Monday, November 10, 2014

अलविदा आलोक दाइ!

सागर पर्साइँ 
म ५/६ कक्षामा पढ्दा हेर्ने टिभी च्यानल नेपाल टेलिभिजन मात्रै थियो। हाम्रो गाउँमा केबुल लाइन थिएन, कसैको घरमा झ्यार्र- झ्यार्र गर्दै भएपनि दूरदर्शन आउँथ्यो तर हाम्रो घरमा त्यो पनि आउँदैनथ्यो।
 
त्यसकारण हामीसँग नेपाल टेलिभिजनबाहेक अरु विकल्प थिएन। फेरि त्यो बेलाको नेपाल टेलिभिजनमा हामीलाई मनपर्ने कार्यक्रम केही हुँदैनथिए।
 
त्यस्तोमा हरेक दिन बिहान ७.३० देखि ९ बजेसम्म नेपाल टेलिभिजनकै पर्दामा आउने ईमेज च्यानल हाम्रो साथी हुन्थ्यो। ईमेज च्यानल हेर्न थालेपछि नै हो आलोक नेम्बाङ्लाई मैले चिनेको। त्यो बेला आलोक दाई ईमेजका धेरै कार्यक्रममा आउनुहुन्थ्यो। “टप अफ त पप”, “सेन्चुरी टप टेन” जस्ता कार्यक्रम मलाई असाध्यै मन पर्थे। तिनीहरूमा बेला बेला आलोक दाई सञ्चालक हुनुहुन्थ्यो। मलाई आलोक दाईको “स्टाईल” त्यो बेला नै फरक लाग्थ्यो- मनपर्थ्यो। 
 
पछि ईमेजको आफ्नै च्यानल भयो, नेपाल टेलिभिजन पनि अलि हेर्नहुने भयो। आलोक दाईका नयाँ नयाँ गीतहरू आउन थाले। म उहाँको फ्यान हुन थाले।
--
२०७० माघ ९ गते प्रविण श्रेष्ठ दाईले आफूले बनाउनु भएको चलचित्र “मोक्ष” को एउटा च्यारिटी शो हेर्न बोलाउनुभयो। फिल्म हेरिसकेपछि, हल बाहिर आउँदा- एउटा कुनामा उभिनुभएको मान्छेलाई मैले चिनिहाले- आलोक दाई हुनुहुँदो रहेछ। मैले आलोक दाईलाई यसअघि भेटेको थिइनँ। म उहाँको छेउमा गएँ। अनि भने- आलोक दाई, नमस्कार। म सागर। सानैदेखि तपाईँको फ्यान!
 
आलोक दाईले हात मिलाउनुभयो र भन्नुभयो- म चिन्छु नि सागरलाई। आई ह्याभ रेड योर आर्किटल एबाउट कतार एअरवेज एण्ड योर व्हिलचियर! लाईक्ड इट। (मैले तपाईँले लेख्नुभएको कतार एअरवेज र तपाईँको व्हिलचियर बारेको लेख पढेको छु। राम्रो लाग्यो।)
 
मलाई कस्तो अचम्म लाग्यो। ओहो बच्चा बेलादखि भेट्छू भनेर सोचेको मान्छेले आफूलाई नै चिन्दा रहेछन् भन्ने सोचेर खुसी पनि लाग्यो। अन मैले भनेँ- धन्यवाद, आलोक दाई।
 
उहाँले फरि भन्नुभयो- थ्याङ्क्स सागर। आई एम ग्लाड समबडी ईज् टेकिङ् अ स्टान्ड फर राईट्स। ईट रियल्ली म्याटर्स फर थाउजेन्ड्स अफ अदर्स। गुड लक। (धन्यवाद सागर। मलाई साँच्ची खुसी लाग्छ- कसैले आफ्नो अधिकारको आवाज उठाउँदा। यो कुराले हजारौँ अरुलाई प्रभाव पार्ने गर्छ। शुभकामना)
 
यति भनेर दाईले बिदा माग्नुभयो। अर्को कुनै दिन भेट्नुपर्छ र कुरा गर्नुपर्छ भन्ने सल्लाह भयो। म घरतिर लागेँ।
 
तर त्यो अर्को दिन अब कहिले आउनेछैन। हिँजो साँझ अलि छिट्टै सुतेँ। आज बिहान उठेर फेसबुक चलाउँदा, आलोक दाई अब हुनुहुन्न भन्ने समाचार पढेँ। मन भरिएर आयो। आँखा पनि। हामी नजिकका साथी हैनौँ तर पनि हजारौँ दर्शक जस्तै म उहाँको सृजनाशिलताको फ्यान  हुँ।
 
-- 
 
लाखौँ पटक मैले कोसिस गरेँ, बिर्सन्छु कि म तिमीलाई भनी
 
अँह मैले सकिन चाहेर पनि, भुलाउन यो मनलाई कहि पनि
 
नबिन के भट्टराईले गाउनुभएको र आलोक दाईले भिडियो बनाउनुभएको गीतजस्तै नेपालमा कैयौँ मान्छेले तपाईलाई बिर्सन सक्ने छैनन्। म पनि एउटा हुँ। अलविदा आलोक दाई! अलविदा !

No comments:

Post a Comment