Monday, November 10, 2014

म्युजिक भिडियोमा अब्बल थिए आलोक नेम्वाङ

डब्बु क्षत्री/काठमाडौं
म्युजिक भिडियो भन्नासाथ गायकगायिकाले निर्देशनका लागि आलोक नेम्वाङलाई सम्झिन्थे । हुन पनि उनको काम गर्ने शैली नै फरक थियो । सस्तो महँगोभन्दा पनि राम्रो भिडियो बनाउनुपर्छ भन्ने उनको मान्यता थियो ।

यही मान्यतालाई आत्मसात् गरेर अगाडि बढेका निर्देशक नेम्वाङले ७ सयभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका थिए । चार महिनाअघि चलचित्र अझै पनिको छायांकन सकेपछि उनले राजधानीसँग भनेका थिए, ‘चलचित्रको काममा व्यस्त भएकाले धेरै म्युजिक भिडियो त बनाउँदिनँ तैपनि महिनामा दुईटासम्म म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिन्छु ।’
उनको म्युजिक भिडियो निर्देशन यात्रा पनि रोचक किसिमले सुरु भएको थियो । ५ सयभन्दा बढी म्युजिक भिडियो खिचिसकेका विदूर पाण्डेले नेम्वाङसँगको काम सम्झिँदै गर्दै भने, ‘०५२ साल तिर विजय लामा दाइले इमेज च्यानलमा आलोक नेम्वाङलाई लिएर आउनु भएको थियो । अमेरिकाबाट पढेर आएकाले उनले थुप्रै नयाँ अवधारणा ल्याए ।’ म्युजिक भिडियो यात्राबारे पाण्डेले भने, ‘भूषण दाहाल दाइले म्युजिक भिडियो बनाएको देखेर आलोकले म पनि म्युजिक भिडियो बनाउँछु भनेर मसँग प्रस्ताव ल्याए ।
नवीन के भट्टराईको लाखौं पटक...बोलको सो गीतको स्टोरी बोर्डसमेत आलोकले बनाएर ल्याएकाले शाह न शाह होटलमा मैले पाँच घन्टामै सो भिडियाको सुटिङ सकेको थिएँ ।’
मिश्रिलाल यादव र प्रकाश तुलाधरले निर्देशन गरेको सो भिडियोमा झरना थापासँग आलोक आफैंले अभिनय गरेका थिए । त्यो भिडियो राम्रो र सफल बनेपछि आफूहरू निकै खुसी भएको बताउँदै छायाँकार पाण्डेले भने, ‘दोस्रो भिडियोका रूपमा राजन इशानको वशमा छैन यो मन... आलोक र मैले ग¥यौं । त्यो पनि सफल भएपछि आलोकले म्युजिक भिडियो निर्देशनका लागि कहिल्यै खाली बस्नुपरेन ।’
अहिलेसम्म आफूले काम गरेका म्युजिक भिडियो निर्देशकमध्ये सबैभन्दा बढी काम गर्न सजिलो आलोक नेम्वाङसँग भएको स्मरण गर्दै छायाकार पाण्डेले भने, ‘म्युजिक भिडियोका सबै दृश्यको स्टोरी बोर्ड उनले बनाएर दिने हुँदा छायांकन गर्न म कहिल्यै दोधारमा परिनँ । उनले निर्देशन गरेको म्युजिक भिडियो आँखालाई बिझाउने प्रकारको हुँदैन थ्यो ।’ विदुरले अझ स्मरण गर्दै अगाडि भने, ‘कुनै कुनै म्युजिक भिडियोको छायांकन गर्न मैले र सम्पादन गर्न प्रकाशले नभ्याए पनि आलोकले अरूबाट गराउँथे तर उनले बीएपी कम्पनीबाहेक अरूबाट काम गरेनन् र यो कम्पनीमा हामीलाई सधँै बाँधेर उनी अघि बढिरहेका थिए ।’
विदुर पाण्डे, आलोक नेम्वाङ र प्रकाश तुलाधर यी तीनले बीएपी (बाप) पोडक्सन नै सुरु गरे । विगत १२ वर्षदेखि सोही कम्पनीबाट आलोकले म्युजिक भिडियो बनाए । ईमेज च्यानल छाडेपछि उनीहरूले यो कम्पनी खोलेका थिए । कान्तिपुर टिभीदेखि च्यालन नेपाल र त्यसपछि स्वतन्त्र हुँदा पनि आलोकले यही कम्पनीमार्फत् नै काम गरे । उनको म्युजिक भिडियोको प्रशंसा भूषण दाहाल पनि प्रायः गरिरहन्थे । नृत्यमा सौखिन आलोक नेम्वाङले प्रवेश बान्तवालगायतसँग नृत्य निर्देशन सिकेर त्यो सीपले म्युजिक भिडियोलाई निरन्तर सजाए ।
आलोकले करिब ७ सयओटा म्युजिक भिडियोको निर्देशन गरिसकेका प्रकाश तुलाधरले भने, ‘उनको पहिलोदेखि अन्तिम भिडियोसम्म मैले निर्देशन गरेँ । सधँै हाँसिरहने मान्छे यसरी हामीलाई रुवाएर जान्छजस्तो लागेको थिएन ।’
आलोकले स्टोरी बोर्ड साथमा ल्याउने र दृश्यको व्याकरणलाई पालना गरेर सम्पादन गर्न लगाउने भएकाले उनीसँग काम गर्न आफूलाई कहिल्यै गाह्रो नभएको प्रकाश पारे । आलोकको म्युजिक भिडियो सरल तर सुन्दर र रङ संयोजन मिलेको हुने गरेको पनि तुलाधरले प्रकाश पारे । आलोकले पछिल्लो समय निर्देशन गरेको अझै आठओटा म्युजिक भिडियो प्रकाशले सम्पादन गरिरहेका छन्,
‘आलोकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यी आठ म्युजिक भिडियो म चाँडै तयार गरेर टेलिभिजन च्यानलबाट रिलिज गर्छु ।’ बीएपी प्रोडक्सनका ‘ए’ अर्थात् आलोकलाई गुमाउँदा बाँकी दुई साथी विदुर र प्रकाश यतिबेला साह्रै मर्माहत भएका छन् । त्यही पनि आलोकको सम्झनालाई ताजै राख्न बीएपी प्रोडक्सनबाट केही न केही गर्ने चाहना यी दुईको छ ।
आलोकसँग म्युजिक भिडियोमा मोडलिङ गरेका मोडलहरू जहिल्यै पनि काम गर्न तयार हुन्थे । नेपाली चलचित्र र म्युजिक भिडियो वृत्तमा धेरै प्रतिभा जन्माएका यी निर्देशकले नेपाली म्युजिक भिडियोलाई यहाँसम्म ल्याइपु¥याउन निकै योगदान दिए । 

निर्देशक नेम्वाङको अन्तिम संस्कार

बिहीबार आफ्नै निवासमा मृत भेटिएका चलचित्र निर्देशक आलोक नेम्वाङले आत्महत्या गरेको पुष्टि भएको छ । उनको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । शुक्रबार बिहान राजधानीको महाराजगन्जस्थित त्रिविवि शिक्षण अस्पतालमा उनको ‘पोस्टमार्टम’ गरिएको थियो । पोस्टमार्टमबाट आत्महत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट ‘आत्महत्यापत्र’ बरामद गरे पनि सो पत्र सार्वजनिक गरिएको छैन । बारम्बर मर्नुभन्दा एकै पटक मर्नु आनन्द भन्दै आत्महत्या गरेको सो पत्रमा उल्लेख गरिएको प्रहरी सूत्रले जनाएको छ । आफूले पालेका कुकुर बिरालोलाई पनि मारेर आफूसँगै गाडिदिन उनले आफ्ना सहकर्मी मोडलहरूसँग भनेका थिए तर त्यो कुरा मोडलहरूले पत्याएका थिएनन् ।
पोस्टमार्टमपछि उनको पार्थिव शरीरलाई शुक्रबार मध्याह्नपछि तीन घन्टासम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको थियो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, विभिन्न चलचित्रकर्मी, मोडल तथा शुभचिन्तकले उनको पार्थिव शरीरमा श्रद्धाका फूल चढाए । नेम्वाङ लामो समयदेखि एक्लै बस्दै आएका थिए । परिवारमा उनका ७० वर्षीया आमा र दिदी छन् । आमा भने छोरी र ज्वाइँ (अभिनेता एवं हवाई चालक विजय लामा) सँग बस्दै आएकी छन् ।
करिब ८ सयओटा म्युजिक भिडियो निर्देशन गरेका नेम्वाङले चलचित्र सानो संसारबाट सिनेमा निर्देशनमा हात हालेका थिए । यसपछि उनको निर्देशनमा चलचित्र कोही मेरो रिलिज भयो भने उनले निर्देशन गरेको अर्को चलचित्र फागुनमा रिलिज गरिने भएको छ । 

अलविदा आलोक दाइ!

सागर पर्साइँ 
म ५/६ कक्षामा पढ्दा हेर्ने टिभी च्यानल नेपाल टेलिभिजन मात्रै थियो। हाम्रो गाउँमा केबुल लाइन थिएन, कसैको घरमा झ्यार्र- झ्यार्र गर्दै भएपनि दूरदर्शन आउँथ्यो तर हाम्रो घरमा त्यो पनि आउँदैनथ्यो।
 
त्यसकारण हामीसँग नेपाल टेलिभिजनबाहेक अरु विकल्प थिएन। फेरि त्यो बेलाको नेपाल टेलिभिजनमा हामीलाई मनपर्ने कार्यक्रम केही हुँदैनथिए।
 
त्यस्तोमा हरेक दिन बिहान ७.३० देखि ९ बजेसम्म नेपाल टेलिभिजनकै पर्दामा आउने ईमेज च्यानल हाम्रो साथी हुन्थ्यो। ईमेज च्यानल हेर्न थालेपछि नै हो आलोक नेम्बाङ्लाई मैले चिनेको। त्यो बेला आलोक दाई ईमेजका धेरै कार्यक्रममा आउनुहुन्थ्यो। “टप अफ त पप”, “सेन्चुरी टप टेन” जस्ता कार्यक्रम मलाई असाध्यै मन पर्थे। तिनीहरूमा बेला बेला आलोक दाई सञ्चालक हुनुहुन्थ्यो। मलाई आलोक दाईको “स्टाईल” त्यो बेला नै फरक लाग्थ्यो- मनपर्थ्यो। 
 
पछि ईमेजको आफ्नै च्यानल भयो, नेपाल टेलिभिजन पनि अलि हेर्नहुने भयो। आलोक दाईका नयाँ नयाँ गीतहरू आउन थाले। म उहाँको फ्यान हुन थाले।
--
२०७० माघ ९ गते प्रविण श्रेष्ठ दाईले आफूले बनाउनु भएको चलचित्र “मोक्ष” को एउटा च्यारिटी शो हेर्न बोलाउनुभयो। फिल्म हेरिसकेपछि, हल बाहिर आउँदा- एउटा कुनामा उभिनुभएको मान्छेलाई मैले चिनिहाले- आलोक दाई हुनुहुँदो रहेछ। मैले आलोक दाईलाई यसअघि भेटेको थिइनँ। म उहाँको छेउमा गएँ। अनि भने- आलोक दाई, नमस्कार। म सागर। सानैदेखि तपाईँको फ्यान!
 
आलोक दाईले हात मिलाउनुभयो र भन्नुभयो- म चिन्छु नि सागरलाई। आई ह्याभ रेड योर आर्किटल एबाउट कतार एअरवेज एण्ड योर व्हिलचियर! लाईक्ड इट। (मैले तपाईँले लेख्नुभएको कतार एअरवेज र तपाईँको व्हिलचियर बारेको लेख पढेको छु। राम्रो लाग्यो।)
 
मलाई कस्तो अचम्म लाग्यो। ओहो बच्चा बेलादखि भेट्छू भनेर सोचेको मान्छेले आफूलाई नै चिन्दा रहेछन् भन्ने सोचेर खुसी पनि लाग्यो। अन मैले भनेँ- धन्यवाद, आलोक दाई।
 
उहाँले फरि भन्नुभयो- थ्याङ्क्स सागर। आई एम ग्लाड समबडी ईज् टेकिङ् अ स्टान्ड फर राईट्स। ईट रियल्ली म्याटर्स फर थाउजेन्ड्स अफ अदर्स। गुड लक। (धन्यवाद सागर। मलाई साँच्ची खुसी लाग्छ- कसैले आफ्नो अधिकारको आवाज उठाउँदा। यो कुराले हजारौँ अरुलाई प्रभाव पार्ने गर्छ। शुभकामना)
 
यति भनेर दाईले बिदा माग्नुभयो। अर्को कुनै दिन भेट्नुपर्छ र कुरा गर्नुपर्छ भन्ने सल्लाह भयो। म घरतिर लागेँ।
 
तर त्यो अर्को दिन अब कहिले आउनेछैन। हिँजो साँझ अलि छिट्टै सुतेँ। आज बिहान उठेर फेसबुक चलाउँदा, आलोक दाई अब हुनुहुन्न भन्ने समाचार पढेँ। मन भरिएर आयो। आँखा पनि। हामी नजिकका साथी हैनौँ तर पनि हजारौँ दर्शक जस्तै म उहाँको सृजनाशिलताको फ्यान  हुँ।
 
-- 
 
लाखौँ पटक मैले कोसिस गरेँ, बिर्सन्छु कि म तिमीलाई भनी
 
अँह मैले सकिन चाहेर पनि, भुलाउन यो मनलाई कहि पनि
 
नबिन के भट्टराईले गाउनुभएको र आलोक दाईले भिडियो बनाउनुभएको गीतजस्तै नेपालमा कैयौँ मान्छेले तपाईलाई बिर्सन सक्ने छैनन्। म पनि एउटा हुँ। अलविदा आलोक दाई! अलविदा !

'अल्टर' आलोक

मान्छेका आ–आफ्नै जिउने कला हुन्छन्, ढंग हुन्छन्। निर्देशक आलोक नेम्वाङ पनि आफ्नै तरिकाले बाँच्छन्। एक्लै बस्छन्। सडकमा भेटिएका फोहोरी, लुते कुकुर र बिराला उठाएर घरमा लैजान्छन्। तिनको स्याहार गर्छन्। उनलाई आफ्नै घर र आफ्नै साथ प्यारो लाग्छ। उनलाई हाल चलिआएको शब्दावलीमा 'अल्टर' अर्थात् भिन्न खालको भन्न सकिन्छ। उनी यसलाई स्विकार्छन् पनि। 'कसको आँखा लाग्यो बरै', 'न बिर्सें तिमीलाई' जस्ता गीतका म्युजिक भिडियो बनाएका आलोकले 'सानो संसार', 'कोही मेरो' जस्ता फिल्म निर्देशन गरेका छन्। उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानी

घर सर्नु भएछ...
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।
 
घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?
कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।
 
सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त 'मी टाइम' धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा'छ।
 
जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।
 
मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।
 
मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। 'कहाँ गएर आएको? किन गएको?' यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत 'तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्' भन्नुहुन्छ।
 
किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।
 
आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। 'ओ माई गड तँ त...' भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।
 
सबैसँग टाइम–पासमात्रै गर्नुभयो...
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।
 
कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा 'अझै पनि' को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।
 
यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। 'अझै पनि' सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ।
 
फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।
 
प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?
यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।
 
तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।
 
म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?
-October 31/2014 Friday, Sukrabar Saptahik

Tuesday, November 4, 2014

Releson and Politics

डम्बर खतिवडा -
कुनै समय अनावश्यक र अनपेक्षितझैँ ठानिएको विषय धर्म र राजनीतिको सम्बन्ध आखिर नेपाली राजनीतिमा आकर्षित भई छोड्यो । धर्मको एजेन्डालाई समात्न नपाएको भए सायद राप्रपा नेपाल आज जनमोर्चाभन्दा पनि सानो पार्टी हुने थियो । सबैलाई घामजत्तिकै छर्लंग छ, नेपालको सबैभन्दा दक्षिणपन्थी समूह हो त्यो । यसका नेता कमल थापा राजा ज्ञानेन्द्रको निरंकुश शासन व्यवस्थाका हर्ताकर्तामध्ये एक थिए । अभिव्यक्ति स्वतन्त्रतालाई हनन गरेर मिडियालाई त्रसित गर्ने, लोकतान्त्रिक आन्दोलन र क्रान्तिकारी योद्धालाई थुन्नेहरू तिनैमध्येका थिए । यति कुरा थाहा हुँदाहुँदै पनि आन्दोलनका क्रममा यी निरंकुशतावादी तत्त्वबाट आफैँ प्रताडित भएको अनुभव हुँदाहुँदै पनि थुप्रै मानिस राप्रपा, नेपालप्रति सहानुभूति राख्छन्, यसर्थ कि त्यसले ‘हिन्दूराज्य’ नारा बोक्यो । काठमाडौं, विराटनगर, नेपालगन्ज, इहटरी, झापाजस्ता देशका मुख्य सहरी क्षेत्रबाटै त्यसले उल्लेखनीय समानुपातिक मत पायो ।
ठीक यही समय भारतीय सत्तामा हिन्दू राष्ट्रवादी भनिएको दल बिजेपीको उदय भयो, त्यो पनि पहिलोपटक प्रस्ट बहुमतसाथ । सन् १९२६ मा, अंग्रेज शासनको चर्को दबदबा भएको समय, पाश्चात्यकरण र क्रिस्चियन समाजका कतिपय क्रियाकलापबाट असन्तुष्ट एउटा सानो समूह, आरएसएस र जनसंघ हुँदै ८८ वर्षपछि बिजेपीका नाममा पूर्ण बहुमतसहित सत्तामा आउँछ भनेर कल्पना गर्न सम्भव थिएन । यदि अतिशयोक्तीकरण ठानिन्न भने नेपालमा पनि हिन्दुत्वको मुद्दा कचल्टिँदै गइरहेको छ । यसले कुन बिन्दुमा पुगेर कस्तो रूप लेला, अहिल्यै भन्न सकिन्न । तर, एउटा कुरा निश्चित भएको छ कि हिन्दूराज्यको कुरा गर्ने एउटा राजनीतिक शक्ति वा प्रवृत्ति नेपाली लोकतन्त्रमा निकै लामो समयसम्म रहनेछ, भारतको आरएसएस र जनसंघजस्तै । त्यो बिजेपीजस्तो मूल प्रवाहीकरण हुन्छ, हुँदैन, त्यो भविष्यले नै बताउला ।
राजनीतिमा कतिपय मुद्दा यस्ता हुन्छन्, जसको विषयमा खुलेर बहस गर्न सामाजिक संरचनाले सजिलो अनुमति दिँदैन । त्यस्तो विषयमा बोल्दा, लेख्दा केही न केही जोखिम त हुन्छ नै । सायद त्यही भएर हुन सक्छ नेपालमा ‘मेन स्ट्रिम डेमोक्र्याट्स’ हरू यस विषयमा त्यति खुलेर बहस गरिरहेका छैनन् । नेपालको ‘पहिचानवादी’ राजनीतिको एउटा सन्दर्भ ‘हिन्दुत्व’ हो कि होइन, अझै अनिश्चित छ । तर, अधिकांश पहिचानवादी नेतृत्वले धर्मनिरपेक्षताको पक्षपोषण गरे पनि मधेसी जनमतभित्र धर्मनिरपेक्षता मन नपराउनेहरू पनि थुप्रै छन् । जनजाति आन्दोलनले किरात र बौद्ध धर्मको विकासका लागि ‘हिन्दुत्व’ मा आधारित धर्मसापेक्षतालाई बाधक ठानेको हुन सक्छ । इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले यसबारे त्यति धेरै बोलेको पाइँदैन । नेपालका हिन्दूवादी पनि इस्लामबाट हिन्दूत्वलाई खतरा देख्दैनन्, उनीहरूको मनोवैज्ञानिक प्रतिद्वन्द्वीता इस्लामसँग नभएर इसाईसँग भएजस्तो लाग्छ । यहाँनेर अर्को आश्चर्य के छ भने जो नेपालमा हिन्दूवादी राजनीतिप्रति सहानुभूति दर्साइरहेका छन्, तीमध्ये अधिकांश इसाई समाजमै उद्भव भएका आधुनिक मूल्य मान्यताबाट प्रभावित छन् । विश्वराजनीतिका दृष्टिकोणबाट उनीहरू इस्लामिक दुनियाँलाई भन्दा इसाई दुनियाँलाई नै बढी उदार र लोकतान्त्रिक ठान्छन् ।
हिन्दूवादी राजनीतिमा विश्वास गर्नेहरू एकातिर ‘पहिचान’को चर्को विरुद्धमा छन्, अर्कातिर उनीहरूले गरिरहेको राजनीति पनि स्वयं ‘पहिचानवादी’ हो भन्ने हेक्का राखिरहेका छैनन् । धर्म, संस्कृति, परम्परामा आधारित सबै राजनीति पहिचानवादी नै हो, जसको सैद्धान्तीकरण ‘सभ्यता संघर्ष’ हुन्छ । सन् १९९८ मा स्यामुअल हन्टिङटनको पुस्तक ‘द क्लास अफ सिभिलाइजेसन एन्ड रिमेकिङ अफ वल्र्ड अर्डर’ प्रकाशित हुँदा नेपालमा केहीले त्यसलाई ‘वर्गसंघर्ष’विरुद्ध षड्यन्त्र गर्न ल्याइएको प्रायोजित सिद्धान्तका रूपमा बुझे । आश्चर्य त कहाँ छ भने त्यही कित्ताका अधिकांश मानिस आज पहिचानवादी छन्, वर्गसंघर्षलाई छाडेर वा कम गरेर सभ्यता संघर्षमा सामेल छन् । र, त्यसको ‘प्रतिध्रुव’का रूपमा हिन्दुत्व उदित हुँदै गइरहेको छ । नेपाली समाजमा यतिखेर ‘वर्ग’ ‘पहिचान’ र ‘अहं’ को एकसाथ व्यतीकरण भइरहेको छ । यसले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने प्रस्ट तस्बिर अहिलेसम्म देखिएको छैन । तर, एउटा कुरा दृढतासाथ भन्ने वेला भएको छ, अब डराएर काम छैन । कुनै समाज साहसिक बहसविना थिग्रिँदैन । त्यस अर्थमा बहसको एउटा ध्रुव मानेर सिके राउतहरूलाई पनि स्पेस दिन जरुरी थियो । तर, हाम्रा लोकतान्त्रिक भनिएका नेताहरूले पनि कमल थापाकै बाटो रोजे । राजा ज्ञानेन्द्रको शासनकालमा गृहमन्त्री रहेका थापा अरू सबै विषयमा बहस भए पनि राजतन्त्रको विषयमा बहस हुन सक्दैन भन्थे ।
आजका लोकतान्त्रिक युगका भनिएका मन्त्रीहरू पनि अरू सबै कुरामा बहस भए पनि ‘रिमेकिङ अफ वल्र्ड अर्डर’ मा बहस हुन सक्दैन भन्दै छन् । एकातिर अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने भनेर जुस खुवाउँदै छन्, अर्कोतिर उनीहरू सिके राउतलाई रिहा गर्न इच्छुक छैनन् । इराकमा आइएसआइएसको उदयले इराकलाई मात्र आफ्नो क्षेत्र मानेको छैन । सिरिया, इजिप्टलगायत सबै कमजोर शासन–प्रशासन भएका देशलाई लपेट्न खोज्दै छ यसले । यी सबै शक्तिको उदय हन्टिङटनले किताब लेखेर भएको होइन, मानवीय प्रवृत्ति त्यस दिशातिर जाँदै छन् भन्ने संकेत छिटो बुझेर चाहिँ त्यो किताब जन्मिएको हो । बुझ्नेलाई इसारा काफी छ भनेझैँ नेपालमा पनि त्यो कुरा बुझ्ने वेला भएको छ ।
धर्म र राजनीति बिल्कुलै फरक कुरा हुन्, यिनले एकअर्कालाई प्रभावित गर्दैनन् भनेर कसैले बुझेको छ भने त्यो एकदमै गलत बुझेको छ । रामायण वा महाभारत राजनीतिक ग्रन्थ हुन् कि धर्मग्रन्थ भनेर बहस गर्न थाल्ने हो भने त्यसको अन्त्य सजिलो हुने छैन । जिजस क्राइस्टलाई तत्कालीन रोम साम्राज्यका गभर्नर प्लोटियस पिलाटले निर्ममतापूर्वक क्रसमा टाँगेर मारेका थिए । त्यो धर्म थियो कि राजनीति थियो भनेर बहस गर्ने हो भने निकै ठूलो असजिलो सिर्जना हुनेछ । इसाईहरूले प्रयोग गरेको चर्च र दरबारको शक्तिलाई फरक–फरक, ‘गड’ र ‘सिजर’को शक्तिलाई फरक–फरक, ‘प्रार्थना’ र ‘तरबार’को शक्तिलाई फरक–फरक गरेर बुझ्ने शब्द ‘सेक्युलरिज्म’ लाई हामीले ‘निरपेक्ष’ भनेर अनुवाद गर्‍यौँ, सायद त्यसको अनुवाद हाम्रो सन्दर्भमा ‘धार्मिक स्वतन्त्रता’ हुनुपथ्र्यो कि ? ‘धर्म निरपेक्षता’को कार्यान्वयन गर्ने नाममा नेपाल सरकारले पशुपति वा लुम्बिनी क्षेत्र विकासका लगानी कटौती गरेर चर्चहरूमा लगानी गर्न सक्दैन भन्ने संसारले बुझेको छ । कसैले बुझ्न बाँकी छ भने सबैले बुझ्नु पनि पर्छ । किरात धर्मस्थल इलामको बाँझो र बराहक्षेत्रधाममा लाग्ने कुम्भमेलामा नेपालमा सरकारले जुन लगानी गर्छ, त्यति नै लगानी मुस्लिम जलसाहरूमा किन गर्दैन भनेर कसैले प्रश्न सोधेमा यसको उत्तर सजिलो छैन ।
हुन त ‘धर्म’ शब्दको अर्थ कसरी गर्ने ? धर्म भन्नाले केलाई बुझ्ने भन्ने कुरामा एकरूपता पाइँदैन । नेपाली भाषामै ‘धर्म’ शब्दका आधा दर्जनभन्दा बढी अर्थ हुन्छन् । धर्म शब्दको एउटा अर्थ ईश्वर वा परमात्मासम्बन्धी चिन्तन र आराधना हो । प्रकृतिको विराट् रूपभित्र मानिस एउटा सानो अंशका रूपमा रहेको हुन्छ । विराटता र अंश, सूक्ष्म र स्थूलताबीच जुन सम्बन्ध हुन्छ, मान्छे र प्रकृतिबीच पनि त्यही सम्बन्ध हुन्छ । धर्मको पहिलो अर्थ मानिस र प्रकृतिबीचको यो कालातीत सम्बन्धलाई मानिसले बोध गर्नु हो । जब मानिसले यो बोध गर्छ, प्रकृति परमात्माका रूपमा अनुभूत हुन थाल्छ र ईश्वरीय चिन्तनको जन्म हुन्छ । धर्मको यो अर्थ सार्वभौम छ । यदि सबै धर्मले धर्मको अर्थ यही लगाउने हो भने धर्म र धार्मिक सम्प्रदायबीच कुनै ‘सभ्यता संघर्ष’ हुन सक्दैन ।
धर्मको दोस्रो अर्थ, धर्म भनेको इतिहास, परम्पराबाट भन्दै र बन्दै आएको जीवन शैली हो । सोच, धारणा, मूल्य, मान्यता र रीतिरिवाजहरूको निश्चित सामाजिक ढाँचा हो । आफ्ना पितापुर्खाको त्याग, बलिदान र निष्ठाप्रतिको सम्मान वा भक्ति हो । सामूहिक अचेतनमा बसेका आद्यबिम्बहरूले मनभित्र सिर्जना गर्ने हुटहुटी हो । हरेक मान्छे आफ्नो धर्म संस्कृतिमा बाँच्न जति सजिलो अनुभूति गर्छ, त्यसभन्दा बाहिरको धर्म र संस्कृतिमा बाँच्न त्यति सजिलो अनुभूति गर्दैन । यस्तो अनुभूति हुनु मानिसको नैसर्गिक स्वभाव हो, त्यसबापत कुनै समुदाय वा व्यक्तिलाई दोष लगाउन सकिँदैन । तसर्थ, सबै मानिसले आफ्नो धर्म संस्कृतिअनुसारको आचरणमा बाँच्न पाउनुपर्छ । धार्मिक स्वतन्त्रता अपरिहार्य छ । तर, मानिसको स्वतन्त्रताका केही सीमा छन् । धर्म निरपेक्षताको कार्यान्वयन गर्ने नाममा नेपालमा रमजानमा मुस्लिम मुलुकहरूमा झैं एक महिनाको छुट्टी दिन सकिँदैन होला । न त अमेरिका वा बेलायत जस्ता इसाई, इरान, साउदी अरब र पाकिस्तान जस्ता इस्लामिक मुलुकले नै हिन्दूलाई दसैँमा १५ दिनको बिदा र दसैँपेस्की दिएका छन् ।
संसारमा संख्याले जतिवटा धर्म भए पनि उत्पत्ति स्थलका हिसाबले दुई किसिमका मात्र धर्म छन् । दक्षिण एसियाली धर्म र मध्यएसियाली धर्म । यहुदी, इसाई र इस्लाम मध्यएसियाली धर्म हुन् । त्यही भएर यिनीहरूको प्रभाव अरब, युरोप, अफ्रिका र अमेरिकी महादेशमा बढी छ । हिन्दू, बौद्ध, जैन, सिख र किरात दक्षिण एसियाली धर्म हुन् । त्यही भएर यिनीहरूको प्रभाव दक्षिण् पूर्वी एसियामा बढी छ । जुन ठाउँबाट जुन धर्मको जन्म हुन्छ, त्यसका तीर्थस्थल तिनै ठाउँमा बढी हुन्छन् । त्यो देशको इतिहास, पुरातत्त्व, वास्तुकला र संस्कृति तिनै धर्मसँग जोडिन्छन् । हामीले पशुपति, लुम्बिनी र लारुम्बाकै संरक्षण र विकास गर्ने हो, हामीले चाहेर पनि ‘मक्का मदिना’, ‘जेरुसेलम’ र ‘भ्याटिकन सिटी’ बनाउन सक्दैनौँ । तसर्थ, नेपालको संविधानमा जे लेखे पनि नेपाल व्यवहारले ‘धर्म निरपेक्ष’ हुन नसक्ने रहेछ । नेपालको सीमा ‘धार्मिक स्वतन्त्रता’ हो । ‘नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक हो’ मात्र लेखिदिने र बाँकी यस विषयमा संविधान मौन बस्ने हो भने धर्मका नाममा राजनीति गर्नेहरूको खेलो सकिन्थ्यो कि ?

Monday, November 3, 2014

कविताको बाटो

कार्तिक १४ -
अर्नेस्ट हेमिङवेलाई एक युवकले भनेछन्, 'म लेखक बन्न चाहन्छु ।'

हेमिङवेले सोधेछन्, 'तिम्रो घाउ कहाँ छ ?'

'घाउबिना, घाइते नभई कोही लेखक हुन सक्दैनन्,' हेमिङवेको भनाइ अहिलेका कविहरूमा खोज्ने हो भने के पाइँदो हो ? हस्तक्षेपी विचारका भारतीय नेपाली कविहरूले त्यो घाउ शक्तिकेन्द्रले भारतीय नेपालीहरूको भाषकि, सांस्कृतिक, सामाजिक, राजनीतिक क्षेत्रमा गरेको हेलाहोचोबाट प्राप्त गरेका हुन् । यसकारण्ा युवा कविहरूको कविताको मूल स्वरमा प्रतिरोधी चेत पाइनु स्वाभाविक हो । टेरी इगल्टन साहित्यलाई विचारधाराको प्रतिनिधि मान्छन्, हामी त्यही विचारलाई सामूहिक हेतुको निम्ति कवितामा राख्छौँ ।

........................

अरबी कवि इमान मार्सललाई लाग्छ, उनले कवितालाई इराक र कुवेतबीचको द्वन्द्वबीचबाट टिपेकी हुन् । इराकलाई नष्ट गर्न अमेरिकीले पिछा गरेको नाङ्गो आँखाले देखेकी कविलाई प्यालेस्टिनी स्वाधीनताको द्वन्द्वले पनि शब्द दियो । 'कविता आफैँ एक प्रत्यक्ष राजनीतिक धारा हो,' तिनी भन्छिन्, 'मैले जहिल्यै पश्चिमी लोकतन्त्र अथवा नवजागरण्ासम्मलाई शंका गरेको छु ।'

आफैंलाई मुर्दाको सन्तान भन्न रुचाउने मार्सल आफूलाई कहिलेकाहीं फोहोर फ्याँक्ने टोकरी देख्छिन् । भन्छिन्, 'यी मानिसहरू मभित्र सबै कुरा हाँक्छन् । किनभने उनीहरू जिउँदा हुन् । मैले त्यो जिउँदोपन बचाइदिनुपर्छ ।'

एन्टोनियोे ग्राम्स्कीले 'द पि्रजन नोटबुक' द्वारा जुन 'कल्चरल हेजिमोनी'को डिस्कोर्स अघि ल्याए, त्यो अहिले भारतीय नेपाली कविताको स्वभावमा पनि थाहा पाउँछौँ । जसरी इमान मार्सल आफूलाई 'कन्टेनर' देखाएर इराकमाथि भइरहेको अमेरिकी दादागिरीबारे डिस्कोर्स अघि सार्छन् । माक्र्सले भनेको शोषण्ाको प्रमुख कारण्ा 'पुँजी'बाट सरेर ग्राम्स्कीको 'कल्चरल हेजिमोनी' मा आइपुग्दा केन्द्रले शोषण्ाका नयाँं नयाँं 'र्फम'हरू कहाँ कसरी उत्पादन गरेको छ भन्नेे खोजमा छन् यताका कविता ।

अघिल्लो पुस्ताका हिन्दीका कवि चन्द्राकान्त देवताले एक ठाउँ भनेका छन्, 'भूमण्डलीकरण्ाले जुन जुन र्फमबाट शासनको नयाँ विम्ब खोजिरहन्छ, क्रान्ति र कविताले पनि त्यसै गरिरहेको छ ।' यतिखेर प्रकाश झाको पुरानो फिल्म 'दामुल' निकै सान्दर्भिक हुन्छ । विश्वस्तरमा महाशक्तिहरूको खेल देखाउन बिहारको एउटा गाउँलाई फिल्ममा नायक बनाइएको छ । ग्रामीणस्तरमा महाशक्तिहरूको ससाना चरित्र देखाएर 'दामुल'ले बौद्धिक जगत्मा हलचल ल्याएको थियो । अल्पसंख्यकमाथि सधैँ शासन गर्ने बहुसंख्यकहरूको वर्चस्वलाई नायकको रूपमा स्थापित गर्ने भारतको संघीय प्रण्ाालीले भारतीय नेपालीहरूको जातीय, भाषकि र सांस्कृतिक मूल्यहरण्ा कसरी गरेको छ, त्यसको खोजमा निस्किएको विचार हस्तक्षेपी कविताले बोक्छ । यताको कविताको नयाँ बाटो यही हो ।

.....................

धेरैपल्ट नेपालका काव्य संवाद अनि बहसहरूमा आफूलाई राखेर हेर्दा एउटा उकुसमुकुस चाल पाउँछु । जब कविता सुनाउन उभिन्छु, तब एउटा प्रश्न उठ्छ सर्पजस्तो र ठुङ्छ ।

'नेपाललाई म के सुनाइरहेको छु ?'

मार्सलले स्रोताले सुन्ने कविबाट राख्ने अपेक्षालाई कविले कति महत्त्व दिने भन्ने सबाल उठाएकी छन् । तर मञ्चमा जति कवि तनावमा हुन्छन् उति तनाव स्रोतामा पनि हुन अनिवार्य मानिन्छ । मार्सलले मलाई तनावलाई हेर्ने भङ्गी दिएकी छन् ।

नेपालका आख्यानकार राजन मुकारुङसित धेरैपल्ट चर्काचर्की, धेरैपल्ट बोक्राबोक्री धेरैपल्ट चुपचाप चुपचाप उठबस भइसक्दा उनीबाट धेरै कुरा थुत्ने मौका पाएको हुँ । '५० को दशकले वारि र पारिबीच खाडल खन्यो,' यसो भनेका थिए एकपल्ट तिनले, 'अब त्यो खाडलबीच उभेर संवाद गर्ने वर्ष सुरु भयो ।'

अहिले त्यो संवादको क्रम जारी छ । नेपालका कविहरूलाई सुन्दा मलाई सधैँ लाग्यो, नेपाली कविताको उचाइ द्वन्द्वले थपेको हो । युवा कविहरूले त्यही द्वन्द्वबाट कठोर शब्दहरू टिपे । जुन शब्द कति रगतले, कति पसिनाले, कति सपनाले छपक्क भिजेका छन् । भारतमा बसेर एक नेपाली कविले सोच्न सक्छन् कि मार्सल अनि नेपालका युवा कविहरूले मुर्दाबाट जीवन टिप्छन् ।

नेपालमा आदिवासीहरूको पहिचानको मुद्दालाई साहित्यले सम्बोधन गरिरहेको यो समय झारखण्डका कवि निर्मला पुतुल र अनुज लुगुण्ाहरूको पनि हो । निर्मला र अनुजहरूले आदिवासी डिस्कोर्सलाई केन्द्रमा ल्याएका छन् । भूमण्डलीकरण्ाको चापमा आदिवासीले गुमाउनुपरेको मूल्यलाई आदिवासी कविताले सम्बोधन गर्नु चानचुने युद्ध होइन । भारतको निम्ति भूमण्डलीकरण्ा नै द्वन्द्व हो । त्यसको प्रतिरोधमा हिन्दी कविताले आदिवासी डिस्कोर्ससमेत प्राप्त गरेर समृद्धि भेटेको छ । मराठी कवि नोमदेव ढसालले 'अम्बेडकरवाद' र माक्र्सवादको समन्वयबाट 'दलित कविता' अघि ल्याए नयाँं डिस्कोर्ससितै । यी दलित कविलाई देशको मूल भाषा र साहित्यले सधैँ निषेध गर्‍यो । त्यसैको विरुद्ध लडे तिनी । दलित अस्मितालाई जिउँदो राख्न राजनीतिक चेतका दलित कविताहरू यसरी आए कि केन्द्रले त्यसलाई मूलधारको डिस्कोर्स मान्न कर लाग्यो । 'राजनीतिबेगर कविता हुँदैन, यो एक दलितले भन्न सक्छ,' तिनले भनेका छन्, 'जसले राजनीतिबेगर कविता हुन्छ भन्छ ऊ दलित होइन ।' यहींनेर अर्नेस्ट हेमिङवेले भनेको 'घाउ'ले अर्थ प्राप्त गर्छ ।

नेपालको द्वन्द्वपछि आएका कविता हामी यता -भारत) का पाठकले पढेर थाहा पाउँछौँ, त्यहाँको अन्तरद्वन्द्व, सांस्कृतिक मूल्य, राष्ट्रको शक्ति र रूपान्तरण्ाको सपना । त्यसबाहेक पनि त्यहाँका नागरिकहरूबीच चलिरहने मूल्य स्थापनाका द्वन्द्वसमेत कविताले बताइदिन्छ । बग्दादका कवि सिनान अन्तनुले युद्धले इराकको सामाजिक मनोविज्ञान कसरी तयार पारेको छ, कवितामै भनेका छन्:

'रगतमा डुबिरहेको ब्रस उठाएँ

र बनाएँ युद्धको भित्तामा दुईवटा खिर्की

एकबाट देखेँ युद्ध

अर्कोबाट देखेँ आमा

आमा

जो कफन बुनिरहेकी थिइन्

पेटको बच्चाको निम्ति ।'

अमेरिकन 'सिविल वार'पछि टोनी मरिसनले एउटा निष्कर्ष निकालिन् र भनिन्, 'राजनीतिबिना साहित्यको अर्थ रहन्न ।' कविहरूको राजनीति भनेको मूल्यको पुनस्र्थापना नै हुन्छ । मरिसनले यही कुरा 'विलभ्ड' मार्फत भनिन् ।

हामीले कत्तिको भन्यौ त ?

भारतीय नेपाली साहित्यमा अहिले हामी त्यही खोजिरहेका छौं ।

......................

मलाई थाहा छ, सकेसम्म मैले चिनेका नेपालका युवा कविहरू द्वन्द्वको गोहो पछ्याउँदै हिँड्छन् । भत्किएको सपना हातमा उठाएर उनीहरूले हेरेको हिमाल कस्तो रङको देखिन्छ, त्यो उनीहरूको नेपाली कविताको रङ हुन्छ । आन्तरिक राष्ट्रवाददेखि सिङगो राष्ट्रवादसम्मको मूल्य निर्धारण्ामा कविहरूको मत स्पष्ट देखिन्छ । महेश पौड्यालहरूले 'कवितामा नेपाल' खोजिरहेका छन् । उनीहरूलाई लाग्न थाल्यो कि नेपाली कविताको मूल्य प्रादेशिक होइन । यी कविताहरू देशको सिमाना काटेर जाँदा के के लिएर जान्छन् ? त्यसको चिन्ता युवा पुस्तालाई परिसक्यो ।

..........................

म काठमाडौंमा 'क्याफे कविता'मा उभिएको थिएँ । कविता सुनाइसकेपछि मैले आफैंलाई सोध्ने प्रश्न थियो, 'के सुनाइस् त नेपाललाई ?'

सुन्नेले के भारतीय नेपालीको समाज सुन्यो ? वास्तवमा आजको पुस्ता धेरै सांस्कृतिक तनावमा छन् । उनीहरूको कविताले समाजको मनोविज्ञानलाई ठीकसित टिप्न सकेन भने शंका गर्ने ठाउँ हुन्छ । आलोचकहरूले नेपाली कविता र भारतीय नेपाली कविताभित्र लुकेको समाजको रौद्ररूपलाई केलाइदिने हो भने निस्किने जवाफ रूपान्तरण्ा नै हुँदो हो । त्यो चाहे सांस्कृतिक होस्, राजनीतिक होस्, सामाजिक होस् अर्थराजनीति होस् । हरेक मुलुकको साहित्यमा पाइने स्वभाव यही हो । तर नेपालका कविहरूको सपना र भारतीय नेपाली कविहरूको सपनाको भूगोल फरकमात्र होइन निकै जटिल छ । नेपालको राजनीतिक सपना जे जस्तो होस, कविहरूको कविताले बोकेको सपना नेपालभन्दा ठूलो लाग्छ । नेपालमा भोजपुरका कविलाई देशको राजधानीले सुन्न सक्छ, ती कविको कविताको सपनालाई सम्बोधन गर्ने/नगर्ने सोच्न सक्छ । नेपालको किनारामा परेको कुनै पनि जिल्लाका कविले ठीकसित सपनालाई राख्न सक्यो भने त्यसले काठमाडौं मात्र होइन नेपाल हल्लिन सक्छ ।

तर फरक त्यही नेपाली भाषामा कविता लेख्ने दार्जिलिङको नेपाली कविलाई पश्चिम बंगालले पनि सुन्दैन । यहाँ नेपालीमा कविता लेख्ने कविहरूले पहिलो लडाईँ त भाषासित नै गर्नुपर्छ । राज्यमा चल्ने भनेको बङगला भाषा हो । यतिखेर हामी यसरी पनि सोच्छौँ कि नेपाली साहित्यको शिखर मानिने इन्द्रबहादुर राई बङ्गला साहित्यमा कहाँनेर उभिएका होलान् ? जब खोज्न थाल्छौं, तब तिनी दार्जिलिङ र नेपालको समाजबाहेक कहीँ उभिएको पाउँदैनौं । भाषकि रूपले पनि उपनिवेश बनाइएको ठाउँमा बसेर कविता लेख्ने दार्जिलिङका कविहरूको वैचारिक मनोविज्ञान कस्तो हुन्छ ? यसैको अध्ययनतिर एक पुस्ता लागेका छन् ।

संवैधानिक मान्यता पाएको चौबीस भाषाको साहित्यले भारतीय साहित्य बन्छ । नेपाली साहित्यबिना भारतीय साहित्य पूरा हुँदैन । अन्य भाषाहरू छिचोल्दा भारतीय नेपाली साहित्य धेरै माथि उठिसकेको हुनुपर्ने तर त्यसो भइरहेको छैन । राज्यले सम्बोधन नगर्ने भाषामा कविता लेख्नु यताको संघर्ष हो । साहित्यिक सिमाना नहोला तर राजनीतिक सिमाना सबै सर्जकहरूसित रहन्छ । पहिले त उसले समाजसित लड्छ, समाज बनाउन । त्यसपछि राज्यसित लड्छ, राज्य बनाउन । यसरी नै कविको कविताले विभिन्न मुलुकमा आफ्नो भाषा र देशलाई प्रतिनिधित्व गर्दै कला र वैचारिक क्षेत्रमा हस्तक्षेप गर्दै जाने हो ।

..................

साहित्य अकादमी दिल्लीले 'इन्डियन यङ पोएट मिट'मा बोलायो । दिल्लीमा २४ भाषाका युवा कविहरू भेला भएर गरेको चिन्ता एउटै थियो कि कसरी मूलधारमा ती जम्मै भाषाका साहित्यलाई ल्याउने ?

'केन्द्रले बोलाएर आउने कुरा होइनन् यी । एउटा कुरा के स्पष्ट हुनुपर्छ भने उपान्तमा रेहका भाषाका साहित्य केन्द्रमा आएको केन्द्र चाहन्छ कि चाहँंदैन, त्यो स्पष्ट छैन,' मैले भनेँ, 'उपान्तमा रहेका भाषा र साहित्य संघर्षले नै केन्द्रमा आइपुग्छ ।' बहस अकादमीले अनुवादलाई तीव्रता दिने निष्कर्ष निकालेर टुंग्यायो । तर त्यो अनुवादको तीव्रता दिल्लीमै हरायो ।

अर्कोपल्ट दिल्लीमा कविता सुनाउँन जाँदा आफूलाई 'पराई' अनुभव गरियो । अंग्रेजी र हिन्दीमा आएका कविताले चर्चा पाउने अरू भाषाका कवितामा मौन हुने । जब मैले हिन्दीमा सत्ताको बद्नीतिमाथि कविता सुनाइरहेको थिएँ, ताली बजाउनेहरू उनीहरू नै थिए । म देशको खराब शिक्षा प्रण्ाालीलाई औल्याउँदै हरेक प्राथमिक पाठशालालाई 'भान्साघर' बताइरहेको थिएँ, उनीहरूको दिमागबाट आगो निस्किएको थियो । गरीबलाई सधैँ गरिब बनाउन गरिबका नानीहरूलाई भात र अण्डाको लोभमा स्कुल पुर्‍याउने विचार कति खतरनाक हो ? त्यो जोसुकैले बुभmने कुरा होइन । स्कुललाई भान्साघर बनाउनको साटो शिक्षा प्रण्ाालीलाई दुरुस्त गर्नुपर्ने हो, तर नीति निर्धारकहरूलाई लाग्छ- यी गरिबका नानीहरूलाई प्रतियोगितात्मक शिक्षाको खाँचो छैन ।

........................

एउटा दुर्गम ठाउँमा कविता सुनाइरहेको थिएँ । धाप भन्ने त्यो गाउँका मानिसहरूले जीवनमा कहिल्यै कविता सुनेका थिएनन् । सम्भिmएँ, यिनीहरू जो कविता सुन्न आएका छन्, गाईलाई घाँस काट्नु छ । छोराछोरीको स्कुल ड्रेस धोइदिनु छ । रासन लिन दोकान जानु छ, जोसित उधारोमा ल्याउनुपर्ने सामानहरूको लामो फेहरिस्त छ । त्योभन्दा पनि प्रमुख कुरा राजनीतिक पार्टीको मिटिङमा गइदिनु छ । सुनिदिनु छ । सुनेर रित्तै फकिर्नु छ अनि सधैँ यस्तै बाँचिदिनु छ । हो, यतिखेर कविता सुनाउन गाह्रो हुन्छ । उनीहरूको पीडालाई सम्बोधन गर्न सकिएन भने निम्नातिनिम्न वर्गमा पुगेर कविताको मृत्यु हुन्छ । यी मानिसहरूबीच कवितालाई जिउँदो राख्नु लरतरो कुरा होइन । कविताले जबसम्म उनीहरूसित संवाद गर्न सक्दैन तबसम्म त्यो कविता बन्दैन सायद ।

कसरी अशिक्षति आमाहरूको गाउँमा अम्बानीजस्ता धनी र तिनका कम्पनीले उनीहरूको दुःखलाई व्यापारमा रूपान्तरण गर्छ, उनीहरूको समस्याबाट कसरी नाफा कमाउँछ, त्यो कुरा उनीहरूले बुभmने गरी भन्नु गाह्रो काम हो । जो अचेलका कविहरूले गरिरहेका छन् । वास्तवमा कविता यस्तै मानिसहरूको अनुहारका छाला हुन् । यस्ता मानिसका फुटेका पाइताला हुन् ।

मिरिक भन्ने ठाउँको टिङलिङमा पनि एकल कविता वाचन थियो । 'कविताको काम उनीहरूको दिमागमा बसेको रुढीलाई भत्काउनु पनि रहेछ,' मसितै गएको कवि राजा पुनियानीले मलाई भनेका थिए, 'उनीहरू आफ्नै जीवनबाट टिपेको विम्ब सुन्न पाउँदा जति रमाए, त्योभन्दा धेर कविता सुनेर जीवनलाई पढ्ने नयाँ भाषा पनि उनीहरूले पाए ।'

मलाई लाग्छ, कवि राजा पुनियानीले एउटा कविले देखेको सपनालाई छेउमा पाएका हुन् । त्यो तिनको विश्वास पनि कविताको निम्ति एउटा प्राप्ति थियो ।

.......................

काठमाडौँको 'क्याफे कविता', 'मण्डला थिएटर' र विराट नगरको 'आरोहण्ा गुरुकुलमा' मा उभेर कविता भन्दै गर्दा राष्ट्रले सम्बोधन गर्न बिर्सिएका ती मानिसहरूको पीडाको गन्धलगायत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मानिसहरूलाई परेको संकटलाई सम्बोधन गर्नु गाह्रो थियो । आख्यानकार नारायण्ा ढकालले भने, 'दार्जिलिङको कवितामाथि बनेकोे मेरो पूर्वाग्रह आज तोडियो ।' तिनी दार्जिलिङलाई लिएर निकै 'नोस्टाल्जिक' थिए, 'शोकमग्न यात्री' पढेपछि थाहा पाएँ । तिनी भोकले रन्थनिएर दार्जिलिङबाट भाग्नुपरेका एक क्रान्तिकारी थिए । विचार र सपनाको सामुन्ने भोक डरलाग्दो संकट थियो ।

नारायण्ा ढकालहरूले गरेको बुट पालिस र कविताले बोकेको आग्रहको फेद दह्रो भएकोले नै आज नेपालका युवा कविहरूले दह्रो भुइँबाट कालजयी कविताहरू लेखिरहेका छन् ।

'तिम्रो कविताको भूगोल र मेरो कविताको भूगोल कति फरक हो भन्ने प्रश्नको उत्तर कविताले नै दिँदो रहेछ,' पन्जाबका कवि मित्र नीतु अरोरा मसित भन्छिन् । तिनलाई लाग्छ, जुन समाज र संस्कृतिबाट कविता निस्किन्छ, ती कविता चाहे नेपाल पुगुन, चाहे बंगलादेश, चाहे पाकिस्तान त्यो आफ्नै भूगोल, इतिहास, संस्कृति, भाषा र वर्ग बोकेर जानेरहेछ ।

झारखण्डकी कवि निर्मला पुतुलले आफ्ना कवितामा जुन आदिवासी गन्ध दिन्छिन्, त्यो विश्वका कुनै पनि आदिवासीसित मिल्दैन । मलाई लाग्छ, नेपालका कविहरूको कुरै छोडौँ, झारखण्डकी निर्मलाले झैं भारतका नेपाली कविले आफूलाई केन्द्रमा राखेर धेरै लेख्न सकिरहेका छैनन् । तेस्रो आयामका, लीला लेखन, संक्रमण लेखन, विचलन लेखन र अहिले किनारीकरण्ाको लेखन र हस्तक्षेप यस प्रयासका खुड्किला हुन् । तीमध्ये हस्तक्षेप सामूहिक प्रतिबद्धता र राजनीतिक आग्रहको छ, त्यो अघिल्लाको तुलनामा निकै अराजक चरित्रको छ ।

कविताले खोजेको नयाँ बाटो यही हो कि !

Saturday, November 1, 2014

प्रतिगमनको हुरी र शक्ति सम्बन्ध

झलक सुवेदी -
भाइटीकाको दिन बिहानै संविधानसभाको संवैधानिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगे । समाचारमा जनाइएअनुसार भट्टराईले कोइरालालाई संविधानका विवादित विषयमा दलबीच सहमति खोज्ने कार्यको नेतृत्व लिन या सहजीकरण गर्न बिन्ती बिसाए । जवाफमा कोइरालाले ‘आफू माघ ८ मै संविधान जारी गर्न प्रतिबद्ध रहेको’ बताए । यसरी बुझ्न सकिन्छ– सहमतिका लागि प्रयास गर्ने अनुरोधको जवाफमा ८ माघमै संविधान जारी गरिनेछ, तिमी ताउरमाउर नगर भनेर कोइरालाले भट्टराईलाई फर्काइदिए । अन्यथा होइन भने समाचारमा उनले आफ्ना तर्फबाट विवादित विषयबारे न त कुनै छलफल गरे, न त यसबारे दलहरूसँग संवाद र सहमतिका लागि प्रयास गर्ने नै बताए । यता बाबुराम दिनदिनै एउटा न एउटा संवादको काममा बिहानदेखि बेलुकासम्म सक्रिय रहन्छन् । अर्कातिर प्रधानमन्त्री कोइराला यही ११ कात्तिकमा तनहुँको व्यास नगरपालिका–७ मा आयोजित ‘श्रीमद्भागवत विराट् महायज्ञ’ उद्घाटन गर्न पुगेका थिए । बाबुरामको समितिले तिहारको ठीक अगाडि गोकर्ण रिसोर्टमा आवासीय बैठकको आयोजना गर्‍यो । सबै दलका नेता आए तर सुशील कोइराला, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री उक्त संवादमा भाग लिन गएनन् । एमालेकै पनि निर्णय गर्ने अधिकार नभएका कमरेड माधव नेपाल सक्रियतासाथ पुगे तर पार्टी अध्यक्ष तथा एक मात्र निर्णय गर्ने अधिकार भएका एमाले नेता केपी ओलीले नौ घन्टा अरूलाई कुराए र साँझपख ढल्कँदै रिसोर्ट पुगेर गल्फ मैदानमा टहलिएर जिस्किँदै फर्किए । तिहारको पर्सिपल्ट १० कात्तिकमा गम्भीर वार्ता गर्न समितिले नेताहरूलाई बोलायो । यसपालि त एमालेले बैठक बहिष्कार नै गर्‍यो । त्यसको अघिल्लो दिन एमाले र एमाओवादीबीच संवाद आयोजना गरियो । त्यसमा एमालेका नेताले आफ्नो पार्टी ३ प्रदेशको पक्षमा रहेको तर सहमतिका लागि उत्तर–दक्षिण जोडिएका चार प्रदेशसम्म जान सकिने अडान दोहोर्‍याए । उनीहरूले पहिचान झल्किने नाममा भने ठाडै विरोध जनाए ।
नेपाली कांग्रेसले केही साताअघि ६ या ७ प्रदेशको विकल्प अगाडि सारेको छ । तर, कांग्रेस आफ्नो प्रस्तावमा सहमति जुटाउन या त्यसमा लचकता अपनाउँदै सहमतिका लागि अन्य दलको समर्थन जुटाउन कतै कुदेको देखिन्न । जता पनि बाबुराम भट्टराई नै सक्रिय देखिन्छन् र देखिन्छ प्रचण्डको पनि थप सक्रियता । सक्रियता जसले देखाए पनि संविधान निर्माणका लागि अवश्य राम्रो हो । तर, राजनीति कसैको सक्रियताले निर्धारण गर्ने विषय होइन, यो त शक्ति सम्बन्धहरूले निर्धारण गर्ने विषय हो । शान्ति प्रक्रियाका लागि युद्धविराम गरेर काठमाडौं उत्रेका प्रचण्ड र बाबुरामले ०६३ असारदेखि मंसिरसम्म देखाएको सक्रियता अरूले जतिसुकै बेवास्ता गरे पनि शक्तिका कारण नै सफल भएको थियो (त्यतिवेलाको यी दुईको सक्रियताबारे पंक्तिकारले यसै स्तम्भमा ‘माओवादीका दु:ख’ शीर्षकको लेख लेखेको थियो) । तर, अहिलेको चित्र र सन्दर्भ बिल्कुल फरक छ । उदेकलाग्दो कुरा के छ भने यी दुवै अहिले पनि उत्तिकै सक्रिय छन् तर यिनीहरूको शक्तिको हैसियत अहिले उल्टिएको छ । उल्टिएको शक्ति सम्बन्धले निर्धारण गरिदिएको भूमिका निर्वाह गर्नेभन्दा पनि यी दुवै पुरानो शक्तिको धङधङी बोकेर कुदिरहेका देखिन्छन् ।
यतिवेलाको चित्रले भन्छ, एमाओवादीसँगको शक्तिले संविधानसभाको निर्णय प्रक्रियालाई अल्झाउन र त्यसलाई तन्काउन सक्छ तर त्यसलाई निर्णायक रूपले सकारात्मक प्रभाव पार्न सक्दैन । गतवर्षको संविधानसभा निर्वाचनको जनादेशले भन्छ, संविधानसभाको कार्यसूची माओवादीकै भए पनि संविधान बनाउने कामको अगुवाइ गर्ने काम नेपाली कांग्रेसको हो र अहिलेलाई कांग्रेसको सहयोगी नेकपा एमाले हो । यी दुईको जिम्मेवारी हुन्छ कि उनीहरू नेपाली जनतालाई, नेपालका फरक मत राख्ने अन्य दल र समुदाय या दबाब समूहलाई विश्वासमा लिऊन् । खासगरी एमाओवादी, मधेसवादी, पहिचानवादी र संविधानसभाबाहिरका आवाजलाई समेत विश्वासमा लिएर सबैका लागि स्वीकार्य तर सम्झौताको दस्ताबेजका रूपमा संविधान तयार पार्ने र जारी गर्ने कामको अगुवाइ गर्ने जिम्मेवारी नेपाली कांग्रेस र उसको सत्ता साझेदार नेकपा एमालेकै हो । व्यक्तिगत रूपमा यतिवेला उक्त कार्यको नेतृत्व गर्ने काम सुशील कोइराला र केपी शर्मा ओलीको हातमा आएको छ । वार्ताको आह्वान गर्नुपर्ने, वार्ताका लागि दौडधुप गर्नुपर्ने समयमै संविधान जारी गर्नुपर्ने जिम्मेवारी उनीहरूकै हो । उनीहरू आफैँ दौडिऊन् या दूतहरू खटाऊन् तर कार्यसूचीमा लचकता अपनाउने बाध्यता उनीहरूलाई नै हुनेछ । समयमा संविधान जारी नहुँदा जनताले औँलो ठड्याउने पनि उनीहरूलाई नै हो । एमाओवादीलगायत दलको पनि जिम्मेवारी बन्छ, तर त्यसको हिस्सेदारी औकातअनुसार हुन्छ । संविधानसभामा जम्मा ८० भन्दा कम सिट भएको एमाओवादीको र झन्डै दुईतिहाइको स्थितिमा रहेको सत्तारुढ गठबन्धनको जिम्मेवारी बराबर हुनै सक्दैन । उनीहरूले सक्दैनन् भने मात्रै अरूले त्यस कामको नेतृत्व गर्ने हो । तर, यहाँ दृश्य उल्टोपाल्टो देखिन्छ, जसको जिम्मेवारी बन्छ ऊ हाइसन्चोले सुतेको छ र जसले बोलेर केही बन्न सक्दैन, ऊ डाँडाखोला हल्लाउँदै चिच्याइरहेको छ । सरकार गठनको खेल पनि होला, कोइरालालाई असफल बनाउन कांग्रेसभित्रै पनि वार्ता असफल पार्न चाहने होलान् या कांग्रेसको नेतृत्वमा संविधान बन्न नदिने एमालेको पनि चाहना होला अथवा संविधान नाथे बनोस् नबनोस्, आफ्नो नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने मनोदशामा नेता ओली हल्लिरहेका होलान् । तर, यी सहायक कारण हुन् र मूल कुरा समाजको शक्ति सम्बन्धलाई बचाइरहन चाहने सहरीया सभ्रान्तवर्ग र पछिल्लो नवउदारवादी कालमा हुर्केको कमिसनखोर पुँजीपतिका साथै क्रोनी पुँजीवादबाट फाइदा लिएको वर्गको अवरोध अहिले संवाद असफल हुनाको प्रमुख कारण हो ।
एमाओवादीले बुझ्नुपर्छ कि जनयुद्धको राप सेलाइसकेको छ । जनआन्दोलनको जनादेश खण्डित भएको छ । सत्ताका स्थायी संरचनाका विचारधारा र गति सबैमा प्रतिगमनको हुरी चलेको छ । जनआन्दोलनको जम्मा ८ वर्ष नपुग्दै हाम्रो राजनीतिक क्रान्तिलाई प्रतिक्रान्तिले उछिन्न खोजेको छ । राज्यका विचारधारा अर्थात् सत्ताका विचारधारामा अनुदारवादी बुर्जुवा वर्गको प्रभुत्व पुनस्र्थापित भएको छ । आन्दोलनले बढार्नुपर्ने पात्र र प्रवृत्तिको पुनस्र्थापना भएको छ । परिवतर्नलाई आधारभूत तहमा संस्थागत गर्ने संरचनाको निर्माणका सन्दर्भमा, जसमा बलियो स्थानीय निकाय, पहिचान झल्किने गरी बलिया बनाइएका र नागरिक अधिकारका दृष्टिले सबैलाई समान हैसियत प्रदान गरेका शक्तिशाली प्रादेशिक संरचना र केन्द्रमा स्थिर सरकारको सुनिश्चितता गर्ने प्रत्यक्ष निर्वाचित कार्यकारीका प्रस्ताव छलफलका कार्यसूचीबाट केरमेट गरिँदै छन् । यस्तो अवस्थालाई चिर्ने भनेको शक्तिले हो बैठक र संवादले होइन । बैठक र संवादमा शक्तिको प्रतिबिम्ब हुन्छ । यस्तो प्रतिबिम्ब अहिले धमिलो होइन, प्रस्ट छ ‘ब्ल्याक एन्ड ह्वाइट’मा ।
अर्थात् माओवादी या मधेसीहरू, जनजाति या पहिचानवादीहरू, किसान या मजदुरहरू अथवा श्रमजीवी वर्गका तागतहरू सबै फेरि एकपटक सकेसम्म संगठित भएर सडकमा ओर्लनु र आन्दोलन गर्नु मात्र अहिलेका लागि संवादलाई सार्थक निष्कर्षमा पुर्‍याउने उपाय हो । लुखुरलुखुर धाएर, ताउरमाउर गरेर, भात नखाएर या नसुतेर, गोकर्ण या बालुवाटारतर्फ दौडेर जे–जति धपेडी गरे पनि शक्ति सम्बन्धहरूलाई चुनौती दिन नसक्ने हो भने केही हात लाग्दैन । अहिलेको प्रक्रियालाई स्विकार्नु, यही बाटोबाटै संविधान बनाउनु र नबरालिनु सैद्धान्तिक प्रश्न हो तर दबाब सिर्जना गर्नु, धम्की दिनु र भएभरको शक्ति लगाएर संविधानसभाबाट सकारात्मक सम्भावना भएको संविधान बनाउन बल गर्नु कार्यनीतिक कुरा हो । सिद्धान्तको पछि दोडने तर कार्यनीतिक कुरातर्फ, आफ्नो शक्ति र संगठनतर्फ ध्यान नदिनु आत्मघाती कुरा हो । बाहिरबाट यसो हेर्दा बाबुराम भट्टराई राजनीतिक सहमतिका लागि खुब दौडेका छन् । तर, उनको दौड सिंहदरबारदेखि सिंहदरबारसम्ममै सीमित भएको छ । अझ उनले नै सहमति कायम गर्न नसकेको चुत्थो आरोप लगाएर सनातनी सत्तारुढ वर्गले उनैलाई पो कुरीकुरी गरिरहेको छ ।
जसले सहमतिको प्रयास गर्नुपर्ने हो उसैले बाबुरामले सहमति गर्न नसकेको आरोप लगाइरहँदा पनि बाबुराममा चिन्ता देखिन्न । संविधान नबन्नुमा, सहमति कायम नहुनुमा बाबुराम या प्रचण्ड या एमाओवादी मधेसवादीहरू इतिहासमा दोषी देखिनेछैनन् । किनभने, उनीहरूको हैसियतले आफूभन्दा ठूला दललाई संवादबाट सहमतिमा ल्याउन सक्दैन । उनीहरूले चाहे भने, भएको शक्ति प्रदर्शन गर्ने हिम्मत गरे भने मात्रै सहमति राजनीतिक बाध्यता बन्नेछ । बाबुरामजी, नयाँ शक्तिका नाममा सहरीया मध्यमवर्गको सहानुभूति खोज्ने तपाईंलाई थाहा हुनुपर्ने हो एमाओवादीको के कुरा तपाईंलाई पनि तपाईंले बोकेका कार्यसूची देवघाटमा लगेर सेलाएपछि र बुर्जुवा वर्गको कार्यसूची लपेटिएको पहेंलो रामनामी भिरेपछि मात्रै त्यस वर्गले साथ दिने हो । तपाईं कुदेर एमाले र कांग्रेस खुसी भएर संविधान बनाउन तयार हुने होइनन्, बरु एमाओवादीलगायतले जे–जति शक्ति आर्जन गर्न सकिन्छ सडकबाटै त्यसको प्रदर्शन गरे भने मात्रै संविधान बनाउन दबाब सिर्जना हुने हो । खण्डित जनादेशले भन्छ, काम कुरा तपाईंले भने जस्तो पक्कै हुँदैन, बुर्जुवा वर्गको हात माथि परिसकेको छ । तर, समाजमा विद्यमान अन्य अन्तरविरोध पनि छन्, जसले बुर्जुवा वर्गमा पनि विभाजन सिर्जना गरिदिएको छ । त्यसलाई ठम्याएर दाउपेच गर्दा शक्ति आर्जन गर्न सकिन्छ । समस्या आफ्नो पार्टीको कमजोर शक्तिमा छ, एमाले अध्यक्ष ओली या कांग्रेस सभापति कोइरालामा होइन । समस्या परिवर्तनका पक्षधर दल एकत्रित भएर उठ्न नसक्नुमा छ, जनतालाई फेरि विश्वासमा लिने प्रयास नगर्नुमा छ । एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि रोइलो गर्न छाडेर जनतालाई अपिल नगरुन्जेल संवैधानिक संवाद तथा सहमति समितिका सभापति तथा पूर्वप्रधानमन्त्री, एमाओवादीका अघोषित दोस्रो नम्बरका नेता, कमरेड बाबुराम भट्टराई (पिएचडी) को दौडधुपले घनचक्करमा फस्नेबाहेक केही नतिजा दिनेछैन । डा’साबलाई चेतना भया !

Thursday, October 30, 2014

फाँसीअघि जब्बारीको कामनाः मेरो मुटु, मृगौला जे-जे काम लाग्छ अरूलाई दिनु

म दाता हुँ भन्ने पाउनेलाई थाहा नहोस्इरानी  इन्टरियर डिजाइनर २६ वर्षीया रेहाने जब्बारीलाई त्यहाँको अदालतको फैसलाबमोजिम शनिबार मृत्युदण्ड दिइयो । सन् २००९ मा इरानको गुप्तचर निकायका एक अधिकारीलाई छुरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो । ती गुप्तचर अधिकारीले आफूलाई बलात्कार गर्न खोजेपछि आत्मरक्षा गर्न खोज्दा हत्या हुन पुगेको रेहानेले बताएकी थिइन् । फाँसीको तख्तामा जानुअघि उनले आमा सोलेह पक्राभनलाई हृदयविदारक चिठी लेखेकी थिइन्, जुन चिठी इरानी अधिकारकर्मीले सार्वजनिक गरिदिएका छन्। आजको नयाँ पत्रिकामा सुजित मैनालीले गरेको चिठीको भावानुवाद छापेको छ। हेर्नुहोस् उनको भावानुवाद जस्ताको तस्तै
 
प्यारी ममतामयी आमा,
मैले कठोर दण्ड पाउने कुरा मैले आजै थाहा पाएँ । म आफ्नो जीवनरूपी किताबको अन्तिम पानामा आइपुगेकी छु भन्ने कुरा तपार्इं स्वयंले मलाई नबताउँदा मेरो मन किञ्चित कुँडिएको छ । यो कुरा मैले थाहा पाउनुपर्छ भन्ने तपाईंले किन सोच्नुभएन ? यो सब कुराले तपाईंलाई भित्रैदेखि मर्माहत बनाएको छ भन्ने मलाई थाहा छ र यसले मलाई लज्जित तुल्याएको छ । तपाईंको र बुबाको हात एकपटक चुम्ने मौकाबाट मलाई किन वञ्चित राख्नुभयो आमा ?
 
यो संसारले मलाई १९ वर्षसम्म बाँच्ने मौका दियो । त्यो अपशकुन रातमै मेरो हत्या भएको भए कति वेश हुने थियो होला ? यदि मैले चिताएजस्तै भएको भए सहरको एउटा गल्लीमा मेरो लास फालिएको हुने थियो । मेरो लास पहिचान गराउन प्रहरीले तपाईंलाई त्यही गल्लीमा लिएर जान्थ्यो । त्यहाँ पुगेपछि तपाईंले थाहा पाउनुहुने थियो कि, तपाईंकी प्यारी छोरीको हत्या मात्र होइन, बलात्कार पनि भएको रहेछ ।
 
मेरो हत्या गर्नेहरूसँग जस्तै हामीसँग सम्पत्ति र सामथ्र्य दुवै छैन । त्यसैले मेरा हत्याराहरू कहिल्यै पक्राउ पर्ने थिएनन् । त्यसपछिका तपाईंका दिनहरू असिम पीडा र लज्जामा बित्ने थिए । यही पीडाले केही वर्षपछि तपाईंको प्राणपखेरु पनि उडाउने थियो ।
 
तर खै, कस्तो श्रापले गर्दा हो कुन्नि, कथा अप्रिय ढंगले पूरै बदलियो । मेरो शरीर कुनै गल्लीमा मिल्किएन । सहरको कुनै गल्लीमा मिल्काइनुको सट्टा मेरो शरीर इभिन जेलरूपी यो चिहानको सुनसान कालकोठरीमा मिल्काइएको छ । र, अहिले चिहानजस्तै साहर–ए–रे जेलमा मेरो शरीरलाई राखिएको छ । आमा, यो सबै नियतिको खेल हो भन्ने सम्झिएर चित्त बुझाउनुहोला, र कुनै प्रकारको दु:ख–मनाउ नगर्नुहोला । मृत्यु जीवनको अन्त्य होइन भन्ने कुरा तपाईंलाई राम्रोसँग थाहा छँदै छ नि, हैन र ?
 
तपाईंले मलाई भन्नुभएको थियो, मानिस यो संसारमा अनुभव बटुल्न र शिक्षा हासिल गर्न आउँछ । हरेक जन्ममा मानिसको काँधमा केही न केही जिम्मेवारी भिराइएको हुन्छ । यो जन्ममा मैले एउटा कुरा सिकें कुनै न कुनै वेला मानिसले पौँठेजोरी खेल्नुपर्दो रहेछ । मलाई मारपिट गर्ने व्यक्तिको विरोध गर्दा एक मानिसले ती व्यक्तिबाट मुखै–मुखमा, टाउकै–टाउकोमा चाबुक खानुपर्‍यो । उनीमाथि चाबुकको वर्षा भयो र यसैले गर्दा उनको प्राणपखेरु उड्यो । त्यसबखत तपाईंले मलाई भन्नुभएको थियो, छोरी, मर्नुपरे पनि मानिसले आफ्नो मूल्यको रक्षा गर्नुपर्छ ।
 
तर, तपाईंले हासिल गर्नुभएको अनुभवसिद्ध ज्ञान सत्य रहेनछ । जब ममाथि यो घटना घट्यो, तपाईंले मलाई दिनुभएको जीवनका मूल्यसम्बन्धी ज्ञान सबै बेकार साबित भए । तपाईंले भनेबमोजिम गर्दा मलाई नृशंस हत्यारा र निर्मम अपराधीका रूपमा अदालतमा उपस्थित गराइयो । त्यतिवेला मेरो आँसु खसेन । मैले कसैसँग जीवनरक्षाका निम्ति हात फिजाइनँ । मलाई कानुनप्रति विश्वास थियो । त्यसैले बर्खिलापमा म केही बोलिनँ ।
 
आमा,
म कस्तो कमलो मन भएकी छोरी हुँ भन्ने तपाईंलाई राम्रोसँग थाहा छ । मैले कहिल्यै एउटा लामखुट्टे पनि मारिनँ । घरमा कुनै साङ्लो फेला पर्‍यो भने त्यसको जुँगामा समातेर म बाहिरतिर मिल्काइदिने गर्थेँ, मार्दिनथेँ । तर, आज मलाई नियोजित हत्यारा बनाइयो । जनावरप्रतिको मेरो व्यवहारलाई छोरोमान्छेजस्तो बन्न खोज्ने मेरो अभिलाषाका रूपमा अथ्र्याइयो । तर, यो घटना घट्दाखेरि मेरो हातका लामा, पालिस लगाएर चिटिक्क पारेका नङप्रति न्यायाधीश महोदयको ध्यानै गएन ।
 
न्यायाधीश महोदयबाट न्यायको अपेक्षा गर्नेहरू कति आशावादी हुँदा हुन् कठै ? मेरो हात खेलाडीको जस्तो, अझ भन्नुपर्दा बक्सरको जस्तो जब्बर र खस्रो खालको छैन भन्ने तथ्यबारे न्यायाधीश महोदयबाट कुनै प्रश्न भएन । र, यो राष्ट्र, जसप्रति माया गर्नुपर्छ भन्ने भाव तपाईंले ममा जगाइदिनुभयो, यसले पनि मलाई कहिल्यै चाहेन । सोधपुछकर्ताको एकपछि अर्को प्रश्नको प्रहार सहन नसकेर मैले आँसु झारिरहँदा कोही पनि मेरो समर्थनमा आएनन् । मेरो सौन्दर्यको अन्तिम निशानीका रूपमा रहेको कपाल खौरिएपछि मेरो हातमा ११ दिन लामो कालकोठरीवासको उपहार थमाइयो ।
 
यो सबै सुनेर नरुनुहोला आमा । प्रहरी कार्यालयमा पुगेको पहिलो दिन नै एकजना अविवाहित प्रहरीले मैले पालेका लामा नङका निम्ति मलाई दिनु दु:ख दिएका थिए । त्यसपछि मैले बुझेँ, यो युगमा सौन्दर्यताको पारख गरिँदैन रहेछ । सुन्दर हेराइ, सुन्दर विचार, सुन्दर कामना, सुन्दर हस्तलिखित अक्षर, सुन्दर आँखा, सुन्दर दृष्टिकोण र सुन्दर आवाजको यो युगमा कुनै कदर हुँदैन रहेछ ।
 
अहिले मेरो जीवनदर्शन बदलिएको छ । तर, यसका लागि तपाईं जिम्मेवार हुनुहुन्न । मेरा शब्दहरूको कुनै अन्त्य छैन । यी शब्दहरू मैले कसैलाई लेखेर दिएकी छु । जब तपाईंलाई उपस्थित नगराईकन र जानकारी नदिईकन मलाई फाँसी दिइन्छ, त्यतिवेला तपाईंले यो पत्र पाउनुहुनेछ । आफ्नो नासोका रूपमा मैले तपाईंका निम्ति हातले लेखेका यी अक्षरहरू छोडेर गएकी छु ।
 
मर्नुभन्दा अघि म तपाईंबाट केही चाहन्छु । मैले इच्छाएको कुरा पूरा गर्न तपाईंले दिलोज्यान लगाउनुहोस् भन्ने मेरो चाहना छ । वास्तवमा भन्ने हो भने यो संसार, यो देशबाट र तपाईंबाट मैले चाहेको यो नै एक मात्र कुरा हो ।
 
बिन्ती, नरोईकन मैले भनेको सुन्नुहोस् । अदालत पुगेर मेरो तर्फबाट एउटा आग्रह गरिदिनुहोस् । किनकि, म जेलका यी चार पर्खालभित्रबाट त्यस्तो आग्रह गरिएको चिठी पठाउन सक्दिनँ । किनकि, हरेक चिठी जेलप्रमुखबाट अनुमोदन गराउनुपर्ने हुन्छ । जेलको यस्तो नियमले गर्दा तपाईंले मेरो कारण पुन: एकपटक असिम मर्मान्तकारी क्षण बेहोर्नुपर्ने भएको छ । मैले खोजेको कुरा मेरा निम्ति मागिदिनुभयो भने म किञ्चित दु:खी हुनेछैन । मलाई फाँसीबाट जोगाउने याचनाचाहिँ कहिल्यै नगर्नुहोस् भनेर मैले यसअघि नै तपाईंलाई पटक–पटक भनिसकेकी छु ।
 
मैले आफ्नै जीवनभन्दा पनि बढी माया गरेकी मेरी प्यारी आमा,
 
म माटोमुनि पुरिएर कुहिन चाहन्नँ । म मेरा आँखा र मेरो स्वस्थ जवान मुटु माटोमा बिलीन होस् भन्ने चाहन्नँ । त्यसैले मेरा लागि एउटा भिख मागिदिनुहोस् । मलाई फाँसीको तख्तामा झुन्ड्याउनासाथ मेरो मुटु, मेरा मिर्गाैला, मेरा आँखा, हड्डी र प्रत्यारोपण गर्न मिल्नेजति सबै अंगहरू मेरो शरीरबाट निकालियोस् र आवश्यक भएका व्यक्तिलाई ती अंग मेरो अन्तिम उपहारका रूपमा दिइयोस् । अंग पाउने व्यक्तिले मेरो नाम थाहा भने नपाओस् । उसले मेरा लागि पुष्पगुच्छा अर्पण गरोस् अथवा मेरा लागि खुदासँग प्रार्थना गरोस् भन्ने म चाहन्नँ ।
 
यो कुरा म अन्तरहृदयदेखि भनिरहेकी छु । मेरो कुनै चिहान बनोस् भन्ने चाहना पनि म राख्दिनँ, किनकि मेरो चिहानमा पुगेर निरन्तर शोक गर्ने र पीडा प्राप्त गर्ने अवसर तपाईंलाई प्राप्त भएको अवस्था म निम्त्याउन चाहन्नँ । मेरा लागि तपाईंले शोक जनाउने खालको कालो लुगा लगाउनुहोस् भन्ने पनि म चाहन्नँ । मेरा दु:खका दिन बिर्सिने हरसम्भव चेष्टा गर्नुहोस् । मलाई यो पवनको जिम्मामा छोडिदिनुहोस्, ताकि यसले मलाई निर्वाध रूपमा उडाएर पर–पर अनन्तमा पुर्‍याउन सकोस् ।
 
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यको मूल्यप्रति यो संसारले कुनै इच्छा देखाएन । अब म यी सबैबाट मुक्त भएर मृत्युलाई अँगाल्दै छु ।
 
तर, भगवान्को अदालतमा फेरि मुद्दा चल्नेछ आमा । त्यहाँ म निरीक्षकविरुद्ध मुद्दा हाल्नेछु, न्यायाधीश महोदयविरुद्ध मुद्दा हाल्नेछु, यो देशका सर्वोच्च अदालतका न्यायाधीशहरू सबैविरुद्ध मुद्दा हाल्नेछु ।
 
सृष्टिकर्ताको अदालतमा म ती सबैविरुद्ध मुद्दा हाल्नेछु, जसले अज्ञानता अथवा झुटको वशमा परेर देखिएको सत्य कहिलेकाहीँ वास्तविक सत्यभन्दा भिन्न पनि हुन सक्छ भन्ने तथ्यतर्फ निर्ममतापूर्वक आफ्ना आँखा चिम्लिए ।
 
कोमल हृदय भएकी प्यारी आमा,
परलोकमा आरोप लगाउनेहरूको आसनमा हामी हुनेछौँ र आरोपित व्यक्ति उभिने कठघरामा अरूहरू हुनेछन् । हेरौँ, भगवान् के चाहँदा रहेछन् । म तपाईंलाई नमरुञ्जेलसम्म अँगालोमा कसिरहन चाहन्छु ।
 
तपाईंलाई माया गर्ने
रेहाने
१ अप्रिल २०१४

Friday, October 10, 2014

बोङवाजोर घाटमा नुन बेसाएका ती दिनहरू

सम्बत् ०७१ सालको दशैँपछि यो साल म अलिक छिट्टै काठमाडौँ लागेँ, दशमीको पर्सिपल्ट । काठमाडौँ हुँदा घर जाने बेला घर गएर के—के न गर्छु भनेर चाँडै जाने तर घर पुगेपछि काठमाडौँमा आफ्नो के के न बिते जस्तो हतार गरेर हिँड्ने मेरो पुरानो प्रवृत्ति हो । यो प्रवृत्तिले आजसम्म मैले उत्रो ठूलो क्यै लछारपाटो लाएको भने आफैलाई सम्झना छैन । मान्छेको हतार गर्ने बानी एक बहाना मात्र हो भन्ने मैले धेरैपल्ट बुझेर बुझ पचाएको छु ।
कसैले भनेको छ, ‘हतार गर्नुको कुनै जरुरी छैन, पुग्नुपर्ने ठाउँमा ठीक समयमा पुगे मात्र हुन्छ ।’
यो दर्शन मेरा लागि प्रिय तर व्यहोरामा उतार्न नसकेको लाइन बनेको छ । घरमा आपा र बाह्र तेह्र वर्षमा एकपल्ट आएका चेलीबेटीले समेत ‘दुईचार दिन बस् मकै भाँच्नुपर्छ, टुप्पा राख्नुपर्छ, मजाले रोज्जा खाँदै बस्’ भने पनि हिँडिहालेँ ।
शहरमा बसेको छोरो—भाइ घर आउँदा मज्जाले मासु खावोस्, मीठो खोजेर र आफूसँग मागेर खावोस् भन्ने अभिभावकलाई पर्ने नै गर्छ । अझ मलाई त दिदीहरूले मीठो काँक्रा कुन झालमा छ, हरियो गुलियो मकै कुन कान्लामा छ भनेर नभन्नुभएको पनि होइन । बिचरा मासु खान नपाएको कत्ति भो होला ? कत्ति खान मन गर्दो होला ? भनेर पाको छोराको लागि पनि चिन्ता गर्ने सबै अभिभावक सबैका लागि उस्तै अपार हृदयका हुन्छन् । शहरमा हुने कार्यक्रम, साथीभाइको भेटघाट र अन्य तवरले धेरै मासु खाएर नाक लाग्न थालेको मैले यो पल्ट घरमा बस्दा धेरै मासु खाने मन गरिनँ । त्यसमा पनि घरको चिन्ता थियो । कठै ! कत्ति धेरै माया !
शहरमा दिनकादिन राँगा र कुखुराको मःम खाएर अस्वाभाविक मोटाएको मलाई गाउँ गएका बेला गाउँभर आएका आफन्तहरूले यसपल्ट ‘खाइलाग्दो’ र ‘फस्टाएको’ भने, जतिखेर मेरो पुटुक्क निस्किएको विशाल भुँडी कसरी पातलो गर्ने होला भनेर म उपायको रचनामा थिएँ ।
०७० सालबाट साङकाफोपसम्म हिउँदे जीप आउने गरे पनि यो साल त्यसको याम आइसकेको थिएन । कोशी पारि रानीटार झरेर जीपको कुममा झुण्डिएर जाउँ भन्ने एक्लो मनले मानेन । बरु हिँडेरै भए पनि बुङ्वाजोर घाट मेरो मनपर्दो बाटो थियो; यसकारण कि यहीँ बाटो म सयौँ चोटि हिँडेको हुँ । यहीँ बाटोमा मेरा पसिना झरी बिलाएका छन्, चाक थचारिएका छन् । त्यसो त आपा र दिदीहरूको तुलनामा मेरो त्यस्तो अनुभव नगन्य मात्र हो । लेखीपठाउँदा आफूलाई बढी ठानिदिन्छु कि भन्ने डर लाग्छ ।
बोङवाजोर घाट पश्चिम—दक्षिण भोजपुर र पूर्वी सुदुर दक्षिण खोटाङको बोङवा खोला दोभान सीमानाको दूधकोशी संगममा शताब्दीअघिदेखि सञ्चालनमा आएको घाट हो । भोजपुर, खोटाङ र सोलुखुम्बुका केही गाउँका गाउँलेहरूको नजिकको मधेस बजार बेल्टार पुग्ने नाकाको छोटो बाटोको घाट पनि यै हो । यहाँ आइपुग्न घर देखि मलाई जहिल्यै छ घण्टा लाग्छ । यसै दशैँदेखि घाटको खेवा ऐतिहासिक रुपमा वृद्धि गरिएको रहेछ, एक जना एक चोटि तरेको चालीस रुपियाँ । अघिल्लो वर्षसम्म त त्यहाँ खेवा बीस रुपियाँ मात्र थियो । सयौँ वर्ष अघिदेखि चलेको घाटमा दोब्बर खेवा बढेको यसै साल मात्र थियो ।
यही घाटमा नाउ खियाउँदा खियाउँदै कत्ति माझीहरूको जवानी र जीवन गयो ? दूधकोशी बाहेक कसलाई थाहा होला र ? खियाउने माझीहरू भए पनि अलि पर्तिरका बाठा राई ठेकेदारहरूले दिने पारिश्रमिक र कुनै मनकारी यात्रुको आभारीले जाँड खान दिने पाँच दश रुपियाँको भरमा यी माझीहरू नाउ खियाउँदा खियाउँदै तन्नेरीबाट बुढो भएको मैले नै देखिरहेको छु । हाम्रा गुरु प्राध्यापक माधव पोखरेलले भन्नुभए अनुसार माझीहरू काँसीतिरबाट सप्तकोशी पछ्याउँदै नेपाल आएका थिए भन्ने भाषाको तरङ्गले देखाउँछ । कोशी पछ्याउने क्रममा नै उनीहरू पनि बोङ्वाजोर घाट आसपास बसेका थिए भन्ने कुरामा द्विविधा नहोला । कोशी पछ्याउँदा पछ्याउँदै कोशीको उपल्लो भेक तामाकोशी, सुनकोशीको आसपास धेरै माझीहरू बस्न पुगेका भनेर गुरु भन्नुहुन्थ्यो । मैले आफैले देखे अनुसार रामेछाप सदरमुकामको मन्थली बजारपश्चिम तामाकोशी किनारैकिनार माझीहरूको ठूलो बस्ती छ । खिम्तिनेर त माझी गाउँ भनेरै सडक विभागले सूचक बोर्ड ठड्याएको छ । ढोलीखोलामा तिनै माझीले तामाकोशीमा समाएका माछा ल्याएर काठमाडौँमा मैले भान्सा मिठ्याएको पनि छु । तिनै माझीहरूका दाजुभाइले तार्ने नाउको छेउमा आज अघिल्ला कैयौँपल्ट जसरी नै बुङवाजोर घाटमा म उभिएको थिएँ ।
घाट सञ्चालनको इतिहासमा यसै दशैँमा त्यहाँ नाउयात्रीहरूका लागि लागि लाइफज्याकेट ल्याइएको रहेछ । त्यही ज्याकेटले खेवा बढाएको थियो । खेवा बढे पनि पानी उर्लिन नछोडेको असोजको कोशीमा सो ज्याकेट बाँधेपछि ढुक्कले नाउमा पस्न सकिन्थ्यो । ठेकेदार पौवासेरातिरका पुमा भाषा बोल्ने राई थिए । तिनले प्रतिथान दुई हजारमा दश वटा लाइफज्याकेट ल्याएको मलाई बताए । यात्रुहरू पहिलोचोटि अप्ठ्यारो मान्दै ज्याकेट बाँधिरहेका थिए । ‘कोशीले यो ज्याकेटलाई के पत्याउला र ?’ भन्ने उनीहरूका मनमा थियो । यद्यपि त्यो ज्याकेट सुरक्षाको महत्वपूर्ण जलसाधन हुँदै हो । ज्याकेटको सीमिततका कारण एउटै मात्र नाउ चलिरहेकोले बगरमा बटुवाहरूको उरुङ लागेको थियो ।
खेवापाथीलाई प्रत्येक चोटि एउटा सिट सुरक्षण गरिने नियम नाउ सञ्चालकहरूको वर्षौँदेखि लगाइआएका थिए । उहिले नगद सुलभ रुपमा प्रचलनमा नआइसकेको समयमा घाट तर्नेहरूले तार्नेहरूलाई वार्षिक रुपमा अन्नपात र चाडवाड भाग दिने चलन थियो । यसैलाई खेवापाथी भनिन्छ । अहिले खेवापाथी चल्ने सबै घाटहरूमा आसपास बस्ने स्थानीयहरूलाई मात्र लागु गरिएको हुन्छ । मैले सोध्दा उनीहरू प्रतिघरधुरी हरेक वर्ष तीन पाथी कोदो घाट सञ्चालकलाई खेवापाथी बुझाउने गरेको बताउँथे । खेवा बढेजस्तै खेवापाथी पनि मुठी माना हुँदै तीन पाथीमा आइसकेको थियो । खेवापाथी सुरु भएको बेलाको अञ्जुली र अहिलेको पाथीमा तात्विक फरक छैन । अन्न प्रशस्त नहुने भोकमरीको उहिलेको समयमा मुठीमा पाथी पानी मिसाएर खोले खाएर बाँच्ने जमाना पनि नभोगेका होइनौँ हामीले ।
म आफै पनि दशैँको छुट्टी सकेर काठमाडौँ फर्कँदा यही घाटमा पहिलो चोटि लाइफ ज्याकेट लगाएर र चालीस रुपैयाँ तिरेर दूधकोसी तरी आएँ । घाटमा भीडभाडका कारण करिब चार घण्टा आफ्नो पालो कुर्नुप¥यो । सबै यात्रु उस्तै हतारका कारण मैले आफ्नो पालो बाहेक अघि जान कुनै प्रयत्न गरिनँ । बरु दूधकोशीमा छेपारी मुनि खुट्टा डुबाएर किनारमा दुईघण्टा मस्त निदाएँ । पारी तरेपछि धेरै चिनजानका भेटिए, जो पालो मिचेर छिट्टै तरेको मलाई सगर्व सुनाउँथे । मैले भने मेरो कारणले कोही पनि आफ्नो पालो भन्दा पछि पर्नु नपरेको र कुरेरै पालोमा आएकोमा अहिले पनि आनन्द लागिरहेको छ ।
यो घाटको मेरा आफ्नै स्मरण छन् । आजभन्दा लगभग डेढ दशक अघिदेखि म यो घाटमा हिडेँहुँला । मलाई थाहा भएसम्म यो घाटमा खेवा बाह्रआना (पचहत्तर पैसा) थियो । हुन त मैले जान्दासम्म नै बेल्टारमा ढिके नुनको भाउ पनि प्रति किलो पचहत्तर पैसा नै थियो । यो त्यो बेला थियो, जतिबेला अहिलेको धुलो पाकेटको नुन प्रचलनमा आइसकेको थिएन ।
उतिबेला घाटमा बेल्टार नुन लिन आउनेहरूको ठूलो भीड हुन्थ्यो । सबैले ढाकर बोक्थे । यसरी आउनेहरूमा सोलुखुम्बुतिरका स्थानीयहरू पनि थिए । मैले उतिबेला सोध्दा उनीहरू नौ दिनको नुन यात्रा सम्पन्न गरेर मात्र घर पुगिन्छ भन्थे । मेरो पनि खुट्टामा मासी जवान हुँदै गएपछि बेल्टार नुन लिन ढाकर बोकेर धेरै चोटि झरेँ । कहिले दिदीहरूसँग त कहिले घर पारिको बोजेनी दाइसँग । बोजेनी दाइसँग अधिक चोटि नुन लिन झरेँ । किनकि उनी गाउँका धेरै जनाको नुन बोकिदिन्थे अधियामा । म उनैको पछि लाग्थेँ घरमा मधेसबाट नुन ल्याइपु¥याउनका लागि ।
घाटमा एकादुई झोला बोकेर आउने बटुवाहरूले ढाकरेहरूलाई उपेक्षा गर्थे । आफ्नो झोला भएकोले छिटो जान पाउनुपर्ने भन्दै धकेल्दै नाउ चढ्थे । यस्तो अन्यायमा बालुवामा तोक्मा लगाएर उभिइरहेका ढाकरेहरू घरिघरि ठेकेदारतिर तोक्मा उज्याएर जाइलाग्थे । मलाई पनि झोलेहरूसित रिस उठ्थ्यो, तर म मुड्की उज्याएर तर्साउन जान चाहिँ नाडी छिप्पिइसकेको थिएन । झोले प्रवृत्तिले मलाई भित्रभित्रै भने रिस उठ्थ्यो, किनकि म आफू पनि ढाकर बोकेर पालो पर्खँदै दूधकोशीको छालमा पालो कुर्दै उभिइरहेको हुन्थेँ । यो घटना—कथाको बारे मैले एक कथा लेखेको थिएँ आठ वर्ष अगाडि ‘बोङवाजोरघाटमा किस्ने’ भन्ने शीर्षकमा । त्यो कथा खोटाङबाट निस्कने सनराइज साहित्यिक द्वैमासिकमा छापिएको छ ।
दशक अगाडि होला, घाटमा खेवा पाँच रुपैयाँ पुग्दा ढाकरेहरूमा खैलाबैला मच्चियो । धेरैले बाटोभरि खेवा बढी भयो भनेर चर्चा र विरोध गर्दै हिँडको सुन्थेँ । परन्तु त्यो पाँच रुपैयाँको मार म आफूलाई पनि परेको थियो । पाँच रुपैयाँको चिउरामा उति नै रुपियाँको दही वा आधा प्लेट थुक्पा किनेर खाँदा भरपेट पुग्थ्यो । बेल्टारदेखि नुन बोकेर फर्कँदा बोजेनी दाइले पाँच रुपैयाँ महङ्गो भएका कारण पुलबाट घुमेर जाने मलाई प्रस्ताव राखे । मैले उनको मनको कुरा बुझ्थेँ, उनी मेरो मनको कुरा बुझ्थे, त्यसैले त हामी सधैँ सँगै नुन लिन झथ्र्यौँ, अथवा म उनको साथ लागेर नुन लिन झर्थेँ । घाटबाट खाली ज्यान पुल पुग्न एक घण्टा लाग्छ । भारीसँग त तीन घण्टा घुम्नु पर्ने हुन्थ्यो, हामीले घुम्यौँ । तर, पुलमा पनि उतिबेला एक रुपैयाँ खेवा लिइन्थ्यो ।
घाटमा पहिलेदेखि नै पालोमा नाम लेखाएर क्रमशः तर्ने नियम अहिलेको होइन, उहिलेकै हो । पालो नआएकाहरू किनारमा ढाकर बिसाएर बालुवा खोस्रेर सम्म बनाइ सुत्नुपथ्र्यो । एक दिन आपा र अन्तरी दिदीको पनि हालत त्यस्तै हुन पुगेछ । धन्न जुनेलीमा माझीले नुन बोक्ने ढाकरे बाउछोरीको अवस्था मनन गरेछ, र जूनको छायाँको लहरमा कोशी तारिदिएछ । दिनभर कोशीमा पसिना बगाउने माझी न थियो ऊ, ढाकर बोकेर निधारबाट पसिनाको धारो बगाउने प्रति उसको समभाव हुनु नजाति थिएन ।
केही सालअघिसम्म हिउँदभर गड्तीर वारिपारि मेला लागेजस्तै हुन्थ्यो अस्थायी टहराहरूले । नजिकै गाउँका भित्ताहरूबाट बटुवाहरूको गाँसबाँस मिलाउने व्यापारको लागि टहरा बनाई धेरै स्थानीयहरू झरेका हुन्थे । त्यस्तो क्रम अहिले अलिक कम भए पनि बाटो हिँड्ने बटुवाको अनुपातमा टहराहरूको कुनै खाँचो अहिले पनि देखिँदैन । यही टहराहरूमा बस्ने निश्छल र सुन्दर आफ्नै बहिनी जस्ता लाग्ने किशोरीहरू कोही थुक्पा पकाइरहेका त कोही भाँडा माझिरहेका भेटिन्थे । कति त धेरै मायालु पनि लाग्थे । उनीहरू अलि गोजी तातो भएका आक्लझुक्कल ढाकरेहरूले माग गर्ने बोडी, आठपोल, बिसौली सुँगुरको मासु पनि पकाइदिन्थे । त्यसो त कैलेकाहीँ गाउँलेहरू गड्तीरमा सुँगुर पनि ढाल्थे, ढाकरेहरूले एकदुई फिर्का मोल्दै खाइ पनि सक्थे ।
मैले यस्तै टहरो बनाएर ढाकरेको सेवा व्यापार गर्ने युवतीको बयानमा ‘तायाहाङमा’ शीर्षकको कथा लेखेको थिएँ, जुन जनविश्वास साप्ताहिक धनकुटामा छापिएको थियो, रेडियो नेपालको गीतिकथा कार्यक्रममा बान्तावा र नेपाली भाषामा प्रसारित पनि भयो । पछि मैले मेरो दिलाक्लाम कथा सङ्ग्रहको पहिलो कथाको रुपमा किताबमा त्यसलाई छापेँ ।
अहिले बोङवाजोर घाट एक किंवदन्ती बन्ने समयको संघारमा अभिषप्त छ । त्यो घाटको विकल्पमा अहिले मोटरबाटोहरू दूधकोशी तरेर उँभो लागिसके कति ठाउँमा । भोजपुरमा नारदमनि थुलुङ राजमार्ग, पाख्रीबास—हतुवा—आमचोक सडक र रानीटार—चखेवा सडकले गाउँ छिचोल्न थालेपछि यो घाटलाई बिर्साउने आधुनिक कहानीको अध्याय सुरु भइसकेको छ ।
खोटाङको चिसापानी, चखेवाभञ्ज्याङ, मूलडाँडा, सीमानाको पान्धारेमा छ पाङ्ग्रे मोटर कुध्न थालेपछि बाटोको ढुङ्गालाई चिप्लिने गरी टेकेर हिँडेका बोङ्वाजोर घाटबाट एक युग हिँडेका बटुवाहरू वेपत्ता भइ गएका छन् । नुन बेल्टारमा होइन, अहिले ट्याक्टरको थाप्लामा आँगनमै हाजिर छ बोरामा, पहाडी गाउँहरूमा । तरकारीमा नुन चर्को भएको दिन ‘बेल्टार नजिक भएछ’ भन्ने उखान अब कल्ले गर्ला र खै ? मोटरबाटोले कसरी खकन—तोक्माहरू गाउँलेहरूले बिसाएर एक जुगको स्मरण गरिरहेका छन् भन्ने बारे मैले ‘हर्कुमानेले भारी बिसायो’ भन्ने कथा बान्तावा भाषामा लेखेको छु, जुन दिलाक्लाम कथासंग्रहमा छापिएको छ । म जस्ता गाउँको भुक्तभोगीले लेख्ने कथा त्यस्तै हुन् जस्तो लाग्छ, र लेख्न बस्दा आफ्नै कथा लेखेजस्तो नअड्किकन मेलो सर्छ । वास्तवमा मैले लेख्ने हरेक कथा मेरो जीवनको परोक्ष नै पनि कसरी रहन सक्ला र ?
झन्डै बाह्र वर्ष अगाडि हाम्रै गाउँका अमृतपाल दाइ दीपक बान्तावासित नुन लिन बेल्टार झरेका थिएछन् । उनी अप्राहा मुनिको फाँटिलो बगर रहेको चौतारीमा बिसाएर भेटिएका तासेहरूको हुलमा मिसिएर तास खेल्न थालेछन् । उनले तासमा यति हारेछन् कि गोजीमा कुनै पैसा बाँकी नरहेपछि उतिबेलामा दमवाला सिको फाइभ घडी दुई सयमा मोलेर खेलेछन्, तथापि उनले घडी पनि फिर्ता गर्न सकेनछन्, हारेछन् । उनी उठ्दा उनको साथमा भित्री गोजीमा बडा कष्टले जतन गरिराखेको दुई रुपियाँ मात्र थियो भनी दीपक मलाई बताउँथे । त्यो दुई रुपियाँ अरु नभएर घाट तर्नलाई थियो अरे । यस्ता किंवदन्तीका अनेक पाना बन्ने शृङ्खला अब बुङ्वाजोरघाटमा विस्मृतिमा विलिन हुने तरखर गर्दैछ, र अब त कसले गाउँमा मोटरसाइकल ढिकीमा पार्किङ ग¥यो भन्ने शानसौकतको आधुनिक गाथा निर्माण हुन थालेको छ ।
मैले माथि भोजपुर मुनि पिखुवाको उकालो पैयापानीको बाटो पोहोर हतुवाका शिक्षक दिलकुमार राईसँग सबेरै टस बाल्दै ओरालो झर्दा उहिलेको त्यो फराकिलो बाटोमा दिनैपिच्छे कसरी मेला लाग्दो थियो भन्ने गफ गर्दै झरेका थियौँ । पिखुवा किनारमा उहिले बटुवाहरूको दोहोरी खेल्ने गोठ र कटेराहरू जम्मै ढलेका देखिन्थे । ती चौतारा, पाटी र फलैँचाहरू उहिले बसेर गएका बटुवाहरूको चीर स्मरण गर्दै वियोगमा तड्पिबसेको असहाय झैँ देखिन्थे । ती सबै बटुवाहरूलाई अहिले हिले—भोजपुरको सडकले कोखमा राखेर गुडाएर लगिसकेको छ । दुङमाको उकालो समी कटेजमा इन्द्र, भुवन, माधव र मैले खाना खाएको धेरै वर्ष भएको छैन, जतिबेला त्यहाँ मानिसहरू कुपन हातमा लिएर भात खान लाइन लाग्थे । अघिल्लो वर्ष दुङमा जाँदा त्यो कटेज नै ढलिसकेको थियो । समीको रुखचाहिँ बढेर पिपल हुन लागेको थियो । सग्लो एउटै थियो, समी कटेज लेखिएको साइनबोर्ड, जो उत्तानो थियो । समी कटेजका मालिक तारा राई पनि पोखरा भासिइन् भन्ने समाचार गाउँलेहरूले दिए ।
त्यसरी नै यो बोङवाजोर पनि कुनै दिन खण्डहर होला भन्ने मलाई क्षणभङ्गुर पिरलो हुन्छ । मैले पनि कुनै दिन यहाँ ढाकर बोकेर हिँडेको थिएँ भनेर भन्न पनि म आफै आइनपुगुँला भन्ने मनोभावको छालले हिर्काइदिन्छ । मलाई अहिले इन्द्रावती, सुनकोशी, तामाकोशी र यस्तै दूधकोशीहरूको शिरैशिर गाडीमा गुडुल्किइहिँड्दा पनि बोङ्वाजोर घाटको याद आइरहन्छ, नआएको क्षण हुँदैन ।
।।।।।
बोजेनी दाइको पनि अहिले कुम हलुङ्गो भइसकेको छ । तिनका दुवै छोराले मलेसियामा कमाउन थालेका छन् । जेठा कमलसँग पनि मैले ढाकर बोकेँ । उनी गाउँका प्रधानबाजेको बीस किलो चिनी बोक्थे डोकामा । एकदिन लडेर कोशीपारि ढ्याङग्रे खोलामा तिनको घुँडामा चोट लाग्यो । रगत बग्यो । उनी रुन थाले । उनको पीडा देखेर हाम्रा आँखा ओसिला भएका थिए । तिनी पछि पोखरामा निर्माण कार्यको ठेकेदार भए । गाउँमा सबैभन्दा पहिला आफ्नै मोटरसाइकल गुडाएर ल्याउने तिनै कमल भए । तिनले परार गाउँमा सबैभन्दा महङ्गो सत्तरी हजारमा लैनो भैँसी बाउलाई किनिदिएर मलेसिया उडे । तिनलाई म जैले भेट्दा पनि स्याब्बास् भतिज भनेर अँगालो मार्छु । तिनले बाउलाई फुर्सद दिएकामा उनका बाउ पछि म नै बढी खुशी हुन्छु, आखिर सोकोपेको उकालोमा भारी बिसाएर काँक्राजस्तै करेला ताछि खाएको हामीले नै त थियो ।

Saturday, September 20, 2014

नेपालको घुम्नैपर्ने १३ गन्तब्य

20 Sep 2014

  • ४ असोज, २०७१

Haleshidham
हलेसीधाम
हलेसीधाम हिन्दु, बौद्धमार्गी र किरातीको साझा तीर्थ। हिन्दुका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित ठाउँ। जुन खोटाङको महादेवस्थान–४ मा पर्छ।

हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ। गुफामा धर्मद्वार, जन्मद्वार र पापद्वार छन्। गुफाका मूर्तिलाई धर्मपिच्छे फरक–फरक नाउँले पुजिन्छ। हिन्दुले पार्वती मानेकोलाई बौद्धमार्गी आयुकलश भन्छन्।
दुइटा ठुला गुफा छन्। वरपर अरू गुफा। गुफामा आ–आफ्नै हिसाबले पूजा गर्छन्। बत्ती बाल्छन्। ध्यान गर्छन्। हलेसी गुफा पहरामा छ। गुफामा महादेव बास भएको हिन्दु मान्यता छ। गुफाभित्र थरीथरीका मूर्ति। शिवलिंग, गणेश, कुमार र पार्वती। र, चमेरा।
किरातीका पुर्खा रैछाकुलेलेे गुफा पत्ता लगाएका हुन्। उनीहरू हलेसीलाई पितृ मान्छन्। हलेसीमाथिको तुवाचुङ डाँडा रमणीय छ।
बौद्धमार्गीका अनुसार हलेसीमा बसेर ध्यान गरेपछि गुरु पद्मसंभव चिरञ्जीवी बने। गुफा छेउमा मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा र गणेश मन्दिर छ। गुम्बामा शाक्यमुनि गौतम बुद्ध, अवलोकितेश्वर र पद्मसंभवका मूर्ति छन्।
हलेसी गुफा पश्चिमपट्टि बसाहा गुफा छ। त्यसको पल्लोछेउमा पुगेर हेर्दा माथि आकाश खुला देखिन्छ। गुफा भएको पर्वतलाई बौद्धमार्गी अवलोकितेश्वर पर्वत मान्छन्। बसाहा अघिल्तिरको बज्रपाणी र उत्तरपट्टिको मञ्जुश्री पर्वत। डाँडा ध्वजापताकाले रंगीन।
गुफामा बुद्धपूर्णिमा, लोसार, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी, तीज, उभौली र उधौलीमा मेला लाग्छ।
हलेसीमा नेपाली सामान्यत एक रात बस्छन्। त्यहाँ मध्यम खालका होटल छन्। पानीको समस्या छ। होटल रोयल, डुङदेलो रिसोर्ट, शिवदर्शन गेस्ट हाउस, अनिता होटल, जगत होटल, हरि राई होटल, बस्नेत होटल आदि राम्रा मानिन्छन्।
गुफा नजिकैसम्म मोटर चल्छ। हलेसीसम्म बाटो पक्की छैन। घुर्मी तरेपछि उदयपुर र ओखलढुंगा जोड्न सुनकोसी र दूधकोशीको जयरामघटमा पक्की पुल छैन। बर्खा सकिएपछि अस्थायी पुल हालिन्छ।
खल्तीमा छ हजार रुपैयाँ बोक्यो भने बसभाडा र दुई रात हलेसीमा बिताउन पुग्छ। फर्कंदा मस्याङ, भट्मास, खुर्सानी, बदाम, गुन्द्रुक र मास कोसेली ल्याउने।
कसरी पुग्ने : काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २१६ किमि। काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन्। जीपमा १० घन्टा।

उज्यालो भविष्य 
मदन राई
संस्थापक, खोटाङ विकास मञ्च
सगरमाथा, लुम्बिनी र त्रिवेणीधाम हेर्न संसारका पर्यटकलाई तान्न सकिन्छ। भोलि संसारभरका हिन्दु, बौद्धमार्गी र प्रकृतिपुजक हलेसीमा ओइरिनेछन्। त्यो दिन कल्पना गरेर हामीले पूर्वाधार विकास गर्नुपर्छ। सरकारले बेलैमा जग्गा अधिग्रहण गर्नुपर्छ। व्यवस्थित बसपार्क र होटल खुल्नुपर्छ। पर्यटकलाई हलेसी वरपर घुमाउने वतावारण बन्नुपर्छ।
Chitwan
सौराहा
सौराहा बजार वाइल्ड लाइफ प्रेमीको संसार। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र। निकुञ्जबाहिर राप्ती किनारमा रहेको बजार उत्तर–दक्षिण फैलेको छ। त्यहीँ छन् होटल, लज, रिसोर्ट र रेस्टुराँ छन्। पाँच सयदेखि हजारौं मूल्यका कोठा छन्।
इन्डियन, चाइनिज, कन्टिनेन्टलदेखि थारू खानासम्म पाइन्छ। थारू परिकारमा घोँगी, चिँचर, हाँस र माछाको मासु र लोकल रक्सी हुन्छ।
निकुञ्जमा ५०३ गैंडा, १२५ बाघ र ६२५ प्रजातिका चरा छन्। अरू थरीथरीका जनावर छन्। सौराहा पुग्नेहरू निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्छन्। सफारीमा गैंडालगायतका जनावर देखिन्छन्।
प्याकेजमा घुम्न सजिलो हुन्छ। व्यवसायीले प्याकेज बनाएका छन्। दुईराते प्याकेजको छ हजार रुपैयाँ पर्छ। थारू संस्कृति, सूर्यास्त, डुंगा सफारी र हात्ती सफारीमा नेपाली झुम्छन्। साँझ राप्ती किनारको पबमा बसेर मदिरा तान्दै सूर्यास्त हेर्छन्। सामान्यतः नेपाली एक रात बस्छन्। जंगल वाक र डुंगा चढ्न गाइड अनिवार्य चाहिन्छ।
मरुभूमिमा हुने ऊँट चढेर सौराहा घुम्न सकिन्छ। त्यहाँका नेचर गाइड केशव खनालले बिहारबाट ऊँट ल्याएर सफारी गराउँदै आएका छन्। ऊँटको जुरोमा हौदा राखिन्छ। त्यसमाथि यात्रु बस्छन्। ऊँटमा दुई जनासम्म बस्न मिल्छ। माहुतेले डोर्याोउँछन्।
त्यहाँ नदीमा मगर गोही देखिन्छ। बजार छेवैमा आखेटोपहार संग्रहालय छ। अलिपर थारू संग्रहालय छ। हात्ती प्रजनन केन्द्रमा हात्ती हेर्न रमाइलो हुन्छ।
१० वर्षअघिदेखि क्षेत्रीय होटल संघ चितवनले मंसिर–पुसमा हात्ती दौड प्रतियोगिता गर्दै आएको छ। त्यसले आन्तरिक पर्यटक बढाएको व्यवसायीको अनुभव छ।
बजारमा साँझ टिकट काटेर थारू नाच हेर्न पाइन्छ। महिला पनि नाच्छन्।
असोजदेखि पुससम्म र फागुनदेखि असारसम्म सौराहा घुम्ने मुख्य सिजन। सौराहाको पर्यटन इतिहास ४१ वर्ष पुरानो छ। सरकारले २०३० मा निकुञ्ज बनाएपछि पर्यटक आउन थाले। बिस्तारै होटल खुल्दै गए। सय होटल छन्। एसीयुक्त कोठा। वाइफाइ सुविधा।
खर्चिलो छ यात्रा। दुईराते प्याकेजसहित काठमाडौंबाट आउन जान आठ हजार रुपैयाँ चाहिन्छ। त्यहाँ जनावरअंकित टिसर्ट, गैंडा, माछा, बाँदर, हात्तीका डमी र हात्तीको लिँडबाट बनेका हस्तकला पाइन्छ।
कसरी पुग्ने : काठमाडौं–सौराहा १६५ किलोमिटर। काठमाडौं कान्तिपथबाट बिहान सात बजे पर्यटक बस छुट्छन् भने सौराहाबाट बिहान साढे नौ बजे। तिनले पाँच घन्टामा पुर्यािउँछन्।

हात्ती सफारी 
ज्ञानकुमार विष्ट
अध्यक्ष, क्षेत्रीय होटल संघ चितवन 
नेपाली सामान्यतः एक रात बस्छन्। हात्ती अनिवार्य चढ्छन्। वर्षमा ६० हजार नेपाली आउँछन्। धेरैजसो परिवार आउँछन्। हनिमुन मनाउन आउने पनि छन्। चिनियाँभन्दा नेपाली खर्चालु छन्। मन खोलेर खर्च गर्छन्।
Pokhara
पोखरा
पोखरा प्रकृतिको सुन्दर उपहार। एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन्। हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना। प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प र जीप फ्ल्याएरजस्ता साहसिक खेल पनि त्यहीँ खेल्न पाइन्छ।
त्यहाँबाट कुमारी माछापुच्छे्र, पुठ्ठा हिउ“चुली, धौलागिरि, मोदित्से, अन्नपूर्ण, घान्द्रुक, हिउँचुली, नीलगिरि, मर्दी लम्जुङ, मनास्लुलगायत दर्जनौं हिमाल देखिन्छ।
फेवातालमा डुंगा चढिएन भने पोखरा गएको अर्थै रहन्न। पोखरा उपत्यकाको बेगनास तालमा पनि डुंगा चल्छ। अरू ताल पनि छन्, कमल, रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी।
गुफा धेरै छन्। पोखरा–१६ बाटुलेचौरमा महेन्द्र गुफा छ। त्यहाँबाट सात सय मिटरमा चमेरेगुफा। पोखरा–१८ छोरेपाटनमा गुप्तेश्वर गुफा। गुफामा १४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स देखिन्छ। छाँगोमा असोजसम्म पानी धेरै हुन्छ।
जमिनमुनि भासिएकी सेती नदीको रूप केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म देखिन्छ।
संस्कृतिका हिसाबले धनी छ पोखरा। बाटुलेचौरमा सारंगी बस्ती छ। पोखरामा पाँच वटा संग्रहालय छन्। गोरखालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुल छेवैमा छ। शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय क्होइबो छ। रातो पहिरोमा पर्वतीय जनजीवन चिनारी दिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय छ।
पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियम पुतली संग्रहालय बनेको छ। त्यहाँ छ सय प्रजातिका पुतली छन्। नयाँ बजारमा क्षेत्रीय संग्रहालय छ, जहाँ पश्चिमाञ्चलको झल्को मिल्छ।
घुम्नलाई तिब्बती शरणार्थी क्याम्प छ। हेम्जा, पृथ्वीचोक र छोरेपाटनमा। माने घुमाउँदै 'ओम् माने पेमे हु“' भन्नेहरू भेटिन्छन्। तिब्बती गाउँ भने हुन्छ, क्याम्पलाई।
फेवाताल, पोखरा बजार र हिमाल एकै झमटमा हेर्न विश्व शान्ति स्तुप छ। १७५ फिट अग्लो स्तुपको आँगनबाट मनमोहक दृश्य देखिन्छ। असोजदेखि हिमाल खुल्छन्। चिया सुरुप्प पार्दै हेर्न पाइन्छ।
तालमा डुंगा चढेर अनदु फेदीबाट उकालो चढे स्तुपा पुगिन्छ। छोरेपाटनतिरबाट ट्याक्सीमा जान सकिन्छ। सूर्योदय र हिमाल हेर्न सराङकोट र काहुँकोट छन्।
गुम्बा धेरै छन्। माटेपानी, हेम्जा सबैतिर। तालवाराही मन्दिर छ। विन्ध्यवासिनी र भद्रकाली मन्दिर। मियापाटनमा मस्जिद।
बास बस्न फेवा किनारमा रमाइलो हुन्छ। त्यहाँ अत्याधुनिक होटल/रेस्टुराँ छन्। संसारभरका परिकार पाइन्छ। अबेरसम्म निदाउँदैन लेकसाइड। मिठो दालभात पाक्छ, थकालीका भान्छामा। ड्यामसाइटको होटल मोनालिसा, लेकसाइडको माइलीको भान्छा, न्युरोडको थकाली भान्छा लोकप्रिय छन्।
पृथ्वीचोक, महेन्द्रपुल र सिर्जनाचोकतिर पनि छन् होटल। हल्लनचोकबाट पामे जाने बाटोमा सस्ता कोठा पाइन्छ। लेकसाइडमा छ सयदेखि हजारौं मूल्यका कोठा पाइन्छ।
दुई रात पोखरा बसेर घुम्न सात हजार रुपैयाँ। त्यसले बस भाडा तिर्न र खान/बस्न घुम्न पुग्छ। त्यहाँबाट सारंगी, डाँडाघरे वाइन, 'पोखराको सम्झना' लेखिएका गलैंचा कोसेली ल्याउन सकिन्छ।
कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि। काठमाडौंको कलंकीबाट बिहानैदेखि बस तथा माइक्रो छुट्छन्। कान्तिपथबाट बिहान सात बजे छुट्ने टुरिस्ट बस आरामदायी हुन्छ। हवाई यात्रा ३० मिनेट।

पोखराको मात 
झलक थापा, पर्यटनविद्
पोखरामा प्रकृतिले अँगालो मार्छ। पर्यटक एक्लै रमाउन सक्छ। हिमाल, वनस्पति र डाँडामा हराउन सक्छ। एक दिन होइन, महिनांै बस्न सक्छ। पोखराको मातले छुन्छ। मन हुँडलिन्छ। सृजनशील बन्छ। घुम्ने ठाउँ प्रशस्त छ, भेट्ने मान्छे प्रशस्त छन्। पोखरेली अझै आत्मीय बन्नुपर्छ।
ilam
इलाम
एउटा रमाइलो भनाइ छ– झापाली खेती, इलामे केटी, ताप्लेजुङको तोङ्बा र सुकुटी!
देशभर इलाम चर्चित छ, चियाबारीले। इलमी छन्, इलामे। चिया, अदुवा, अमि्रसो, ओलन (दूध), अकबरे उत्पादन गर्छन्। एग्रो टुरिज्म गन्तव्य बन्दै छ, इलाम।
नेपालको पहिलो चिया बगान त्यहीँ छ। सदरमुकाममा बडाहाकिम गजराजसिंह थापाले विसं १९२० मा चिया रोपेका थिए। त्यो बेला ११८ एकडमा रोपिएको थियो। अहिले ५५ हजार हेक्टरभन्दा बढीमा चिया खेती छ। चिया प्रशोधन कारखाना विसं १९३५ मा खोलिएको।
इलाम बजार चिटिक्क छ। त्यहाँ राई, लिम्बू, बाहुन, क्षत्री, मगर, नेवार, शेर्पा, लाप्चा र मधेसी अनुहार भेटिन्छन्। 'इलाम घुमौं जीवनभर रमाऔं' भन्ने नारा छ, होटल एसोसिएसनको। घुम्नलायक धेरै ठाउँ छन्। माइपोखरी, सन्दकपुर, कन्याम, अन्तुडाँडा, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धिथुम्का, गजुरमुखी, माइखोला, पाथिभरा, मंगलबारे आदि।
इलाम बजारमा दर्जनौं होटल छन्। पाँच सयदेखि हजारौं मूल्यका कोठा पाइन्छ। अन्यत्र पनि कतै होटल छन्, कतै होमस्टे।
सदरमुकाममा भ्यु–टावर, भालुढुंगा, चुरेघाँटी गुम्बा, नारायणस्थान, माइस्थान, भीमसेनस्थान, चिया कारखाना, क्याम्पस, सिंहवाहिनी र सेतीदेवी मन्दिरलगायत पर्यटकीय सम्पदा छन्।
मेची राजमार्गको चारआलीबाट पसेपछि कन्याममा चियाबारीले स्वागत गर्छ। बगानबीचमा नागबेली सडक। मोटर वा बाइकमा हुइँकिँदा मज्जा हुन्छ। बगानलाई कुहिरोले ढाकिरहन्छ। बगानमा चिया टिपेको दृश्य सधैं देखिँदैन। चैतदेखि मंसिरसम्म मुना टिपिन्छ।
इलामको अग्लो डाँडो सन्दकपुर (३,६३६ मिटर)। ल्यान्डरोभर चढेर जान सकिन्छ। दार्जिलिङ र इलामको सीमावर्ती सन्दकपुरमा होटल छन्। त्यहाँबाट कुम्भकर्ण, कञ्जनजंघालगायत दर्जनौं हिमाल देखिन्छ।
फिक्कलमा लाप्चा जाति बस्छन्। लोपोन्मुख लाप्चा करिब ४५ सयको संख्यामा छन्। फिक्कलमा प्रेमबहादुर लाप्चा संग्रहालय चलाउँदै छन्। लाप्चा प्रकृतिपुजक हुन्। बजारमाथि फेन्सोङ गुम्बा छ। गुम्बामा बुद्ध, गुरु पद्यसंभवका मूर्ति छन्।
कहलिएको अर्को गन्तव्य अन्तुडाँडा। फिक्कलबाट १५ किमिको डाँडा (१,८२३ मिटर) बाट सूर्योदय/सूर्यास्त देखिन्छ। असोजदेखि घुम्न रमाइलो हुन्छ। गाउँमा होमस्टे सुविधा छ।
फिक्कलबाट ३५ किलोमिटरमा इलाम बजार। १० किलोमिटरमा पशुपतिनगर। पशुपतिनगर दार्जिलिङ पस्ने नाका। धेरै नेपाली फिक्कल हुँदै दार्जिलिङ पस्छन्। एक रात इलाममा बस्दैनन्। कन्याममा दुई–चार फोटा खिचेपछि इलाम घुमेको सम्झन्छन्। त्यतिमात्रै होइन इलाम। मेची राजमार्गको कोलबुङ–२ कुटिडाँडामा बहिनी पाथिभरा छिन्। ताप्लेजुङकी बहिनी।
आठ हजार रुपैयाँले बसभाडा तिर्न र इलाममा दुई रात बिताउन पुग्छ। बजारका कोसेली घरमा बम्बैसन, ललिपप, छुर्पी, चीज, चिया, अकबरे खुर्सानी, आलु आदि पाइन्छ।
कसरी पुग्ने : काठमाडौंको कोटेश्वरबाट ६९० किमिमा इलाम बजार। कोटेश्वरबाट दिउँसो छुट्छन् डिलक्स बस। तिनले १४ घन्टामा पुर्यारउँछन्।

चिया पर्यटन
धर्म गौतम, इलामविद्
प्राकृतिक इलाम हेर्न सदरमुकामभन्दा बाहिरका गाउँ डुल्नुपर्छ। पर्यटकले राम्रो आतिथ्य पाएनन् भन्ने गुनासो सुनिन्छ। पुराना घरमा होटल चलाइएको छ। हामी व्यवस्थित होटल खोल्न र अतिथि सत्कार आत्मीय बनाउन प्रोत्साहित गरिरहेका छौं। प्याकेजमा इलाम घुमाउन कम्पनी नभएर पनि समस्या छ। पर्यटकको सुविधाका लागि इलाम–काँकडभिट्टा पर्यटक गाडी चलाउने होमवर्क भइरहेको छ।
Pathibhara
पाथिभरा
अन्न भरिएको पाथीजस्तो देखिने ताप्लेजुङको डाँडालाई पाथिभरा (३,७९४ मिटर) का नाउँले चिनिएको छ। त्यहाँबाट कुम्भकर्ण, कञ्चनजंघा हिमशृंखला देखिन्छ। कुम्भकर्णलाई लिम्बूहरू फक्ताङलुङ भन्छन्। किराँत देवदेवी युःमा र थेःवाको क्रीडास्थल फक्ताङलुङ भएको महागुरु फाल्गुनन्दले बताएका छन्।
पाथिभरामा सिंहवाहिनी देवीका मूर्ति छन्। जनविश्वासअनुसार पाथिभरा दर्शन गरे जन्मै हातखुट्टा नचल्नेका पनि हातखुट्टा सल्बलाउँछन्, दृष्टिविहीनका आँखामा ज्योति भरिन्छ। निःसन्तानलाई सन्तानलाभ हुन्छ। गरिब धनी हुन्छन्। शत्रु निर्बल हुन्छन्। मित्र पुनःमिलन हुन्छ। पढाइमा सफलता मिल्छ।
मन्दिरमा पहिले पुजारी बस्दैनथे। ०५७ सालदेखि बस्न थालेका। चढाइएको भेटी पुजारीले पाउँदैनन्। समितिको खातामा जान्छ। पुजारीले तलब पाउँछन्।
फागुनदेखि कात्तिकसम्म पाथिभरा दर्शन राम्रो मानिन्छ। असोज–कात्तिकमा हिमाल झलमल्ल टल्किन्छन्। डाँडामा आठ वटा धर्मशाला छन्। पानीको दुःख भएकाले तीर्थालु बस्दैनन्।
कान्छीथानदेखि सेतो धागो टाँग्दै मन्दिरसम्म पुर्याुउने चलन छ। आयु लामो हुने विश्वासले। पाथिभरामा भारतको आसाम, मणिपुर, मेघालय, गुवाहटी, सिक्किम, भुटानदेखिका आउँछन्।
ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर दुरीमा छ मन्दिर। सुकेटार विमानस्थलसम्म सडक पक्की छ। फुङलिङबाट हिँडेर जान १०–१२ घन्टा लाग्छ। ठाउँ–ठाउँमा खाने/बस्ने लज छन्। १६ किमि पर भालुगौंडेसम्म रिर्जभ जीप जान्छ। फेदीभन्दा माथि होटल छैनन्। फेदीबाट दुई घन्टा उकालो बिस्तारै हिँड्नुपर्छ। आराम गर्दै, पानी खाँदै। चुरोट र रक्सी खानु हुँदैन।
फुङलिङ र सुकेटारमा राम्रा होटल छन्। अन्यत्र सामान्य लज। फुङलिङ, सुकेटार जताततै तोङबा पाइन्छ। चिसोमा तोङबा मिठो हुन्छ। छुर्पी, चौंरीको घ्यु, गलैंचा, राडीपाखी, मह, ढाका कपडा, सुकुटी, अकबरे खुर्सानी, सिमी, गुन्द्रुक, सिन्की त्यहाँका कोसेली।
बेलायती वनस्पतिविज्ञ जेडी हुकर पहिलो पर्यटकका रूपमा सन् १८४८ मा ताप्लेजुङ पुगेका थिए। वर्षमा दुई लाख तीर्थालु जान्छन्। तिनमा १० प्रतिशत भारतीय, बाँकी नेपाली हुन्छन्।
पाथिभरामा चिसो हुन्छ। माकल टोपी र ज्याकेट लिएर जानुपर्छ। कोल्ड क्रिम पनि चाहिन्छ। एक साता यात्रा गर्न १५ हजार रुपैयाँ। यसले काठमाडौंदेखि दोहोरो बसभाडा तिर्न र खाना र बासलाई पुग्छ।
कसरी पुग्ने : काठमाडौं–बिर्तामोड बसमा १२ घन्टा। बिर्तामोडबाट बिहान साढे चार बजेदेखि १० बजेसम्म बस पाइन्छ। फुङलिङ पुग्न १० घन्टा। फुङलिङबाट भालुगौंडेसम्म जीपमा। त्यहाँबाट तीन घन्टा पदयात्रा।

नौरथामा पुराण
तारानाथ घिमिरे 
सचिव, मन्दिर संरक्षण समिति
पाथिभरा शक्तिपीठ हो। नेपालीमात्र होइन, सिक्किम, दार्जिलिङबाट समेत भक्तहरू आउँछन्। झापा, इलाम, सुनसरी, विराटनगरतिरका त वर्षैपिच्छे आउँछन्। पहिलाभन्दा पाथिभरा दर्शन सजिलो र सुविधायुक्त भएको छ। वर्षैपिच्छे नेपाली बढ्दै छन्।
Swargadwari
स्वर्गद्वारी 
स्वर्गद्वारी डाँडामा शीतल हावापानी छ। त्यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ। प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ।
प्युठानको स्वर्गद्वारी (२,०४८ मिटर) पवित्र भूमि मानिन्छ। त्यहाँ ब्रह्माले तपस्या गरेका थिए। पाँच पाण्डव यतैबाट स्वर्ग गएका थिए। स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको किंवदन्ती छ।
स्वर्गद्वारीमा यज्ञशाला छ। झट्ट हेर्दा नौ वाट मन्दिरजस्तो देखिन्छ, तर भित्र एउटै। त्यहाँ पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु, शिवका मूर्ति छन्। चार दिशाका कोठामा अग्निकुण्ड। बीचको मूल कुण्डबाट धुवाँ आइरहन्छ। वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन्।
स्वर्गद्वारीमा सयौं गाई छन्। गुरुकुल विद्यालय छ। त्यहाँ वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ। यज्ञशालासँगै महाप्रभुको मूर्ति छ।
बालतपस्वी हंसानन्द गिरीले विसं १९५२ मा त्यहाँ आश्रम स्थापना गरे। तिनले विश्व कल्याणका लागि अखण्ड महायज्ञ सुरु गरे। रोल्पाको रुम्टी गाउँमा विसं १९१६ मा जन्मेका नारायण गौतम पाँच वर्षको उमेरदेखि तपस्यामा लीन भए। कालान्तरमा आध्यात्मिक चिन्तक बने। उनै महाप्रभु विसं १९९७ मा बिते।
स्वर्गद्वारीमा नेपालीभन्दा भारतीय बढी आउँछन्। वैशाख पूर्णिमा, गुरु पूर्णिमा, गाई तिहार र पुस–माघमा भीड हुन्छ। खान/बस्न दुःख छ। डाँडामा होटल/लज छैन। मन्दिरमुन्तिर धरमपानीमा साना लज र नैवेद्य पसल छन्। मन्दिर हातामा धर्मशाला छन्। पैसा तिरेर केही कोठामा बस्न पाइन्छ। आश्रमको क्यान्टिनमा दालभात पाक्छ। मन्दिर क्षेत्रमा सुविधायुक्त होटल खुल्नुपर्छ।
धार्मिक सम्पदा, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्वर्गद्वारीलाई योग, ध्यान र अध्यात्म केन्द्र बनाउन सरोकारवालाले ध्यान दिनुपर्छ। त्यसो भयो भने मनको शान्ति खोज्नेहरू लोभिन्छन्।
सात हजार रुपैयाँले भिंग्रीका होटलमा दुई र स्वर्गद्वारीमा एक रात बिताउन, खाना खान र बस भाडा तिर्न पुग्छ। उताबाट महाप्रभुका फोटा र टिम्मुर कोसेली ल्याउन सकिन्छ।
कसरी पुग्ने : काठमाडौंबाट रोल्पा जाने बस चढ्ने। भिंग्रीमा ओर्लेर रात बिताउने। भोलिपल्ट चार घन्टा उकालो पदयात्रामा स्वर्गद्वारी। भिंग्री–धरमपानी १३ किमि। धरमपानीबाट आधा घन्टामा मन्दिर। धरमपानी–होलेरी २९ किमि।
Janakpur
जनकपुर
जनकपुरको जानकी मन्दिरमा नेपाली भन्दा भारतीय बढी आउँछन्। नेपाली एक लाख हाराहारीमा पुग्छन् भने भारतीय ५ लाख। जनकपुर बजार बीचमा मन्दिर छ। झट्ट हेर्दा दरबार झैं लाग्ने मन्दिर भित्र बशिष्ठ, सतानन्द, सुनयना, राम, लक्ष्मण, भरत, शुत्रुघन राम, सीता, जनक आदिका मूर्ति छन्।
टिकमगढ, भारतकी महारानी भानु बृष कुमारीले विसं १९६८ मा बनाउन लगाएकी हुन्। २०५१ सालमा मन्दिरले शतबार्षिकी मनाइसकेको छ। त्यतिबेला ९ लाख रुपैयाँ खर्च भएकाले नौलखा मन्दिर भनिन्छ। उनले जानकी मन्दिरको भाकल गरेपछि छोरा प्राप्त भएकाले ठूलो मन्दिर बनाइदिएकी हुन्।
मन्दिर भएको ठाउँमा राजा जनकले सीतालाई भेट्टाएको विश्वास गरिन्छ। अनिकाल भए पछि राजाले सुनको फालीले जोत्दा सीता भेटिइएकी थिइन्। जनक बंश हो। सीतालाई फेला पार्ने राजा शिरध्वज जनक थिए।
जानकी मन्दिरसँगै विवाह मण्डप छ। जानकी मन्दिरमा प्रबेश शुल्क लाग्दैन। मण्डपमा टिकट काट्नु पर्छ। त्यहाँ राम र सीता परिवारका मूर्ति छन्। जनकपुरमा राम र जनक मन्दिर छन्। विवाह पञ्चमीमा ठूलो मेला लाग्छ।
धनुषाधाममा होटल छैनन्। भएको एउटा धर्मशाला प्रहरीले कब्जा गरेको छ। गाउँले त्यहाँ होमस्टे गराउने योजनामा छन्।
बजारमा चार दर्जन होटल छन्। एक दर्जन धर्मशाला छन्। रामा, वेलकम, मानकी, सीता प्यालेस, सीताशरण र सिटीस्टार लगायत पर्यटकीय सुविधाका हुन्।
जनकपुरको कोसेली मिथिला कला। बजारबाहिर कुवा गाउँको नारी विकास केन्द्रमा पाइन्छ कलात्मक सामान। टिशर्ट, ऐना, कप आदि। मिथिला कलामा लामा नाक र ठूला आँखा भएका देवदेवी वा मान्छे हुन्छन्। चित्रमा सुगा, मयुर, कुखुरा, माछा, ऊँट, घोडा हात्ती, बाँस, सूर्यचन्द्र आदि पशुपन्छी हुन्छन्।
कागज, कपडा र भाँडावर्तनमा चित्र बनाइन्छ। कलाको परम्परागत सीप व्यवसायीकरण अमेरिकी महिला क्लियर बर्केटले गराएकी हुन्। उनले सन् १९८९ मा सुरु गरेको जनकपुर महिला कला परियोजनाले भुइँ र भित्ताबाट मिथिला कलालाई नेपाली कागज, कपडा र सेरामिक्सका भाँडावर्तनसम्म ल्याइपुर्याभएको हो।
एक रात जनकपुर घुमेर फर्कन चार हजार रुपैयाँ। यति रकमले बसभाडा तिर्न, बास बस्न र खाना खान पुग्छ।
कसरी पुग्ने : काठमाडौ–जनकपुर ३५० किमि। बसमा ८ घन्टा। अर्को बाटो काठमाडौं–दक्षिणकाली हेटौंडा हुँदै जीपमा ६ घन्टा।
Bandipur
बन्दीपुर
तनहुँको सदरमुकाम २०२५ सालसम्म बन्दीपुरमा थियो। पछि दमौली सारियो। आज बन्दीपुर पर्यटकीय गन्तव्य बनेको छ। त्यो थुम्कोबाट मर्स्याङ्दी भ्याली देखिन्छ। भञ्ज्याङमा छ, बजार। इँटा र कलात्मक झ्याल–ढोकाले बनेका घर।
बन्दीपुर गाविसमा गुरुङ, मगर, नेवार, क्षत्री, बाहुनको बसोबास छ। बजार पुरानो नेवार बस्ती। छेउको टुँडिखेलबाट धौलागिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखला देखिन्छ।
बजारभित्र छ सय मिटरमा गाडी निषेध छ। सडक दायाँ–बायाँ घर छन्। बीचमा ढुंगा बिछ्याइएको। 'बन्दीपुर इको कल्चरल टुरिज्म प्रोजेक्ट'ले सन् २००५ देखि साढे दुई वर्ष बन्दीपुर रिनोभेट गर्योन। सडकमा ढुंगा छाप्यो।
बन्दीपुरे नेवारका पुर्खा भक्तपुरे हुन्। सन् १७७८ तिर पृथ्वीनारायण शाहले काठमाडांैमाथि आक्रमण गर्दा नेवार काठमाडौंबाट भागे। भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोसी बन्दीपुर बसे।
त्यहाँ गज्जबको गुफा छ। सिद्ध गुफामा पुग्न बजारबाट डेढ घन्टा ओर्लिनुपर्छ। तीन घन्टा लाग्छ गुफा घुम्न। गुफामा देवदेवीका आकृति छन्।
मन्दिरहरू छन् गाउँमा। विन्ध्यवासिनी थानीमाई, खड्गदेवी, महालक्ष्मी र महादेव मन्दिर छन्। बजारमाथि गुम्बा। भारतीय सेनाका रिटायर्ड गणेशबहादुर गुरुङको अगुवाइमा बनेको गुम्बामा शाक्यमुनि बुद्धका मूर्ति छन्।
डाँडामा सहिद स्मारक छ। सातसाले क्रान्तिका तनुंगे सहिद धर्मध्वज थापा, उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर र खड्बहादुर गोदारको सम्झनामा बनाइएको।
बजारमा सूचना केन्द्र छ। होटलको दुःख छैन। पाँच सय रुपैयाँदेखि हजारौं मूल्यका कोठा पाइन्छ। बन्दीपुर माउन्टेन रिसोर्ट, गाउँघर, वल्ड इन, बन्दीपुर भिलेज रिसोर्ट, श्रेष्ठ होटल, पोखरा अर्गानिक होमलगायत राम्रा होटलमा गनिन्छन्।
पिपलथोकका २२ घरम होमस्टे सुविधा छ। १२ सय रुपैयाँको होमस्टे प्याकेजमा खाजा, डिनर, क्याम्प फायर, बास, ब्रेकफास्ट र लन्च पाइन्छ।
बन्दीपुर पर्यटन गाउँ बनेको धेरै भएको छैन। सदरमुकाम दमौली सारिएपछि नेवारले बन्दीपुर छाडे। हेर्दाहेर्दै बन्दीपुर भुताहा सहर बन्यो। त्यसैले बन्दीपुर बाहिर बस्ने बन्दीपुरेले ०४९ सालमा काठमाडौंमा शिक्षाविद् चिजकुमार श्रेष्ठको अध्यक्षतामा बन्दीपुर सामाजिक विकास समिति गठन गरे। समितिका अगुवाहरू चिजकुमार, सन्तकृष्ण श्रेष्ठ, डा. मदन पिया, नमस्तेभूमि श्रेष्ठलगायतले बन्दीपुरको शिक्षा, स्वास्थ्य र पर्यटनमा योगदान पुर्याषए। इको कल्चर प्रोजेक्टले काम गरेपछि पर्यटक बढे।
बन्दीपुरमा एक रात बस्ने गरी यात्रामा निस्कन तीन हजार बोक्नुपर्छ। बजारबाट बन्दीपुर लेखिएका टिसर्ट, रामकृष्ण विश्वकर्माले बनाएका हँसियासहित खुर्पेटो, ताउलो, साना गाग्री, कलश र दियो कासेली ल्याउने।
कसरी पुग्ने : काठमाडौंबाट मुग्लिन हुँदै डुम्रेसम्म बसमा जाने। डुम्रेबाट आठ किमि उकालोमा बन्दीपुर बजार। डुम्रेमा बन्दीपुर जाने बस र जीप पाइन्छ।
परिवारै आउँछन् 
बैंस गुरुङ, अध्यक्ष, बन्दीपुर पर्यटन विकास समिति
नेपालीको ट्रेन्ड राम्रो छ। उनीहरू खर्च धेरै गर्छन्। परिवारसित बढी आउँछन्। रमाउँछन्। दसैै र तिहारमा भीड हुन्छ। विदेशी दुई रात बस्छन्, नेपाली एक रात। मिटिङ र सेमिनार गर्न पनि आउँछन्।
Lumbini
लुम्बिनी
बुद्धको अर्थ 'ब्युँझेको मानिस'। दरबारको सुख त्यागेर सिद्धार्थ गौतम ब्युँझिए। लोभ, ईर्ष्या, घमण्ड, मोह र रिस त्यागे। शान्ति मन्त्र बाँडेर प्रख्यात भए। तिनै गौतम बुद्धको जन्मथलो लुम्बिनी।
बोधीवृक्षमुनि कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको पहिलो सन्तानका रूपमा इसापूर्व ६२३ मा जन्मेका। तिलौराकोट दरबारबाट माइती देवदह जान हिँडेकी मायादेवीले पुष्करिणी पोखरीछेउमा सिर्द्धाथलाई जन्म दिइन्।
लुम्बिनीमा मायादेवी मन्दिर छ। मन्दिरमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष छन्। सिद्धार्थको जन्मस्मारक शिला त्यहीँ छ। त्यहाँ चौथो शताब्दीको मूर्ति छ। त्यसले सिद्धार्थको जन्मदृश्य झल्काउँछ। मायादेवीले सहाराका लागि रूखको हाँगा समातेकी छन्। देब्रेपट्टि उनकी बहिनी प्रजापति छन् भने दुईतिर देवगणले स्वागत गरिरहेका। र, बीचमा सिद्धार्थ।
मन्दिर वरपर विहारका भग्नावशेष। दक्षिणपट्टि पीपल चौतारी। त्यहाँ भिक्षु बौद्धमन्त्र जप्छन्। मन्दिरबाहिर सम्राट अशोकले इसापूर्व २४९ मा स्थापना गरेको अशोक स्तम्भ छ। त्यहाँ लेखिएको छ, 'यही लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको हो।'
विज्ञहरूले सन् १९९२–१९९६ सम्म लुम्बिनी उत्खनन गर्दा स्तम्भ र शिला भेटेका थिए। लगत्तै सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्यों। सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव उथान्तले लुम्बिनी भ्रमण गरेका थिए।
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाए। योजनाअनुसार ११ सय ५५ बिगाहा जग्गा अधिग्रहण गरियो। तीन खण्डमा बाँडियो। तीन वर्गमाइलमा उत्तर–दक्षिण फैलिएको भूमिमा उत्तरमा नयाँ लुम्बिनी गाउँ, बीचमा विहार क्षेत्र र दक्षिणमा मायादेवी मन्दिरसहित उद्यान बनायो।
लुम्बिनी ठूलो क्षेत्रफलमा भएकाले रिक्सा, साइकल र ट्याक्सीमा घुम्नुपर्छ।
विहार क्षेत्रमा विभिन्न देशका विहार छन्। बीचमा नहर छ। नहरको १६ सय मिटरमा डुंगा चल्छ। नहरको एकछेउमा अखण्ड शान्ति दीप छ। त्यहाँ लुम्बिनी संग्रहालय छ।
केही वर्षअघिसम्म लुम्बिनीमा थोरै होटल थिए। घुमेर भैरहवा बस्नुपर्ने बाध्यता थियो। अहिले बजेट इकोनोमिक र स्टार गरी ३१ होटल छन्। सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका सचिव लिलामणि शर्माका अनुसार १६ सय बेड छन्। कोठाको मूल्य पाँच सयदेखि १२ हजार रुपैयाँ। पाँचदेखि १० जनासम्म लहरै सुत्न मिल्ने कोठा पनि पाइन्छ।
बजेट होटलमा दुई रात बसेर घुम्न ५५ सय रुपैयाँ। यसले लुम्बिनी आउजाउ गर्न बस भाडा पनि पुग्छ। व्यवसायी पाँच हजार रुपैयाँको प्याकेज बेच्छन्।
लुम्बिनीको कोसेली काठ, माटो र ढलोटबाट बनेका बुद्ध मूर्ति।
कसरी पुग्ने : काठमाडौं–लुम्बिनी ३२५ किमि। काठमाडौंबाट लुम्बिनीसम्म बस चल्छ। भैरहवासम्म हवाई यात्रा। भैरहवा–लुम्बिनी २० किमि। भैरहवामा लुम्बिनी जाने गाडी पाइन्छ।
वर्षैभरि नेपाली 
लीलामणि शर्मा
सचिव, सिद्धार्थ होटल एसोसिएसन
लुम्बिनी घुम्ने विदेशीको सिजन अक्टोबरदेखि फ्रेब्रुअरीसम्म। नेपाली पर्यटक बाह्रैमास आउँछन्। यो सुखद संकेत हो। धेरैजसो नेपाली दुई रात बस्छन्। विभिन्न देशका विहार घुम्छन्। विदेशीहरू कपिलवस्तु, रामग्राह, देवदह घुम्छन्। नेपाली किनमेल गर्न २९ किलोमिटर परको सुनौली नाका पुग्छन्। रेल हेर्छन्। रमाउँछन्।

Khaptad
खप्तड
सुदूरपश्चिमको खप्तड लेक घुम्ने रहर धेरैको हुन्छ। खप्तडमा जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको सौन्दर्य हुन्छ। अपिशैपाल हिमालको उज्यालोमा खप्तड गम्किन्छ।
खप्तडको उचाइ १,२६२ देखि ३,२७६ मिटरसम्म। लेकमा २२ वटा पाटन (चौर) छन्। पुरानो चरन क्षेत्र खप्तड। सरकारले बाजुरा, डोटी, बझाङ र अछामको २२५ वर्ग किलोमिटरलाई ०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज बनायो। निकुञ्ज सुरक्षार्थ सेना छन्।
खप्तडको चर्चा स्कन्द पुराणमा छ। त्यहाँ 'खेचराद्री' भनिएको छ। खेचरको अपभ्रंश हुँदै जाँदा खप्तड भएको किंवदन्ती छ। खप्तड बाबा ५० वर्ष त्यहाँ बसेका थिए। उनले ध्यान र योग गरे। बाबालाई भेट्न राजा वीरेन्द्र बरोबर खप्तड पुग्थे।
निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने घुम्न सकिन्छ। खप्तडमा कम्तीमा दुई रात बस्नुपर्छ। खप्तड हुँदै राराताल पुग्न १२ दिन।
युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएको कथा गाउँले सुनाउँछन्। त्रिवेणीधाममा गंगा दसहरामा मेला लाग्छ। त्रिवेणी गंगा र जमुना र सरस्वतीको संगम। त्यहाँ नुहाए पाप पखालिने विश्वास छ। मेला भर्नेहरू रातभर जागा बस्छन्। देउडा गाउँछन्। बिहान नुहाउँछन्।
जैविक फूलबारी खप्तडमा ३७२ प्रजातिका वनस्पति पाइन्छ। कालकुट, पाँचऔंले, नीरमसीजस्ता १२५ थरी जडिबुटी र विभिन्न जातका चरा पनि।
यात्रा सजिलो छैन। त्यहाँ होटल छैनन्। निकुञ्जले बीचपानी र निकुञ्ज मुख्यालयमा गेस्ट हाउस चलाएको छ। पहिल्यै खबर गरेर जाँदामात्र सुविधा पाइन्छ। त्यसैले ड्राई फुड र स्लिपिङ ब्याग बोक्नु बुद्धिमानी हुन्छ।
डोटी सदरमुकाम सिलगढीबाट झिग्रानासम्म मोटर बाटो खुलेको छ। झिग्रानामा लज छन्। झिग्राना खप्तडको प्रवेशद्वार। सिलगढीबाट रिजर्भ गाडीमात्र झिग्राना पुग्छन्। त्यसैले सिलगढीबाट हिँडेर पहिलो बास झिग्राना बस्नु बेस। दोस्रो दिन आठ घन्टा हिँडे निकुञ्ज मुख्यालय पुगिन्छ।
खप्तड घोप्टिएको कचौराजस्तो छ। त्यहाँ डोटीको झिग्राना, बझाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट जान सकिन्छ। बाटोमा संकेत बोर्ड छैन। पर्यटन पूर्वाधारका काम हुन बाँकी छ।
सडक यात्राबाट खप्तड जान एक साताका लागि १४ हजार रुपैयाँ। यसले बसभाडा तिर्न र खान/बस्न पुग्छ।
कसरी पुग्ने : काठमाडौं–धनगढी ६५० किमि। बसमा १४ घन्टा। धनगढी–सिलगढी दुई सय किमि। बसमा आठ घन्टा। काठमाडौं–धनगढी हवाई यात्रा। सिलगढीबाट पदयात्रा।

Dailekh
दैलेख
पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा गर्न पञ्चकोसी दर्शन। दैलेखका शिरस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर र पादुकालाई पञ्चकोसी मानिन्छ। गाडीमा डुल्दा एकै दिनमा सबैतिर पुग्न सकिन्छ।
दैलेख बजारबाट ओरालो झरे आठ किमिमा खोला किनारमा नाभीस्थान मन्दिर छ। त्यहाँ अखण्ड ज्वाला छ। महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा नाभी पतन भएकाले नाभीस्थान भनिएको।
मन्दिर क्षेत्रमा तीन सय वर्ष पुरानो शमीको रूख छ। शिरस्थान सतीदेवीको शिर पतन भएको ठाउँ। खोला किनारको ज्वालालाई पुजिन्छ। मन्दिरमा देवी, भैरवका मूर्ति छन्।
सतीदेवीको शिर पतन भएपछि क्रोधित महादेवको नेत्रबाट अग्नि निक्ल्यो। त्यही ज्वाला यहाँ बल्न थाल्यो। सतीदेवीको पाउ पतन भएको ठाउँलाई पादुका, कट्टी पतन भएको ठाउँलाई कोटिला र बाँकी अंग पतन भएको ठाउँलाई धुलेश्वर भनिन्छ।
शिरस्थानमा महाशिवरात्रिमा, नाभीस्थानमा माघे संक्रान्तिमा, पादुकामा जनैपूर्णिमामा, कोटिलामा वैशाख १ गते, धुलेश्वरमा नवरात्रमा र सिद्धेश्वर मन्दिरमा मंसिर पूर्णिमामा मेला लाग्छ। धुलेश्वर डाँडामा छ। अरू खोला किनारमा। पञ्चकोसीमा मोटर बाटो जोडिएकाले हिउँदमा सबैतिर जान सकिन्छ।
दैलेखको दुल्लुमा दरबार छ। इतिहासअनुसार खस राजाको वर्षे राजधानी जुम्लाको सिञ्जा थियो। हिउँदे राजधानी दुल्लु। सांस्कृतिक सम्पदाले काठमाडौं र लुम्बिनीपछि धनी भएकाले दैलेखीहरू दैलेखलाई तेस्रो धाम भन्छन्। तर, अधिकांश सम्पदा जीर्णोदार हुन बाँकी छ।
पञ्चकोसी तीर्थमा खाने/बस्ने दुःख छ। दैलेख बजारमा राम्रा होटल छन्। दुई रात बस्ने गरी यात्रा योजना बनाउनु बेस। आठ हजार रुपैयाँ खर्चले दुई रात दैलेख बजार बसेर घुम्न र बसभाडा तिर्न पुग्छ। जीप भाडामा लिनुपर्ने भएकाले पाँच जनाको समूहमा घुम्नु राम्रो।
कसरी पुग्ने : काठमाडौं–दैलेख सात सय किलोमिटर। बसले २० घन्टामा पुर्यारउँछन्। हवाई यात्रामा नेपालगन्ज पुगेर बस चढे सुर्खेत हुँदै साँझ दैलेख पुगिन्छ। नेपालगन्ज–दैलेख १६७ किलोमिटर।

पर्यटक बढ्दै छन् 
रूपक थापा
पर्यटनकर्मी
पञ्चकोसी घुम्ने बाटो कच्ची छ। बर्खाले बिगारेकाले कम दर्शनार्थी आएका छन्। दसैंको मुखदेखि घुम्ने सिजन सुरु हुन्छ। प्रायः धार्मिक पर्यटक आउँछन्। सुर्खेत, नेपालगन्ज र बर्दियामा काम गर्ने कर्मचारी दैलेख आइपुग्दा घुम्ने गरेका छन्।
Dolkha
दोलखा
भीमेश्वर, कालिञ्चोक, जिरी, शैलुङ र गौरीशंकर दोलखाको आकर्षण। दोलखामा भीमेश्वर मन्दिर छ। भीमसेन मूर्तिलाई रुद्री पूजा गर्दा रुद्र, बलिपूजा गर्दा भगवती र दिउँसो पूजा गर्दा विष्णु मानिन्छ। जे सम्झेर पूजा गरे पनि हुन्छ।
भीमसेन नेवारका इष्ट देवता। भीमेश्वर हातामा कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव मन्दिर र चैत्य छन्। दोलखाका राजा जयइन्द्रसिंह देवेल शासनकाल (विसं १५९१ देखि १६०५ सम्म) मा चाँदीको सिक्का प्रचलनमा ल्याएका थिए। टक्सार भवन जीर्ण छ।
संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठले दोलखाको नेवार बस्ती काठमाडौंभन्दा पुरानो भएको भन्दै खोजी अभियान चलाएका छन्। नेवार तिब्बतबाट दोलखा हुँदै काठमाडौं पसेको उनको तर्क छ। बस्तीमा नेवार, थामी, तामाङ आदि बस्छन्।
दोलखा बजारमा होटल, लज छन्। साढे चार किलोमिटर वर चरिकोटमा पानोरमा, शुभेच्छा, संगम र लक्ष्मीलगायत दुई दर्जन पर्यटकीय होटल छन्।
चरिकोटबाट गौरीशंकर हिमाल देखिन्छ। माथि कालिञ्चोकबाट दर्जनौं हिमाल देखिन्छ। चरिकोट–कालिञ्चोक १७ किमि। डाँडा (३,७०० मिटर) मा भगवती छिन्। दिनै सयौं नेपाली पुग्छन्। हिन्दु र बौद्धमार्गीको साझा तीर्थ कालिञ्चोक। चरिकोटबाट कि रिर्जभ जीपमा जानुपर्छ कि पाँच घन्टा पदयात्रा गर्नुपर्छ।
कालिञ्चोक बेसक्याम्प कुरीमा होटल छन्। कुरीबाट पौने घन्टामा मन्दिर पुगिन्छ।
नेपाली घुम्न रुचाउने अर्को गन्तव्य जिरी हो। चरिकोटबाट ५५ किलोमिटर पर छ। जिरीलाई नेपालको स्विटजरल्यान्ड भनिन्छ। जिरीमा जिरेश्वर छन्। गुम्बा छ। चिया बगान छ। बजारमाथिको च्योर्दोङ चीज कारखानामा कात्तिकसम्म चीज उत्पादन हुन्छ। स्वीस सरकारको सहयोगका कारखाना २०३१ मा खुलेको।
जिरी सगरमाथाको प्रवेशद्वार हो। उहिल्यै एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यतैबाट सगरमाथा चढ्न गएका थिए। लुक्लामा विमानस्थल बनेपछि धेरैजसो उड्छन्।
बजारमा जिरेल गाबिला, गौरी हिमाल, च्योर्दोङ लज, पारस, हेमन्त, हिल टाउन क्याफे, सगरमाथा, न्यु एभरेस्ट, अन्नपूर्ण, शेर्पा गेस्ट हाउस र गौरीशंकरलगायत सुविधायुक्त होटल छन्। जहाँ पाँच सय रुपैयाँदेखिका कोठा पाइन्छ।
कालिञ्चोक उचाइमा भएकाले न्याना कपडा चाहिन्छ। कालिञ्चोक, जिरी र चरिकोटमा छुर्पी, चज, चौंरीको घ्यु पाइन्छ। तीनै ठाउँमा एक–एक रात बिताउन ६५ सय रुपैयाँ बोक्नुपर्छ। त्यसले खाना, बसभाडा र बासलाई तिर्न पुग्छ।
कसरी पुग्ने : काठमाडौं–दोलखा बजार १३७ किमि। काठमाडौंको पुरानो बसपार्कबाट दोलखासम्म बस छुट्छ। तिनले पाँच घन्टा लगाउँछन्।

आध्यात्मिक युवा 
शान्तकृष्ण श्रेष्ठ, संस्कृतिकर्मी
वर्षमा ६० हजार नेपाली भीमेश्वर दर्शन गर्छन्। आजका युवा मन्दिर धाउन थालेका छन्। उनीहरूमा आध्यात्मिक भावना देखिन्छ। भीमेश्वरमा मात्रै होइन, कालिञ्चोकमा पनि भीड लाग्छ। जिरीमा पनि बढ्दै छन्। युवा मोटरबाइकमा आउँछन्। नेपाली एक रात बस्छन्। हामी पर्यटकलाई तीन रात बसाउने प्रयासमा छौं।
manakamana
मनकामना
बर्सेनि लाखौं नेपालीले मनको इच्छा पुर्याीइदिने मनकामनाको दर्शन गर्छन्। बोका र भाले चढाउँछन्। पूजा गर्छन्। केबुलकार चल्न थालेपछि दर्शनार्थी बढे। पहिला आँबुखैरेनीबाट पाँच–छ घन्टा हिँड्नुको विकल्प थिएन।
पृथ्वी राजमार्गको कुरिनटारबाट १२ मिनेटमै केबुलकारमा मन्दिर मुन्तिर पुगिन्छ। केबुलकार स्टेसनदेखि कोसेली र खाना बेच्ने रेस्टुराँ छन्। होटलमा छ सय रुपैयाँदेखिका कोठा पाइन्छ। विशेषतः बिदाका दिन रातै बस्ने गरी नेपाली जान्छन्।
काठमाडौंबाट नजिक गन्तव्य भएको र केबुलकार चलेकाले अधिकांश गएकै दिन फर्कन्छ। एक रात बसे थान डाँडाबाट सूर्योदय हेर्न पाइन्छ। मनास्लु, अन्नपूर्ण, लाङटाङ र लमजुङ हिमालले स्वागत गर्छन। बक्रेश्वर गुफा पनि गज्जब छ।
वर्षमा नौ लाखजति नेपाली केबुलकारबाट जान्छन्। दुई लाखजति हिँडेरै पुग्छन्। जाडो याममा हिँड्नेहरू बढी हुन्छन्।
मन्दिर जीर्णोद्धार हुँदै छ। भेटीजति पुजारीको पोल्टामा जान्छ। मनकामना क्षेत्रमा मोटर बाटो पुगेको छ। आँबुखैरेनीको गोर्खामार्ग हुँदै साढे १४ किलोमिटमा बसपार्क। त्यहाँबाट १५ मिनेटमा मन्दिर पुगिन्छ। त्यस्तै गोरखा मार्गको नौ किलोबाट मन्दिर पुग्ने सडक १७ किलोमिटर छ। अरू बाटा पनि छन्।
कसरी पुग्ने : काठमाडौं–कुरिनटार बस यात्रा। कुरिनटारबाट मनकामना केबुलकारमा।

Rara Lake
राराताल
मुगुको रारातालले मोहनी लगाउँछ। उपत्यका (३,००० मिटर) वरपर जंगल। १६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र २.७ किमि चौडाइको ताल। हिँडेर फन्को मार्न चार घन्टा लाग्छ।
देशकै ठूलो तालको पानीको रङ छिनछिनमा बदलिन्छ। कहिले निलो, कहिले सेतो र कहिले कालो देखिन्छ। माछा मार्न पाइन्न। नुहाउन पाइन्न। डुंगा चढ्ने सुविधा छैन। हेर्नमात्रै पाइन्छ।
छायानाथ हिमालको काखमा ताल। मुर्माट टप (३,७२६ मिटर) बाट पूरै तालको दृश्य देखिन्छ। त्यहाँ पुग्न तीन घन्टा उकालो हिँड्नुपर्छ। टपबाट बाजुरा, जुम्ला, हुम्ला, डोल्पा र मुगुका गाउँ अनि हिमाल देखिन्छ। शान्त वातावरणमा मन प्रफुल्ल हुन्छ। योग र ध्यान गरूँगरूँ लाग्छ।
त्यहाँ एउटामात्र डाँफे लज छ। दालभात पाक्छ। त्यसबाहेक उपत्यकामा रारा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको ब्यारेकमात्रै छ। सरकारले २०३२ सालमा निकुञ्ज बनाएको हो। निकुञ्ज बनेपछि त्यहाँका दुई गाउँ रारा र छाप्रुलाई तराई सारियो।
आक्कल–झुक्कल नेपाली पुग्छन्, रारामा। सजिलो छैन त्यहाँ पुग्न। नेपालगन्जबाट ताल्चा उडान नियमित हुँदैन। भइहाले पनि चार्टर फ्लाइट हुन्छ। यात्रुले महँगो तिर्नुपर्छ। जुम्लाबाट हिँडेर जान दुई दिन एक बिहान लाग्छ। पदमार्गमा खस भाषाको उद्गमथलो सिञ्जा उपत्यका घुम्न सकिन्छ।
सदरमुकाम गमगढीसम्म सडकको ट्र्याक खुलेको छ। केही वर्ष लाग्नेछ बस चल्न। एक साता यात्रा गर्न २५ हजार रुपैयाँ। यसले नेपालगन्जबाट जुम्ला/ताल्चा उड्न र बाटोमा खान/बस्न पुग्छ। राडीपाखी, सिमी, यार्सागुम्बा, स्याउ, डालेचुक, ओखर, गुराँसको जुसलगायत जडिबुटी राराको कोसेली।
कसरी पुग्ने : काठमाडौंबाट नेपालगन्जसम्म बस वा हवाई यात्रा। नेपालगन्जबाट ताल्चा उडान। जुम्ला उडेर जाँदा दुई दिन एक बिहान पदयात्रा। ताल्चाबाट दुई घन्टामा ताल किनार।