्तव्य) सेवा गर्नु हो (xviii.44)’ ।
यो अनिवार्य फैसला पर्याप्त नभएको जस्तो मानेर गीताले चातुर्वर्ण्यका दैवी नियमहरूले निर्धारित गरेका आआफ्ना कर्तव्यहरूको पालनाभन्दा उच्च कुरो अरू केही पनि छैन र तिनको उल्लङ्घनभन्दा अरू कुनै घृणित काम छैन भनेर पटकपटक दोहो¥याउने गर्दछ ।
‘स्वधर्मे निधनम् श्रेयः परधर्मो भयावहः’ आफ्नो धर्मको पालना गर्दागर्दै मर्नु श्रेयष्कर छ र अर्काको धर्म मान्नु त्रासपूर्ण छ भनेर सर्वोच्च देव श्रीकृष्ण धर्माधिकारीले जसरी कुरा गर्दछन् (III. 35, XVIII. 45, XVIII .47आदि) ।
वास्तवमा, यो यतिमा मात्र सीमित छैन, यसभन्दा अघि बढेर यसले के आदेश दिन्छ भने अज्ञानीहरूका मनमा आफ्ना कर्तव्यहरू पालना गर्ने कार्यमा अन्यौल र शड्का निर्माण गर्ने काम एकदमै हुनु हुँदैन (III. 24) । त्यस कारण, यदि तपाईंले शुद्रहरूलाई ‘उक्साउनु’ भयो भने नष्ट हुनु हुनेछ ।
यसरी बुद्धवादले जेजति सामाजिक ‘खुकुलोपन’ (अधर्म) निर्माण गरेको थियो र उत्तरमगधकालको जेजस्तो अशान्त अवस्था थियो त्यसमा पेच कस्ने काम गीताले ग¥यो ।
गीताका समर्थकहरूले के औँल्याउने गरेका छन् भने गीताका अनुसार व्यक्तिका गुण र कर्महरूअनुसार नै चातुर्वर्ण्यको निर्माण भएको थियो (IV. 13) । त्यसो हो भने पनि यो वर्ग विभाजित, शोषणकारी सामाजिक संरचना थियो । तर वास्तवमै यदि यो त्यस्तो थियो भने वर्ण र जाति जन्मद्वारा अलिकति पनि निर्धारित हुनु हुँदैनथ्यो । गीताले जसको मानसिकता र स्वभाव सेवक (नोकर) को छ त्यसलाई शुद्रका रूपमा व्यवहार गरिन्छ भनेको छैन । यसले प्रस्टसित के उल्लेख गरेको छ भने शुद्रहरूको नोकर–चाकरको ‘स्वाभाविक’ (प्रकृतिले नै) मानसिकता हुन्छ । यसरी सेवक बन्नुभन्दा अगावै कोही शुद्र बन्दछ । यसको अर्थ के हुन्छ भने शुद्रहरू जन्मले नै शुद्र भएका हुन् कुनै आधारभूत सेवकको विशेष गुण वा मानसिकताका कारणले होइन ।
शुद्रहरूमाथि दासताका साङ्लाहरूले कसेर मात्र नपुगेर गीताले सुरुदेखि अन्तसम्म तल्ला तहका मानिसहरू र महिलाहरूप्रति चर्को घृणा प्रदर्शन गर्दछ ।
महिला, वैश्य र शुद्रहरूलाई चाण्डालहरूसित एकसाथ राखिएको छ र यी पापबाट जन्मिएका हुन् (IX. 32) ।
अर्को कुरो, गीताले के भनेको छ भने कुनै व्यक्ति स्थितप्रज्ञको चरणमा पुगेको खण्डमा मात्र उ समदर्शी बन्दछ । अनि मात्र उसले विद्वान् ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डाललाई बराबरीका रूपमा अर्थात् समान देख्तछ (V. 18) । यस कारण चाण्डाल, कुकुर र ब्राह्मणलाई समान रूपमा हेर्न सक्षम हुनका लागि कसैले पनि स्थितप्रज्ञको उदात्त चरणमा पुग्नुपर्ने हुन्छ । अनि सम्पूर्ण प्राचीन धर्मग्रन्थहरूलाई मान्ने हो भने लाखौं लाख व्यक्तिमा एकजनासित मात्र त्यो चरणमा पुग्ने क्षमता हुन्छ ।
यसको प्रस्ट कुरा के हो भने भौतिक जीवनको यथार्थमा उच्च तब्काले चाण्डाल र ब्राह्मणलाई मानवप्राणीका रूपमा समान तहको मान्यता दिँदैन । अर्को कुरो, चाण्डाललाई पनि कुकुरसँगै राखिएको छ । यसको अर्थ के हुन्छ भने लौकिक जीवनमा चाण्डाल र कुकुरलाई माथिल्लो तहले एउटै स्थितिको मान्दछ । पृथ्वीमा विष्णुको अवतार मानिएका महान् भगवान् श्रीकृष्णको आदेश यस्तो छ ! यसको के आलोचना गर्नु ?
यी सब कुरा भए तापनि तथ्य के हो भने उपनिषद्हरूको समय र गीताको समय एउटै थिएन । यी दुइका बीचमा आठ वा नौ शताब्दीको फरक छ र लाखौंलाख टन पानी गङ्गामा बगिसकेको छ । यस बीचमा बुद्धवाद र अझ त्यसभन्दा पनि बढी आमूल परिवर्तनकारी सम्प्रदायहरूले तल्ला तब्काका जनताका आवाजलाई वाणी दिएका थिए र अहिंसा, करुणा र तल्ला तहका जनताप्रति माया आदिको पक्षपोषण गरेका थिए । यसको प्रभावस्वरूप अहिंसा परमो धर्मः, दया हि परमो धर्मः का नाराहरू आमजनतामा लोकप्रिय भए र तिनलाई सजिलै निमिट्यान्न पार्न सकिन्नथ्यो । ‘बुद्धिमत्तापूर्ण व्यवस्थापन’ (निश्चय नै धनी तथा शक्तिशालीहरूको हितअनुसार) अपरिहार्य बन्न पुग्यो ।
 यस कारण, महिला, वैश्य र शुद्रहरूलाई पाप योनि (पापबाट जन्मिएका) भनेर एकै ठाउँमा राखे तापनि उनीहरूका लागि गीताले मोक्षको ढोका खोलिदियो (IX. 32) ।
 उपनिषद्हरूले मोक्षबाट उनीहरूलाई निषेध गरेका थिए । यसको अपवाद थियो, तर त्यसले पनि आमनियमलाई नै पुष्टि गर्दथ्यो । उपनिषदीय आत्मिक पाण्डित्यका महान् प्राधिकार याज्ञवल्क्यले उनीहरूलाई मोक्षबाट निषेध गरेका थिए भने बुद्धवादले त्यस पाण्डित्यमाथि ठुलो प्रहार गरेपछि गीताले चाहिँ  यसलाई अस्वीकार गर्न सकेन । जे भए पनि, गीताका लेखकले दयामायाले होइन ‘समझदारी’का साथ यसलाई मान्यता दिए ।
अर्को कुरो यसभन्दा पनि बढी महत्त्वपूर्ण र चाखलाग्दो छ । मोक्षको ढोका तल्ला तहका समुदाय र महिलाका लागि खोलिएको त थियो, तर उनीहरूले यसभित्र छिर्ने कसरी ?
उपनिषद्हरूले वकालत गरेको एउटै मात्र बाटो तपस्या र ध्यानको बाटो हो, जसलाई आडम्बरपूर्ण किसिमले ज्ञानमार्ग भनिएको छ । तर आत्म र ब्रहमको नीरस तथा रहस्यवादी बकवास निम्न तहका जनताका लागि एकदमै अबोध्य थियो । त्यो ब्राह्मण र क्षत्रियहरूको एकाधिकार थियो । यसका अतिरिक्त, यी माथिल्लो तहका मानिसहरूलाई आफ्नो अस्तित्व र सुखसुविधाका लागि वैश्य तथा शुद्रहरूको ढाड भाँच्ने श्रम आवश्यक थियो । यस कारण, कसले तल्ला तहका जनलाई जङ्गलहरूमा सेवा निवृत्तिको आनन्द लिन र ध्यान गर्न जाने अनुमति दिन्थ्यो ? त्यसले त माथिल्ला तहका मानिसहरूलाई तिनको सुखसुविधा र आरामको आर्थिक आधारबाट नै वञ्चित गर्दथ्यो ।
यसको बाटो पनि निकाल्नैपर्ने थियो । र त्यो बाटो भक्ति भयो । भक्तिका जराहरू पछिल्लो कालको बुद्धवादसम्म गाडिएका थिए तापनि यसको पूर्णतः विकसित सिद्धान्त र व्यवहार गीताकै योगदान हो ।
भक्तिको अर्थ ईश्वरका अघि बिनासर्त प्रेम तथा निष्ठाका साथ आफुलाई समर्पण गर्नु हो । यसका लागि न तपस्या, न ध्यान न आत्म तथा ब्रह्मसम्बन्धी गुह्य रहस्यहरूको अन्तर्दृष्टि आवश्यक हुन्छ । पावन श्रद्धाका साथ ईश्वरलाई चढाएको एउटा पात, एउटा फूल, एउटा फल वा शुद्ध पानी जेसुकैले पनि आफ्नो काम फत्ते गर्दछ (IX. 26) । बाह्रौं अध्यायको पा“चौं श्लोकले सङ्कोच नगरी के भन्दछ भने भक्तिको सजिलो मार्ग विशेष
तः अज्ञानी तथा साधारण गाउँलेहरूका लागि हो ।
 
माधान गरिएको थियो । निम्न वर्गका मानिस तथा महिलाहरूलाई शोषक वर्गको आर्थिक एवम् राजनीतिक पवित्रताको वातावरण प्रदान गर्ने आध्यात्मिक–बौद्धिक रक्षास्थानबाट बाहिर राख र उनीहरूका लागि मोक्षको ढोका पनि खुला राख । कस्तो उत्तम समाधान ! …….
हामी अघि बढौं । गरिब र अज्ञानीहरूले अबोधगम्य अमूर्तन, दुर्ग्राह्य शक्तिको पूजा र प्रार्थना गर्न सक्तैनन् । त्यस शक्तिलाई आँखाले देख्न सकिन्न, हातले छुन सकिन्न, कानले सुन्न सकिन्न र दिमागले सोच्न पनि सकिन्न । (यो कुनै व्यङ्ग्यात्मक टिप्पणी होइन । उपनिषद्हरूका थुप्रै ठाउँमा आत्म र ब्रह्मका बारेमा सङ्क्षिप्तमा यसरी नै व्याख्या गरिएको छ । हेर्नुहोस् प्रख्यात अंश ‘नेति नेति’ ।)
पुजा गर्न र खुसी पार्न ‘जनसाधारण’का लागि प्रस्ट तथा वास्तविक मानव ईश्वरको आवश्यकता पर्दछ । र यसको अर्थ वैयक्तीकृत मानव ईश्वर हुन्छ ।
यस ‘साधन’का लागि पनि पछिल्लो कालखण्डको बुद्धवादले बाटो बनाइदिएको थियो । बुद्धले बुद्धत्व प्राप्त गर्नु अघि थुप्रै जीवन गुजार्नुपरेको थियो । अनि किन सर्वोच्च शक्तिले पृथ्वीमा कहिलेकाहीँ  मानवीय रूपमा अवतारका रूपमा न उत्रनु ? र भागवत् गीताको उपाय पनि यही नै हो ।
 यसले बुद्धम् शरणम् गच्छामिबाट शरणम् गच्छामि लियो र बुद्धका ठाउँमा श्री कृष्णलाई स्थापित ग¥यो । गीतामा एउटा आदेश घिनलाग्दो स्थिति बन्ने गरी बारम्बार दोहो¥याइएको छ : मामेकं शरणं ब्रज । ‘म एक्लैको शरण पर’, ‘अरू सब देवतालाई छाड र ममा आत्मसमर्पण गर’, ‘मेरा भक्तहरू कहिल्यै नाश हुने छैनन्’, ‘म ब्रह्माण्ड हुँ, म परमाणु हुँ, म सबथोक हुँ’ !
यसरी मूर्त वा गोचर ईश्वरको निर्माण भयो । यसको पूजाआजाका लागि श्रद्धापूर्ण निष्ठा र समर्पणभन्दा अरू केही चाहिँदैन ।
मुख्य, बुद्धवादभन्दा अघिका उपनिषद्हरूमा यस खालका कुनै पनि कुरालाई स्थान दिइएको छैन । हिन्दूवाद लचिलो छैन त ? के यसले सधैं नयाँ विचारहरू ‘आत्मसात्’ गर्दैन ? र पनि ‘उस्तै रहँदैन त ?’
गीतामा अहिंसा, करुणा, दया आदिका बारेमा अति प्रशंसापूर्ण सन्दर्भहरू पाइन्छन् । प्रस्ट रूपमा यी बुद्धवादी परम्पराबाट आएका हुन्, उपनिषद्को परम्पराबाट होइन । (१९)
दर्शनशास्त्रको क्षेत्रमा गीताले साङ्ख्य, योग र वेदान्त (अर्थात् उपनिषदीय प्रत्ययवाद) लाई मिलाउन मिहिनेत गरेको छ । त्यसमा यस्ता वाक्यहरू पाइन्छन् : ‘तपाईं जे गर्नु हुन्छ त्यसलाई प्रकृतिले निर्धारण गर्दछ’ (XVIII. 59) । वास्तवमा, भगवान् श्री कृष्ण के पनि दाबी गर्छन् भने ‘पूर्णता प्राप्त गरेका मध्येको म कपिल मुनि हुँ’ (X. 26) । हामीलाई थाहा नै छ कपिललाई साङ्ख्य दर्शनका प्रतिपादक मानिन्छ ।
यस अवस्थालाई सम्पूर्ण मानवकार्यहरूलाई सञ्चालन र निर्देशन गर्ने सिद्धान्तसित र परम, निरपेक्ष, अज्ञेय, निराकारजस्ता चल्दै आएको वेदान्तको सूत्रसित कसरी मिलाइएको छ त ? एकदम सजिलो उत्तर छ । श्री कृष्णको दृष्टिकोण के छ भने हरेक सत्य त्यसको आफ्नै स्तरमा मात्र साँचो हुन्छ, तर वेदान्तको स्तर उच्चतम भएको हुँदा अरू सबै सत्यहरू यसकै अधीनस्थ हुन्छन् ।
यसरी गीताले वेदान्तका आधारभूत दार्शनिक प्रस्थापनाहरूको अडान लिएको छ, तिनको परित्याग गरेको छैन । यसको प्रयास वृत्तलाई आयाताकार दिनु, अरू दार्शनिक सिद्धान्तहरूलाई निचोरेर वेदान्तमा ल्याउनु थियो (निश्चित रूपले निन्दित लोकायतलाई छाडेर) ।
    यहाँनिर एउटा कुराको उल्लेख गर्नु रोचक होला जस्तो लागेको छ । यसलाई गीताको विश्वसनीय विशेषता पनि भन्न सकिन्छ (विरोधीलाई उसको ऋण चुक्ता गर्ने अवसर पनि दिउँ न ) ।
गीताको भाषा एकसाथ काव्यात्मक, सरल र सुस्पष्ट छ । यो सूक्तिपूर्णसमेत छ । जसले गीतालाई बुझेका छन् उनीहरूले यसको प्राञ्जल सूक्तिहरूलाई कहिल्यै बिर्सने छैनन्, तिनले पाठकलाई आफ्नो पकडमा लिन्छन् । आत्माको देहान्तरण (पुनर्जन्म) को सिद्धान्तका बारेमा क्षमतावान् व्यक्तिहरूले निकै मिहिनेत गरेका थिए र यसको व्याख्या गर्न सक्षम मस्तिष्क भएकाहरूले गीताभन्दा अघि पनि निकै पसिना बगाएका थिए । कुनै व्यक्तिको मृत्युपछि उसको अदृश्य आत्मा कसरी जन्मदै नजन्मिएको अर्को मानिसको शरीरमा प्रवेश गर्दछ ? गीताका अनुसार एकदम सजिलो छ । ‘जसरी कुनै मान्छेले थोत्रा लुगा फुकालेर नयाँ लुगा लगाउँछ -II. 22_ ! यसले तपाईं हामीलाई चकित पार्दछ, पार्दैन त ? यतिखेर तपाईंको मन्दबुद्धिमा दैवी प्रकाश पर्न सकेन भने पक्का पनि तपाईं पटमूर्ख जस्तै वाल्ल पर्नु हुनेछ !
 
भक्तिको राजनीतिक भूमिका     
दिवङ्गत प्राध्यापक कोशाम्बीले भक्तिको राजनीतिक भूमिकाका बारेमा प्रकाश पारेर गीतालाई बुझ्न योगदान दिएका छन् ।
हामीले व्याख्या गरेजस्तै गीता त्यस अवधिसित (अति लामो समय, निःसन्देह) सरोकार राख्तछ जतिखेर जनजातीय राज्यहरू र गणतन्त्रहरू समाप्त हुँदै थिए र प्रादेशिक राज्यहरू र साम्राज्यहरूले तिनको ठाउँ लिँदै थिए ।
हरेक राजनीतिक सत्ताका लागि आफ्ना नागरिकहरूबाट विश्वास प्राप्त गर्न विचारधारात्मक–आत्मिक आधारको आवश्यकता पर्दछ । राजनीतिक सत्ताको अन्तिम मन्जुरी त बल नै हो । तर ‘कानुन व्यवस्था’ लागु गर्न यो मात्र पर्याप्त भने हुँदैन । सरकारको कार्यसम्पादन सामान्य रूपले हुनका लागि जनताले सरकारलाई स्वेच्छाले स्वीकार गरेको हुनुपर्दछ । र यसले राज्यसित केही आमरूपले स्वीकारेका वफादारी वा निष्ठाका धारणाहरूको माग गर्दछ ।
जनजातीय राज्यहरूमा जातिभित्रका गोत्रहरूका बीचको रक्तसम्बन्ध त्यस्तो बन्धन थियो जसले राजाप्रति एकता र निष्ठाको आधार प्रदान गर्दथ्यो ।
प्रादेशिक राज्यहरूमा यसको स्थान केले लियो त ? राजालाई ईश्वरको प्रतिनिधिका रूपमा मान्ने (युरोपमा) र ईश्वरको एक तत्त्वका रूपमा लिने (भारतमा) धारणाले लियो । यो नै राज्यसत्ताका लागि निष्ठा र आज्ञाकारिताको नयाँ आधार बन्यो ।
यसलाई अझ मजबुत बनाउने काम गुप्तकालमा गीताभन्दा झन्डै दुइ शताब्दीपछि भारतमा सामन्तवादको विकासले ग¥यो । हामी त्यसबारेमा पछि कुरा गर्नेछौं ।
के कुरामा अलिकति पनि शड्का छैन भने गीताको ईश्वरप्रतिको भक्तिले भारतीय सामन्तवादमा ईश्वरीय तत्त्वका रूपमा राजाप्रतिको स्वामिभक्तिलाई निश्चित रूपले असाध्यै दरिलो बनायो । यसले गुप्तहरूलाई सहयोग पु¥याएकोमा आश्चर्य मान्नुपर्दैन । उनीहरूले आफ्ना प्रजाको राजतन्त्रप्रति रहेको निष्ठालाई मजबुत पार्न पुराणहरूलाई पुनर्सम्पादनसमेत गरेका थिए ।
यसरी ईश्वरभक्तिले राजभक्तिलाई दरिलो बनायो र राजभक्तिले ईश्वरभक्तिलाई मजबुत पा¥यो र यी दुवैले शासकीय सम्पत्तिशाली वर्गहरूको उत्पीडित जनतामाथिको लौकिक र आत्मिक सत्तालाई सुदृढ बनाउन सहयोग गरे । कस्तो आनन्ददायक समाधान !
 
जनजातीय राज्यका विरुद्ध प्रादेशिक राज्य
यसले हामीलाई यथार्थमा केन्द्रीय मुद्दामा, भावगत् गीताको केन्द्रीय विषयमा ल्याउँछ ।
गीता श्रीकृष्ण र अर्जुनका बीचको संवादका रूपमा प्रख्यात छ । पाण्डवका पाँच भाइहरूमध्ये सर्वाधिक तेजश्वी योद्धा अर्जुनले आफ्ना निकटका बान्धव कौरवलाई युद्धका निम्ति तयार भएर उनका सामु परेको अवस्थामा भारतको महाकाव्यात्मक महायुद्धमा मार्न अस्वीकार गरे ।
यथार्थमा यस बहसको अर्थ के हो ? यो केका बारेको बहस हो ?
सामान्यतया के विश्वास गरिन्छ भने यो हिंसा र अहिंसाका विषयमा रहेको भिन्न मत हो । अर्जुन आफ्ना बन्धुबान्धवहरूको हत्या गर्न चाहँदैनथे भने श्रीकृष्ण तिनको हत्या हुनैपर्छ भन्ने अडानमा थिए । तर यसरी हेर्नु विषयलाई अतिसरलीकरण गर्नु हो ।
सामान्यतया, अमूर्तनमा गीता हिंसा र अहिंसाका प्रश्नमाथिको संवाद होइन । श्रीकृष्ण आफैंले पनि अहिंसाको उच्च सिद्धान्तप्रति गीताका तीन वा चार ठाउँमा सम्मानभाव व्यक्त गरेका छन् ।
 यो संवाद हिंसा विपरीत अहिंसाको विशिष्ट प्रश्नका बारेमा थियो र यस विषयले ठुलो ऐतिहासिक महत्त्व राख्तथ्यो ।
गीताको प्रारम्भकै अध्यायमा अर्जुन आफ्ना धनुष र वाणहरू भुइँमा राख्तछन् र युद्ध गर्न अस्वीकार गर्दछन् । उनले त्यहाँ भनेको कुरा यस्तो थियो : ‘म आफ्ना सामु दाजुभाइहरू, भतिजाहरू, काकाहरू, गुरुहरू र सब नातेदारहरू देख्तछु । यिनीहरूलाई मार्नु भनेको कुलको विनाश गर्नु हो । यस्तो विनाशको अर्थ प्राचीन कुलधर्मको समाप्ति हो । यो अपराध जसले गर्दछ ऊ नरकमा पर्दछ (I. 39, 40, 44) ।
यो प्रस्ट ऐतिहासिक प्रश्न हो । जनजातीय समाजमा युद्ध र हिंसा भैरहन्थ्यो । तर त्यो भिन्नभिन्न जातिहरूमा हुने गर्दथ्यो, रक्तसम्बन्धमा गाँसिएका जातिहरू बीच हुँदैनथ्यो । जनजातिका समाजमा आफ्नै जातिको सदस्यका विरुद्ध अर्थात् र रक्तसम्बन्धको परिधिभित्र हिंसा अज्ञात थियो । यस्तो पटक्कै हुँदैनथ्यो । यस्तो हिंसाले कुलधर्मको पवित्र सिद्धान्तको उल्लङ्घन गर्दथ्यो र जस्तोसुकै कारण भए पनि यसको अनुमति थिएन । वास्तवमा जनजातीय रीतिरिवाज र परम्परा (नियम, कानुन) ले जातिको अर्को कुनै सदस्यलाई खतरा आइपरेमा उसको रक्षा एवम् समर्थन गर्नुलाई बाध्यकारी वा अनिवार्य बनाएको छ । एक सबका लागि र सब हरेकका लागि यो नै जनजातीय जीवन तथा समाजको आधारशिला थियो । यस्तो जघन्य पाप गर्ने जिम्मा आफ्नो काँधमा राखिदिएको कुराबाट अर्जुन किंकर्तव्यविमूढ हुनु र त्यो काम गर्न अस्वीकार गर्नु अनौठो कुरो थिएन । (२२)
हामीले यसअघि नै के उल्लेख गरिसकेका छौं भने जनजातीय विपरीत प्रादेशिक शक्तिको विषयले भारतीय इतिहासलाई शताब्दीयौंसम्म लखेटेको थियो । गुप्तकालमा अन्ततः प्रादेशिक सिद्धान्तको पक्ष स्थापित भएको थियो । भारतको ‘नेपोलियन’ समुद्र गुप्त पञ्जाब र राजपुतानाका थुप्रैथुप्रै जनजातीय राज्यहरूलाई ध्वंस गर्ने काममा प्रख्यात छन् । त्यहाँ जनजातिवाद गङ्गाको उपत्यकामा भन्दा लामो समयसम्म टिकेको थियो ।
गीतामा श्रीकृष्ण जनजातीय एकता र निष्ठाप्रति अझै पनि वफादार रहेका अर्जुनका विरुद्ध प्रादेशिक सिद्धान्तको समर्थक रहेका छन् । अन्ततः श्रीकृष्ण विजयी हुन्छन्, अर्जुन हार्छन् महाकाव्यात्मक संवादको महत्त्व यही हो ।
गीताका लेखकले कुरु क्षेत्रको युद्धको हजारौं वर्षपछि लेखिएको किताबमा महाभारतमा प्रक्षेपण गरेको स्वैरकाल्पनिक संवादलाई किन चयन गरेका हुन् भनेर व्याख्या गर्न कठिन छैन ।
पूज्य एवम् पवित्र विगतसित जोडिएका सिद्धान्त र नियमहरूले जनताका मनहरूलाई ठुलो प्रभाव पार्दछन्, आजको विज्ञान तथा तर्कबुद्धिवादको युगमा समेत । प्रस्ट छ गीता लेखिँदाको दुई हजार वर्षअघिको समयमा यस्तो अझ बढी हुन्थ्यो । समकालीन राजनीतिका लागि आवश्यक हुने सिद्धान्तलाई पवित्र र यसरी अति प्राचीनतासित जोडेर प्राधिकारपूर्ण बनाउनुपर्ने हुन्छ । यसले गीतामा घुसाइएका विश्वरूप दर्शन र अन्य चमत्कारको पनि व्याख्या गर्दछ ।
 

Monday, November 16, 2015

◾हकिङ्गको आँखामा आइन्स्टाइन

By : Tulsi Das Maharjan
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई महान बनाएको सिध्दान्त हो, ‘सापेक्षताको सिध्दान्त’ । उहाँले त्यही प्रख्यात सिध्दान्तको आविष्कार गर्नुभएको पनि १ सय १० वर्ष बितिसकेको छ ।
हुन त आइन्स्टाइनले सन् १९०५ मा एकैसाथ त्यति नै महत्वका भौतिक विज्ञानका तीन सिध्दान्तहरु प्रतिपादन गर्नभएको थियो । ती हुन्, विशेष सापेक्षताको सिध्दान्त, प्रकाशको विद्युतीय असरको सिध्दान्त र ब्राउनियन गतिको सिध्दान्त । ‘विशेष सापेक्षताको सिध्दान्त’ सापेक्षताको पहिलो सिध्दान्त हो भने सापेक्षताको दोस्रो सिध्दान्त ‘सामान्य सापेक्षताको सिध्दान्त’ हो, जुन आइन्स्टाइनले सन् १९१५ मा प्रतिपादन गर्नभएको थियो । सन् १९२१ मा आइन्स्टाइन नोबेल पुरस्कारको लागि छानिँदा उहाँलाई कुन सिध्दान्तका लागि सो पुरस्कार प्रदान गर्ने हो भन्ने कुरामा अन्तिम निर्णय गर्न नोबेल पुरस्कार समितिलाई हम्मेहम्मे परेको बताइन्छ । पछि उहाँलाई प्रकाशको विद्युतीय असरको सिध्दान्तमा नोबेल पुरस्कार प्रदान गरियो । तर विश्वलाई अति आश्चर्य तुल्याएको र भौतिकशास्त्रमा मात्र होइन, समस्त ज्ञान, चेतना र चिन्तनलाई समेत प्रभावित तुल्याएको उहाँको सिध्दान्त भनेको सापेक्षताको सिध्दान्त हो, जसको लागि भने उहाँलाई नोबेल पुरस्कार दिइएन ।
सापेक्षताको सिध्दान्तले विश्व–ब्रम्हाण्डमा कुनै कुरा पनि निरपेक्ष छैन भन्ने कुराको पुष्टि गरेको छ । यस सिध्दान्तले विज्ञानमा मात्रै होइन, चिन्तन तथा दर्शनमा समेत ठूलो प्रभाव पारेको छ । सापेक्षताको सिध्दान्तले निरपेक्ष विचार, निरपेक्ष दर्शन र निरपेक्ष परमात्मा वा ईश्वरको अस्तित्वलाई चुनौती दिएको छ ।
प्राचीन समयका महान विचारक तथा दार्शनिक अरस्तू (इ.पू.३८४३२२)ले स्थान (space) र समय (time) दुबैलाई निरपेक्ष चीजको रुपमा व्याख्या गरे । यो विचार सत्रौं शताब्दीमा महान वैज्ञानिक सर आइज्याक न्यूटन (१६४२–१७२७)को पालासम्म आउँदा पनि निरन्तर रुपमा कायम रहँदै आयो । तर, न्यूटनको चालसम्बन्धी नियमले स्थानलाई सापेक्ष चीजको रुपमा हेर्न प्रेरित गर्यो, यद्यपि उहाँ स्थान र समयको सवालमा अरस्तूको विचारसँग सहमत हुनहुन्थ्यो । उहाँ स्थानलाई सापेक्ष चीजको रुपमा स्थापित गर्न चाहँनुहुन्थ्यो, तर उहाँको चालसम्बन्धी नियमले भने स्थान (space) लाई सापेक्ष चीजको रुपमा नै प्रस्तुत गर्दछ । र, नचाहँदा नचाहँदै नै न्यूटन दार्शनिक अरस्तूको सिध्दान्तलाई संशोधन गर्न पुग्नुभयो ।
न्यूटनको वैज्ञानिक निष्कर्षमा स्थान (space) सापेक्ष चीजको रुपमा प्रस्तुत भए पनि समय (time) भने निरपेक्ष नै भएको तर्क प्रस्तुत गरियो । न्यूटनपछि अल्बर्ट आइन्स्टाइनले बीसौं शताब्दीको सुरुमा समय पनि सापेक्ष भएको कुराको पुष्टि गरी सापेक्षताको सिध्दान्त प्रतिपादन गर्नुभयो । आइन्स्टाइनले स्थान (space) र समय (time) दुुबै सापेक्ष भएको व्याख्या गरी भौतिकशास्त्रमा नयाँ युगको सुरुवात गर्नुभयो ।
‘सापेक्षताको सिध्दान्त’को प्रतिपादनपछि आइन्स्टाइनलाई सम्पूर्ण भौतिकशास्त्रका सिध्दान्तहरुलाई एउटै सिध्दान्तअन्तर्गत व्याख्या गर्न सकिने सम्भावनाको आधार देख्नुभयो । र, उहाँले आफ्नो जीवनको पछिल्लो तीस वर्ष त्यसै सिध्दान्तको अध्ययन र खोजीमा खर्च गर्नुभयो । त्यस सिध्दान्तलाई ‘एकीकृत क्षेत्र सिध्दान्त’ (unified field theory) भनिन्छ । तर उहाँ त्यस कामलाई नयाँ पुस्ताको निम्ति छाडेर जान बाध्य हुनुभयो । एकीकृत क्षेत्र सिध्दान्तको अध्ययन गर्दागर्दैको स्थितिमा नै सन् १९५५ मा आइन्स्टाइनको देहान्त हुन पुग्यो ।
आइन्स्टाइनको देहान्तपछि अहिले विश्वभर नयाँ पुस्ताका थुप्रै भौतिकशास्त्रीहरु ‘एकीकृत क्षेत्र सिध्दान्त’ (unified field theory) को अध्ययन अनुसन्धानमा लागिपरेका छन् । यस कार्यमा नेपाली वैज्ञानिक डा. उदयराज खनाल पनि लागिपर्नु भएको छ । तर विश्वभरका यस कार्यमा लागेका वैज्ञानिकहरुमध्ये बेलायतका प्रख्यात वैज्ञानिक स्टेफेन विलियम हकिङ्ग सबभन्दा अगाडि रहनुभएको छ । उहाँले आफ्नो प्रख्यात किताब A Brief History of Time मा महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको विषयमा छोटो परिचय दिनुभएको छ । उक्त परिचयात्मक लेखलाई आधार मानी यहाँ केही कुरा प्रस्तुत गरिन्छ ।
आइन्स्टाइन वैज्ञानिक व्यक्तित्व मात्र थिएनन्
अल्बर्ट आइन्स्टाइन
आइन्स्टाइनले आफ्नो जीवनकालमा वैज्ञानिक कार्य मात्र गर्नुभएन । उहाँ सुरुदेखि नै युध्द बिरोधी गतिविधि तथा विश्व–शान्तिका लागि चलाइएका अभियानहरुमा सहभागी बन्नुभयो । उहाँ मानवतावादी विचारबाट प्रेरित हुनुहुन्थ्यो । त्यसै कुरालाई प्रष्ट पार्न वैज्ञानिक हकिङ्गले लेख्नुभएको छ,
‘परमाणु बम, Atomic Bomb को राजनीतिसँग आइन्स्टाइनको सम्बन्धको कुरा त सबैलाई राम्ररी नै थाहा छ । राष्ट्रपति फ्रयांक्लिन रुजवेल्टलाई लेखिएको प्रख्यात पत्रमा उहाँले हस्ताक्षर गर्नुभयो, जुन पत्रले संयुक्त राज्य अमेरिकालाई त्यस (परमाणुबम बनाउने)बारेमा गम्भीर रुपमा सोच्न प्रभावित तुल्यायो । र, उहाँ ‘परमाणु युध्द’ लाई रोक्न युध्दपछिको अभियानमा लागिपर्नुभयो । तर, यी कुराहरु विश्व राजनीतिमा तानिएका एक वैज्ञानिकका पृथक कार्यहरु मात्र थिएनन् । वस्तुतः आइन्स्टाइनको जीवन उहाँकै शब्दमा ‘राजनीति र समीकरणहरुमा विभाजित’ थियो ।
आइन्स्टाइनको पहिलो राजनीतिक गतिविधि पहिलो विश्वयुध्दको समयमा सुरु भयो, जुनबेला उहाँ बर्लिनमा प्रोफेसर हुनुहुन्थ्यो । उहाँले युध्दमा मानव जीवनको जुन बर्वादी देख्नुभयो । त्यसबाट संवेदित भई उहाँ युध्दविरोधी प्रदर्शनीहरुमा सहभागी हुनुभयो । जबर्जस्ती सेनामा भर्ती गर्ने कार्यप्रति नागरिक अवज्ञाको लागि वकालत तथा त्यस कार्यलाई अस्वीकार गर्न आमजनतालाई प्रोत्साहित तुल्याउनका निम्ति गरिएको उहाँको कामले उहाँलाई आफ्ना सहपाठीहरुमाझ प्रिय बनायो ।’
आइन्स्टाइनले युध्दअगाडि र युध्द भइरहँदा त्यसको विरोध त गर्नुभयो नै । त्यसका साथै युध्दपछाडिका दिनहरुमा युध्दले बिगारेका अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई पुनः सुधार्न पनि भूमिका निभाउनुभयो । तर, यी कार्यहरुले उहाँलाई लोकप्रिय नबनाएको कुरा हकिङ्गले आफ्नो लेखमा लेख्नुभएको छ । हकिङ्गका अनुसार आइन्स्टाइनको युध्दविरोधी ‘राजनीतिले उहाँलाई संयुक्त राज्य अमेरिकाको भ्रमण गर्न कठिनाइ उत्पन्न’ गरायो । अझ त्यतिमात्र कहाँ हो र, त्यसले उहाँलाई वैज्ञानिक प्रवचनहरु दिनसमेत कठिनाइ उत्पन्न गरायो ।
हकिङ्ग भन्नुहुन्छ, ‘आइन्स्टाइनको दोस्रो आधार भनेको यहूदीवाद थियो । आइन्स्टाइनले ईश्वरको सम्बन्धमा बाइबलको विचारलाई अस्वीकार गर्नुभयो । यद्यपि पुर्खाको हिसाबले उहाँ यहूदी हुनुहुन्थ्यो । तैपनि प्रथम विश्वयुध्दको र त्यसअगाडिको दुबै समयमा बढ्दो यहूदीविरोधी जागरणले उहाँलाई विस्तारै यहूदी समुदायमा परिचित गरायो । र, पछाडि उहाँ यहूदीहरुका एक स्पष्ट बोल्ने समर्थक हुन पुग्नुभयो ।’
हकिङ्गका अनुसार यहूदीहरुका समर्थक बनेर विश्व–जगतमा आइन्स्टाइनको लोकप्रियता फेरि एकचोटि घट्न पुग्यो । उहाँ भन्नुहुन्छ, ‘उहाँका (आइन्स्टाइनका) सिध्दान्तहरु आक्रमणमा परे, आइन्स्टाइनविरोधी एउटा संगठनको नै जन्म भयो ।’
हकिङ्गले के लेख्नुभएको छ भने, आइन्स्टाइनलाई हत्या गर्न अरुलाई उक्साएको आरोपमा एकजना मानिस समातिएको थियो । तर, उनलाई सजायँ स्वरुप केवल ६ डलर जरिवाना तिराउने काम मात्रै गरियो ।
यो उहाँलाई त्यतिखेरको राज्य र समाजले गरेको निम्नस्तरको व्यवहारको नमूना थियो । तर, उहाँ हतोत्साही पटक्कै हुनुभएन । त्यतिखेर 100 Authors Against Einstein नामक उहाँविरुध्दको एउटा कठोर पुस्तक प्रकाशित भएको थियो । तर, आइन्स्टाइन त्यस्तो कार्यबाट अलिकति पनि निराश हुनुभएन । त्यो पुस्तकको बारेमा आइन्स्टाइनले शान्तपूर्वक प्रतिक्रिया व्यक्त गर्नुभएको थियो, ‘यदि म बेठीक थिएँ भने एकजना नै पर्याप्त हुन्थ्यो ।’
जर्मनीमा सन् १९३३ मा कुख्यात तानाशाह हिटलर सत्तामा आए । त्यतिखेर आइन्स्टाइन अमेरिकामा हुनुहुन्थ्यो । उहाँले आफू जर्मनीमा नफर्कने घोषणा गर्नुभयो । त्यसपछि जब नाजी मिलिशियाहरुले जर्मनीमा आइन्स्टाइनको घरमा छापा मारे र उहाँको बैंकखाता जफत गरे । त्यसबेला एक बर्लिन अखवारले आफ्नो मुखपृष्ठमा यस्तो छाप्यो, ‘आइन्स्टाइनबाट राम्रो खबर, “उनी फर्कंदै छैनन् ।”
नाजीवादको विरुद्धमा आइन्स्टाइनको पहलको विषयमा हकिङ्ग अगाडि भन्नुहुन्छ, ‘नाजी धम्कीको सामना गर्नको लागि आइन्स्टाइनले शान्तिवादलाई त्याग गर्नुभयो र परिणामस्वरुप जर्मन वैज्ञानिकहरुले परमाणुबम बनाउन सक्ने भयबाट ग्रसित भई उहाँले संयुक्त राज्य अमेरिकाले आफ्नै परमाणुबम बनाउनुपर्ने प्रस्ताव राख्नुभयो । तर पहिलो परमाणुबम विस्फोटन गराउनुभन्दा पहिले पनि उहाँ परमाणु–युध्दको खतरालाई लिएर सार्वजनिक चेतावनी दिँदै हुनुहुन्थ्यो र अन्तराष्ट्रिय आणविक हतियारको नियन्त्रणको प्रस्ताव राख्दै हुनुहुन्थ्यो ।’
हकिङ्गको ठम्याइअनुसार युध्दबिरोधी राजनीति र शान्तिका अभियानहरुमा लागेर सम्भवतः आइन्स्टाइनले थोरैमात्र उपलब्धी हासिल गर्नुभयो र उहाँले निश्चित रुपले केही मित्रहरु मात्र हातमा पार्नुभयो । तर, यहूदीहरुका लागि उहाँका समर्थनका शब्दहरुले उहाँलाई यहूदीहरुको नयाँ राज्यमा ठूलो सम्मान प्राप्त भयो । त्यही क्रममा सन् १९५२ मा आइन्स्टाइनलाई यहूदीहरुको राज्य इजरायलमा राष्ट्रपति बनिदिन आमन्त्रण गरियो । तर, उहाँले राजनीतिमा आफू कच्चा रहेको भनी त्यस आमन्त्रणलाई अस्वीकार गर्नुभयो । तर, हकिङ्गका अनुसार आइन्स्टाइन इजरायलका राष्ट्रपति बन्न नजानुमा सायद अर्कै कारण थियो । किनकि, आइन्स्टाइनले एकपटक भन्नभएको थियो, ‘(वैज्ञानिक) समीकरणहरु मेरा लागि बढी महत्वका छन्, किनकि राजनीति वर्तमानको लागि हो, तर समीकरण अनन्तकालको लागि केही चीज हो ।”

खगोल विज्ञानमा उत्साहको खैलाबैला

By : Akash Maharjan
 
कार्तिक १०, काठमाडौं । हालै अमेरिकी एक विश्वविद्यालय येल का वैज्ञानिकहरुले पृथ्वीबाट १ हजार ५ सय प्रकाश वर्ष टाढाको एक ताराले देखाएको असामान्य गतिविधिका आधारमा त्यहाँ पृथ्वीमा जस्तै सभ्यताको अस्तित्वको सम्भावना रहेको अनुमान लगाएका छन् । अन्तरिक्षमा रहेको केपलर टेलिस्कोपको सहायताबाट प्राप्त अनौठो तर उत्साजनक सूचनाहरुलाई कहिँ उपकरण तथा प्रविधिमा हुन सक्ने त्रुटिको कारणले त त्यस्तो कुरा प्राप्त भएका होइनन् भनी वैज्ञानिकहरुले आवश्यक सबै कुरालाई दोहोर्याइ तेहर्याइ रुजु गरी हेरे । तर, हरेक पटक उनीहरुले एउटै नतिजा प्राप्त गरे । र, उनीहरु डेढ हजार प्रकाश वर्ष टाढाको खगोलको एक ठाउँमा सभ्यताको सम्भावना रहेको निष्कर्षमा पुगे ।
सू्य, प्रीथ्वी र केपलर टेलिस्कोप
गत महिना मात्र नेपाली मूलका वैज्ञानिक लुजेन्द्र ओझा सहितको टोलीले मंगल ग्रहमा तरल पानी रहेको पत्ता लगाएको समाचार आएको थियो । यसबाट वैज्ञानिक जगत मात्र नभएर आम मानिसहरु पनि उत्साहित भएका थिए, ‘पानी पत्ता लागिसकेपछि अब मंगल ग्रहमा जीवन पनि पत्ता लाग्छ कि ?’ भनेर ।
मंगल ग्रहमा थप अनुसन्धानहरु त भइरहन्छन् नै र त्यहाँ कुनै जीवन छ कि छैन वा त्यहाँ कहिल्यै जीवनको अस्तित्व थियो कि थिएन भन्ने कुरा भविष्यमा हामी थाहा पाउने नै छौँ । तर, हालै खगोल वैज्ञानिकहरुले अर्को उत्साहपूर्ण खबर बाहिर ल्याएका छन्, ‘एलियन मेगास्ट्रक्चर’को ।
खगोलीय विज्ञानमा कुनै अनौठो कुरा पत्ता लाग्दा त्यसमा ‘पृथ्वीइतर प्राणी’ वा ‘एलियन’को कुरा जोडिनु त्यति सामान्य कुरा होइन । सन् १९७७, अगस्ट १५ मा अमेरिकी खगोलशास्त्री जेरी आर एहमानले अन्तरिक्षबाट ‘वाउ ! सिग्नल’ प्राप्त गरेको इतिहास वैज्ञानिक जगतले बिर्सेको छैन । अन्तरिक्षबाट प्राप्त रेडियो संकेतहरुलाई आधार मानेर पृथ्वीइतर प्राणीहरुको खोजी गर्ने प्रकृया अपनाई अनुसन्धान गरिरहेका एहमानले त्यसपछि कुनै त्यस्तो उल्लेखनीय संकेत प्राप्त नगरे पनि उक्त ‘वाउ ! सिग्नल’ले अन्तरिक्ष विज्ञान जगतमा ठूलै खैलाबैला मच्चाएको थियो । अहिले केआईसी ८४६२८५२ नामक तारा र त्यसको असामान्य ‘स्वभाव’हरु पत्ता लागेबाट सानै भए पनि अर्को खैलाबैला मच्चिएको छ, पृथ्वीइतर प्राणीको खोजी गर्ने विज्ञानमा ।
कलाकारको अाँखामा केअाईसि तारा र त्यस वरपरका खगोलीय वस्तुहरु
के हुन् ती असामान्य ‘स्वभाव’?
केआईसी ८४६२८५२ तारा पृथ्वीभन्दा १ हजार ५ सय प्रकाश वर्ष टाढा छ । सिग्नस र लायरा राशीको बीचमा पर्ने यो तारा सन् २००९ मा नासा  को केप्लर स्पेस टेलिस्कोपले पत्ता लगाएको थियो । त्यसयता वैज्ञानिकहरुले यो तारासहित नयाँ पत्ता लागेका १ लाख ५० हजार ताराहरुले उत्पादन गर्ने प्रकाशको मात्राको अध्ययन गरिरहेका छन् ।
ताराले उत्पादन गर्ने प्रकाशको मात्राको मापन गरेर वैज्ञानिकहरुले ती ताराहरुलाई परिक्रमा गरिरहेका ग्रहहरुको अध्ययन गर्छन् । पृथ्वीबाट ताराको अवलोकन गर्दा ग्रहले तारालाई परिक्रमा गर्ने क्रममा पृथ्वी र ताराको बीचमा ग्रह आइपुग्ने समयमा ग्रहले ताराको प्रकाशलाई केही मात्रामा छेक्ने गर्छ (सूर्य ग्रहणको बेला चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आई सूर्यको प्रकाश छेके जस्तै) । त्यसैले कुनै ताराले उत्पादन गर्ने प्रकाशको निरन्तर अवलोकन गर्दा यदि त्यसमा आवधिक रुपमा परिवर्तन आएमा त्यसलाई कुनै ग्रह वा कुनै पिण्डले परिक्रमा गरिरहेको छ भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ । अनि, ताराले उत्पादन गर्ने प्रकाशमा कति परिवर्तन आएको छ, कति–कति समयमा परिवर्तन आएको छ, आदि जस्ता कुराहरुको अध्ययन गरी परिक्रमा गर्ने पिण्ड ग्रह हो कि होइन, र यदि हो भने त्यो ग्रहको आकारलगायत अन्य विशेषताहरुको अध्ययन गरिन्छ ।
तर, केआईसी ८४६२८५२ ताराको अध्ययनमा केही असामान्य व्यवहारहरु देखा परेका छन् । ‘हामीले प्राप्त गरेको डाटा सही हो भन्ने कुरा नै पनि अविश्वसनीय छ ।’ अमेरिकाको येल विश्वविद्यालयका खगोलशास्त्री टबेथा बोयाजियन भन्छिन्, ‘(केआईसी ८४६२८५२ को व्यवहारको व्याख्याको रुपमा) जुनै पनि विचार अगाडि सारिए पनि केही न केही कुरा आउँथ्यो, जसले त्यो व्याख्यालाई गलत साबित गरिदिन्थ्यो ।’
खगोलशास्त्री टबेथा बोयाजियन
सामान्यतः कुनै तारालाई परिक्रमा गरिरहेको बृहस्पति साइजको ग्रहले उक्त ताराको प्रकाशलाई १ प्रतिशत मात्र मधुरो बनाउँछ । केआईसी ८४६२८५२ ले उत्पादन गर्ने प्रकाश भने कुनै–कुनै समयमा १५ देखि २२ प्रतिशतसम्म मधुरो भएको डाटा प्राप्त भएको बोयाजियनको अध्ययनमा देखिएको छ । यति मात्र नभई प्रकाशमा आएको उक्त परिवर्तन कुनै ग्रहको कारण थियो भने परिवर्तन आवधिक रुपमा आउनुपर्ने हो । यद्यपि, केआईसी ८४६२८५२ को प्रकाशमा आएको परिवर्तनको समय भने अनियमित छ ।
‘के कुरा निश्चित छ भने यो (केआईसी ८४६२८५२ को प्रकाशमा आएको परिवर्तन) ग्रह(को कारणले भएको) होइन ।’ अमेरिकी अनलाईन पत्रिका स्लेटका खगोलशास्त्री फिल प्लेट भन्छन्, ‘बृहस्पति साइजको ग्रहले पनि करिब १ प्रतिशत मात्र प्रकाश छेक्छ, र कुनै ग्रह त्योभन्दा ठूलो बिरलै हुन्छ । यो कुनै ताराको कारणले पनि हुन सक्दैन; त्यसो हुँदो हो त हामी त्यो तारालाई देखिहाल्थ्यौँ । र, यो आवधिक रुपमा नहुनुले पनि यी दुबै सम्भावनाहरुको खण्डन गर्छ । तर, तारालाई जेले छेकिरहेको भए पनि त्यो निकै ठूलो छ ।’
यस्तो स्थितिमा सर्वमान्य व्याख्या के हो भने केआईसी ८४६२८५२ लाई ठूल्ठूला चट्टान तथा अन्तरिक्ष धुलोजस्ता विभिन्न आकारप्रकारका कुनै अन्तरिक्ष अवशेषहरुले परिक्रमा गरिरहेका छन् । यद्यपि, यो व्याख्यामा पनि समस्या कहाँनिर छ भने तुलनात्मक रुपमा कम उमेरका ताराहरुमा मात्र यस्तो हुनु सम्भव हुन्छ किनभने तारा उत्पत्ति भएको लामो समय भइसकेको छ भने ताराको गुरुत्वाकर्षणको कारण त्यस्ता अन्तरिक्ष अवशेषहरु पहिले नै तारामा विलय भइसकेका हुनेथिए । र, केआईसी ८४६२८५२ तारा यति परिपक्व भइसकेको छ कि त्यस्तो सम्भावना अहिले छैन । केआईसी ८४६२८५२ परिपक्व भइसकेको कुराको पुष्टिको रुपमा दि एटलान्टिक पत्रिकाका विज्ञान सम्पादक रोस एन्डर्सन लेख्छन्, ‘यदि यो (केआईसी ८४६२८५२)ताराको उमेर कम भइदिएको भए यसलाई अन्तरिक्ष धुलाहरुले परिक्रमा गरिरहेका हुन्थे, जसको कारण त्यहाँबाट थप ईन्फ्रारेड किरण आउँथ्यो । तर, यो ताराबाट असामान्य रुपमा बढी ईन्फ्रारेड किरण आएको देखिएको छैन ।’
त्यसो भए केआईसी ८४६२८५२ मा के भइरहेको छ त ? सबैभन्दा पहिलो कुरो त वैज्ञानिकहरुले आफूले प्राप्त गरेको डाटामा गल्ती हुन सक्ने सम्भावनालाई मेटाइसकेका छन् ।
‘हामीलाई यो डाटामा कहीँ गल्ती भएको वा अन्तरिक्ष यानमा केही चाल उत्पन्न भएर यस्तो अनयिमितता आएको होला भन्ने लागेको थियो । तर, सबै कुरा दोहो¥याएर हेरिसकिएको छ । त्यस्तो केही गल्ती छैन ।’ बोयाजियन भन्छिन् ।
यो अनौठो परिस्थितिको सबैभन्दा तर्कसंगत व्याख्या के छ भने कुनै समयमा एउटा तारा केआईसी ८४६२८५२ को नजिक भएर गुज्रिएको हुनसक्छ जसको कारण त्यहाँको गुरुत्वाकर्षण बलमा केही परिवर्तन आएको हुनसक्छ । गुरुत्वाकर्षणमा आएको गड्बडीको कारण आसपास रहेका पुच्छ्रेतारालगायत स–साना अन्तरिक्ष पिण्डहरुको कक्ष व्यापक रुपमा अस्तव्यस्त भएको हुनसक्छ । ती पिण्डहरुको अस्तव्यस्त कक्षकै कारण केआईसी ८४६२८५२ बाट आइरहेको प्रकाशमा असामान्य स्वभावहरु देखिएको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।
यद्यपि, ब्रम्हाण्डको विशाल स्केलसित तुलना गर्दा हाम्रो पृथ्वीको यति नजिक यति दुर्लभ घटना मानव जातिले टेलिस्कोप आविष्कार गरी अन्तरिक्षको अध्ययन गरिरहेको समयभन्दा करिब साढे एक सय वर्षअघि मात्र घट्नु निकै ठूलो संयोग हुने एण्डर्सनको धारणा छ । र अर्को, केही पुच्छ्रेतारा र अन्तरिक्ष पिण्डहरुले त्यति धेरै प्रकाश छेक्न सक्छ त ? जबकि, जुपिटर जत्रो ठूलो ग्रहले त करिब १ प्रतिशत मात्र प्रकाश छेक्छ ।
‘कुनै पनि घटनाको व्याख्या गर्दा ‘पृथ्वीइतर प्राणी’ (एलियन) लाई हामीले सबैभन्दा अन्तिम विकल्पको रुपमा मात्र लिने हो । तर, यो चाहिँ एउटा यस्तो संरचना हो जुन कुनै बुद्धिमान पृथ्वीइतर सभ्यताले निर्माण गर्नसक्छ भन्ने हामीले अपेक्षा गर्न सक्छौँ ।’ अमेरिकाको पेन स्टेट युनिभर्सिटीका खगोलशास्त्री जेसन राइटले द एटलान्टिकलाई भनेका छन् ।
डाइसन स्फेयर
राइटले यहाँ ‘डाइसन स्फेयर’ नामक ‘मेगा स्ट्रक्चर’लाई इंगित गरेका हुन् । ‘डाइसन स्फेयर’लाई विभिन्न विज्ञान साहित्यहरुमा परिकल्पना गरिएको छ । डाइसन स्फेयर भनेको यस्तो विशाल प्राविधिक संरचना हो जुन अति विशाल सोलार पेनलहरु मिलाएर बनाइएको हुन्छ र त्यसले तारालाई पूर्ण रुपमा घेरेर ताराबाट उत्पादन हुने ऊर्जालाई प्रयोग गरिन्छ । सन् १९३७ मा बेलायती दार्शनिक तथा विज्ञान साहित्यकार विलियम ओलाफ स्टेपलडनले आफ्नो विज्ञान उपन्यास ‘स्टार मेकर’मा डाइसन स्फेयरको पहिलोपटक परिकल्पना गरेका थिए । त्यसपछि स्टेपलडनको त्यस परिकल्पनालाई बेलायती मूलका अमेरिकी भौतिकशास्त्री तथा गणितज्ञ फ्रिमन जोन डाइसनले सन् १९६० मा ‘इन्फ्रारेड किरणको कृत्रिम नक्षेत्रीय स्रोतको खोजी’ (Search for Artificial Stellar Sources of Infrared Radiation) नामक आफ्नो पेपरबाट प्रचलित गरेका थिए ।
‘खासमा भन्नुपर्दा मलाई यो निकै रोचक लाग्दैछ ।’ डाइसन स्फेयरको परिकल्पनाबारे फिल प्लेट भन्छन्, ‘यो सही छ भनेर भनेको होइन, ख्याल राख्नुहोला । तर, यो निकै रोचक छ । (जेसन) राइट कुनै अव्यवहारिक परिकल्पना गर्ने बेवकुफ होइनन्; उनी उत्कृष्ट पृष्ठभूमि भएका एक पेशागत खगोलशास्त्री हुन् । उनका अनुसार हामीले यसलाई पनि सम्भावनाको परिधिभित्र राख्नुपर्छ …’
यति हुँदाहुँदै पनि अहिलेसम्म ब्रम्हाण्ड र अन्तरिक्षको अध्ययनका क्रममा मानव सभ्यताले प्राप्त गरेको अनुभव के हो भने हामीले पहिलो नजरमा ठम्याउन नसक्ने कुराहरु ब्रम्हाण्डमा बारम्बार पत्ता लागिरहेका हुन्छन् । उदाहरणको लागि पल्सार ताराहरु । सन् १९६७ नोभेम्बर २८ मा उत्तर आयरल्याण्डकी खगोलीय भौतिकशास्त्री जोइस्लिन बेल बर्नल र बेलायती खगोलशास्त्री एन्टोनी हेविसले अन्तरिक्षको एउटै क्षेत्रबाट हरेक १.३ सेकेण्डको अन्तरमा विद्युत–चुम्बकीय तरङ्गहरु आइरहेको पत्ता लगाएका थिए । यो कहाँबाट आयो भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा थुप्रै सम्भावनाहरुलाई अगाडि सारियो । अन्तरिक्षबाट प्राप्त हुने अधिकांश विद्युत–चुम्बकीय विकिरणहरु तारामा उत्पादन हुन्छन् । यद्यपि, १.३ सेकेण्डको अन्तरमा आवधिक रुपमा प्राप्त हुने भएको कारण ती तरङ्गहरु ताराबाट आएका होइनन् भन्ने कुरा पुष्टि हुन्छ । त्यस्तै, मानव निर्मित रेडियो तरङ्गहरुको हस्तक्षेपको सम्भावनालाई पनि गलत भएको साबित गरियो । अर्कै टेलिस्कोपबाट अध्ययन गर्दा पनि एउटै नतिजा आएकोले उपकरणको खराबीको सम्भावना पनि गलत साबित भयो । त्यस समयमा बर्नलले लेखेकी थिइन्, ‘हामीले अर्को (पृथ्वीइतर) सभ्यताबाट संकेत प्राप्त गरेका हौँ भन्ने कुराको हामीलाई पटक्कै विश्वास थिएन । तर, यो विचार हाम्रो दिमागले नसोचेको भने होइन । र, ती विकिरणहरु नितान्त प्राकृतिक रुपमा उत्पत्ति भएका हुन् भन्ने कुराको प्रमाण पनि हामीसित थिएन ।’ यसले अन्तरिक्ष विज्ञानको जगतमा निकै उत्साह पैदा गरेको थियो । यद्यपि, थुप्रै अनुसन्धानहरुबाट के कुरा पत्ता लाग्यो भने यो एक नितान्त भिन्न प्रकारको खगोलीय पिण्ड हो, अत्यन्त छिटो गतिमा घुमिरहने असामान्य रुपमा बढी घनत्व भएको न्युट्रोन स्टार ।
यस्तै, केप्लरले केआईसी ८४६२८५२ ताराको आसपास कुनै नयाँ प्रकारको खगोलीय पिण्ड पत्ता लगाएको पनि हुनसक्छ वा अहिलेसम्म विज्ञानलाई थाहा नभएको कुनै घटनाको कारण केआईसी ८४६२८५२ को प्रकाशमा अनियमितता देखिएको पनि हुनसक्छ । पृथ्वीइतर सभ्यताकै सम्भावनालाई पनि पूर्ण रुपमा नकार्न सकिन्न । जे भए पनि हामी के कुरामा ढुक्क हुन सक्छौँ भने अन्तरिक्ष अध्ययनको इतिहासमा अहिलेसम्म पत्ता लागिनसकेको रहस्यको पर्दाफासको दोसाँधमा हामी उभिएका छौँ ।
 

Thursday, November 5, 2015

नेपाली कम्युनिस्ट आन्दोलन र धर्म

By : आहुति
 
१. विषय प्रवेश
मानव जगतमा दुई विश्वदृष्टिकोण छन् । चेतना (प्रत्यय) लाई प्राथमिक मान्ने प्रत्ययवाद र पदार्थलाई प्राथमिक मान्ने भौतिकवाद । परिवर्तनको श्रोत पदार्थभन्दा बाहिर खोज्ने अतिभूतवाद र परिवर्तनको श्रोत पदार्थभित्र नै खोज्ने द्वन्द्ववाद । समष्टिमा अतिभूतवादी प्रत्ययवाद र द्वन्द्वात्मक भौतिकवाद । सबै धर्महरु मूल रूपमा अतिभूतवादी प्रत्ययवादको दार्शनिक मान्यताको जगमा उभिएका हुन्छन् । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आविष्कारसहित कम्युनिस्ट आन्दोलनको जन्मभन्दा पहिले भएका सबैप्रकारका राजनीतिक आन्दोलनहरुले विश्वदृष्टिकोणमा परिवर्तनको मुद्दा उठाएका थिएनन् । तर कम्युनिस्ट आन्दोलन एउटा यस्तो राजनीतिक आन्दोलनका रुपमा उपस्थित भयो जसले हजारौं मतहरुमा व्यक्त अधिभूतवादी प्रत्ययवादका विरुद्ध चुनौती दियो । यस अर्थमा कम्युनिस्ट आन्दोलन सारतत्वमा विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन बन्न पुग्यो । धर्म विश्व दृष्टिकोणसँग सम्बन्धित मुद्दा भएकाले कम्युनिस्ट आन्दोलन सबै धर्मको विरुद्धमा पनि स्वतः उभिन पुग्यो । इतिहासका सबै वर्गसंघर्ष, उत्पादनका लागि भएका संघर्ष र वैज्ञानिक प्रयोगको अनुभवको सार खिच्न सक्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दार्शनिक हतियारद्वारा सुसज्जित मानव जातिको अन्तिम शोषित तर क्रान्तिकारी वर्ग हुनुको नाताले सर्वहारा वर्गका अगाडि एकातिर आफूसहित सबै उत्पीडित वर्ग र समुदायलाई मुक्त गर्ने अभिभारा छ भने अर्कोतिर मानव जातिले आर्जन गरेका समस्त संस्कृतिले मानवजातिको लागि गरेको सेवा र हानीको मूल्याङकन गरी मानव जातिको सबै पुस्तालाई यथोचित न्याय गर्नुपर्ने, न्यायाधीशको भूमिका खेल्नुपर्ने अभिभारा पनि छ । यो दोस्रो अभिभारा पूरा गर्ने क्रममा कम्युनिस्टहरुले आफूलाई परम्परागत नास्तिकभन्दा पृथक् रुपमा प्रस्तुत गरे । कम्युनिस्टहरु दृढतापूर्वक धर्मको विरुद्धमा उभिए तर धर्महरुले आफ्नो शैसवकालमा वा अन्य बेला खेलेका क्रान्तिकारी भूमिकाहरुलाई पनि उचित मूल्याङ्नक गरी स्वीकार गरे । वेदका रचनाकारहरु त्यसबेलाका महान् मानिसहरु थिए । ठाउँपिच्छे देवता जन्मिने परम्परालाई तोडेर मूर्ती पूजाको विरोध गर्ने गौतम बुद्ध, एक अल्लाहको धारण ल्याउने मोहम्मद अनि मालिकलाई मात्र ईश्वरको आशीर्वाद मिल्छ भन्ने मान्यताका विरुद्ध इश्वरको नजरमा सबै बराबर भन्ने इसामसिह वास्तवमा आफ्नो जमानाका महान् क्रान्तिकारीहरु नै थिए । मानव जातिको दुःखलाई कम गर्न धर्ती, हावा, पानी, अग्नि आदिलाई खुसी पार्न पूजा गर्ने प्राकृत धर्मीका प्रथम नायकहरु आफ्नो जमानाका महान् मानवसेवी नै थिए ।
आफ्नो समयको सापेक्षित अज्ञानता, सृष्टि र जीवन–जगत्का नियमहरुको उत्तर खोज्ने प्रयत्न र मानवजातिमाथि आइरहने प्राकृतिक अनिष्टको प्रकोपबाट हुने पीडालाई राहत दिने सदिक्षाको जगमा नै मानिसले फरक फरक भूगोलमा फरक फरक प्रकार र नामका अलौकिक शक्ति वा ईश्वरलाई जन्म दिन पुग्यो । ईश्वर वास्तवमा अज्ञानी मानिसले आफ्नो दिमागभित्रबाट जन्माएको प्यारो सन्तान नै थियो । त्यो अज्ञानी मानवले आफ्नो त्यो सन्तानलाई यति धेरै प्रेम ग¥यो कि आफैंले जन्माएको सन्तान ईश्वरको आफू सन्तान हुँ भनी स्वीकार ग¥यो । यसरी आदीमकालमा ईश्वरको आविष्कार र शैशवकालीन धार्मिक मूल्यमान्यताहरु सारमा मानवजातिको सेवाकै लागि रचना गरिएका थिए तर वर्गसमाजको उत्पत्तिसँगै ती सबै दयालु अलौकिक शक्ति वा ईश्वर र मानव सेवा गर्ने मूल्य मान्यताहरु वर्गीय बन्न थाले र शोषकवर्गले ईश्वरलाई एवं धार्मिक मतलाई शोषित वर्गका विरुद्ध गतिलो हतियारका रुपमा प्रयोग गर्न सुरु ग¥यो । त्यसै गरी शासक र शोषक वर्गले मुठ्याएको ईश्वर र धर्मसँग विद्रोह गरेर नयाँ ईश्वर र नयाँ धार्मिक मतहरु जन्मिने प्रक्रिया पनि लगातार चल्यो । त्यही क्रममा जन्मिएका हुन् बौद्ध मत, इस्लाम र इसाई मत आदि । ती मतहरुले तबसम्म विद्रोही र क्रान्तिकारी भूमिका खेले जबसम्म ती मतहरु शासक एवम् शोषकवर्गको कब्जामा परेनन् । यसरी के प्रष्ट देखिन्छ भने शासक एवम् शोषक वर्गको कब्जामा परेपछि सबै ईश्वर र सबै धर्महरु जनविरोधी बन्न पुगे । श्रमजीवी वर्गमाथि शोषण गर्ने गतिलो वैचारिक हतियार बन्न पुगे ।
आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले धर्मलाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्तिलगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने हतियारका रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबैखालका क्रान्तिकारीहरु बीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्न परिरहेको छ । यसप्रकारको स्थितिमा कम्युनिस्ट आन्दोलनले धर्मबारे निकालेका निष्कर्ष नेपालमा कसरी लागू भए र गर्ने भन्ने विषयमा छलफल चलाउनु निकै सान्दर्भिक र महत्वपूर्ण छ ।
२. नेपालमा धर्म
(क) नेपालमा धेरै अन्य विषयको जस्तै धर्मको इतिहास पनि आधिकारिक रुपमा पाइन्न । धर्मको इतिहासको अध्ययन गर्न विभिन्न ग्रन्थ, जातक, वंशावली, इतिहास र समाजशास्त्रका छरिएर रहेका पुस्तकहरुको सहारा लिनुपर्ने अवस्था छ । आजको नेपालको लुम्बिनीमा बौद्ध धर्मको जग बसालिएको यथार्थ प्रमाणित छ । बौद्ध मत वज्रयान, हीनयान, महायान आदिमा विकसित हुँदै गएपछि नेपालभित्रै फरक फरक बौद्ध मतभित्रकै सम्प्रदाय विकसित भएको देखिन्छ । त्यसमध्ये पनि तामाङ जातिले अभ्यास गर्दै आएको बौद्धमत नेपालबाट तिब्बत–चीन पुगेर थप नयाँ ढाँचामा ढालिएर फेरि नेपाल फर्किएको देखिन्छ । प्रकृतिपूजक हुँदै मुन्धुमसम्म विकसित किरात धर्मको उत्पत्ति हिमालयखण्ड अर्थात् आजको नेपालभित्र नै भएको कुरामा धेरैले विमति राख्दैनन् । मूलतः प्रकृति पूजकका रुपमा रहेका विभिन्न जनजातिका धार्मिक मतहरु पनि मूलतः नेपालभित्रै जन्मिएका भनी स्वीकार गर्न कुनै तथ्यले छेक्दैन । गौतम बुद्ध कालमै जन्मिएको मानिएको तथा गौतम बुद्ध र महावीरको बास एक पटक एक रात एकै स्थानमा भएको बौद्ध कथामा उल्लेख भएको कुरालाई हेर्दा जैन धर्म पनि नेपाल र हिन्दुस्तानको यसै सेरोफेरोमा जन्मिएको सजिलै मान्न सकिन्छ । यसरी के देखिन्छ भने नेपालभित्र र बौद्धकालदेखि जन्मिएका धार्मिक मतहरुमा वर्णव्यवस्था, जातपात, छुवाछुतजस्ता कुनै चीज थिएन, ती समतामूलक स्वभावका धार्मिक मतहरु थिए ।
(ख) नेपालको पश्चिम पहाडमा ई.सं.को पहिलो शताब्दीतिरै उत्तरबाट आइपुगेका मानिएका मतवाली खस मस्टो अर्थात् कुलदेवता पूजक थिए । उनीहरु हिन्दूधर्मी थिएनन् । जब १२औंदेखि १६औं शताब्दीका बीचमा भारतबाट पूर्ण विकसित हिन्दू धर्मसहित वैदिक आर्यहरु पश्चिमबाट नेपाल भूमिमा प्रवेश गर्न सुरु गरे, त्यसपछि नै पश्चिम नेपालमा हिन्दू धर्म आइपुगेको र मस्टोपूजक खसलाई पनि हिन्दूकरण गर्ने प्रक्रिया चलेको हो । तिनै पश्चिम नेपालबाट प्रवेश गरेका वैदिक आर्यहरुको राज्य विस्तार हुँदै गोरखासम्म पुगेको मानिन्छ । अर्कातिर नेपालको तराईखण्डमा भारतबाट हिन्दूधर्मीय मानिसहरु उत्तरतिर सर्दै आउने क्रममा आइपुगेको देखिन्छ । वागमती उपत्यकामा भने भारतको वैशालीबाट आएका हिन्दू धर्मीय लिच्छवीले इ.सं. २०० मा किराँत राज्यमाथि विजय पाएपछि नै हिन्दू धर्मको व्यवस्थित सुरुआत गरेको देखिन्छ । त्यसपछि सन् ८७९ मा भारतबाट आएका हिन्दू मल्लहरुले लिच्छवी शासनको अन्त्य गरेपछि हिन्दू परम्परालाई अझ नयाँ उचाइमा विकसित गर्दै लगेको प्रस्ट छ । वागमती उपत्यकाको विशेषतः नेवार जातिभित्र विभिन्न समुदाय कुन धर्मको नजिक छ भनेर जान्न उसले पुरेत कुन धर्मको राख्छ भनी बुझ्नुपर्ने जटिलता छ किनभने बौद्ध, किराँत र हिन्दू अनुष्ठानहरु सबैजसोले गरिरहेको भेटिन्छ । नेपालमा इस्लामहरु दुई तरिकाले आइपुगेको देखिन्छ । एउटा भारतीय भूमिबाट इस्लाम धर्मीय समुदाय उत्तरतिर सर्ने क्रममा नेपालको तराईका विभिन्न भूभागसम्म आइपुगे, अर्को मल्ल कालमा चुरा–पोते आदि श्रृङ्गारका सामानको व्यापार गर्न कास्मिरबाट झिकाएर वागमती उपत्यकामा बसालियो, त्यसै गरी त्यही व्यापारका सिलसिलामा विभिन्न पहाडी वस्तीमा बस्न पुगे । यसबाहेक शिख धर्मीहरुचाहिँ सबैभन्दा पछि भारतबाट तराईका केही शहरमा र त्रिभुवन राजपथ खुलेपछि ड्राइभर पेसा गर्दै केही काठमाडौंमा आएर बस्न पुगे । इसाई धर्मचाहिँ मल्लकालमा नै आइपुगेको इसाइहरु बताउँछन् तर पृथ्वीनारायण शाहको शासन सुरु भएपछि उनीहरुलाई देशनिकाला गरिएको र नभाग्नेलाई फाँसी दिएको भन्ने भनाई इतिहासकारहरुले बताएका छन् । आजका इसाईधर्मीहरुचाहिँ दोस्रो विश्वयुद्धपछि अमेरिका, बेलायतजस्ता देशले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा काम गर्न भनी पठाएका विभिन्न मिसनहरुले चलाएका अभियानबाट प्रभावित भएर इसाई धर्म ग्रहण गरेका हुन् ।
(ग) असली हिन्दूस्तान बनाउने योजनाअनुसार पृथ्वीनारायण शाहले थालेको गोरखा राज्यको विस्तार अभियानको सफलतापछि बनेको नेपालमा हिन्दूधर्म स्वतः राजकीय धर्म बन्न पुग्यो र गैरहिन्दूलाई हिन्दूकरण गर्ने, हिन्दू धर्मका आधारमा नीतिनियम कानुन, आदेश फर्मान जारी हुने क्रम तीव्र पारियो । वर्णव्यवस्था मान्न र छुवाछूत गर्न गैरहिन्दूलाई पनि प्रशिक्षित गरियो । सिंगै नेपालमा शाह–राणा वंशको शासनकाल सुरु भएपछि पुरानो परम्परागत वर्गसंरचनालाई भत्काएर क्रमशः हिन्दूधर्मको वर्णव्यवस्थाअनुसारको तहगत संरचनामा आधारित वर्गीय समाज निर्माण गरियो । वास्तवमा नेपालमा वर्गीय समाज वर्णव्यवस्थाको तहअनुसार निर्माण हुनपुग्यो । जति तल्लो जात उति तल्लो वर्ग, जति माथिल्लो जात उति माथिल्लो वर्ग । संसारमा अन्त कतै नभएको केवल वर्णव्यवस्था भएको दक्षिण एसियामा मात्र भएको वर्गीय समाजको मोडल सिंगै नेपालमा पृथ्वीनारायण शाहको शासनकालपछि लागू गरिएको हो । यसर्थ, नेपालमा हिन्दू धर्मले, अरु धर्मले अरु समाजमा पार्ने नकारात्मक प्रभाव मात्र पारेको छैन, बरु यसले वर्गसमाज नै नयाँ ढंगले संरचना गरेको यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्नु जरुरी छ । जतिजति हिन्दू धर्मलाई लागू गरियो त्यतित्यति महिला उत्पीडन बढ्दै गयो, त्यतित्यति दलित उत्पीडन बढ्दै गयो । जनजाति माथि ‘नमासिन्या मतवाली’ भनेर दोस्रो दर्जाको रैती बनाउने काम हिन्दू उच्चजातीय मान्यताबाहेक अरु केही थिएन भन्ने प्रष्टै छ । यसरी आधुनिक नेपालसम्म आइपुग्दा नेपाल एकातिर थुप्रै धर्महरुको माखेसाङ्लोमा अल्झिएको र हिन्दू धर्मले अरु सबै धर्ममाथि दमन गरिरहेको समाजको रुपमा देखाप¥यो ।
३. नेपाली कम्युनिस्ट आन्दोलन र धर्म
(क) धर्म र नेपाली कम्युनिस्ट नीति
कार्लमाक्र्सले एउटा महान् संश्लेषण गर्नुभएको थियो, ‘धर्म मानिसको लागि अफिम हो ।’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको नीति यही वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । नेपालमा धेरैजसो कम्युनिस्टले यो वाक्यको अर्थ कसरी बुझेका छन् भने अफिम लठ्याएर बेहोस बनाउने लागू औषध हो, त्यसैले यसलाई प्रयोग गर्न हुँदैन, धर्म पनि त्यस्तै लागू औषध हो । माक्र्सको अभिप्राय त्यो होइन । त्यतिबेला असाध्य रोग लागेकाको शारीरिक पीडा कम गर्न कुनै ‘पेन किलर’ औषधि बनेको थिएन, त्यसकारण त्यतिबेला त्यस्ता रोगीको पीडालाई भुल्याउन अफिम सेवन गराइन्थ्यो । यस अर्थमा माक्र्सको अभिप्राय के थियो भने पीडाग्रस्त मानिसलाई गलत तरिकाले नै भए पनि धर्मले अफिमले जसरी पीडाबाट छुटकारा दिने गरेको छ । माक्र्सले धर्मलाई गलत भन्नुभयो साथमा धर्मले नकारात्मक ढंगले पारेको सकारात्मक प्रभावको पनि शानदार ढंगले उजागर गर्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनले धर्मलाई गलत र यसको विरोध गर्नुपर्दछ भन्ने अत्यन्त सरलीकृत नीति मात्र अघि सारेको देखिन्छ । धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित विश्वदृष्टिकोण परिवर्तनको अभियानसँग गाँसेर यसबारे गम्भीर नीति अघि सारेको देखिँदैन । नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको अर्को नीति के थियो भने राज्य धर्मनिरपेक्ष हुनुपर्छ । ५० को दशकभन्दा अघिसम्म त कम्युनिस्ट आन्दोलन केवल धार्मिक स्वतन्त्रताको मात्र वकालत गथ्र्यो, त्यसपछि भने धर्मनिरपेक्षताको पक्षमा उभिन थाल्यो । हिन्दू धर्म नेपालमा शासक धर्म रहिआएकोले मुख्य प्रहारको निशाना हिन्दू धर्मले सिर्जना गरेका उत्पीडनलाई नै बनाउनु ठीक थियो तर यो द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माणको प्रश्नसँग सम्बन्धित भएकाले हिन्दूबाहेकका अन्य धर्मको जनविरोधी मानवविरोधी चरित्रमाथि पनि प्रहार गरिनुपर्दथ्यो । त्यसोचाहिँ हुन सकेन । केवल हिन्दू धर्म मात्रै गलत भए जस्तो, अरु धर्मप्रति भने उदारता अपनाएजस्तो कम्युनिस्ट आन्दोलनको नीति रह्यो, जुन त्रुटीपूर्ण छ ।
(ख) नेपाली कम्युनिस्टको व्यवहार र धर्म
नेपाली कम्युनिस्ट आन्दोलनमा रहेको धर्मबारे घनिभूत, व्यापक र दूरगामी रणनीतिको अभावका कारणले धर्मबारे नेपाली कम्युनिस्टको व्यवहार मूलतः ढोंगी र अवसरवादी प्रकारको रहन गएको छ । धर्मको विरोध वामपन्थी बालरोग जसरी चर्को रुपमा प्रकट हुने, त्यसपछि समयक्रमसँगै महादेवको तस्वीर कोठामा टाँस्नेस्तरमा एक सय असी डिग्री फन्को मार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा हुनु धर्मबारेको छिपछिपे बुझाइका आधारमा गरिएको विरोध बाहेक केही होइन । कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म कुनै न कुनै रुपमा जातपात कायम रहनु, महिलालाई दोस्रो दर्जाकै व्यवहार गरिनु अनि भाषण गर्दा धर्मको विरोध तर जनै लगाउन नछोड्नु, तामाङ नेता भए स्वयम्भूमै जलाउनु पर्ने, हिन्दू भए पशुपतिमै लाँदा राम्रो मान्नु, घरभित्र सबै धार्मिक अनुष्ठान तर बाहिर परिवारले मान्दैनन् भनी उम्किनु, भूमिगत होउन्जेल दशैंको विरोध तर खुला भएपछि सबैभन्दा ठूलो टीका उनकै निधारमा– यी र यस्ता प्रशस्त व्यवहारहरु छन् नेपाली कम्युनिस्टका जसले धर्मबारेको उनीहरुको उद्घोष वास्तवमा ढोंग पाखण्ड बाहेक अरु केही थिएन भन्ने प्रष्ट हुन्छ । करिब साढे ६ दशकको कम्युनिस्ट आन्दोलनमा पैदा भएका अत्यन्त थोरै नेता कार्यकर्तामात्र धर्मसँग सम्बन्ध विच्छेद गरेका पाइनु भनेको अँध्यारोमा टुकी अवश्य हो, तर झलमल उज्यालो भने हुँदै होइन ।
(ग) नेपाली कम्युनिस्ट र केही टिठलाग्दा गल्तीहरु
नेपाली कम्युनिस्टहरुले परम्परागत चाडपर्वलाई प्रगतिशील चेतना बाँड्न उपयोग गर्ने नीति लिँदै आए । तर चाडपर्व भने हिन्दू चाडपर्व मात्र रोजे, त्यो पनि आर्य खस चाडपर्व मात्र । मधेसी र जनजातिको चाडपर्वका बारेको कम ज्ञान किनभने लामो समयसम्म ठूला कम्युनिस्ट नेता आर्य खस उच्च जातका मात्र रहे अनि मधेसी र जनजाति ठूला नेता कार्यकर्ता नभएका कारणले मधेस र जनजातिका चाडपर्वलाई उपयोग गर्ने प्रस्ताव नै बन्न सकेन । परिणामतः कम्युनिस्ट पार्टीका समारोहहरु हिन्दू पहाडिया उच्च जातीय ढाँचामा ढालिए । कोही नेता चुनियो भने रातो टिका र फूलको माला प्रचलन नै बसालियो अनि मुसलमान र इसाई चुनियो भने पनि स्वाभावैले उसको मान्यता विपरीत माला र टिका लगाइयो । द्यौसी भैलोमा कम्युनिस्ट पार्टीले निर्णय गरेर ‘मह्पूजा’ गर्न जानुपर्ने नेवार युवती कायकर्तालाई रातभरि नचाइयो र ऊमाथि हिन्दू चाड लादियो, उसको आफ्नो चाड मान्न वञ्चित पारियो । लिंग पूजाको तीजसँग कुनै सरोकार नराख्ने लिम्बू महिलालाई सभापति बनाएर ज्यापु महिलालाई नचाइयो । स्कुल क्याम्पसको लागि पैसा बटुल्ने नाममा पार्टीका नेताको संयोजकत्वमा हिन्दू पुराण वाचन कार्यक्रम आयोजना गरियो । अझ कम्युनिस्ट नेताले उद्घाटनसमेत गर्ने गरियो । यस्ता अनगिन्ती उदाहरणहरु छन् जसमा कम्युनिस्ट पार्टीमा लागेका गैरहिन्दूहरुलाई हिन्दू कर्ममा निर्णय गरेर लगाइयो, विडम्बना लगाइँदैछ । यहाँसम्म कि जनयुद्धमा युद्धविराम गर्दासमेत दशैंको निम्ति भनेर गरियो । यसरी गम्भीरतापूर्वक हेर्दा के देखिन्छ भने कम्युनिस्टहरु एकहदसम्म चाहे त्यो थोरै नै किन नहोस्, गैरहिन्दू माथि हिन्दूकरण लाद्ने औजार बन्न पुगे । वास्तवमा यथार्थ यही हो– कम्युनिस्ट पार्टी साँचो अर्थमा धर्मनिरपेक्ष समेत बन्न सकेन । यी इतिहासका टिठलाग्दा गल्तीहरु कम्युनिस्टले तुरुन्तै सच्याउन जरुरी छ । तर दुःखद् पक्ष यसतिर ध्यान धेरैको छैन ।
(घ) दर्श वर्षको जनयुद्ध र धर्म
तत्कालीन नेकपा (माओवादी) पार्टीले जनयुद्ध सुरु गर्नुभन्दा पहिलासम्म कम्युनिस्टको धर्मबारेको नीति या त ढोंग पाखण्डमा सीमित थियो या त केही योद्धाहरुको विशिष्ट व्यवहारमा सीमित थियो । तर जनयुद्धले धर्मद्वारा लादिएको तीनवटा गम्भीर नकारात्मक सामाजिक व्यवहारमाथि गम्भीर प्रहार ग¥यो । एक, गाईको पवित्रतामाथि प्रहार ग¥यो । जनयुद्धमा हाम्फालेका सबै हिन्दू समुदायबाट आएकाले (अपवाद पनि होलान्) गाईको मासु खाएर गाईको ईश्वरीय पवित्रतासम्बन्धी हिन्दू मान्यतालाई चुनौती दिए । अब नातासम्बन्ध जोड्दै जाने हो भने नेपालको कुनै पनि ब्राह्मण, क्षेत्री, सन्यासी परिवार, त्यसै स्तरका मधेसी समुदायका परिवार गाईसम्बन्धी आफ्नो मूल्यमा चोखो रहेका छैनन् । यथार्थ यही हो । नेपालमा जनजाति र दलितमाथि थोपरिएको यो अपवित्रताको साङ्लो जनयुद्धले कमसेकम बौद्धिकस्तरमा चकनाचुर पारिदिएको छ । गाई जनावर हो, धेरै दूध दिने जनावर त्यसलाई त्यही रुपमा मात्र बुझ्ने दृष्टिकोण बनाउन ढोका खोलिदिएको छ । दुई, जनयुद्धले दलितमाथिको जातपात छुवाछुत भेदभावका विरुद्ध ठूलै परिवर्तन ल्याएको छ । भेदभावलाई घटाउन र दलित जागरण ल्याउन त्यसले ऐतिहासिक भूमिका खेलेको छ । कहिल्यै हतियार बोक्न नपाएकालाई हतियारधारी बनाएर, छुवाछुत भेदभावलाई व्यवहारमा दण्डनीय बनाएर अनि दलितलाई नीतिनिर्माणमा नेतृत्व दिने प्रक्रियाको सुरुआत गरेर जनयुद्धले वर्णव्यवस्थाको ढाडमा धेरै पटक वज्र प्रहार गरेको छ । तीन, महिलालाई सशस्त्र बनाएर जनयुद्धले महिलामाथिको हिन्दू र अन्य सबै धर्मको उत्पीडनलाई गम्भीर चुनौती दिएको छ । निश्चित रुपमा जनयुद्धले धर्मसँग अभिन्न रुपमा सम्बन्धित यी विषयमा गम्भीर परिवर्तन ल्याएकै हो । तर ती परिवर्तन आमसमाजको सांस्कृतिक रुपान्तरणको रुपमा नभएर केवल जनयुद्धको बलमा भएका परिवर्तनको स्तरमा मात्र रहेकाले जनयुद्धको समाप्तिपछि ती उपलब्धी प्रतिगमनमा जाने गम्भीर खतरा उपस्थित भइसकेको छ । दलित र गैरदलितबीचको अन्तरजातीय विवाहमा भइरहेको सम्बन्ध विच्छेद त्यसको ज्वलन्त उदाहरण हुन् । त्यसकारण जनयुद्धले भत्काएका धार्मिक मूल्यमान्यतालाई पुनर्जीवित हुन नदिन र अग्रगामी बाटोमा अघि बढ्न कम्युनिस्ट क्रान्तिकारीहरुले ठोस योजना बनाउन तत्काल जरुरी छ ।
(ङ) नेपाली कम्युनिस्ट र धर्मनिरपेक्ष राज्य एवं गणतन्त्रको स्थापना
तमाम गल्ती कमजोरीका बावजुद नेपाली कम्युनिस्ट आन्दोलन– त्यसमा पनि विशेषतः जनयुद्ध र त्यसको जगमा विकसित वि.सं. २०६२÷०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गरिछाड्यो । यो निकै ठूलो क्रान्तिकारी उपलब्धी हो । गणतन्त्रको अर्थ हो नेपालको शासकीय धर्म हिन्दूधर्मको राजकीय संरक्षण अन्त्य र धर्म निरपेक्षताको अर्थ हो धार्मिक स्वतन्त्रतासहित नास्तिक बन्ने नागरिकलाई वैधानिक अनुमति– निष्कर्षमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको प्रचारलाई वैधानिक स्वीकृति । यो उपलब्धीमाथि टेकेर नेपाली कम्युनिस्टले धेरै काम गर्न सक्ने स्थिति सिर्जना भएको छ । जरुरी छ, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र सिंगै समाजको अधिभूतवादी प्रत्ययवादी विश्वदृष्टिकोण बदलेर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गर्ने अभियान सञ्चालनको गुरु योजना ! त्यो गुरुयोजना बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा नै नेपाली कम्युनिस्टको धर्मबारेको भविष्य निर्धारण हुनेछ ।
४. धर्मबारे नेपाली कम्युनिस्टको समस्या
(क) धर्मबारे नेपाली कम्युनिस्टको मूल समस्या भनेको दृष्टिकोणको समस्या नै हो । धर्मको सतही विरोध तर व्यवहारमा त्यसैसँग जोडिइरहने समस्या नै दृष्टिकोणको समस्या हो । धर्मका जराहरु के हुन् ? एक, विश्व दृष्टिकोणमा नै धर्मको सबैभन्दा ठूलो जरा छ । दुई, चाडपर्व र रीतिरिवाजमा दोस्रो जरा छ । र, तीन आचार व्यवहारमा तेस्रो जरा छ । यी तिनै क्षेत्रका जराका बारेमा संश्लेषण गरी त्यसविरुद्ध लड्दै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण बनाउने अभियानको मार्गचित्र बनाउन ठोस, व्यापक र दूरगामी दृष्टिकोण बनाउन नसक्नु मुख्य समस्या हो ।
(ख) धर्मको धार्मिक पर्व र धर्मबाट निर्देशित आचार व्यवहारका सम्बन्धमा कुन कुन विषयमा कुन तहको कम्युनिस्ट नेता÷कार्यकर्ताले के के गर्नैपर्ने ? आम पार्टी सदस्यता र समर्थकले के कर्म गर्नैपर्ने ? कुन कुन धर्मका नेता÷कार्यकताले त्यस धर्मसँग सम्बन्धित अनुष्ठान कसरी भौतिकवादी बनाउने ? र कुन परम्परागत रीतिलाई कसरी वैज्ञानिकीकरण गर्ने ? त्यसमा पनि कुन स्तरकाले कति गर्ने र जनस्तरमा के प्रस्ताव गर्ने ? जस्ता विषयमा कुनै नीति नहुनु नेपाली कम्युनिस्टको अर्को नीतिगत समस्या हो । नीति नै नभएपछि भौतिकवादी ढंगले अनुष्ठान गर्दा पनि ठीक, धार्मिक ढंगले अनुष्ठान गर्दा पनि ठीकको स्थिति जारी छ । यसबारेमा ठोस नीति अब बनाउनै पर्दछ । नत्र कम्युनिस्ट आन्दोलन विश्व दृष्टिकोण परिवर्तन गर्ने आन्दोलन नभई केवल राजनीतिक सत्ता परिवर्तनको आन्दोलनमा सीमित हुनेछ ।
(ग) व्यवहार जहिले पनि दृष्टिकोण र नीतिको अधिनस्थ हुन्छ । नेपाली कम्युनिस्टका व्यवहारमा देखापरेका ढोंग र पाखण्डीपन जति पनि छन् त्यो दृष्टिकोण र नीतिमा रहेको समस्याका कारणले उत्पन्न भएका हुन् । व्यवहार जिवन्त हुने र भौतिक जीवन चलायमान सामाजिक अस्तित्वसँग जोडिएको हुनाले त्यो अत्यन्त कठिन त हुन्छ नै तर त्यो त हर युगमा हर क्रान्तिकारीले सामना गरेको कुरा हो । मुख्य कुरा दृष्टिकोण र नीति हो । दृष्टिकोण र नीति प्रष्ट हुने हो भने नेपालको अग्रगामी परिवर्तन चाहने जनमानसले धर्मको विरुद्ध निकै ठूलो अभियान चलाउने चित्र प्रष्ट देखिन्छ, किनकि परिवर्तनका खातिर जहिले पनि नेपाली जनताले चाहे त्यो कुनै पनि धर्म समुदायको होस्, वलिदान दिन पछि नपरेको दृष्टान्त हाम्रो सामू छ ।
५. निष्कर्ष ः धर्मबारे नेपाली कम्युनिस्टको बाटो
सबै प्रकारका धार्मिक अन्धताविरुद्धको आन्दोलन वास्तवमा व्यापक अर्थमा भन्दा सांस्कृतिक रुपान्तरणको आन्दोलन हो । नेपाली समाज भर्खरै सामन्ती उत्पादन सम्बन्धबाट पुँजीवादी उत्पादन सम्बन्धतिर बामे सर्न आँटेको हुनाले अहिलेको सांस्कृतिक रुपान्तरणको मूल रणनीति जनवादी संस्कृतिको निर्माण हुन्छ, तर जनवादी संस्कृतिको निर्माणले धार्मिक अन्धताविरुद्ध पूरै सफलता प्राप्त गर्न सक्दैन, त्यसका निम्ति समाजवादी संस्कृतिको निर्माण जरुरी हुन्छ । तसर्थ, धार्मिक अन्धताविरुद्धको आन्दोलनको रणनीति निर्माण गर्दा नेपाली सांस्कृतिक आन्दोलनले जनवादी संस्कृतिको निर्माणको साथसाथै समाजवादी संस्कृतिको जग बसाल्ने दिशा तय गर्न जरुरी छ । यो मूल रणनीतिअन्तर्गत रही नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनले आफ्नो दूरगामी योजनासहित अघि बढ्नु आवश्यक छ ।
(क) नेपाली कम्युनिस्ट आन्दोलनले पचासको दशकपछि एउटा निष्कर्ष निकालेको छ– सर्वहारा सांस्कृतिक क्रान्तिलाई राजनीतिक क्रान्तिपछि होइन, आजैदेखि क्रान्तिको अभिन्न अंगको रुपमा सञ्चालन गरिनुपर्दछ । यो निकै ठूलो संश्लेषण हो तर व्यवहारमा लागू भएको भने मूल रुपमा छैन । यो संश्लेषणलाई कम्युनिस्ट आन्दोलनले योजनाबद्ध रुपमा लागू गर्न सुरु गर्नुपर्दछ ।
(ख) धार्मिक अन्धता र सबै प्रकारका रुढीको विरुद्धको सांस्कृतिक रुपान्तरणको आन्दोलन वास्तवमा विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन भएकाले पार्टीभित्र र बाहिर तत्कालीन, अल्पकालीन र दीर्घकालीन रणनीति तयार पारी योजनाबद्ध रुपमा सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिनुपर्दछ । सांस्कृतिक संघ–संगठनलाई केवल नाचगान वा साहित्य–कला सिर्जनामा मात्र सीमित पार्ने रोगबाट मुक्त भई त्यसलाई विश्वदृष्टिकोण परिवर्तनको महाअभियान सञ्चालन गर्ने संगठनका रुपमा विकसित गरिनुपर्दछ ।
(ग) धर्मनिरपेक्ष राज्यको प्राप्तिलाई रक्षा गरी त्यसको वैधानिक स्वीकृतिमाथि उभिएर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई वैधानिक सबै माध्यम प्रयोग गरी प्रचार गर्ने कार्यलाई व्यापक मात्रामा बढाइनुपर्दछ ।
(घ) नेपालमा रहेका सबै धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित तिनले इतिहासको खासकालमा खेलेका सकारात्मक भूमिका र अन्ततः तिनले खेल्ने मानवविरोधी, श्रमजीवी वर्गविरोधी भूमिकाका बारेमा स्पष्ट पार्ने गरी पार्टीभित्र व्यापक प्रशिक्षण, पुस्तक पुस्तिकाको प्रकाशन र सञ्चार माध्यमहरुमार्फत् प्रचारको योजना बनाई लागू गरिनुपर्दछ ।
(ङ) धार्मिक अन्धताविरोधी सांस्कृतिक आन्दोलनलाई रुपमा धर्मविरोधी आन्दोलन नभई नयाँ विश्वदृष्टिकोण निर्माणको आन्दोलनको रुपमा सञ्चालन गर्न कलाको भरपुर प्रयोग गरिनु आवश्यक छ ।
(च) धार्मिक सभा समारोह मार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(छ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिस्टहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन, उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अपनाइनुपर्दछ ।
(ज) विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् । त्यसैले सबैभन्दा पहिले त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
(झ) धार्मिक सभा समारोहमार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(ञ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिटहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अनाइनु पर्दछ ।
(ट) विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् त्यसैले सबैभन्दा पहिलो त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
 सबै चाडपर्व, अनुष्ठानहरुबाट धार्मिक क्रियाकलापलाई अलग्याइ तिनलाई केवल सांस्कृतिक रुपमा मात्र मनाउन सुरु गरिनुपर्दछ । दशैंबाट धार्मिक क्रियाकलाप अलग्याउने हो भने यो विशुद्ध पारिवारिक भेटघाट र खानपिनको सांस्कृतिक पर्वमा रुपान्तरण हुनेछ ।
 सबै चाडपर्व अनुष्ठानलाई बोझिलोबाट सरलीकृत गर्न र खर्चिलोबाट किफायती बनाउन आमजनतालाई सघाउनुपर्दछ । एकैचोटी आमजनता विज्ञानलाई स्वीकार गर्न तयार नहुने अवस्थामा चाडपर्व अनुष्ठानलाई सरल र किफायती बनाउन तयार पार्दै वैज्ञानिकीकरण गर्न तयार पार्दै लाने नीति लिइनुपर्दछ । किरिया बस्न छाड्न नसक्नेलाई १३ दिनको सट्टा ५ दिनमा झार्न अनि घरखेत बेचेर घ्यावा गर्नेलाई चियापानसम्ममा झार्न सकियो भने त्यो पनि अन्ततः विज्ञानतिरकै यात्रा हुन्छ ।
 सम्भव भएजति चाडपर्व अनुष्ठानलाई वैज्ञानिकीकरण गरिने अभियान चलाइरहनुपर्दछ ।
 मानव जाति आफैंले लडेर स्थापित गरेका राजनीतिक सामाजिक दिनहरुलाई सांस्कृतिक पर्वको रुपमा मनाउन सुरु गर्नुपर्दछ । मे दिवस, ८ मार्च, जनयुद्ध दिवस, शहीद दिवस, गणतन्त्र दिवस आदिलाई कम्युनिस्टहरुले केवल राजनीतिक पर्व मात्र बनाए, त्यति पर्याप्त छैन तिनलाई सांस्कृतिक पर्वको रुप समेत दिन जरुरी छ । पाहुना दशैं वा ल्होछारमै डाक्ने, मे दिवसमा चाहिँ जुलुश मात्रै निकाल्ने गरेर आमजनताले तिनलाई आफ्नो भावना जोडिएको पर्व ठान्दैन । नयाँ पर्वहरुको जग बसाल्न तिनलाई खानपिनसँग जोड्नेतिर पनि कम्युनिस्टको ध्यान जान जरुरी छ । मानव जातिका पर्वहरु खानपिन, मनोरञ्जन र भावना साटासाटसँग जोडिएका छन्, त्यसैले त्यसलाई मानिसहरु आफ्नो ठान्छन् भन्ने तथ्यतिर गम्भीर ध्यान जानु आवश्यक छ ।
 कम्युनिस्ट पार्टीले पार्टीका नेताले कुन कुन अनुष्ठानमा के गर्ने, कुन स्तरसम्मका कार्यकर्ताले के गर्ने, के नगर्ने, आमकार्यकर्ताले के गर्ने, के नगर्ने र आमजनतामा के लैजाने भन्ने स्पष्ट नीति बनाई लागू गर्नुपर्दछ ।
यसप्रकार धार्मिक अन्धताविरुद्धको सांस्कृतिक आन्दोलनलाई विश्वदृष्टिकोण परिवर्तनको आन्दोलनका रुपमा विकास गर्दा मात्र क्रमशः सफलता प्राप्त हुने विश्वास गर्न सकिन्छ । विश्वदृष्टिकोण परिवर्तनको लडाइँ मानव जातिले लड्नुपर्ने सबैभन्दा लामो र ठूलो लडाईं हो, त्यसकारण सर्वहारा वर्गले अन्तिम लडाईं कसरी जित्छ र कहिलेसम्ममा जित्छ भन्ने कुराले यस विषयमा पनि निर्णायक महत्व राख्दछ भन्ने कुरा स्वतः सिद्ध छ ।
OOO