By : Akash Maharjan
कार्तिक १०, काठमाडौं । हालै अमेरिकी एक विश्वविद्यालय येल का वैज्ञानिकहरुले पृथ्वीबाट १ हजार ५ सय प्रकाश वर्ष टाढाको एक ताराले देखाएको असामान्य गतिविधिका आधारमा त्यहाँ पृथ्वीमा जस्तै सभ्यताको अस्तित्वको सम्भावना रहेको अनुमान लगाएका छन् । अन्तरिक्षमा रहेको केपलर टेलिस्कोपको सहायताबाट प्राप्त अनौठो तर उत्साजनक सूचनाहरुलाई कहिँ उपकरण तथा प्रविधिमा हुन सक्ने त्रुटिको कारणले त त्यस्तो कुरा प्राप्त भएका होइनन् भनी वैज्ञानिकहरुले आवश्यक सबै कुरालाई दोहोर्याइ तेहर्याइ रुजु गरी हेरे । तर, हरेक पटक उनीहरुले एउटै नतिजा प्राप्त गरे । र, उनीहरु डेढ हजार प्रकाश वर्ष टाढाको खगोलको एक ठाउँमा सभ्यताको सम्भावना रहेको निष्कर्षमा पुगे ।
सू्य, प्रीथ्वी र केपलर टेलिस्कोप
गत महिना मात्र नेपाली मूलका वैज्ञानिक लुजेन्द्र ओझा सहितको टोलीले मंगल ग्रहमा तरल पानी रहेको पत्ता लगाएको समाचार आएको थियो । यसबाट वैज्ञानिक जगत मात्र नभएर आम मानिसहरु पनि उत्साहित भएका थिए, ‘पानी पत्ता लागिसकेपछि अब मंगल ग्रहमा जीवन पनि पत्ता लाग्छ कि ?’ भनेर ।
मंगल ग्रहमा थप अनुसन्धानहरु त भइरहन्छन् नै र त्यहाँ कुनै जीवन छ कि छैन वा त्यहाँ कहिल्यै जीवनको अस्तित्व थियो कि थिएन भन्ने कुरा भविष्यमा हामी थाहा पाउने नै छौँ । तर, हालै खगोल वैज्ञानिकहरुले अर्को उत्साहपूर्ण खबर बाहिर ल्याएका छन्, ‘एलियन मेगास्ट्रक्चर’को ।
खगोलीय विज्ञानमा कुनै अनौठो कुरा पत्ता लाग्दा त्यसमा ‘पृथ्वीइतर प्राणी’ वा ‘एलियन’को कुरा जोडिनु त्यति सामान्य कुरा होइन । सन् १९७७, अगस्ट १५ मा अमेरिकी खगोलशास्त्री जेरी आर एहमानले अन्तरिक्षबाट ‘वाउ ! सिग्नल’ प्राप्त गरेको इतिहास वैज्ञानिक जगतले बिर्सेको छैन । अन्तरिक्षबाट प्राप्त रेडियो संकेतहरुलाई आधार मानेर पृथ्वीइतर प्राणीहरुको खोजी गर्ने प्रकृया अपनाई अनुसन्धान गरिरहेका एहमानले त्यसपछि कुनै त्यस्तो उल्लेखनीय संकेत प्राप्त नगरे पनि उक्त ‘वाउ ! सिग्नल’ले अन्तरिक्ष विज्ञान जगतमा ठूलै खैलाबैला मच्चाएको थियो । अहिले केआईसी ८४६२८५२ नामक तारा र त्यसको असामान्य ‘स्वभाव’हरु पत्ता लागेबाट सानै भए पनि अर्को खैलाबैला मच्चिएको छ, पृथ्वीइतर प्राणीको खोजी गर्ने विज्ञानमा ।
कलाकारको अाँखामा केअाईसि तारा र त्यस वरपरका खगोलीय वस्तुहरु
के हुन् ती असामान्य ‘स्वभाव’?
केआईसी ८४६२८५२ तारा पृथ्वीभन्दा १ हजार ५ सय प्रकाश वर्ष टाढा छ । सिग्नस र लायरा राशीको बीचमा पर्ने यो तारा सन् २००९ मा नासा को केप्लर स्पेस टेलिस्कोपले पत्ता लगाएको थियो । त्यसयता वैज्ञानिकहरुले यो तारासहित नयाँ पत्ता लागेका १ लाख ५० हजार ताराहरुले उत्पादन गर्ने प्रकाशको मात्राको अध्ययन गरिरहेका छन् ।
ताराले उत्पादन गर्ने प्रकाशको मात्राको मापन गरेर वैज्ञानिकहरुले ती ताराहरुलाई परिक्रमा गरिरहेका ग्रहहरुको अध्ययन गर्छन् । पृथ्वीबाट ताराको अवलोकन गर्दा ग्रहले तारालाई परिक्रमा गर्ने क्रममा पृथ्वी र ताराको बीचमा ग्रह आइपुग्ने समयमा ग्रहले ताराको प्रकाशलाई केही मात्रामा छेक्ने गर्छ (सूर्य ग्रहणको बेला चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आई सूर्यको प्रकाश छेके जस्तै) । त्यसैले कुनै ताराले उत्पादन गर्ने प्रकाशको निरन्तर अवलोकन गर्दा यदि त्यसमा आवधिक रुपमा परिवर्तन आएमा त्यसलाई कुनै ग्रह वा कुनै पिण्डले परिक्रमा गरिरहेको छ भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ । अनि, ताराले उत्पादन गर्ने प्रकाशमा कति परिवर्तन आएको छ, कति–कति समयमा परिवर्तन आएको छ, आदि जस्ता कुराहरुको अध्ययन गरी परिक्रमा गर्ने पिण्ड ग्रह हो कि होइन, र यदि हो भने त्यो ग्रहको आकारलगायत अन्य विशेषताहरुको अध्ययन गरिन्छ ।
तर, केआईसी ८४६२८५२ ताराको अध्ययनमा केही असामान्य व्यवहारहरु देखा परेका छन् । ‘हामीले प्राप्त गरेको डाटा सही हो भन्ने कुरा नै पनि अविश्वसनीय छ ।’ अमेरिकाको येल विश्वविद्यालयका खगोलशास्त्री टबेथा बोयाजियन भन्छिन्, ‘(केआईसी ८४६२८५२ को व्यवहारको व्याख्याको रुपमा) जुनै पनि विचार अगाडि सारिए पनि केही न केही कुरा आउँथ्यो, जसले त्यो व्याख्यालाई गलत साबित गरिदिन्थ्यो ।’
खगोलशास्त्री टबेथा बोयाजियन
सामान्यतः कुनै तारालाई परिक्रमा गरिरहेको बृहस्पति साइजको ग्रहले उक्त ताराको प्रकाशलाई १ प्रतिशत मात्र मधुरो बनाउँछ । केआईसी ८४६२८५२ ले उत्पादन गर्ने प्रकाश भने कुनै–कुनै समयमा १५ देखि २२ प्रतिशतसम्म मधुरो भएको डाटा प्राप्त भएको बोयाजियनको अध्ययनमा देखिएको छ । यति मात्र नभई प्रकाशमा आएको उक्त परिवर्तन कुनै ग्रहको कारण थियो भने परिवर्तन आवधिक रुपमा आउनुपर्ने हो । यद्यपि, केआईसी ८४६२८५२ को प्रकाशमा आएको परिवर्तनको समय भने अनियमित छ ।
‘के कुरा निश्चित छ भने यो (केआईसी ८४६२८५२ को प्रकाशमा आएको परिवर्तन) ग्रह(को कारणले भएको) होइन ।’ अमेरिकी अनलाईन पत्रिका स्लेटका खगोलशास्त्री फिल प्लेट भन्छन्, ‘बृहस्पति साइजको ग्रहले पनि करिब १ प्रतिशत मात्र प्रकाश छेक्छ, र कुनै ग्रह त्योभन्दा ठूलो बिरलै हुन्छ । यो कुनै ताराको कारणले पनि हुन सक्दैन; त्यसो हुँदो हो त हामी त्यो तारालाई देखिहाल्थ्यौँ । र, यो आवधिक रुपमा नहुनुले पनि यी दुबै सम्भावनाहरुको खण्डन गर्छ । तर, तारालाई जेले छेकिरहेको भए पनि त्यो निकै ठूलो छ ।’
यस्तो स्थितिमा सर्वमान्य व्याख्या के हो भने केआईसी ८४६२८५२ लाई ठूल्ठूला चट्टान तथा अन्तरिक्ष धुलोजस्ता विभिन्न आकारप्रकारका कुनै अन्तरिक्ष अवशेषहरुले परिक्रमा गरिरहेका छन् । यद्यपि, यो व्याख्यामा पनि समस्या कहाँनिर छ भने तुलनात्मक रुपमा कम उमेरका ताराहरुमा मात्र यस्तो हुनु सम्भव हुन्छ किनभने तारा उत्पत्ति भएको लामो समय भइसकेको छ भने ताराको गुरुत्वाकर्षणको कारण त्यस्ता अन्तरिक्ष अवशेषहरु पहिले नै तारामा विलय भइसकेका हुनेथिए । र, केआईसी ८४६२८५२ तारा यति परिपक्व भइसकेको छ कि त्यस्तो सम्भावना अहिले छैन । केआईसी ८४६२८५२ परिपक्व भइसकेको कुराको पुष्टिको रुपमा दि एटलान्टिक पत्रिकाका विज्ञान सम्पादक रोस एन्डर्सन लेख्छन्, ‘यदि यो (केआईसी ८४६२८५२)ताराको उमेर कम भइदिएको भए यसलाई अन्तरिक्ष धुलाहरुले परिक्रमा गरिरहेका हुन्थे, जसको कारण त्यहाँबाट थप ईन्फ्रारेड किरण आउँथ्यो । तर, यो ताराबाट असामान्य रुपमा बढी ईन्फ्रारेड किरण आएको देखिएको छैन ।’
त्यसो भए केआईसी ८४६२८५२ मा के भइरहेको छ त ? सबैभन्दा पहिलो कुरो त वैज्ञानिकहरुले आफूले प्राप्त गरेको डाटामा गल्ती हुन सक्ने सम्भावनालाई मेटाइसकेका छन् ।
‘हामीलाई यो डाटामा कहीँ गल्ती भएको वा अन्तरिक्ष यानमा केही चाल उत्पन्न भएर यस्तो अनयिमितता आएको होला भन्ने लागेको थियो । तर, सबै कुरा दोहो¥याएर हेरिसकिएको छ । त्यस्तो केही गल्ती छैन ।’ बोयाजियन भन्छिन् ।
यो अनौठो परिस्थितिको सबैभन्दा तर्कसंगत व्याख्या के छ भने कुनै समयमा एउटा तारा केआईसी ८४६२८५२ को नजिक भएर गुज्रिएको हुनसक्छ जसको कारण त्यहाँको गुरुत्वाकर्षण बलमा केही परिवर्तन आएको हुनसक्छ । गुरुत्वाकर्षणमा आएको गड्बडीको कारण आसपास रहेका पुच्छ्रेतारालगायत स–साना अन्तरिक्ष पिण्डहरुको कक्ष व्यापक रुपमा अस्तव्यस्त भएको हुनसक्छ । ती पिण्डहरुको अस्तव्यस्त कक्षकै कारण केआईसी ८४६२८५२ बाट आइरहेको प्रकाशमा असामान्य स्वभावहरु देखिएको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।
यद्यपि, ब्रम्हाण्डको विशाल स्केलसित तुलना गर्दा हाम्रो पृथ्वीको यति नजिक यति दुर्लभ घटना मानव जातिले टेलिस्कोप आविष्कार गरी अन्तरिक्षको अध्ययन गरिरहेको समयभन्दा करिब साढे एक सय वर्षअघि मात्र घट्नु निकै ठूलो संयोग हुने एण्डर्सनको धारणा छ । र अर्को, केही पुच्छ्रेतारा र अन्तरिक्ष पिण्डहरुले त्यति धेरै प्रकाश छेक्न सक्छ त ? जबकि, जुपिटर जत्रो ठूलो ग्रहले त करिब १ प्रतिशत मात्र प्रकाश छेक्छ ।
‘कुनै पनि घटनाको व्याख्या गर्दा ‘पृथ्वीइतर प्राणी’ (एलियन) लाई हामीले सबैभन्दा अन्तिम विकल्पको रुपमा मात्र लिने हो । तर, यो चाहिँ एउटा यस्तो संरचना हो जुन कुनै बुद्धिमान पृथ्वीइतर सभ्यताले निर्माण गर्नसक्छ भन्ने हामीले अपेक्षा गर्न सक्छौँ ।’ अमेरिकाको पेन स्टेट युनिभर्सिटीका खगोलशास्त्री जेसन राइटले द एटलान्टिकलाई भनेका छन् ।
डाइसन स्फेयर
राइटले यहाँ ‘डाइसन स्फेयर’ नामक ‘मेगा स्ट्रक्चर’लाई इंगित गरेका हुन् । ‘डाइसन स्फेयर’लाई विभिन्न विज्ञान साहित्यहरुमा परिकल्पना गरिएको छ । डाइसन स्फेयर भनेको यस्तो विशाल प्राविधिक संरचना हो जुन अति विशाल सोलार पेनलहरु मिलाएर बनाइएको हुन्छ र त्यसले तारालाई पूर्ण रुपमा घेरेर ताराबाट उत्पादन हुने ऊर्जालाई प्रयोग गरिन्छ । सन् १९३७ मा बेलायती दार्शनिक तथा विज्ञान साहित्यकार विलियम ओलाफ स्टेपलडनले आफ्नो विज्ञान उपन्यास ‘स्टार मेकर’मा डाइसन स्फेयरको पहिलोपटक परिकल्पना गरेका थिए । त्यसपछि स्टेपलडनको त्यस परिकल्पनालाई बेलायती मूलका अमेरिकी भौतिकशास्त्री तथा गणितज्ञ फ्रिमन जोन डाइसनले सन् १९६० मा ‘इन्फ्रारेड किरणको कृत्रिम नक्षेत्रीय स्रोतको खोजी’ (Search for Artificial Stellar Sources of Infrared Radiation) नामक आफ्नो पेपरबाट प्रचलित गरेका थिए ।
‘खासमा भन्नुपर्दा मलाई यो निकै रोचक लाग्दैछ ।’ डाइसन स्फेयरको परिकल्पनाबारे फिल प्लेट भन्छन्, ‘यो सही छ भनेर भनेको होइन, ख्याल राख्नुहोला । तर, यो निकै रोचक छ । (जेसन) राइट कुनै अव्यवहारिक परिकल्पना गर्ने बेवकुफ होइनन्; उनी उत्कृष्ट पृष्ठभूमि भएका एक पेशागत खगोलशास्त्री हुन् । उनका अनुसार हामीले यसलाई पनि सम्भावनाको परिधिभित्र राख्नुपर्छ …’
यति हुँदाहुँदै पनि अहिलेसम्म ब्रम्हाण्ड र अन्तरिक्षको अध्ययनका क्रममा मानव सभ्यताले प्राप्त गरेको अनुभव के हो भने हामीले पहिलो नजरमा ठम्याउन नसक्ने कुराहरु ब्रम्हाण्डमा बारम्बार पत्ता लागिरहेका हुन्छन् । उदाहरणको लागि पल्सार ताराहरु । सन् १९६७ नोभेम्बर २८ मा उत्तर आयरल्याण्डकी खगोलीय भौतिकशास्त्री जोइस्लिन बेल बर्नल र बेलायती खगोलशास्त्री एन्टोनी हेविसले अन्तरिक्षको एउटै क्षेत्रबाट हरेक १.३ सेकेण्डको अन्तरमा विद्युत–चुम्बकीय तरङ्गहरु आइरहेको पत्ता लगाएका थिए । यो कहाँबाट आयो भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा थुप्रै सम्भावनाहरुलाई अगाडि सारियो । अन्तरिक्षबाट प्राप्त हुने अधिकांश विद्युत–चुम्बकीय विकिरणहरु तारामा उत्पादन हुन्छन् । यद्यपि, १.३ सेकेण्डको अन्तरमा आवधिक रुपमा प्राप्त हुने भएको कारण ती तरङ्गहरु ताराबाट आएका होइनन् भन्ने कुरा पुष्टि हुन्छ । त्यस्तै, मानव निर्मित रेडियो तरङ्गहरुको हस्तक्षेपको सम्भावनालाई पनि गलत भएको साबित गरियो । अर्कै टेलिस्कोपबाट अध्ययन गर्दा पनि एउटै नतिजा आएकोले उपकरणको खराबीको सम्भावना पनि गलत साबित भयो । त्यस समयमा बर्नलले लेखेकी थिइन्, ‘हामीले अर्को (पृथ्वीइतर) सभ्यताबाट संकेत प्राप्त गरेका हौँ भन्ने कुराको हामीलाई पटक्कै विश्वास थिएन । तर, यो विचार हाम्रो दिमागले नसोचेको भने होइन । र, ती विकिरणहरु नितान्त प्राकृतिक रुपमा उत्पत्ति भएका हुन् भन्ने कुराको प्रमाण पनि हामीसित थिएन ।’ यसले अन्तरिक्ष विज्ञानको जगतमा निकै उत्साह पैदा गरेको थियो । यद्यपि, थुप्रै अनुसन्धानहरुबाट के कुरा पत्ता लाग्यो भने यो एक नितान्त भिन्न प्रकारको खगोलीय पिण्ड हो, अत्यन्त छिटो गतिमा घुमिरहने असामान्य रुपमा बढी घनत्व भएको न्युट्रोन स्टार ।
यस्तै, केप्लरले केआईसी ८४६२८५२ ताराको आसपास कुनै नयाँ प्रकारको खगोलीय पिण्ड पत्ता लगाएको पनि हुनसक्छ वा अहिलेसम्म विज्ञानलाई थाहा नभएको कुनै घटनाको कारण केआईसी ८४६२८५२ को प्रकाशमा अनियमितता देखिएको पनि हुनसक्छ । पृथ्वीइतर सभ्यताकै सम्भावनालाई पनि पूर्ण रुपमा नकार्न सकिन्न । जे भए पनि हामी के कुरामा ढुक्क हुन सक्छौँ भने अन्तरिक्ष अध्ययनको इतिहासमा अहिलेसम्म पत्ता लागिनसकेको रहस्यको पर्दाफासको दोसाँधमा हामी उभिएका छौँ ।
No comments:
Post a Comment