Saturday, August 23, 2014

हजार शैली कविताका

हजार शैली कविताका (Thousands of Styles in Poetry)

- पञ्च विस्मृत
The Way I Perceive Poetry
By Pancha Vismrit
ए यस्ता कविता त दिनमै कति पो लेखिन्छन् ... !
 
प्रगतिशील विद्यार्थी आन्दोलनमा अग्रणी भुमिका निभाएकी एक मित्रको टिप्पणी थियो । मेरो हातमा मेरा कलिला कविताहरूको पुस्तकाकार । उनको एक हातमा केही तस्विरहरू जहाँ उनको निधार अबिरले पुरिएको थियो । दोस्रो हातमा एक नोटबुक जसमा उनका जबर्जस्त प्रगतिशील कविताहरू ।
 
, ती छन्दजस्ता लाग्ने तर अन्यानुप्रासमात्र मिलाइएका कविताहरू । आज पनि केहीले त्यो शैलीका कविताहरूलार्इ गीति कविताको नाममा लेख्दै आएका छन् । अझ कविता भन्ने बित्तिकै अनुप्रासयुक्त हरफहरू सम्झनुपर्ने अवस्था अहिले पनि विद्यमान छ । त्यो भन्दा पनि अनौठो कुरा त के भने अङ्ग्रेजीमा कविता लेख्ने धेरै विदेशी कविहरूले यही शैलीलार्इ पछ्याइरहेको पाइन्छ । यिनै कारणले हो कि कविता लेखनको प्रारम्भिक चरणमा जो कोहीले पनि यही शैलीमा कविता लेख्ने गरेको पाइन्छ ।
 
त्यसैले, सुन्दर मान्छेहरू सुन्दरताका कुरा गर्छन्, सुन्दरी प्रतियोगिता गर्छन् । लौ हामी कविहरू कुरा गरौं एकछिन हाम्रा कविताहरूको रूप र सौन्दर्यको । शैलीको ।
शैलीको जन्मः
म कुरा गर्छु तपार्इंकै मनभित्रको । सिर्फ बाहिर ल्याएर देखाउछुः
 
गजल, मुक्तक, हाइकु, ताङ्का, केस्रा आदिमा निश्चित संरचना हुने हुनाले तिनको  अनुहारमा कुनै आकर्षणको जादु भेटिन्न जबसम्म पढिँदैन । तर हरेक गद्य कविताको आआफ्नै अनुहार हुनाले त्यसको अनुहारमै पनि एक प्रकारको कला झल्किन्छ । अझ कुनै पनि कविको हात कुनै न कुनै निश्चित लेखनशैलीमा बसेको हुन्छ अथवा कविता लेखनमा कवि आफूलार्इ थाहै नभइ एउटा निश्चित शैलीको परिबन्दमा फसेर बसेको हुन्छ । उसले त्यहाँबाट मुक्त हुन धेरै कसरत समेत गर्नुपर्दछ भने त्यो अवस्थासम्म पुग्नलार्इ पनि उत्तिकै कसरत गर्नुपर्दछ ।  देवकोटाको लेखन शैलीमा गद्य कविता लेखे अहिलेको युगमा केही अनौठो नै देखिएला । तरपनि केही साहित्यविद्, कविताका पारखीहरू आफ्नो मनपर्ने कविको नाम लिनुपर्दा उनै देवकोटासम्म पुग्छन् । जबकी उहाँले प्रयोग गर्नुभएको शैली अहिले न लेखनमा छ न त बोलचालमा नै । कविताको शैली झनै पृथक बनिसकेको अवस्था छ । शैलीगत पृथकता नहुनेभएकोले पद्य भने उही ठाउँमा देख्न सकिन्छ । देवकोटा पद्यका मात्र महाकवि हुनुहुन्छ । यता भूपीका गद्य कविता भने कालजयी छन् । उहाँले जुन शैलीको प्रयोग गर्नुभएको छ त्यो अहिलेको समकालीन कविताको अनुहारसँग धेरै मिल्दोजुल्दो छ ।
 
नेपाली कविताको इतिहासलार्इ हेर्दा यसको आधुनिक काल वि. सं. १९९१ देखि शुरू भएको र वि. सं. २०३६ देखि यता समसामयिक धारा चलिरहेको देखिन्छ । यसबीच चलेका स्वच्छन्दतावादी तथा प्रयोगवादी धाराको प्रभाव अहिलेको समकालीन कविता लेखनमा पनि अनुभव गर्न सकिन्छ । अझ नेपाली कविता लेखन अझै प्रयोगवादमै अल्झिएको हो कि भन्ने समेत लाग्दछ जब नयाँ−नयाँ विधा र वादहरूको परीक्षण सतहमा देखिन्छन् । तर यहाँ प्रसङ्ग कविताशैलीको छ ।
 
अनुप्रासलार्इभन्दा विम्व र प्रतीकलार्इ जोड दिएर विषयवस्तु या भाव (Theme)को मियोमा शब्दहरूले कलात्मक बान्कीमा घुम्नु नै वर्तमान नेपाली गद्य कविताको मूल प्रवृत्ति हो । शैलीतत्त्वलार्इ अझै खुट्याऔँकुनै कविता आत्मपरक हुन्छन्, कुनै कवितामा दोस्रो पुरूषलार्इ सम्बोधन गरिन्छ, कहीँ वर्णन गरिन्छ भने कहीँ विवरण दिर्इन्छ । कुनै कविता त कुनै ख्यातिप्राप्त व्यक्तिको नाममा या सम्बोधनमा समेत लेखिन्छ । कसैले पत्र−कविता, संस्मरणात्मक−कविता, विज्ञापन−कविता, नारा−कविता, ट्रक−कविता पनि लेखेका छन् ।
 
त्यसभित्र पनि यसो वा उसो ... एर/दै/झैं/पछि बाट शुरू भएर मानौं ... मा विस्तारित हुँदै अन्त भएका धेरै कविता भूपी शेरचनका कविताका शैलीगत विशेषता हुन् जुन शैली अहिले पनि लोकप्रिय छकेही वादीकलमबाजहरूकालागि बाहेक । यता, कतिले त गणितीय चिन्हहरूलार्इ समेत कवितामा प्रयोग गर्ने गरेका छन् । उल्टो र सुल्टो दुवैतिरबाट पढ्दा समेत अर्थ खुल्ने कविता विराटनगरका केही कविले लेखेको पाइएको छ ।
 
गाउनलार्इ भएकोले गजलमा लयको जरूरत परेझैं कविता पनि वाचन गर्नलार्इ भएको कारण यसमा लय चाहिन्छ । यसकोलागि वाचनक्रममा शुरू गरेदेखि रोक्किनु पर्ने स्थानसम्म श्वासले पुग्छ कि पुदैन, कुन हरफ छोटो र कुन हरफ लामो भए वाचन गर्न सजिलो हुन्छ या भाव राम्ररी खुल्छ या रचना सम्प्रेषणीय बन्छ भन्ने कुरामा ध्यानदिन आवश्यक हुन्छ । यसकोलागि केहीले एउटै शब्दलार्इ पटकौं दोहोर्याउछन्, कसैले एउटै शब्दलार्इ बिन्दुहरूले छुट्याएर पनि लेख्छन् ।
 
कवितामा अर्को सम्झनै पर्ने कुरा हुन्छ जोल्ट्याइ’ (Cohesion)को । कविताको भाव, प्रसङ्ग या विषयवस्तुको वर्णनमा प्रयुक्त शब्दहरूले सिङ्गापुरको कुरा गर्दागर्दै एक्कासी वासिङ्टन डीसीको कथा भन्न थाल्यो या कुरा त्यता मोड्यो या मोडेर पुनः पहिलेको स्थानमा ल्याउन असमर्थ भयो भने त्यो कविता दुर्बोध बन्दछ । र, अति दुर्बोध कविताले पाठकलार्इ तान्दैन भगाउने गर्छ । यतिभएर पनि जोल्ट्याइहीनता नेपाली कविता लेखनमा देखिएको एउटा शैली हो ।
 
अहिलेको अब्बल दर्जाको कविताका मापदण्डको रूपमा विचार, भाव, कला र विम्व प्रतीक आदिलार्इ लिने गरिएको छ । विम्व र प्रतीकको प्रयोग गराइमा पनि भिन्नता छ । कोही प्रत्येक हरफ र शब्दमा विम्व प्रतीकको प्रयोग गर्छन् त कोही सिङ्गो कवितामा । यो पनि शैलीगत विशेषता नै हो ।
 
 कविता एक र लेखन तरिका अनेकको यही कलालार्इ नै मैले शैली (संरचनात्मक) भनेर भनेको हुँ ।
केही उदाहरणः
 
 

नयाँ सरूवा भर्इ आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानोमाथि बैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ताघडीको लङ्गूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक् ... ट्वाक् ... ट्वाक् ... ट्वाक् ... ।
 नयाँवर्ष (घुम्ने मेचमाथि अन्धो मान्छे, भूपी शेरचन)
 
दशैं रिसाएर फर्कियो होला
मसित
बोलाउन सकिनँ आँगनमा
र सकिनँ
नयाँ दुलही झैँ सिँगारी
घरभित्र हुल्न
यो वर्ष पनि ... । 
दशैं र छेप्पाकोक्पा (पहाड मसितै यात्रा गर्छ, हेमन यात्री)
 
साढे दुर्इ शताब्दीपछि
मेरो जीत बोकेर
घाम आँगनसम्मै आइपुगेको बेला
फेरि पनि हार्न म राजी भएँ ... ।
फेरि पनि हार्न म राजी भएँ (सिम्माको नाममा नयाँ चिट्ठी, इन्द्र नारथुङ्गे)
 
पाइलैपिच्छे तुफान कुल्चिँदै
बगिरहेका मान्छेहरूको सडक−नदीमा
मान्छेहरूकै आवाजले
हरेक दिमागको चोकचोकमा
थोत्रो इतिहास कात्रोभित्र
युगसँगै पड्किरहँदा आन्दोलन
मेरो डेरामा चैँ
आधुनिक बुद्धजस्तो प्रेसरकुकर चिच्याइरहेथ्यो ... ।
०६२/०६३ पछि (पोर्टर बा, छम गुरूङ)
 
 "प्राकृत दुनियाँमा दुरुह जीवनको उज्यालो बिमोचन गर !
अगणित तथ्यमा- छोटो=लामो बाँच्छु । लामो=छोटो बाँच्छु ।
स्खलित नहुनू- ऐन्द्रिक अवचेतन लेकाली मनो-पटाङगिनीभरि
पलाईरहन्छु छ्यास्छ्यास्ती ..
म=भियाग्रा=यार्सागुम्बा ।"
म=भियाग्रा=यार्सागुम्बा (खगेन्द्र पन्धाक लिम्बू)
 
"कर्तब्यले दैनिकीको खकन भिरेर,
टक्.........टक्........टक्
विवश,
गजेडाको प्लेटफर्ममा,
सवार पर्खिरहेछु ,
देसापान्डान, जलन कोनले,
जलन कोनले, देसापान्डान ... ।"
  प्रतीक्षारत यात्रु (मनि रार्इ गोठाले)
 
अर्धनिन्द्रित आङ् तन्काएर
म निस्तब्ध पहाड
केही खुम्चिन्थें र माया पिउथें
तन्किन्थें र कितावका चाङ्मा घोरिन्थें
त्यहीं मलजलले त ठू......लो हुनु थियो ... ।
विहानी हराएको सूचना (पञ्च विस्मृत) ।
 
त्यस्तै कवि देव लामाको शैलीः
स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य:
 
"रङ्गहरु शाश्वत सत्य"
 
 
तिमी हुँदा
तिमी नहुँदासंग
कुनै सरोकार राख्दैन,
हिजो तिमी भन्द धेरै... अघि थियो
आज छ
भोली पनि हुने छ/रहने छ
रङ्गहरु...उज्यालो संग संगै ...
तर, काजी
आज उमेरले बुढो भएको
रङ्गहरु प्रतिको तिम्रो कुटिल दर्शनले
भिन्नतहरुको ब्लैक होल निर्माण गरि
जीवन र जगतलाई सुन्दर नभएर
कुरूप मात्र पार्छ भने ...
त्यसको अन्त्य जरुर छ ....
किन कि रग्ङहरुको अस्तित्व
सुन्दरताको निम्ति हो
यो शाश्वत सत्य -
अध्याँरोमा होइन उज्यालोमा छ....
"देव लामा"//GBLO
 
 
जसरी एउटा चित्रकारले कसैको पोट्रेट उतार्नअघि सम्बन्धित व्यक्तिको प्रतिविम्व सबैभन्दा पहिले मनमस्तिष्कमा राख्दछ र त्यसलार्इ रङ्गद्वारा साकार पार्दछ, त्यसरी नै एउटा कवि कविताको नक्सा मनमस्तिष्कमा कोर्दछ र त्यसलार्इ शब्दले साकार पार्दछ । त्यसरी शब्दले साकार पार्ने क्रममा उनको कविताको आकारप्रकारले आआफ्नै रूप र गुण लिन पुग्छ । पृथक र नवीन ढाँचामा प्रकट हुनपुग्दछ ।
 
यसरी पनि भनौः लेखन भनेको  के भन्ने भन्दा पनि कसरी  भन्नेसँग सम्बन्धित भएकोले कवि पहिले कसरी  को पत्ता लगाउछ या चुन्छ र मात्र अघि बढ्छ । त्यही क्रममा नै शैलीहरूको जन्म हुन जान्छ ।
कविताशैली र समावेशीताको सन्दर्भः
अब एउटा कुरामा प्रष्ट हुन जरूरी देखिन्छ । त्यो हो सबै कविता एक हैनन् । एउटै जात, लिङ्ग या धर्मका हैनन् ।  तिनका पनि रूपरङ्गको आधारमा उद्देश्य, काम र कर्तव्य भिन्न हुन्छन् भन्ने तथ्यलार्इ बुझ्न जरूरी देखिन्छ । जसरी हामी मानव जातीमा मानव हुनुमा एकरूपता छ तर हामी मानव पनि पेशाले कोही कलाकार, कोही साहित्यकार, कोही मोडल त कोही ठूलाठूला दार्शनिक, राजनीतिज्ञ छौं । समग्रमा हामी मानव हौं । जसरी हाम्रो बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक अस्तित्व छ, समग्रमा हामी नेपाली हौं । 
हामीलार्इ थाहा छ हाम्रा बाआमा आफूलार्इ उत्तरदायी प्रमाणित गर्न अक्स्फोर्ड युनिभर्सिटीमा परीक्षा दिन जाँदैनन्, हाम्रा घरेलु दाजुभाइ फिल्मफेयरको अवार्ड ताक्दैनन् । र हाम्रा दौराघाँस गर्ने दिदीबहिनीहरू मिसवर्ल्डको सपना देख्दैनन् । किनभने हामी सबैको आआफ्नै पृथक र स्वतन्त्र पहिचान रहेको छ । आआफ्नै क्षेत्र, काम र कर्तव्य रहेका छन् । त्यसैले हाम्रा कविताहरूजस्तै विभिन्न जात र वर्णका हामी कहिल्यैपनि हामी एक अर्कामा प्रतिस्पर्धा गर्दैनौं ।
 
त्यसैले कविताको पनि त्यसको रूप र रङ्ग (जात)को आधारमा समालोचना र मूल्याङ्कन गर्न जरूरी देखिन्छ । अनि मात्र आजसम्म कविताको नाममा लेखिएका सबै कविताहरूले सही मूल्याङ्कन पाउनेछन् । सबै जातका कविताहरूले कविता हुनुको मूल अस्तित्वबाट बञ्चित हुनुहुँदैन । नृत्यमा, गायनमा, सङ्गीतमा, चलचित्रमा, चित्रकलामा, प्रायः हरेकमा केही न केही वर्गीकृत या हाँगाबिँगा छुट्टिएको अवस्था देख्न सकिन्छ भने गद्य कविता पनि त एउटा सग्लो अस्तित्व हो, सिर्फ कविता भनेर पुग्छ र ?
 
 
खाना खादा, डिस्को जादा, त्यहाँ नाच्दा, समुद्रतटमा सनवाथ गर्दा कस्तो कपडा लगाउने, अझ कविता वाचनगर्न उभिंदा के लगाउने ? भन्ने कुरामा ध्यान दिन जरूरी भएझैं अथवा फेशनविज्ञानको सर्बमान्य नियम भएझैं कविता पनि हामीले लगाउने कपडाझैं समय र स्थानसापेक्ष हुँदै आएको छ । यदि देश आन्दोलित अवस्थामा छ र तपार्इं सडकमा हुनुहुन्छ भने तपार्इंको विम्वात्मक, प्रतीकात्मक र दुर्बोध कवितामाथि कमैले ताली पड्काउनेछन् । उद्घोषण गर्दा शोकसभामा बोल्दैछु या कन्सर्टमा बोल्दैछुमाथि ध्यान पुर्याउन जरूरी भएझैं हाम्रा कविताहरूले पनि कहिले नरम र कहिले कडा हुनुपर्ने हुन्छ । नेपालका केही चर्चित पत्रपत्रिकाहरूले कस्तो कवितालार्इ स्थानदिने भन्ने कुरोको पूर्वनिर्धारण गरेका हुन्छन् । साप्ताहिक, विमोचनजस्ता पत्रिकाहरूमा भावमा गाम्भीर्य, दूर्बोध र कविता साहित्यको मूलधारबाट बगेका कविताहरूलार्इ कहिल्यै स्थान दिएको देख्नुभएको छ ? केही कवि यसैमा पिरोलिन्छन् । कविता उत्कृट हुँदाहुँदै पनि पत्रिकाले स्थान नदिनु त्यसभन्दा कमसल कविताहरूले स्थान पाइरहनु अनौठो कुरो लाग्छ । यो शैलीकै प्रभाव हो । 
 
प्रतियोगीतामा असफल हुने खालका कविताहरू पनि समय र परिस्थिति अनुसार असाध्यै लोकप्रिय बनेका छन् । स्थापित या इतिहास निर्माण गरेका कविको कविता पनि एक खारिंदै गएको नवोदित कविको कवितासँग प्रतिस्पर्धा गराउदा हार्ने सम्भावना धेरै हुन्छ । जस्तो आकारमा केही छोटा कविताहरू जसले कमै बोल्छन् । दुर्इ चार पङ्क्तिका कविताले प्रतियोगितामा भाग लिएको देख्नुभएको छ ? तर वरिष्ठ कविद्वारा रचित त्यो दुर्इचार पङ्क्तिको कविता कनिष्ठ कविको कविताको सामु पनि उत्तिकै अब्बल देखिन्छ । कारण हामीमा कविताको हैन कविको सिङ्गो जीवन, व्यक्तित्त्व र विचारको सम्पूर्णताको आधारमा कविताको मूल्याङ्कन गर्ने परिपाटी बसेको छ । वस्तुतः प्रतियोगितामा लडाउने, पुस्तकमा समावेश गर्ने, नारा जुलुशमा भन्ने, विज्ञापनको कविता भिन्नाभिन्नै हुन्छन् । अझ प्रेयसीलार्इ लेख्ने कविता झनै भिन्न हुन्छ शैलीकै कारण । 
 
 
तर समग्रमा सबै कविता हुन् । ती सबैलार्इ कविताको सत्ता चलाउने अधिकार छ जनताको समर्थन मिले । 
अब कविताको सत्ता चलाउने समावेशी सरकार अस्तित्वमा आयो ?
यदि आएकै हो भने अब सोच्नु पर्नेहुन्छ सबै जात र वर्णको एकतामा बनेको सरकारको मूल रूपके हो ? सबै रङ्गहरू मिलेर बनेको त्यो रङ्ग कुन हो ? जब काठमाण्डौं एक्लैले काठमाण्डौं बोक्न असमर्थ हुन्छ तब उसले अन्य केन्द्रहरूसँग मिलेर समावेशीताको नियमलार्इ आत्मसात् गर्न जरूरी हुन्छ । त्यसरी आत्मसात् गरेर बनेको सरकारको रूप के हो ? अथवा मूलधार के हो ?
 
त्यही मूलधार नै कवितालेखनको मूलधार हो ।

अझैं केही उदाहरणः

 

                       
 
 
 
 
 
 
 
 
 
 
 







                         रेखाकवि देश सुब्बा 

मानवले गर्ने अधिकांश क्रियाहरू भयका प्रतिक्रिया हुन् अथवा भयकै कारण मानव सभ्यता चुलिंदै आएको हो अथवा चेतनाले ज्ञान दिन्छ र ज्ञानले भयको मान्यतामा आधारित भयवाद यतिखेर राष्ट्रिय, अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ जसका प्रवर्तक हुनुहुन्छ साहित्यकार देश सुब्बा । वहुप्रतिभाशाली व्यक्तित्वका धनी देश सुब्बाले भयवादका साथसाथै रेखा कवितालार्इ पनि हुर्काउदै आउनुभएको छ ।
 
सेप्टेम्बर १२, २०१० का दिन फेसबुकमार्फत प्रथमपल्ट म सिमा समाधिष्ट गर्दछुशीर्षकको रेखा कविता देश सुब्बाले नेपाली कवितामा एक आन्दोलनको रूपमा बाहिर ल्याउनु भएको हो जसका अनुसार समानता, क्षेत्रता, सामयिकता, सहनशीलता, अलङ्कारिकता, र रेखीय प्रस्तुतीगरि जम्मा छ बुँदाहरूलार्इ छोएर लेखिएको कविता नै रेखा कविता हो । यतिबेला नेपाली कविता साहित्यमा रेखा कविता एक चासोको विषय बनेर रहेको देखिन्छ । यसबीच कवि अतीत मुखियाले रेखा कविताहरूको सङ्ग्रह समेत प्रकाशित गरिसक्नु भएको अवस्था छ । नेपाली कविता लेखनमा कही अतिवादी, कही सौन्दर्यहीन समाचार कविता लेख्ने होड चलिरहेको अवस्थामा रेखा कविताको अवधारणा हृदयग्राही छ भन्न सकिन्छ ।
 
लज्जावती झारको विरोधएक प्रतीकात्मक कविता हो । यस कवितामा दोस्रो पुरूषलार्इ सम्बोधन (शैली) छ जसले लज्जावती झारलार्इ टेक्न पुगेका छन् । र लज्जवती झारको विरोधमा यता कवि लज्जित बन्न पुगेका ।
 
लज्जावती झारको विरोध
(रेखा कविता)
 
तिमीले टेकेको पैताला हेरेर
मलाई त्यसैत्यसै पसिना छुट्छ        
त्यो पैताला हेरेर
म मान्छेको पैताला हो भन्न सक्दिनँ
अहिले पनि पैतालाको डोबमा
मेट्न नसकिएको 
आलो इतिहास छ
 
म ध्यानमग्न भएर हेर्छु
धूवाँ उड्छ         
धूवाँभित्र नेपथ्यमा
पैतालामा थिचिन्दै गरेका

न्याय मागिरहेका
मानिसको आवाज आउछ
आवाजसँगै समयको कुनै कालखण्डमा
बगेको रगतको गन्ध आउछ
 
पैताला  
एक पैतालाबाट अर्को पैताला
पुग्दा बटुलिएर
भेला, प्रदर्शन, जुलुस भएको देख्छु
के यो मान्छेको भेल मान्छेलाई
त्रसित बनाउन प्रयाप्त छैन र
आन्दोलन चिनाउन प्रयाप्त छैन र
यो भेल हेरेर मलाई
त्यसै आँखाबाट चकमक कोर्न मन लाग्छ
 
एउटा लज्जावती झारले
मान्छेको स्पर्शलाई
हात उठाएर विरोध गरेको देख्दा
मान्छे भएर बाँच्न पनि शरम लाग्छ ।
 
(लज्जावती झारः एक किसिमको सानो सानो पात भएको झार जसलाई छुनासाथ खुम्चिएर पात बन्द हुन्छ । )
 
                                                 
 









 
 
 
क्वान्टमकवि डा. मधु माधुर्य
मैले नेपाल हुँदा धेरै समय अगाडि केही राष्ट्रिय साहित्यिक पत्रिकाबाट चिनेका क्वान्टम कवि मधु माधुर्य यतिखेर क्वान्टमब्याख्या र लेखन यात्रामा हुनुहुन्छ भन्ने बुझेको हुँ । समयको वहावसँगै सृजनामा वाद र लेखनशैलीगत प्रयोगहरू हुँदै आएका छन् विश्वमै । क्वान्टम स्वतन्त्रताप्रेमी देखिन्छ । त्यसैले क्वान्टम बहुआयामिक र बृहत्तर देखिन्छ । क्वान्टमको बारेमा मधु माधुर्य भन्नुहुन्छः
 
सौन्दर्यानुभूति विविधतामा हुन्छ: बहु (वा एक)को फरक अनुभूति विविधता हो; अस्तित्व-तरङ्गमा हामी सम्पूर्णताको एक क्वान्टम प्रतिनिधि हौँ; वाद र धारामा पसेपछि हामी त्यहाँ स्पेस त देख्छौं तर आयाम साङ्घुरिएर खुम्चिएर त्यतै थला पर्छौं र अन्तत: स्वतन्त्रता र विकल्प खोज्दै त्यहाँबाट उम्किन फेरि आफैले संघर्ष गर्छौं; अनि प्रत्येक सुस्केराहरुमा हामीलाई स्वतन्त्रता प्यारो लाग्न थाल्छ ... विचारको पूर्ण विराममा जीवन र जगतको राम्रो व्याख्या सम्भव छैन । विनिर्माण निर्माणको आधार होइन; निर्माण र विनिर्माण विचारले गर्छ ... उत्तरआधुनिकतावाद नै साहित्यको अन्तिम गन्तव्य हो भने सर्जकहरुले अहिले नै सुर्केनी ठीकपार्दा हुन्छ । क्वान्टम साहित्य सिर्जनामा एउटा पृथक र बहुआयमिक प्रयोग हो ।

 
क्वान्टम कविता कोलाइडरमा अनुभूतिका विस्फोटनहरुको संरचना आत्मपरक रहेको छ । यसमा अधिक रूपमा विराम चिन्ह (Punctuation) को प्रयोग भएको (शैली) देखिन्छ । यस कवितामा शब्द र विराम चिन्ह दुवैको बेजोड खेल देखिन्छ ।

कोलाइडरमा अनुभूतिका विस्फोटहर
 
 
 
 
जीवन कोलाइडरमा
छेदित  / विच्छेदित

सृष्टिकर्ताको एक कण
 
संसारको रङ्गमञ्चमा
पात्र-दर्शक-निर्देशक बनेर
अपरिमित दृश्यहरु खेलिरहेछु 
द्वैध पर्दाहरुमा :
रङ्ग र सुवासको एउटा समीकरण > सौन्दर्यको नाममा
फूलहरु  फूलिरहेछन् / फक्रिरहेछन्
फूलहरु चुँडिएका छन् / झरिरहेका छन्
.....      .....     .....    .....      .....
गति र स्पेसको एउटा मिलन >विचरणको नाममा
चराहरु चरिरहेका छन् / उडिरहेका छन्
चराहरु झरिरहेका छन् / निशानामा छन्
....      .....     .....    .....      .....
उर्जा र आकारको जम्कोभेट > द्रव्यको नाममा
नदीनाला बगिरहेका छन् / जमिरहेका छन्
नदीनाला छेकिएका छन् / सुकिरहेका छन्
.....      .....     .....    .....      .....
स्वर र भावनाको सिन्तेज > सङ्गीत वा धुनको नाममा
बाँसुरीहरु ब्युँझेका छन् / बजिरहेका छन्
बाँसुरीहरु मौन छन् / फुटिरहेका छन्
.....      .....     .....    .....      .....
य-
सरि  .....
स्वेत-दूलोबाट -
केहि निस्किरहेका छन्
कृष्ण-दूलोभित्र 
केहि हराईरहेका छन्
.....
यो नित्य परिवर्तन
अभिव्यञ्जना मान्छेको
"जीवन
एम्बुस छल्दै गरेको अस्तित्वलाई
भोगाइले बर्साउने मीठो चुम्बन रहेछ
भोगाइले लुट्ने  जङ्गली सङ्सर्ग रहेछ !
 
 
 
 
                                          
 
 





 
 


 
  बहुरङ्गवादी कवि समदर्शी काइँला
 
नर्क भास्सिने क्रममा थिएँ । साहित्यकार, पत्रकारमित्र देबेन्द्र सुर्केलीले मलार्इ बोलाउनुभयो भेटघाटकोलागि काठमाण्डौंको बिजुलीबजारस्थित आफ्नो अफिसमा । बाहिर सडकसम्म लिन समेत आउनु भयो । उहाँको अफिसमा केही साहित्यिक कृतिको टाइपसेट भइरहेको बुझियो । भित्र छिर्दा कसैले म फुच्चेतिर फर्केर नहेरेकोले देबेन्द्रजीले केही असजिलोपना महशुस गरे झैं लाग्यो ।

 
तर एकै छिनमा देखापर्नुभयो कवि समदर्शी काइँला । त्यसपछि स्वप्निल स्मृति । उहाँहरूसँग मेरो प्रथम भेट त्यहीं नै थियो । त्यतिखेर समदर्शीज्यु म अमेजन उकालो बग्छुकविताकृतिको प्रकाशनकार्यमा व्यस्त देखिनुहुन्थ्यो । उहाँको जिज्ञासा थियो— “समदर्शी काइँला नाम सुन्नु भएको त छैन होला ।सुनेकोले सुनेकै हो त भन्ने पर्यो र त्यसै भनें । तर उहाँको बहुरङ्गवादलार्इ भने त्यहाँबाट आफ्नो बाटो लागेपछि मात्र सुन्न लागें ।

 
बहुरङ्गवादको बारेमा उहाँ भन्नुहुन्छः

 
अहिले सम्मन् धेरै वादहरु हामीले पश्चिमबाट ओसारेका छौं स्यानू बिरुवाजस्तो ल्याएर हाम्रो साहित्यिक माटोमा रोपेका छौं । तर यही माटोमा उम्रेको बिरुवा हो बहुरङ्गवाद । यो नवीनता बहुलता, मौविनिहासा आदि मलजलले हुर्कदो छ । सिद्धान्तमा अलिकति पस्दा लेखकको मृत्यु बदर गर्दै बहुरङ्गवादले चिद्वैषम्यद्धारा अर्थको मृत्यु सदर गर्दै सिम्युलेक्रामा एम्बीगुइटीको जन्म भई हाइपररियालिटीलाई भेटिवरी अगि बढ्दै सपथोकको सिम्युलेक्राले वस्तुता मरेको घोषणा गर्दछ । किनाराबाट स्पेस खोज्दै बहुलता नवीनता समानता र मौविनिहासा आदिले अलिकता मौलिकता कराउँदै प्रतिपादित साहित्यमा जीवनजगत् समाज संस्कृति आदि यावत् कुराको फोटो हेरेर चुप लाग्छ बहुरङ्गवाद । अन्तिम सत्य अन्तरिम मान्दै सन्दिग्धता पाउँछ । यसले तेस्रो वस्तुको सत्व पराभौतिक आयामसम्मन् मनाद्धारा चिद्वैष्म्यद्धारा सुटुक्क लुकाएर हिड्छ सग्लो सौन्दर्य निर्माणकोलागि विचारको विलक्षण विस्फोट भएर सुरुप कुरुप वस्तुको लाखौं रुप भेट्तै भेट्तै तेहाँदेखिन् पनि गतिशील सर्वदृष्टिकोणले व्यक्ति सर्वोच्चतामा अगि बढ्छ बहुरङ्गवाद ।

 
प्रस्तुत बहुरङ्गवादी कविताको शैली हो कुनै लेखमा जस्तो दोस्रो कविको कविताको टुक्रा अथवा त्यो कुनै व्यक्तिको भनाइ हुनसक्छ— लार्इ जोडेर शुरू गर्नु (शैली) ।
 
हारिदिनुको अनुष्ठान दिग्दाह-दिग्विजयको पल्लो किनारमा !
(बशुरङ्गवादी कविता)
 
 
I'm nobody! Who are you?
Are you-nobody-too?
Then there is a pair of us?
Don't tell! They'd advertise -you know!
How dreary -to be-somebody!
How public-like a frog -
To tell one's name- the livelong
June-
To an admiring Bog!
 
-Emily Dickinson
 
संविधान-
विधान-
धान-
न-
निहुरमुन्टे '' को भुस खाएर बाँचेका
परोक्ष यथार्थ (Virtual world) का अतियथार्थ (Surreal) हाउगुजीहरुलाई
कुरुक्षेत्रको हाट भरेर अबेला फर्कदै
हारिदिनुको अनुष्ठान गर्छु, फेसबुके दिग्दाहको भीरबाट-
हाम्फालेर दिग्विजय अल्से- अवचेतन मनले
बाँच्नू फारो गरेर विघटन जीवन-
रङ रङ रङ झङ झङ झङ
झङरङ झङ रङ
रङझङ रङ
रङ
 
गल्ती कोटाएर  लेखेभनें म नै गल्ती हुन्छु
गल्ती लुकाएर  लेखेभनें म नै चल्ती हुन्छु ।
यस्तै छ बिचरा बिब्लेँटो बिब्लेँटो फेसबुकको समाज !
जहाँ अ-मान्छे
उर्फ एकहूल छिचिमिराहरु !
पटबाँझो गिदीको प्वालबाट निक्लेर........
स्वैरकाल्पनिक शस्यश्यामलाको फाँटमा उड्न खोज्दा
'स्पेक्टम'को प्रकाशमा प्वाँख झरेर मर्छन्
कि उनीहरु भ्रान्तिको फुस्रो रङ्गमा सग्लेँटो सग्लेँटो बाँचे !
कि रङ्गको फुस्रो भ्रान्तिमा उनीहरु फग्लेँटो फग्लेँटो मरे !
 
                                        
 
 








 
 
 जीवन र गजतका कवि टङ्क सुब्बा
 
पहिले नेपाल र पछि हङ्कङ्को साहित्यिक दुनियाँमा अतुलनीय योगदान पुर्याउनुहुने साहित्यकार, कवि, गीतकार, ब्लग्गर तथा विभिन्न संघसंस्थाको सारथि टङ्क सुब्बा सृजनामा जहिल्यै जीवन र जगत वरिपरि नै भेटिनुहुन्छ । उहाँका सृजनाले जीवन र जगतको मीयोमा घुमेर सत्य खोज्ने प्रयत्न गर्छन् । रेखा कविको रूपमा समेत परिचित टङ्क सुब्बा प्रवासी नेपाली साहित्यका एक 'रोलमोडल' समेत हुनुहुन्छ ।

 
प्रस्तुत उहाँको कविता आत्मपरक छ । यसबीच उहाँले यात्राको 'फाइनल डेस्टिनेशन' पत्ता लगाउने प्रयास गर्नुभएको छ । आत्मपरकता एक शैली भयो । र, सबैभन्दा बढी लेखिने शैली पनि यही नै हो । यस कविताको अङ्ग्रेजी अनुवाद www.translatednepalipoems.wordpress.com मा उपलब्ध छ ।   
 
कोलम्बस पाइला
 
अनन्त यात्रा
टेक्छु कोलम्बस पाइला
बिना तैयारी        
बिना कम्पास
बिना मार्गचित्र
पछ्याउछु समय
सम्भावनाका धेरै मार्गहरुबाट
सके जहाँबाट पनि
पुग्न सकिन्छ चाहेको ठाउँ
यति मात्र हो यात्रालाई ठम्याउने कसरी ?
कोलम्बस पाइला हुइकिन्छु
कठिनाइ बुक्याउदै निरन्तर पूर्व
जहाँबाट प्रत्येक विहानीको न्वारन हुन्छ
पुगौ त्यहींनेर भन्छु
 
तर अदृश्य छ त्यो गन्तव्य
निर्जन लाग्छ आफैले टेकेको माटो पनि
घाम निल्दै प्रतिगामी बन्छ बादल पनि
उकाली ओरालीले निल्छ गोरेटोलाई पनि
मलाई भने बिघ्न हतार छ
कसैले नदेखेको
कसैले नभेटेको
कुमारी ठाउँ पुग्न
कुमारी आविष्कार चुम्न
भर्याङ चढ्दैछन् उमेरहरु
सिमलको भुवाँ झै उड्दैछन् वैंशहरु
 
तर पनि निश्चिन्त
जोस मात्र उध्याई रहन्छु नयाँ पलहरु छुने
वास्तवमा पुग्न भने कही पुगिएको छैन
सिर्फ आकाङक्षा बाँचेको छु
एकरास पुगिएला भन्ने
त्यसैले कोलम्बस पाइला
यन्त्रवत ठेल्छु कठ्याङ्ग्रिएको हिउँद मुसार्दै
वेगिन्छु झरीबादल रुझ्दै
खोइ अत्तोपत्तो छैन त्यो गाउँको
आकाशलाई जताबाट हेरे पनि
उस्तै देखिने
बाटो जता हिडे पनि
त्यस्तै भेटिने
समयाजिंगरले चपाएको त होइन जिन्दगी ?
सन्देहले छाम्छु कोलम्बस टाउको
भयले पसिना पुच्छु
निर्धक्क बनेर
धकेल्छु कोलम्बस पाइला निरन्तर उतै
 
खै कुन्नी कहाँ छ पुग्नुको
त्यो अर्को छेउ ?
शायद छैन कि त्यो भन्नु ?
किनभने उस्तै मात्र लागिरहन्छ जहिले पनि
सोच्छु कोलम्बसको टाउकोमा
आइन्सटाइनगिदी थपौं
शरीरमा हर्कुलस रोपौं
साहसमा नेपोलियन बाँचौं
र अन बटन दाबेर हुइकौं रकेट झैं यात्रामा
बिचार यसैगरि तोड्छु मोड्छु
पुनः जोड्छु
अनि आफैलार्इ सोध्छु
के जिन्दगीभन्दा लामा हुन्छन् यात्राहरु ?
निर्विवाद
किनभने युग हिड्छ कोलम्बस पाइलामा
त्यसैले पुग्नुको तिर्खा बोकेर म
अनन्त यात्रा
टेक्छु कोलम्बस पाइला
बिना तैयारी
बिना कम्पास
बिना मार्गचित्र
पछ्याउछु समय ।

 
              
 
 
 
 
 
 
 
 
 
 
 
आदिबासीकवि मनु लोहरूङ रार्इ
 
धेरै कमले त्यस्तो अभिव्यक्ति दिन सक्छन् जसमा नेपाली समाजको ठेट गन्ध होस् । भाषामा होस् चाहे विचारमा उहाँका सृजना पढ्दा न्युयोर्कमा रहेपनि उही जन्मेहुर्केको देशको आदिम गन्ध नाकमा ठोक्किन आउनेछ । भाषामा जस्तो उहाँले प्रयोग गर्नु भएको सुठी सारो शब्द मेरी आमा प्रयोग गर्नुहुन्थ्यो । जसको अर्थ बृहत् नेपाली शब्दकोशले दिएको छैन । गाउँघरमा त्यस्ता धेरै शब्द या वाक्यांश  छन् जुन नेपाली शब्दकोशहरूमा समाविष्ट छैनन् । तर तिनै गन्धहरूमा नेपाली समाजको आदिमता झल्किने कुरालार्इ नकार्न सकिन्न । 
मनुको प्रस्तुत कविताले तिमीलार्इ सम्बोधन गरेको छ । प्रशंसामा होस् चाहे गुनासोमा तिमी एउटा अमूर्त व्यक्ति या वस्तु हो । तिमी एउटा प्रतीक हो ।  मैले पनि तिमीलार्इ संबोधन गरेर धेरै कविता लेखेको छु । तिमी, हजुर या नानु, बुनु यी संबोधनमा एक शैली भेट्न सकिन्छ ।
 
आदिवासी मनको हिरासतबाट
 
मुटुसँग मुटु साटेको साइनो
थपक्क बोकेर स्मृतिमा -
तिमी त "भदौरे घाम"
पुग्यौ, आफ्नै आदिवासी स्तीमा
शारदीय ऋतुको काखमा बसेर
प्रेमिल हिमशिलाहरु .... चुम्न !
 
यो दूर क्षितिज टेकेर म
छातीमा विश्वासको फक्तालुङ्ग पहाड थाम्दै
यादगार क्षणहरु
खामबन्दी मनको लिफामा
सुरक्षित राखेको छु
 
भन्दिनू ! मेरो खबर ...
उतातिर सबै-सबैलाई -
आदिवासी मनको हिरासतमा
विरासतले बाँचेको छु
प्रेमिलो सम्बोधनसहित
मनभरि गाउँको याद सदा रहेको
यो शहरमा आकाश ओढेपनि
गुन्द्री र काम्लोको सम्झनाले
न्यानो न्यानो छ - मन
देवीथान र संसारीमाईकै
विश्वासले लेख्दैछ
आदिवासी स्तीको कथा
 
सके, म आउला नि लुङ्वा
माघेसङ्क्रान्तिको छेकमा
माइबेनी मेलामा धान नाच्न
नसके उधौली साकेला नाचौँला
सुम्निमा-पारुहाङ दाइने राखौंला
सपनाभन्दा कल्पना झन् मीठो हुन्छ
सुठी सारो !
बिपनाभरि सम्झनाको रापले
पोलिनु त छँदैछ नि !
 
 
                                                  












                       वैचारिककवि निर्मला खड्का
 
निर्मला खड्का नाम लिने बित्तिकै कुनै मनोरम बगैंचा, समुद्रतट, र छङ्छङ् बग्ने निर्मल झरनाको विम्व मन मस्तिष्कमा बस्न आउछ । आफ्नै अगाडिको अक्कर एकाएक गायव हुन पुग्छ । तर यति भएर पनि उहाँका कविताहरूलार्इ बौद्धिकताले थिच्न पुग्छ र कला असमञ्जसमा पर्न जान्छ । त्यसैले त एकप्रकारले कला र बौद्धिकताको संयोजन नै निर्मला खड्का हो ।
 
गजल र कवितामा रमाउनुहुने निर्मलाज्यु नेपाली साहित्य र साहित्यकारका एक ‘प्रोमोटर’को भूमिका निभाउनु हुन्छ । यसकोलागि आफ्ना माता पिताको नाममा कुन्ताडण्ड प्रतिष्ठाननामको एक साहित्यिक प्रतिष्ठान स्थापना गर्नुभएको छ । स्वप्नील निरवको कृति उज्यालोतिरको प्रकाशन यहींबाट भएको हो । सबैभन्दा सह्रानीय कुरा त के भने स्वप्नील निरवको कृतिझैं अन्य कुनै कारणवश प्रकाशनसम्म पुग्ननपाइ ओझेलमा परेका लेखकका कृतिहरू आफ्नै खर्चमा प्रकाशनमा ल्याउने सोचमा हुनुहुन्छ उहाँ ।

 
हेरौं उहाँको बौद्धिक (शैली) कविता ।
 
समयको वर्तमान प्रयोगशाला
 
मभित्र नजानिदोगरि पार्श्व कम्पन शुरु हुन्छ
लामो दूरी तय गर्नकोलागि कुनै अदृश्य शक्ति थपिए झैँ
जिन्दगी र समयले आफ्नो ब्यबस्था सुदृढ पार्न मलाई प्रयोगमा ल्याउन चाहन्छ
म त्यही शक्तिले परिचालित हुन्छु बिस्तारै 

 
हो यो समयको वर्तमान प्रयोगशाला हो
यहाँ हर कोही आफ्नो दायित्त्व निर्बाह गर्दैछ
कोही पुजारी मन्दिरमा अपराधको आराधना गर्छ
कोही अन्डरवर्ल्ड / अपराधिक दुनियाँको देवता स्थापित हुन्छ
कुनै प्रोफेसर नीतिको चिरफार गरेर नयाँ नीति निर्माण गर्दैछ
एउटा राजनीतिज्ञ राज र नीतिको ब्यापारी बन्छ
यहाँ प्रत्येक नौलो परिक्षणको होडबाजी चल्नु स्वाभाविक हो
हर कोही नव निर्माणको इतिहास खोज्ने रहर बोकेर साक्षर भएको जो छ 
मेरो गिदी निकालेर कुनै रोबटमा
स्थापित भएपछिका काण्डमा म अपराधी साबित कसरी हुन्छु ?
यो त भविष्यको सुदृढिकारणकालागि गरिएको सामान्य प्रयोग मात्र न हो

 
उज्यालोलाई भाँचेर अँध्यारोमा मिसाइन्छ
अल्कोहल र पेट्रोलको समिश्रण द्रब्य थप उर्जा उत्पादन हुन्छ
यहाँ म आज्ञाकारी तत्वबाट बनाइएको छु
एउटा दायराको पाठ्यक्रम सक्नुछ
मेरो आज कुन प्लानेटको निर्माण प्लान गर्दैछ मेरै दिमागमा ?
सिस्टम दायाँ र बायाँ
एउटा ठूलो भवनभित्रको चित्र
कैयौँ मानव टाउकाहरु एक आपसमा बहस र छलफल गर्दै/सुन्दै /फाल्दै
मलाई निम्ताइएको छ या परिचालित गरिदैछ त्यहाँ
मेरो दिमाग प्रक्षेपण र परीक्षाको समय शुरु 
याँ सिस्टमका रङ्गीन बटनहरु एकै औंलाको भरमा थिचिन्छन्
माइनर ब्लास्ट
अस्त व्यस्त छरिएका मानव शरीर
म निदाउनभन्दा पहिले उठ्नु पर्छ आजको प्रयोग सकेर
भविष्य निर्माणको लागि ।
 
 
 
 
  खरोकवि गणेश खड्का
 
 
मलेसिया पुग्न अघिदेखि गणेश खड्का नामसँग परिचित मैले त्यहाँ पुगेपछि उनै खरो कविसँग राम्रोसँग नजिकिन पुगें । उहाँको मैत्रीपूर्ण व्यवहारले अत्यन्तै प्रभावित समेत भएँ । पहिले सृजनामा भटियौं त्यसपछि फोनमा । पछि एक भेटमा श्रम साप्ताहिककोलागि अन्तर्वाता समेत लिनुभयो मेरो ।
 
 
भोजपुरमा जन्मिएर मलेसियाहुँदै सेसेल्स पुग्नुभएका गणेश खड्काको नेपाली साहित्यलार्इ उल्लेख्य योगदान रहेको छ । र, उहाँ मेरो मन पर्ने साहित्यकार र मनले नजिक मानेको हितैषी समेत हुनुहुन्छ ।
उहाँ के कारणले खरो कवि ?
 
प्रस्तुत कविताको अध्ययनबाट यो प्रमाणित हुनेछ । यसको अङ्ग्रेजी  अनुवाद www.translatednepalipoems.wordpress.com मा उपलब्ध छ ।
 
 
 
 
मान्छेहरुबीच मान्छेको खोजी
 
सृस्‍टिको उषाकालमा
रामापिथेकस बाराजुले छोडेको
घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर
तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका
स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा
मेरो स्वकिय अनुसन्धाता मन
आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबीच
कुरुप सभ्यताको खास्टोभित्र
स्याउँस्याउँती मान्छेहरुको थाकबाट
एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ ।
 
मान्छेहरुको शिविरमा गधाहरु भेटिन्छन्
लोक दिक्षित हुनुपर्ने विश्वबिध्यालयहरु
राँगा र साँढे भर्ती केन्द्रका अखडा बन्दछन्
चितुवा स्वभाव प्रशिक्षित शैक्षिक संस्थाको गेटबाट
थर्थरी खुट्टा कपाउँदै म-
एक झुल्को मानवताको कालो पाटी नियालिरहेछु ।
 
मेरो सोधपत्रको खाली पानाहरु अपुरै रहलान्
अनुसन्धानका शैक्षिक शत्रहरु अधुरै छोडिएलान्
यद्दपी मेरो अघोषित शहिद मन
मान्छे हुनुको स्वधर्म नासिने फिटफिटीले
आफ्नै बगालभित्र पटकौं मर्दै-बौरिदै गरेका
जिउँदा लाशहरुको गोदामघरबाट
सुसंस्कृत सत्य मान्छे खोज्न लालायित छ
गोरुहरु मान्छे जस्ता कहिल्यै देखिएनन्
भेडाको बथानमा- भेडा जस्तै लाग्छन् भेडाहरु
बाख्राहरु भेडासँग मिसिंदैनन्
कुकुर र बिरालोको स्वभाव भिन्न छ
मान्छे जस्ता मात्र लाग्ने मान्छेहरुको चर्को भिडमा
एउटा बिउ सभ्य मान्छे खोजिरहेछु म ।
 
गाउँ-बस्तीमा मान्छेहरु छन्
शहर बजारमा मान्छेहरु नै देखिन्छन्
सडकमा - सदनमा
सत्तामा -भट्टीमा
हुँदाहुँदा जङ्गलमा पनि
यत्र-तत्र सर्वत्र मान्छेको राज छ
निचोरेको कागती जस्ता अनुहार बोकेर
मानविय संबेदना हराएका
नसा रगत सुकेका मानव कङ्कालहरुबीच
मान्छे नै मान्छेको हालिमुहालीमाझ
म भने मान्छे नै खोजिरहेछु ।
 
म धुईँधुईँती खोजिरहेछु मान्छे
अक्करेभिर जस्ता जीवनहरुमा
र मखमली भुषण जस्ता जोवनहरुमा
मेरो मान्छे खोज त्यहाँ पनि छ
मान्छेद्वारा चपाइएका मान्छेका अनुहारहरुमा
मान्छे मार्फत सताइएका मान्छेका जीवनहरुमा
मान्छेसँगै डराएका मान्छेका मनहरुमा ।
 
भाइचारा, नैतीकता, सद्भाव र मर्यादामा
पशुजति पनि अनुशासित बन्न नसकेका
मान्छेहरुको अधिनस्थ ईलाकाहरुबाटै
म यो उर्दी गर्न चाहन्छु -
मैले सिमाङ्कन गरेको मान्छेको कित्तामा
असली मान्छेको मन बोकेर आओ
आफ्नो अस्तित्व र पहिचान लपेटेर
मानवीय झन्डाका साथमा आँफैं सूचिकृत बन
किनकी मैले चिन्नै सकिरहेको छैन यहाँ
कथित मान्छेहरुको साम्राज्यमा
बाँदरहरु...
र मान्छेहरु... ।
 
                                                        
 
   
 
 
 
 


                                देशभक्तकवि चन्द्र गुरूङ
 
पहिले उहाँले यो कवितालार्इ प्रकाशनकोलागि दिन अनकनाउनु भो । भन्छन् रे यसमा संघियता विरोधी गन्ध छ । तर मलार्इ भने मुटुभित्र देशको नक्सा नहुने बेइमानीहरूकैमाथि लेखिएको भन्ने लागेको छ । 
मेरो ‘आमा मलार्इ बुर्का ओढाइदेउ शीर्षकको कविता हङ्कङ्को एक कार्यक्रममा वाचन गरिनु र सोही कविता ज्योति साहित्य प्रतिष्ठानको एक संगालोमा (२०६९) मा प्रकाशति हुनुमा केएसएको बसाइमा भेटिनुभएका बाहराइनबासी कवि चन्द्र गुरूङज्युको ठूलो देन छ ।  यतिखेर मेरो हातमा हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ’, छम गुरूङको पोर्टर बा’, बिना तामाङ सुनगाभाको छुकीर रोयल नेपाल एकेडेमीको कन्टेम्पोरेरी नेपाली पोएमस्छन् । तिनलार्इ पढ्ने सौभाग्य उहाँबाटै पाएको हुँ ।  
 
 
प्रस्तुत कवितामा एक घटनाको विवरण (शैली) दिइन्छ यसरीः
 
पोस्टमार्टम रिपोर्ट

 

यो लास

त्यही मान्छेको हो

प्रत्येक तोडफोडमा

जो बोक्दै विदेशी भाला र तरबार

खोज्थ्यो आफ्नै दाजुभाइका स्वदेशी टाउकाहरू,

हिँड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरू

कुनै निरङ्कुश शासकलाई अग्रगमनकारी भन्दै

विष्णुको विशुद्ध अवतार मान्दै

दरबाररूपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।

 

यो लास

त्यही मान्छेको हो

‘‘नेपाल बन्द’’को मौका छोपेर

जो आफ्नै देशलाई

सडकहरूमा टायर बनाएर बाल्थ्यो,

मितेरी पुलहरू भत्काएर

थुप्रै छिमेकी गाउँहरूलाई अलग पार्थ्यो,

तोडेर टेलिफोनका निर्दोष टावर

फोडेर बिजुलीका उज्याला स्टेशन

सुनसान बनाउथ्यो असङ्ख्य टोलबस्तीहरू ।

 

यो लास

त्यही मान्छेको हो

जो काटमारहरूमा उत्साहपूर्वक सामेल हुन्थ्यो,

चोरीडकैतीहरू त

उसको लागि सामान्य दैनिकी बन्थ्यो ।

 

तर दुर्भाग्य

ऊ मारिएछ यसपालिको हूलदङ्गामा ।

 

आज,

उसको लासलाई चिरफार गरेर

डाक्टरहरूले तयार पारे एउटा पोस्टमार्टम रिपोर्ट

कि

उसको मुटुभित्र देशको नक्सा नै थिएन ।

 
                    



















                        मनकी कवि मीरा मन थापा
 
झापाको माइधारमा जन्मनु भएकी कवि (महिला) तथा गजलकार मीरा मन थापाका कविताहरू विशेषतः फेसबुकको सञ्जालमा अत्यन्तै लोकप्रिय बनेका छन् । पग्लिएको मन जस्तै कोमल र शालीन हुनु उहाँका कविताका विशेषता हुन् । नेताहरूलार्इ गाली गर्दा होस् चाहे गरिब दुःखी असहायहरूको पक्षमा बोल्नु पर्दा, उहाँ कोमल र शालीन रूपमा नै प्रस्तुत हुने गर्नुहुन्छ आफ्ना सृजनामार्फत ।
 
वर्तमान नेपाली राजनीति र राजनीतिज्ञप्रति असन्तोष पोखिएको उहाँको कविता अघोरीहरूको शहरको संरचनामा कोमलता छ र शालीनता पनि उतिकै छ । यहाँ प्रयुक्त कुनै पनि शब्द कर्कश लाग्दैनन् । यस कविताले आगो नै ओकलेको भएपनि कोमल लाग्छ । मानौं कि एक मालिक उसमा कामदारलार्इ सभ्य शैलीमा हकारिरहेको होस् । यस कविताको सबैभन्दा प्रष्ट विशेषता होः हो, यो अघोरी हरूको शहर हो ... ।को पुनरावृत्ति भइरहनु । यो एउटा स्वाद हो कविताको । एउटा शैली हो । कविता पढ्दापढ्दै हराएको अवस्थामा यस्ता पुनरावृत्तिले मनमा कविताको मूख्य भाव जीवित बनाएर ल्याउछ ।
 
अघोरीहरूको शहर
 
खुल्ला आँखाले कुलेखानी सपना देखेर
लोड्शेडिङ ओढेर सुतेको शहर हो यो
मेलम्ची कुहिएर गन्हाउँदै
बागमती बगेको शहर हो यो
यो मान्छे खाएर अघोरी बाँचेको शहर हो
हो, यो अघोरीहरूको शहर हो
 
यो ब्यस्त छ केही शहीद र टुडालहरू बाहेक
शहीद हेरिमात्र रहन्छन्, केही बोल्दैनन्
टुडालहरू निर्वस्त्र छन्, कोही बोल्दैनन्
शहीद धुवाँ र धूलोले पुरिएर रून्छन्
कैलेकाहीं भिन्नै जातको हुनुले कुटिन्छन्
टुँडालका तिघ्राले बिहान बेलुकै मालिस् पाउछन् र
मन्दिर परिसरमै युवती बलात्कार गर्छन्
यो माटो मारेर ढुङ्गा बाँचेको शहर हो
यो मान्छे खाएर अघोरी बाँचेको शहर हो
हो, यो अघोरीहरूको शहर हो
 
नदी किनारामा कोलोनी बाँचेका जीवनहरू
चाल्नाले बैंश चालेर बालुवा टल्किने यौवनहरू
हरक्षण, हरदिन जोतिर्इन्छन गेग्र्यानमा
सुनको थालीमा खाजा खाने हली
भुत्ते फाली ढुङ्गामा अड्काएर
यिनीहरूको मर्ममा चुटिरहन्छ
राँटैराँटा जीवन फाटेर
धाँजधाँज मुटु चिरिएर
हर एक पल मर्छन गरिब बस्तिहरू
यो बस्ती पोलेर डढेलो बाँचेको शहर हो
यो मान्छे खाएर अघोरी बाँचेको शहर हो
हो, यो अघोरीहरूको शहर हो
 
भाषणमा स्वीट्जर्ल्याण्ड बनाउने अठोट
बेलुकी भट्टीबाट ढुनमुनिदै निस्कन्छ र,
टुकुचामा बान्ता गर्छ
बग्छ ढलमै मिसिएर स्वीट्जर्ल्याण्डसपना
हजारौं लासको खम्बा गाडेर
ठड्याएको सेतो महलको पटाङ्गिनी वरिपरी
लहरै कुर्सीमा बसेर अट्टहास गर्दै
रगतका फाल्सा टोक्दै रक्सी पिउछन् अघोरीहरू
च्यातेर धुजा धुजा
संविधानसभाको सलाद टोक्छन
निल्छन
थुक्छन
र खकार्छन
 
यो मान्छे मरेर मुर्दा बाँचेको शहर हो
यो मान्छे खाएर अघोरी बाँचेको शहर हो
हो, यो अघोरी हरूको शहर हो !!!

 
                                                    
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
                               छरितोकवि रार्इ रूमानी
 
मलेसियाको साहित्यिक माहोलमा रमाउनुभएका कवि रार्इ रूमानीज्युका प्रायः कविता सरल र लघु आकारका देखिन्छन् । उहाँ कविता बाहेक गीत र कथा पनि उत्तिकै लेख्नुहुन्छ । तर कविता विधामै उहाँ स्थापित देखिनुहुन्छ ।  उहाँको नयाँ समीकरणः युगको उद्घोषशीर्षकको कविता सङ्ग्रह प्रकाशोन्मुख रहेको छ ।

कविताको लघुत्व एक शैली हो । 
 
लोथा 
 
सूत्रधार
नेपथ्य छ
हिल्लरहन्छ लोथा
छप्लक....छप्लक.....छप्लक....
धिमलो पानीमा ।
 
लोथा थुत्न
गड्यौंला लुछ्न
प्रतिस्पर्धा गिररहन्छन्
हिलेमाछाहरु
गराईंहरु
पोथी र बुदुनाहरु ।
 
अघाएकाहरु ढ्याऊ डकार्छन्
, लाग्छन् अफ्नै कुरतर्फ
भोकाहरु
अर्ध भोकाहरु
लोथाको चालमा हल्लिरहन्छन्
गड्यौलाको आशमा अल्झिरहन्छन्
जीवनभर बल्झिरहन्छन् ।
 
भोकको जोशमा
लोथाको मोहमा
को कति कहाँ पुगे
को कति शहिद भए
को कति बेपत्ता भए
कुनै इितहास छैन
कुनै लेखाजोखा छैन
केवल अस्तित्वको लडाईंमा
पुन: पुन: जीवन चक्र घुमिरहन्छ ।
 
सूत्रधार
नेपथ्य छ
हिल्लरहन्छ लोथा
छप्लक.....छप्लक.....छप्लक....
धिमलो पानीमा ।

 
 
 
 
 
 
 
 
 
 
 
 




                          बफादारकवि बीजे विद्रोही रार्इ
                            
भोजपुर, ठुलोदुम्मामा जन्मिएका कवि बीजे विद्रोही राई हाल इजरायलको साहित्यिक माहोलमा रमाउदै आउनुभएको छ । अनेसास च्याप्टर ईजरायलको कार्यकारी सदस्यको रूपमा समेत रहनुभएका बीजे भोजपुरे साहित्यिक नेट पत्रिकाका सम्पादक समेत हुनुहुन्छ ।
 
नाम विद्रोही भएपनि लेखनमा बफादार देखिनुहुन्छ बीजे विद्रोही रार्इ । धेरै समय पहिले कवि मनु मञ्जिलले कृष्णभूषण बलको नामको शीर्षकमा कविता लेख्नुभएको सम्झना भयो । अहिले पनि केही कविहरूले त्यसैगरि कुनै ख्यातीप्राप्त व्यक्तिको नामको शीर्षकमा कविता लेख्ने चलनलार्इ निरन्तरता दिंदै आउनु भएको छ । यस चलनमाथि टिप्पणी गर्नेहरूको कमी भने छैन । तर यस्तो कवितालार्इ एउटा शैलीको रूपमा स्वीकार्नै पर्ने हुन्छ ।

 
र बफादार कविहरू मात्र यस्ता कविता लेख्न सक्छन् पनि ।   
 
हरिभक्त कटुवाल
 
कर्तब्य उर्लेर भाषाको
बोकेर राष्ट्र मायाको
अनि छङ्छङ छहरा
प्रहरी टाकुरा
जोसिलो पहाड
सम्झिदै
एउटा पाइला
श्रद्धाको फूल बोकेर
लम्केको थियो उपत्यकाभित्र ।
 
समयले गुराँस फुलाउछ
कर्तब्यले मान्छे बनाउछ
मायाले पहाड झुकाउछ
तर यी सत्य बीच
एउटा रहरलाग्दो उभिएको
लक्ष्य पहाडको काखबाट
बग्न सकेन लक्ष्यका
सुनकोशी र दुधकोशी
उम्रन सकेन रङ्गीबिरङ्गी
लालुपाते र लालीगुराँस
हृदयको फाँटिलो कान्लैकान्ला
मस्तिष्कको रानीटारमा
सुकेर गयो उमङ्गका
शुवासिला फूलहरु
उपत्यकाभित्र हराए हात्ती झैं
अजङ्गको मन
कमिला भएर
 
घन्टाघर !
कोठाको भाडा बिल बजाउथ्यो
टङ।। टङ…, टङ।। टङ।।
रानीपोखरी त्यहीं निरास कुच्चिएको
आफ्नै प्रतिबिम्व देखाउथ्यो
रत्नपार्क वरिपरी उभिएका शालिकहरु
मेरा शोक सभा मनाएका भान हुन्थे
अनि मन्दिरै मन्दिरको शहरभित्र
घण्टाहरु मेरो आदर्शको धज्जी उडाउथे
तर म उपत्यकालाई
सधैं भगवान सम्झें
अन्त्यमा मेरो सम्मान
मलाई लात हान्दै
घोक्रेठ्याक लाएपनि
भगवान सम्झीरहें
मेरो लक्ष्य र कर्तब्य
चुरा झैं झुराझुरा फुटेपनि
म बाहिरिएँ मालिकद्वारा
गलह्त्याइएको नोकरसरि
तर मैले अन्तिम पल्ट
मालिक उपत्यककालाई
मुख छोडेको थें
हरिभक्त एकपल्ट जन्मिएको
थियो तिम्रो द्वारमा
सास्ती सहन
तसर्थ उपत्यका एउटा निर्जन भीर हो
यहाँ धनका रास अटाउछन
मनका रासहरु लडेर मर्छन
नभएपनि बिस्तारै हाम्फालेर मर्छन
अरु हरिभक्त कहिल्यै आउने छैनन
अभाव सहन ।

 
                                                        
 
 
 
 
 
 
 
 
 
 
 
 


                        गीतिकवि भरत तिमल्सिना दर्पण
 
भरत तिम्सिना दर्पण आजकल गीति कविता लेख्नमा ब्यस्त देखिनुहुन्छ । विशेषगरि प्रेमको अनुभूतिलार्इ गहिराइबाट अभिव्यक्त गर्न सक्षम दर्पण थोरै मध्ये एक हुनुहुन्छ जसले पहिल्यै लेखिसकिएको गीति कवितालार्इ निरन्तरता दिदै हुनुहुन्छ । यो पनि कविताको  एउटा शैली हो ।
 
गीति कविता
 
चित्तामाथि जल्दै गर्दा
पर्ला तिम्लाई राप अब
संसारबाट बिदा हुदाँ
नगर्नु है श्राप अब ।।१।।
 
तिम्रो मेरा सम्बन्धको
गाँठो यहीँ पर्नु रैछ
लेखान्तनै यस्तै भयो
अल्पायुमै मर्नु  रैछ ।।२।।
 
निधारैको धोकेबाजी
मेटिदैछ छाप अब
संसारबाट बिदा हुँदा
नगर्नु है श्राप अब ।।३।।
 
आफ्नो मुटु दरोपारि
बिर्सिएर बाँच्नु मलाई
कमी हुँदा कतै मेरो
नरुनु त्यो आत्मा जलाई ।।४।।
 
अब आँसु झार्दा लाउन्न्
सान्त्वनाको धाप अब
संसारबाट बिदा हुँदा
नगर्नु है श्राप अब ।।५।।
 
पानी बनि दर्के भने
सधैं बलेसीमा झर्छु
तारा बनि चम्केँ भने
ज्योति तिमीतिरै छर्छु ।।६।।
 
नभन्नु नि मलाई छोडी
गर्यो उस्ले पाप आज
संसारबाट बिदा हुँदा
नगर्नु है श्राप अब ।।७।।
 
चित्तामाथि जल्दै गर्दा
पर्ला तिम्लाई राप अब
संसारबाट बिदा हुँदा
नगर्नु है श्राप अब ।
 
 
निचोर
सबैभन्दा बढी लेखिने विधा कुन होला ? कविता । हजुर, तपार्इं त नेपाली साहित्यको स्थापित हस्ती हुनुहुन्छ, कुन विधाबाट लेख्न शुरू गर्नु भयो ? कविताबाट । प्रकाशकज्यु यहाँको संस्थामा सबैभन्दा बढी प्रकाशनकालागि कुन विधाका कृति आउछन् ? कविताका । त्यसोभए कुन विधाको साहित्यिक पुस्तक सबैभन्दा कम बिक्रि हुन्छ होला ? कविताको !
विडम्वना !!!

− माथि नाक खम्च्याएर यतातिर फर्किंदा यस्तो देखिन्छः

 
आजका प्रायः कविहरूको साथमा तीन चीज हुने गर्दछन्ः फेसबुक एक्काउन्ट, ब्लग र दर्शन (वाद) । यसकै जगमा उभिएर आजकलका दार्शनिक साहित्यकारहरू संसारलार्इ नयाँ आँखा दिने र सहमति जुटाउने कुरामा भन्दा पनि आफूलार्इ ठूलो बन्ने र बनाउने होडमा देखिन्छन् । सहयात्रा, सहअस्तित्व र समावेशीतालार्इ अलिक परै खाल्डो खनेर गुट उपगुटमा बिभाजित देखिन्छन् कोही । कवि कृष्णभूषण बलले भनेझैं काठमाण्डौं अब एक्लैले काठमाण्डौं बोक्न असमर्थ भएको अवस्था छ । बोक्न पनि आवश्यक नदेखिएको अवस्था समेत देखिन थालेको छ । घरबासदेखि प्रवाससम्म ठूलठूला केन्द्रहरू अस्तित्वमा आइसकेका छन् । जो अन्तर्राष्ट्रिय स्तरको पहुँच राख्न सक्षम देखिन्छन् । काठमाण्डौं गुटले अब धेरै समय नेपाली साहित्यको सत्ता हाँकिरहन नसक्ला ।
 
त्यसो त धेरै कविता कविता जस्तो देखिएपनि ती कविता भएका लाग्दैनन् । सबैको कविता लेखनमा आआफ्नै मान्यताहरू रहेका कारण । तर जसको जस्तै मान्यता भएपनि विम्व र प्रतीकको प्रयोग नभएको कविता, शिल्पलार्इ छोडेर सिर्फ बिचारमा ध्यान दिइएको कविता, जबरजस्ती अनुप्रास मिलाउन खोजिएको कविता, लेख या समाचारजस्तो जिउ फुकेको मूलकुरो सुकेको कविता अथवा अति सरल कवितालार्इ वर्तमान कविता लेखनले कविता भनाउन हुन्न । हरफहरूबीच जोल्ट्याइ (Cohesion) नहुने, चल्तीमा नभएका या पूराना र पराइ शब्दहरूलार्इ जबर्जस्ती शब्दकोषको चेपबाट निकालेर प्रयोग गर्ने, विम्व र प्रतीकको त्रुटिपूर्ण प्रयोग आदिले कविता क्लिष्ट र दूर्बोध बन्दछ । त्यस्ता कविताहरूलार्इ पनि वर्तमान कविता लेखनले वाह् वाह् भन्न र महान कविताको संज्ञा दिन छोड्नु पर्ने देखिन्छ ।

 
 नवोदित कविहरूले नेपाली कविताको मूलधारलार्इ खुट्याएर कलम चलाउनु पर्ने देखिन्छ । लेख्ने तर कुनै पनि विधा बाहिरको लेख्नेले सही ठेगानमा आउनु पर्ने देखिन्छ । धेरै कवि साहित्यकारहरूले लेख्दा भाषामा पटक्कै ध्यान नदिएको पाइएको छ । कविता मात्र नभएर फेसबुकमा स्टेटस लेख्दा समेत भाषामा ध्यन दिन जरूरी हुन्छ । किनभने हामीले बोलेलेखेका एकएक अक्षर बौद्धिकताको तराजुमा जोखिन सक्छ । अझै भाषा प्रयोगमा शालीनता समेत अपनाउनु पर्ने देखिन्छ । गाली झल्किने, अश्लील खालका शब्दहरू दर्शनका व्यख्याताहरूबाट समेत आउनु दुःखद छ । किनभने ती कुराहरूलार्इ त्याग्न सक्नु नै सभ्यताको दोस्रो खुट्किलो उक्लिनु हो ।
 
 समर्पण
हेर्नोस् ! कुनै पनि सृजना नराम्रा हुँदैहुँदैनन् ... ।”— बोले एक महाशय ।
जीवनमा एउटा कविता लेखेको भए पो त ... । भनें मनमनै मैले चाही ।
 
स्थानः धरान,  इटहरी र विराटनगरको साहित्यिक माहोल । म छु मेरो प्रथम प्रकाशित कृतिको वितरणको एक दौडधुपमा । वस्तुतः नदेखिएको आकाशकविता सङ्ग्रह वाणी प्रकाशन विराटनगरबाट प्रकाशित गर्दा म सिर्फ २२ वर्षको थिएँ । त्यो कलिलो उमेरमा लेखेका कविताहरू आफू स्वयम्लार्इ मन नपरेपछि विमोचनको दिन सो पुस्तक बाहिरको कविता सुनाउनु परेको थियो । अपरिपक्व मान्छे भएर पनि मैले मेरा कविताहरूमा परिपक्वता चाहेछु । तर, वास्तवमा सृजनाको उत्कृष्टता र सम्प्रेषणीयता पाठक सपेक्ष फरक हुनजाने तथ्यलार्इ धेरैले बुझ्न सकेका छैनन् । आज सो महाशयको  विचारमा केही सच्चाइको बोध भएको छ । त्यसैले यो शब्द दौड उनै महाशयमा  समर्पित !
१७, अक्टोबर, २०१३