Monday, August 3, 2015

बीपीको साहित्यशास्त्र

By Pradip Giri

श्रावण १५ -
विश्वेश्वरप्रसाद कोइरालाका आत्मकथाका रूपमा नेपाली भाषामा दुइटा भिन्न कृति प्रकाशित छन् । ‘आत्मवृत्तान्त’ यसै चर्चित छ । ‘आत्मवृत्तान्त’ भन्दा निकै पहिले ‘आफ्नो कथा’ छापिएको थियो । बीपी कोइरालाले ‘आफ्नो कथा’ सुन्दरीजलको कारावासमा लेख्नुभएको थियो ।

‘आफ्नो कथा’ का प्रारम्भिक पाताहरू झन्डै पौराणिक शैलीमा लेखिएको छ । तर, पिताजी कृष्णप्रसाद कोइरालाको प्रसंग आउनेबित्तिकै बीपीको लेखनी प्राञ्जल र आधुनिक शैलीमा बगेको छ ।

निकै पहिले छापिएर पनि ‘आफ्नो कथा’ का धेरै संस्करण छैनन् । ‘आत्म–वृत्तान्त’ का थुप्रा संस्करण छन्, यो मूलत: एक राजनीतिक कृति हो । नेपाली समाजमा राजनीतिप्रति अति ज्यादै आसक्ति छ । त्यसैकारण पनि ‘आत्म–वृत्तान्त’ ले धेरै पाठक आकर्षित गरेको छ । कोइरालाको साहित्यक विकासक्रमको जानकारीका निमित्त ‘आफ्नो कथा’ एउटा अमूल्य र अनिवार्य स्रोत हो । उहाँको बाल्यकालमा एक योगाभ्यासी महानुभावको ठूलो प्रभाव परेको थियो । पछि राजा महेन्द्रले गिरफ्तार गरेर सिंहदरबारभित्र राखेताका उहाँले ती योगीबारे सम्झेर धरणीधर कोइरालालाई लेखेको एउटा पत्र पाइन्छ । त्योबाहेक उहाँको जीवनको किशोरावस्थामा साहित्य नै मुख्य व्यसन थियो । ‘आफ्नो कथा’ मा बीपीले शरद्चन्द्र, रवीन्द्रनाथ, प्रेमचन्द, जयशंकरप्रसाद आदि भारतीय लेखकहरूको सरस चर्चा गर्नुभएको छ । पछि बनारसमा उहाँ शान्तिप्रिय द्विवेदीको संगतमा पुग्नुभयो । शान्तिप्रिय तिनताक हिन्दी साहित्यमा एक प्रतिष्ठित नाम थियो । शान्तिप्रियले बीपी कोइरालालाई प्रेमचन्दसँग परिचय गराए । शान्तिप्रियको प्रेरणा र प्रोत्साहनले कोइरालाका प्रारम्भिक कृतिहरू हिन्दीमा छापिन थाले । शान्तिप्रियले नै उहाँको साहित्यिक अभिरुचिलाई शुद्ध र गहन बनाए । धेरै दिनसम्म उहाँले हिन्दीमै लेख्नुभयो । पछि साथीहरू खासगरेर सूर्यविक्रम ज्ञवालीको प्रवोधनले गर्दा उहाँलाई नेपाली साहित्यमा प्रवृत्त गरायो ।

नेपाली राष्ट्रिय कांग्रेसको कार्यकारी अध्यक्ष नियुक्त हुनुहुँदा बीपी कोइराला नेपालको साहित्य जगत्मा एक कथाकारका रूपमा प्रतिष्ठित भइसक्नुभएको थियो । भारतीय पत्रपत्रिकामा उहाँका लेखहरू छापिन थालेका थिए । खास गरेर ‘हजारीबाग’ जेलको कारावासले उहाँको अध्ययन र लेखनलाई अझ प्रखर बनाएको थियो । राष्ट्रिय कांग्रेसको नेताका रूपमा प्रतिष्ठित हुने क्रममा यो योग्यता उपयोगी सिद्ध भएको थियो । तर राजनीतिमा होम्मिएपछि साहित्य उहाँका निमित्त मुख्यत: सोखको विषय भयो, साधना भएन ।

‘आफ्नो कथा’ मा कोइरालाले लेख्नुभएको छ, ‘साहित्यमा मेरो प्रगति हुन सकेन । होनहार बालकको विकास हुन नसकेको शैशवावस्थाजस्तो ।’ उहाँअगाडि थप्नुहुन्छ, ‘राजनीतिको दाबी मेरा लागि कुनै हालतमा अमान्य हुन सक्दैनथ्यो, परिवारको विरासतमा पाएको सर्वजित दाबी थियो, त्यो मेरोउपरको । म सायद राजनीतिक नियति लिएर जन्मिएको थिएँ । ....राजनीति यस्तो पेसा होइन जसबाट उमेर पुगेपछि मानिसले अवकाश ग्रहण गर्छ । यो त एक प्रकारको अदम्य आह्वान हो जसलाई हृदयभित्रबाट सुनेर मानिस लाग्छ । कम से कम मलाई त्यस्तै भएको छ । यसबाट छुट्कारा छैन ।’

नभन्दै यस्तै भयो । कोइरालालाई बाँचुन्जेल राजनीतिबाट छुट्कारा भएन । सुन्दरीजलको पहिलो काराबासबाट त उहाँ केही पछि छुट्नुभयो तर राजनीतिले भने छोडेन । कारागार मुक्त भएपछि उहाँ बनारसमा निर्वासित जीवन बिताउन बाध्य हुनुभयो । सन् १९७० मा उहाँलाई इलाहावादको साहित्यक संस्था ‘परिमल’ ले आफ्नो रजतजयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रित गरेको थियो । कोइरालाले त्यस समारोहमा साहित्यका विषयमा एक प्रवचन दिनुभएको थियो । उहाँले कुनै एक ठाउँमा लिखित रूपमा साहित्य विषयक आफ्नो धारणा सिलसिलेवार रूपमा राख्नुभएको यही एउटा अवसर थियो । ‘परिमल–प्रवचन’ को स्वरूप र सार कोइरालाको साहित्य चिन्तनलाई बुझ्न ज्यादा सान्दर्भिक छ ।

‘परिमल–प्रवचन’ मा कोइरालाले साहित्य र राजनीतिको सम्बन्धप्रति आफ्नो दृष्टिकोण राम्ररी प्रस्तुत गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘म साहित्यद्वारा राजनीतिक जीवनको कटुता र नीरसतालाई केही हदसम्म पन्छाउने कोसिस गर्दछु । यो मेरो मन बहलाउने माध्यम पनि हो । यस्तो माध्यम जसद्वारा मानसिक र मनोवैज्ञानिक सन्तुलन कायम राख्न सकिन्छ ।’ उहाँको यो मन बहलाउ भने साँच्चै ठूलो र गम्भीर उद्यम थियो । दुर्भाग्यवश कोइरालाको साहित्यिक अराजकतावादको सिद्धान्त (?) बारे विचार–विमर्श गर्नेहरूका निमित्त त्यो पाठ सहज रूपमा उपलब्ध छैनजस्तो छ । ‘तरुण’ को प्रवेशांक अक्टुबर १९७० मा यो आलेख प्रकाशित थियो ।

कला र साहित्य मानव जातिको इतिहाससँग आदिम कालदेखि सँगसँगै हिँडेका छन् । प्रागऐतिहासिक कालका गुफाहरूमा भित्ते चित्र भेटिन्छन् । मानवीय कला मनुष्यको आत्म अभिव्यक्तिको सचेत प्रयास हो, आत्म चेतनाको विकास र विस्तारको दसी हो । यसैले सभ्यताको प्रारम्भदेखि नै कला कस्तो हुनुपर्ने हो भन्ने विमर्श र विवाद चलिरहेको छ । ग्रीसका दार्शनिक प्लेटो एउटा आदर्श राज्यको स्थापना र सञ्चालनका निमित्त प्रतिबद्ध थिए । त्यस्तो राज्यको सफलता हेतु साहित्य र राजनीतिलाई कहाँ राख्ने भन्ने उनको चिन्ता थियो । तद्नुरूप उनले साहित्य र कलालाई राज्यको अनुगामी बनाउन चाहन्थे ।

उनकै शिष्य अरस्तुले यसको प्रतिवाद गरे । राजनीतिको अनुगामिनी हुँदा साहित्यको स्वायत्तता र मर्यादा रहन नसक्ने तर्क अघि सारे । सँगसँगै साहित्यको उपयोगिताका विभिन्न आयामउपर प्रकाश पारे । अरस्तुद्वारा प्रवर्तित कतिपय साहित्य अवधारणा यथा विरेचन आज पनि साहित्य जगत्मा प्रचलित छ । त्यस दिनदेखि आजसम्म पाश्चात्य साहित्य दर्शनमा यी दुई दार्शनिकको दुई विपरीत प्रस्थापनालाई लिएर टिकाटिप्पणी जारी छ । यस्तै टिकाटिप्पणीबाट पश्चिमको साहित्यशास्त्र विकसित भएको छ ।

मध्ययुगमा युरोपमा इसाई धर्मले कला र साहित्यलाई कज्याउन खोज्यो । मध्यपूर्वमा इस्लामले त्यसै गर्‍यो । इसाई मत र इस्लामको यस्तो आग्रहको धङ्धङी आधुनिक युगसम्म पनि चलिरह्यो । खास गरेर १९ औं शताब्दीमा नैतिकताका नाममा अनेकन चिन्तकले साहित्य स्वतन्त्रताका उपर प्रहार गर्न थाले । प्रसिद्ध साहित्यकार टल्स्टोयले आफ्नो जीवनको उत्तराद्र्धमा धार्मिक र नैतिक साहित्यका पक्षमा कठोर अभिमत व्यक्त गरेका थिए । तर सौन्दर्यवादी चिन्तक पनि पछि हटेनन् । आस्कर वाइल्डजस्ता नामूद लेखकले ‘कला कलाको लागि’ भन्ने अभियानको नेतृत्व गरे । अरू पनि सौन्दर्यवादी अनेकानेक मनीषीले यस क्षेत्रमा हस्तक्षेप गरे । श्लील र अश्लीलको दुस्चिन्ता २० औं शताब्दीसम्म पनि कायम रह्यो । ‘लेडी च्याटलिज लवर’ र ‘लोलिता’ जस्ता कृति विवादास्पद रहे ।

२० औं शताब्दीमा अर्को मोड पनि देखियो । १९१७ को बोल्सेभिक क्रान्तिले विश्वमा नयाँ उत्साह ल्यायो । सुरुमा संसारभरिका साहित्यकार त्यस क्रान्तिबाट प्रेरित भए । रुसभित्र पनि मायोकोवस्कीजस्ता कवि र आइजेस्टिनजस्ता सिनेमाकार अगाडि आए । तर स्टालिन बलियो हुँदै जाँदा साहित्यलाई ‘जनपक्षीय’ बनाउन पार्टीले निर्देशित र अनुशासित गर्ने दुराग्रह चल्यो । कम्युनिस्ट पार्टीको पहलमा विभिन्न मुलुकमा प्रगतिशील लेखक संघको संगठन भए । प्रगतिशीलताको विशेषण कम्युनिस्ट आन्दोलनको सहयात्रीजस्तो भएर गयो ।

तिनताक नै चीनमा माओ त्से तुङले ‘कला र साहित्यका विषयक येनान’ प्रवचन छापे । यो आलेख वामपन्थीहरूका माझ आज पनि लोकप्रिय छ । तर यस्तो प्रयासको जबरजस्त प्रतिक्रियासमेत भयो । प्रजातान्त्रिक समाजवादी भनेर चिनिएको समाजवादको अर्को धाराले साहित्यबारे यस्तो अधिनायकवादी सोच राखिनु हुँदैन भन्ने मान्यता अगाडि सार्‍यो । ‘कला कलाको लागि’ भन्ने नाराले पनि थप बल प्राप्त गर्‍यो । साहित्य अराजकतावादी पनि हुन सक्छ भन्ने कुरो पनि ‘कला कलाको लागि’ भन्ने मान्यताको विस्तार मात्र हो । तर आचार्य नरेन्द्रदेवदेखि बीपी कोइरालासम्म कुनै पनि प्रजातान्त्रिक समाजवादीले कला कलाको लागि भन्ने कित्तामा आफूलाई उभ्याएका थिएनन् ।

परिमल–प्रवचनमा बीपीले कला कलाको लागि वा कला जीवनको लागि भन्ने द्वन्द्व नै गलत हो भनेर किटेर लेख्नुभएको छ ।

कम्युनिस्टहरूसँगको वैचारिक संघर्षमा प्रजातान्त्रिक समाजवादीहरूको विशिष्ट स्थान थियो । भारतमा आचार्य नरेन्द्रदेव र जयप्रकाश नारायण प्रजातान्त्रिक समाजवादका प्रमुख व्याख्याता थिए । उनीहरूकै सान्निध्य, परिवेश र परिस्थितिमा बीपी कोइरालाको प्रशिक्षण भएको थियो । भारतीय स्वाधीनताको प्रभावमा आचार्य नरेन्द्रदेवले जनवरी १९४८ मा ‘जनवाणी’ भन्ने पत्रिकामा ‘प्रगतिशील साहित्य’ भन्ने एक गम्भीर लेख प्रकाशित गरेका थिए । समाजवादीहरू साहित्यका विषयमा के सोच्दछन् भन्ने कुरोको त्यो लेख राम्रो चिनारी थियो । ६ वर्षपछि सन् १९५४ (विसं २०११ साल) मा कोइरालाले पनि यस्तो अवधारणाको उपहास गर्दै ‘साहित्यमा प्रगतिशीलता’ भन्ने एउटा समालोचना लेख्नुभएको थियो ।

तत्कालीन परिवेशमा कम्युनिस्ट र समाजवादीका बीचमा साहित्यलगायत अनेकन विषयमा विश्वभरि वाकयुद्ध भइरहन्थ्यो । आचार्य नरेन्द्रदेवले दार्शनिक आधारमा प्रगतिशीलताको सापेक्षता देखाउनुभएको छ । कोइरालाको प्रस्तुतिमा राजनीतिक पृष्ठपोषण प्रमुख छ । आचार्य नरेन्द्रदेवले आफ्ना समयमा बौद्ध दर्शनको प्रगतिशील भूमिका औंल्याउनुभएको छ । कोइरालाले लेनिनको उदाहरण दिएर नेपालका प्रगतिशील साहित्यकारहरूको संकीर्णताको उपहास गर्नुभएको छ । बीपी कोइरालाले साहित्य के हो भन्ने विषयमा प्रवेश गर्नुभएको छैन । तर कला र साहित्यका निमित्त अनुभूति नै मूल तत्त्व हो भनेर जोड दिनुभएको छ । ‘परिमल’ आचार्य नरेन्द्रदेवका शीष्यहरूद्वारा स्थापित संगठन थियो । तद्नुरूप उनीहरूले बीपी कोइरालालाई प्रमुख अतिथि बनाएका थिए । कोइराला स्वयम् आचार्य नरेन्द्रदेवबाट प्रशस्त प्रभावित हुनुहुन्थ्यो ।

अक्टुबर १९७० मा ‘परिमल’ को प्रवचनमा कोइरालाले दुई व्यवसायका रूपमा राजनीति र साहित्यको अन्तर छुट्याउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘कला र राजनीतिमा प्रस्ट अन्तरविरोध छ । यी दुईबीचको अन्तरविरोधबाट डोरिंदै जीवनलाई दुवै पक्षबाट मैले बुझ्ने प्रयास गरेको छु । राजनीति नियममूलक हुन्छ । कला भने ठीक विपरीत आदर्श प्रेरणाले परिचालित विधा हो ।’ बीपीले कम्युनिस्टहरूले कलाकारको स्वतन्त्रतालाई सापेक्ष रूपमा हेरेका हुन्छन् भनेर औंल्याउनुभएको छ, ‘कलाकारले कुनै दल विशेषको अधीनमा बसेर सिर्जना गर्न सक्दैन ।’ यहाँसम्म कोइराला बिल्कुलै ठीक हुनुहुन्छ । यति मात्र होइन, अझ अगाडि गएर उहाँले आफ्नो प्रस्तुतिको स्पष्टीकरणसमेत दिनुभएको छ । लगत्तैपछि भन्नुहुन्छ, ‘तब हाम्रोसामु प्रश्न उठन सक्छ, पाठकसँग उसको कुन आधारमा तादात्म्य स्थापित हुन सक्छ ?’ उहाँ फेरि आफैं उत्तर दिनुहुन्छ, ‘साहित्यकारको व्यक्तिवादी र उछृङ्खलतापूर्ण अन्तरचेतनालाई सामूहिक चेतनामा उतार्नुपर्दछ । त्यो काम शिल्पले गर्छ, विधाले गर्छ । शिल्पको प्रयोजन वा विधाको अनुशासनको कारण कलाकार आफ्नो मौलिक अनुभूतिलाई निजी नराखेर सर्वजनिक हुने हिसाबले अभिव्यक्त गर्न नयाा–नयाा प्रयोग गर्न सक्छ ।’

बेलाबखतमा अराजकतावाद शब्दको प्रयोग गरे पनि अन्तत: शिल्पको कवचसाथ पाठकलाई केन्द्रमा राखेर कोइरालाले यस नारापरक अवधारणाबाट छुट्कारा लिनुभएको छ । मानिस बढ्ने/पढ्ने सिलसिलामा धेरै कुरा बुझ्दै/सिक्दै जान्छ । हामी सबै जीवनभरि नै त्यसो गर्दै हिँड्छौं । बीपी, गान्धी वा माक्र्स सबैले यस्तो गरेका हुन्छन् । कुन कुरो ठीक हो ? र कुन बेठीक हो भन्ने कुरो हामीले निक्र्योल गर्ने हो । त्यस्तो निक्र्योल आफ्नो अनुभूति र अनुभवको ज्ञानाग्निमा मात्र गर्न सकिन्छ । बेला–कुबेलामा बीपीले आफूलाई साहित्य वा राजनीतिमा जेसुकै भन्नुभएको भए पनि अन्तत: हरेक प्रश्नमा उहाले आफैंले आफ्नो परिस्कार गर्नुभएको थियो । त्यो नै उहाँको विशेषता थियो । बीपीले ‘परिमल–प्रवचन’ मा प्रस्ट भन्नुहुन्छ, ‘कला कलाको लागि भन्ने कुराले कुनै अर्थ राख्दैन ।’

कोइराला मूलत: एक राजनेता हुनुहुन्थ्यो । त्यस दृष्टिले उहााको तुलना चर्चिल, नेहरू वा चाउ एनलाईसँग गर्न सकिन्छ । परिस्थितिको लौहशृंखलामा रहेको नेपालले उहाँको शासकीय सेवा लिन सकेन । उहाँको जीवनका बहुमूल्य भाग कारावास र निर्वासनका कष्टकर वर्षमा बिते । कारावासमा उहाँसँग प्रशस्त समय थियो तर उहाँले त्यहाँ कुनै सैद्धान्तिक कृति लेख्नुभएन । उहाँका लेनिन वा माओ त्से तुङ्जस्ता दार्शनिक कृति छैनन् । जयप्रकाश नारायण वा लोहियाजस्तो वैकल्पिक समाजवादी दर्शन बनाउने कोसिस उहाँले कहिल्यै गर्नुभएन । तद्नुरूप उहाँले समाजवादको व्याख्यामा पनि विशेष समय बिताउनुभएन । साहित्य–चिन्तन र सौन्दर्यशास्त्रबारे बेग्लै कृति लेख्ने कहिल्यै कुनै जमर्को गर्नुभएन । अब यो साहित्यिक अराजकतावाद भन्ने विषय भने साहित्य र सौन्दर्यको शास्त्रीय पक्षमा कुनै योगदान गरौंला भन्ने उहाँको महत्त्वाकांक्षा कहिल्यै रहेन ।

कोइरालाले यस विषयमा परिमल–प्रवचनमा बाहेक अन्यत्र गम्भीरतापूर्वक विचार गर्नुभएको छैन । त्यहाँ साहित्यशास्त्रको एउटा वैकल्पिक सिद्धान्त छैन । त्यस्तो सिद्धान्त बनाउनुपर्ने खाँचो छ । आजका प्रजातन्त्रवादीहरूले त्यस दायित्वबाट भाग्न मिल्दैन । कोइरालाको सन्दर्भविहीन उद्धरण लिएर चित्त बुझाउन सकिंदैन । २१ औं शताब्दीमा विचारधाराको संघर्ष नयाँ रूपमा अगाडि आएको छ । त्यो सबको समर्थन वा प्रतिवाद गर्दा कोइरालाको बैसाखी टेक्नु सजिलो होला तर कारगर हुँदैन ।

कोइराला नेपाली समाजका आजसम्मका महानायकमध्येका एक हुनुहुन्छ । समाजले आफ्नो भौतिक र भावात्मक खाँचोअनुसार नायकको सिर्जना गर्दछ । मनोवेत्ताहरूले यस अवस्थाको तुलना प्रथम प्रेमसँग गर्छन् । किशोरावस्थामा टेकेपछि मनुष्यले विपरीत लिङ्गप्रतिको आकर्षण अनुभव गर्दछ । त्यससँगसँगै उसको भाव जगत्मा एउटा प्रेमपात्रको तस्बिर कुदिन्छ । त्यो प्रेमपात्र कथाकुथुङ्ग्री र किंवदन्तीबाट उत्पन्न भएको हुन सक्छ । तर त्यस्ता पात्र जीवनमा पाइँदैनन् । अन्त्यमा नायकले हारेर आफैंले भेटेको पात्रमा आफ्ना भाव जगत्का सबै गुण आरोपित गर्दछन् । एउटा अप्ठेरोमा परेको समाजले पनि आफ्ना नेतामा महानायकको सबै गुण आरोपित गर्दछ । राजनीतिक नेतृत्वको अध्ययनको क्षेत्रमा समाजशास्त्री म्याक्स बेवर एक अत्यन्त महत्त्वपूर्ण नाम हो । म्याक्स बेवरले नेतृत्वशास्त्रमा क्यारेसमेटिक नेताको अवधारणा दिए । क्यारेसमेटिक नेताको धारणामा म्याक्स वेबरले यस्तै भावजगत् र धार्मिकताको चर्चा गरेका छन् । कोइराला क्यारेसमेटिक नेता हुनुहुन्थ्यो । तद्नुरूप अनुयायीले उहाँमा समानुकूलको सामथ्र्य र सर्वज्ञता देख्दथे । यसअघि पनि हाम्रा समाजमा लगभग यस्तै परिस्थितिका साथ पृथ्वीनारायण शाह वा जंगबहादुर राणामा गुणहरूको आरोपण भएको थियो । यसैले कोइरालाले बोल्नुभएको हरेक शब्द शास्त्रोक्त र अकाट्य छ भन्नु भक्तिपुराणको विस्तार मात्र हो ।

मुख्य कुरो, १९८९ पछि विश्व फेरिएको छ । खासगरेर समाजवादीहरूका निमित्त त पुरै फेरिएको छ । हाम्रा वार्ता–विमर्शका सन्दर्भ र परिप्रेक्ष्य फेरिएका छन् । अहिले कुनै कुरा गर्दा १९८९ अघिको पदावली टिपेर विवाद गर्नुको अर्थ छैन । एउटा उदाहरण लिन सकिन्छ– कोइरालाले आफ्नो जीवनकालमा अडिट फर्मुला भन्ने शब्द खुब चलाउनुभएको थियो । त्यतिबेला कांग्रेसका नजिक रहेका सबै छापाहरूमा यस शब्दको लगातार प्रयोग हुन्थ्यो । आज यस शब्दको अर्थ र प्रासंगिकता के छ ? अथवा भनौं राजासँग घाँटी जोड्ने बीपीको आह्वानलाई आज हामी कसरी हेर्छौ ? आज अर्थ भए पनि नभए पनि त्यस समय अवश्य अर्थ थियो । बीपी कोइरालालाई इन्डोनेसियाका कम्युनिस्ट पार्टीका महासचिव डीएन अडिटसँग त्यतिबेला पनि विशेष चासो थिएन । अडिटले इन्डोनेसियामा अत्यन्त शक्तिशाली कम्युनिस्ट पार्टी गठन गरेका थिए । उनी सुकार्नोको आशीर्वाद लिन सफल भएका थिए । नेपालमा राजतन्त्रले यस्तै गर्दैछ भन्ने बीपीको आशय थियो । सन् १९६५ मै जनरल सुहार्तोको नेतृत्वमा अडिटलगायत लाखौं कम्युनिस्टहरूको सामूहिक हत्या भयो । यस हत्याकाण्डको तुलना इतिहासकारहरूले सोभियत युनियनको १९३०–४० को र जर्मनीमा द्वितीय महायुद्धको हिटलरले गरेको हत्याकाण्डसँग गरेका छन् । इन्डोनेसियाको विचित्रको घटनाक्रमले अडिटलाई एउटा प्रतीक बनाएको थियो । कोइराला यस प्रतीकात्मक भाषाबाट राजा वीरेन्द्रलाई चेताउन खोज्दै हुनुहुन्थ्यो । त्यसमा राजनीतिज्ञ कोइराला सफल पनि हुनुभयो । तर, साहित्यमा यस्तो सफलता काम लाग्दैन । तद्नुरूप कोइरालाको साहित्य चिन्तनको केन्द्रमा अराजकतावादको ठप्पा लगाउन सकिँदैन । अडिट फर्मुलाले नेपाली कांग्रेसलाई अब पनि पच्छ्याइरहनु ठीक हुँदैन । यी सब कुराको पृष्ठपोषण गर्दै कोइरालाको महिमामण्डन गर्न खोज्नुको उल्टो परिणाम हुनेछ । उहाँको अवमूल्यन मात्र हुनेछ ।

कोइराला परम अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो । उहाँका डायरीहरू यसका प्रमाण छन् । उहाँको जेल डायरीका अधिकांश पाताहरू अझै अप्रकाशित छन् । त्यहाँ उहाँले पढ्नुभएका र टिप्पणी गर्नुभएका नामावली मात्र पनि विष्मयजनक छन् । हिन्दीका अज्ञेय, निर्मल बर्मा र मोहन राकेशदेखि लिएर अमेरिकी कविहरू एमिली डिकिन्सन, रबर्ट फ्रस्ट, ई.ई. कमिन्स सबैको त्यहाँ चर्चा छ । इङ्ल्यान्ड, फ्रान्स, रुस र जर्मनीका उपन्यासकारहरू छन् । स्टेफेन ज्विग्ले लेखेको ‘मेरी एन्तोनियत्’ भन्ने उपन्यासका उपर टिप्पणी छ । टी.एस. इलियट् र एजरा पाउन्ड छुटेका छैनन् । तर त्यहाँ साहित्यशास्त्रका प्रारम्भिक सूत्रसमेत छैन ।

कोइरालाको साहित्यिक अराजकतावाद विषयले मुख्यत: साहित्यशास्त्रको आधार अठ्याउनुपर्ने हुन्छ । कोइरालाको सम्पूर्ण लेखनको अनुशीलन गर्दा उहाँमा यस्तो शास्त्रप्रतिको झुकाव देखिँदैन । कोइरालाले दुई/तीनपटक साहित्यका विषयमा अन्तर्वार्ता दिनुभएको थियो । कुनै त्यस्तै एउटा अन्तर्वार्तामा उहाँले संक्षिप्त तर स्पष्ट रूपले अराजकतावादको कुरा गर्नुभएको अवश्य हो । तर, यस अडानलाई पृष्ठपोषण गर्ने कुनै विश्लेषण उहाँले प्रस्तुत गर्ने जमर्को गर्नुभएन । त्यसैले उहाँको यस्तो कथनलाई हामीले वेदान्तको सूत्र ‘अहा–ब्रह्मोस्मि’ अथव ‘तत्वमसि’ का रूपमा लिनु हुँदैन । साहित्यशास्त्रको व्यापक पृष्ठभूमिमा राखेर कसी लगाउनुपर्छ । कोइरालाका कथपोकथनमा यस्ता ‘आप्तवाक्य’ अरू पनि भेटिन्छन् । कोइरालाले कुनै समय ‘चम्चाले दूध बाँड्नु हुँदैन,’ भनेर भन्नुभएको तथ्य हो । तर, त्यस एउटा पदावलीको दुरुपयोग गरेर उहाँको सिंगो समाजवादी अवदानलाई कांग्रेसले अहिले खारेज गरेको छ । यो अर्को अफसोसको कुरो छ ।

उपर्युक्त पृष्ठभूमिमा कोइरालाको साहित्यिक अराजकतावादको थेगो गम्भीर विषय होइन । पाश्चात्य साहित्यशास्त्रमा यसका जरा हाँगा छन् भन्नु अँध्यारो कोठामा हुँदै नभएको बिरालोलाई खोज्नु मात्र हो । साहित्यको इतिहासमा कहिलेकाहीं नयाँ प्रयोगको अभिक्रममा केही विद्रोही स्रष्टा निस्किन्छन् । तर, पछि समाजले तिनलाई पचाउँछ । विद्रोह नै परम्परा भएर जान्छ । समकालीन समाजले भवभूति र तुलसीदाससँग समेत न्याय गरेन । फ्रान्सका प्रतीकवादी कवि यथा बदलेयर, आर्थर रेम्बो र पाल वर्लेनले साहित्यको दुरुतालाई सिद्धान्त बनाएका थिए । उनीहरू मनपरी लेख्थे । भाषाको नियम पनि उल्लंघन गर्थे । विटनिकका नामले चिनिने एलेन गिन्सवर्ग भन्ने कवि कुनै समय व्यवहार र चिन्तनमा अराजकतावादका प्रतिमूर्ति मानिन्थे । तर उनलाई पनि परम्पराले पचाउँदै छ । यसैले कोइराला वा कसैको पनि अराजकतावाद एउटा तत्कालीन विद्रोहको चित्कार हुन सक्छ । तर, यो साहित्यको कालजयी चिन्तन हुन सक्दैन ।

अराजकतावादका नामले चिनिएको आन्दोलन मुख्यत: राजनीतिक थियो । १९ औं शताब्दीमा जारशाहीको रुसमा यो आन्दोलन केन्द्रित थियो । कार्ल माक्र्सद्वारा स्थापित प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठनमा उनीहरूको बलियो उपस्थिति थियो । कार्ल माक्र्स उनीहरूबाट मानौं क्षुब्ध रहन्थे । अराजकतावादीहरूको पिरले नै गर्दा कार्ल माक्र्सले बडो चातुर्यपूर्वक प्रथम अन्तर्राष्ट्रियलाई असामयिक मृत्युवरण गर्न अमेरिकामा कार्यालय सारे भन्ने इतिहासकारहरूको भनाइ छ । तर यति भएर पनि कार्ल माक्र्सको राज्य लोप हुने सिद्धान्त अराजकतावादबाट प्रभावित थियो । त्यति मात्र होइन, अराजकतावादले २० औं शताब्दीमा समेत आफ्नो प्रभाव देखाएको छ । तर त्यो प्रभाव राजनीतिक चिन्तनमा केन्द्रित छ । मूलत: अराजकतावाद राज्यलाई एक अनावश्यक र अत्याचारी संस्थानका रूपमा लिन्छन् । तर तिनै अराजकतावादीहरू राज्यमा रहन, बस्न र तिरो तिर्न बाध्य हुन्छन् । साहित्यिक अराजकतावाद पनि भन्ने बोल्ने एउटा कुरो हो । होइन भने यो एक विसंगत वक्तव्य हो । अनुशासनका अभावमा साहित्य लेखिंदैन । भाषाका अभावमा सम्प्रेषण हुँदैन । समाज नभई मानिससम्म पनि मानिस हुँदैन । समाजवादको केन्द्रीय शिक्षा यही हो ।

तर, यथार्थ के पनि हो भने जीवनमा अन्तरविरोध छ । अन्तरविरोधका अभावमा केही बुझ्नै सकिंदैन । दिन नहुँदासम्म रात हुँदैन । प्रकाश र अन्धकारजस्तै अनुशासन र अराजकता एक–अर्काका पूरक धारणा देखिन्छन् । एउटै व्यक्तिका जीवनमा अनेकानेक चरणमा अन्तरविरोधयुक्त अभिव्यक्ति देखिन्छ । ज्याँपाल सात्र्र धेरै लामो समयसम्म माक्र्सवादी र माओवादीसमेत भए । अघि वा पछि भने उनका विचार भनेमा परिवर्तन भइरहन्थे । तर उनले नोबेल पुरस्कार अस्वीकार गर्दा उनी स्वघोषित वामपन्थी थिए । उनले अराजक भएर त्यो पुरस्कार अस्वीकार गरेको होइनन् । उनले त्यो पुरस्कार अस्वीकार गरेको कारण प्रस्ट शब्दमा लेखेका छन् । उनका अनुसार नोबेल पुरस्कारको राजनीतिले पश्चिमी साम्राज्यवादको निर्लज्ज सेवा गर्दछ । एउटा प्रतिबद्ध वामपन्थीका रूपमा उनले सन् १९६४ मा यो पुरस्कार अस्वीकार गरेका थिए । अल्वेयर कामुलाई सात्र्रभन्दा धेरै पहिले पुरस्कार दिइएको थियो । सात्र्र आफूलाई कामुभन्दा धेरै ठूलो दार्शनिक सम्झन्थे । थिए पनि । त्यसले गर्दा पनि सात्र्र चिढिएका थिए । सात्र्र र कामुमा यसै पनि धेरै मतभेद थियो । कामु पश्चिमी खेमामा थिए । सात्र्र पूर्वी खेमाका समर्थक थिए । शीतयुद्धका ती अप्ठेरा वर्ष त्यस्तै थिए । कामुको साहित्य अवश्य प्रसंशनीय छ । तर उनको दार्शनिक अवदान सात्र्रसँग तुलनीय छैन । अलवेर कामुले आफूलाई कहिले पनि अस्तित्ववादी भनेनन् । उनी विसंगति अथवा एबसर्डिटीका व्याख्याताका थिए । दुवैको साहित्य चिन्तनमा अराजकतावादको स्रोत छ भन्नु एउटा विसंगत वक्तव्य मात्र हो ।

आज पश्चिमी सभ्यताले सिंगो संसारलाई आक्रान्त बनाएको छ । पश्चिमाले जे लेखे/भने पनि उनीहरू श्रेष्ठ कहलिन्छन् । नोबेल पुरस्कारमा उनीहरूको एकलौटी छ । पश्चिमका दोस्रो कोटीका लेखक पनि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्दछन् । तेस्रो विश्वका लेखकहरू हीनताबोधमा बाँचिरहन बाध्य हुन्छन् । त्यसै प्रभावमा कुनै पनि विषयमा वाद–संवाद गर्दा हामी सात्र्र, कामु, नित्से, फ्रायडजस्ता नाम ओकल्छौं । सात्र्र र कामु फ्रान्सेली लेखक थिए । नित्से र फ्रायड जर्मन थिए । यी मनुष्यहरूको अंग्रेजी अनुवाद हामी ज्यादातर पढ्छौं । कति बुझ्छौं थाहा छैन । आधुनिक अंग्रेजी कविता पनि त्यस्तै गाह्रो छ । तर अंग्रेजी लेखकको उद्धरण गर्दा बुज्रुक भइन्छ । एक आदरणिय विद्वान्ले मोहन कोइरालाको कवितामा टीएस इलियटको प्रभाव भेटेका थिए । बालकृष्ण समले तरुण तपस्वीमा एजरा पाउन्ड खोजे । अब यसबारे केही टिप्पणी नगरौं । बीपी कोइरालाको अराजकतावादमा सात्र्र र कामुमा खोज्नु त्यस्तै प्रयास हो ।

आज नेपालमा कोइरालाका नाममा जसले जे भने पनि हुन्छ । उहाँको उद्धरणसमेत ठीक–बेठीक जहाँबाट दिए पनि हुन्छ । दुर्भाग्यवश कोइरालाका नाममा झन्डै २५ वर्षदेखि शासन गरिरहेको नेपाली कांग्रेसले अझै पनि उहाँको एउटा विश्वसनीय जीवनी लेख्न/लेखाउन सकेको छैन । विडम्बना के छ भने उहाँसँगै खाएका, पिएका र हुर्किएका, उहाँकै पारिवारिक दायराका सदस्यहरू लगातार मन्त्री–प्रधानमन्त्री छन् । कोइरालाका रचनाहरूको एउटा आधिकारिक संकलनसमेत छैन । बीपी कोइरालाको नाम वा नाराको उपयोग मात्र छ । कुरो यत्ति हो– नाम र नारा त चाहिएला तर समयअनुकूल नाराको पनि परिमार्जन र परिस्कार आवश्यक छ । साहित्य र संस्कृतिका क्षेत्रमा यस्तो खाँचो झन् चर्को रूपमा बिझेको छ । आज हाम्रा पाठक वा लेखकले बुझेको बीपी कोइराला उनीहरूको चाहनाको तस्बिर हो, यथार्थ होइन । त्यस्तो यथार्थमा पुग्न वाद, प्रतिवाद र संवादले मद्दत गर्दछ । कान्तिपुरको दुई साताअघिको अंकमा यस विषयमा लेख लेख्ने विष्णु सापकोटा यसैले धेरै–धेरै धन्यवादका पात्र हुनुहुन्छ ।

प्रकाशित मिति: २०७२ श्रावण १६ १०:३२
Kantipur

No comments:

Post a Comment