Thursday, August 27, 2015

“समृद्ध कर्णालीको दु:ख”


कर्णालीका आदिवासी जनजाति आफूलाई ‘भोत्’ भन्ने समुदायहरू हुन् जसलाई हिन्दु खस शासकहरूले हेय दृष्टिले भन्नुपर्दा ‘जाड’, ‘भोटे’ भन्ने गर्दछन् । यस्तै थपाल्या–ब्यासी पनि हुन् जसलाई आफूहरू को हौ भन्ने कुरामा समेत भ्रम पर्ने स्थिति आइपुगेको थियो । शासकहरूले उपयोग गर्ने भाषामा मतवाली क्षेत्री भने पनि सामाजिक–सांस्कृतिक रूपमा अछूतपन नै थियो ।
धार्मिक तथा सांस्कृतिक रूपमा यो क्षेत्र उत्तरको भोट र दक्षिणको भारतवर्षबाट आदिम कालमा भागेर आएका वा लखेटिएका आदिवासीको भूमिगत स्थलका रूपमा देखा पर्दछन् । चीनको तिब्बत र दक्षिण गङ्गाको समथर मैदानमा मानव आवागमन सजिलो हुने हुँदा उत्तर र दक्षिणका देशबाट विभिन्न कालखण्डमा बाहिरी अतिक्रमणकारीको सांस्कृतिक अतिक्रमण भएको पाइन्छ । त्यसले एक प्रकारको सांस्कृतिक हस्तक्षेप निम्त्याएको छ । र, त्यसले ल्याउने एकरूपताका कारण अतिक्रमणकारी धर्म संस्कृतिबाट बचाउन त्यतिबेलाका
आदिवासीहरूले नेपालको दुर्गम हिमाली र पहाडी खोँचहरूको खोजी गरेर आफ्ना धर्म संस्कृतिको सुरक्षा गरेको देखिन्छ ।

यसकारण नेपालको उच्च हिमाली क्षेत्र तिव्बतियन पुरातन (प्रागऐतिहासिक एवम् पूर्व–साहित्यकालीन) संस्कृतिको भूमिगत थलो बन्न गयो । त्यस्तै नेपालका पहाडी क्षेत्रका खोँचहरू दक्षिण एसियाली अर्थात् भारतवर्षका पुरातन (प्रागऐतिहासिक एवम् पूर्व–साहित्यकालीन) धर्म–संस्कृतिको सुरक्षाको थलो बन्यो । यसरी नेपाल एउटा बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक आदिवासी जनजातिहरूको देश बनेको पाइन्छ । बासस्थानका हिसाबले उनीहरू कृषि र पशुपालनमा केन्द्रित रहेको पाइन्छ । यसका साथै उनीहरूले मूलतः उत्तरको नून र ऊन लिएर दक्षिणको चामल र उवासँग व्यापार गर्ने गरेको पाइन्छ ।
काठमाडौंसँगको सम्बन्ध
नेपालको हालको ऐतिहासिक कालको शासक जाति ‘आर्य’ पहाडी भएकोले उसको उद्गम थलो प्रागऐतिहासिक कालमा खसको रूपमा बीचको पहाडीय क्षेत्रमा देखा पर्दछ । उत्तरको चीसो र दक्षिण तातो हावापानी भएका दुवै ठाउँ नेपालको शासित एवम् अनार्य आदिवासी जनजातिहरूको मूल थलो हो । हालको भारतीय कुमाउँ–गडवाल हुँदै नेपालको कर्णाली क्षेत्रको सिँजा–दुल्लु–गोरखा, काठमाडाँै, दार्जिलिङ हुँदै टिष्टापारिको मुगलानतर्फ खस पहाडियाहरूको बसाइँसराइ अगाडि बढ्दै जाँदा ती क्षेत्रमा एकातिर खस÷आर्य (हिन्दु) संस्कृतिको प्रसार हुँदै गएको देखिन्छ भने अर्कोतर्फ उसैबेलादेखि नेपालमा समुदायगत उत्पीडन सुरु भएको देखिन्छ । बसाइँसराइको क्रममा शासक जातिले उत्तरको चिसो हिमाली क्षेत्र र दक्षिणको औलो लाग्ने तराईको तातो क्षेत्र दुवैलाई क्षेत्रीय एवम् जातीय रूपमा उपेक्षा गर्दै बीचको ठिक्क हावापानी भएको पहाडी क्षेत्रबाट मात्रै आफ्नो बसाइँसराइ पूर्वतर्फ लम्काएको पाइन्छ ।
कर्णालीका पाल र मल्ल राजाहरूले भोट क्षेत्र हुँदै सिञ्जा नियन्त्रणमा लिई शासन गरे । उनीहरुको शासन कालमा भोट, पहाड र मधेश समान थिए । त्यतिबेला कर्णालीका आदिवासी जनजातिलाई सहज थियो । यद्यपि जो बसाइँसराइको क्रममा रहन्छ, ऊ विकासशील हुन्छ । जो रैथाने हुन्छ उसमा विकास त्यति धेरै देखापर्दैन । यहाँका आदिवासी जनजातिहरू व्यापारी भएकाले उनीहरू हिमाल, पहाड तराई आवातजावत गरिरहन्थे । तर, जब सिञ्जाको बौद्धमार्गी राजखान्दानको वंश पतन भयो, अनि भोटे स्रोतअनुसार कर्णाली प्रदेशको ‘बेधर्मी’ राजधानी छिनासिम खलङ्गामा सर्‍यो । छिनासिमलाई गोर्खालीहरूले काठमाडौंबाट गएर कब्जा गरे । यसपछि उनीहरू शासकीय दृष्टिकोणले पछि परेका समुदायहरू राज्यको नजरबाट टाढा–टाढा हुँदै झनै टाढा हुन पुगे । नेपाललाई हिँड्दाडुल्दा र वर्षेनी कर तिर्ने तर राज्यबाट शोषित हुनुबाहेक कुनै अभिभावकीय भूमिका प्राप्त नभएको अनुभव गर्दै आएका छन् ।
राज्यको व्यवहार
काठमाडौंले नीतिगत रूपमा कर्णालीलाई वास्ता गरेन । व्यवहारमा टाढाकै व्यवहार गरिरहेको छ । अझै भन्ने हो भने राज्यले जुम्ला कब्जामा लिएदेखि सिङ्गो कर्णालीप्रति आफू पूर्वाग्रही भएको आभास देखाउँदै आएको छ । जुम्ला कब्जामा लिएपछि भएको मुगु गमगढी, हुम्ला दार्म, रादेउ, याल्बाङका विद्रोहमा गोर्खालीहरूले बाह्र वर्ष उँभोका लोक स्वास्नीलाई साफ गर्ने नीति लियो । नियन्त्रणमा लिइएकालाई पनि नाकचुल्ठो काट्ने काम गर्‍यो ।
गोर्खालीहरूले कीर्तिपुरवासीको मात्र नाककान काटेको कुरा पढ्ने गरेका छौं । तर हुम्लाका जाड थपाल्या, थपाल्या ब्यासी र पावै खसहरूले पनि गोर्खालीको भनी नसक्नु अत्याचार भोगेका थिए । उनीहरूले गोर्खेलौरी कसे । नाकचुल्ठी गरे । यसले गर्दा हात लौरो फिद बटुको हाली स्थानीय ठकुरीहरूले गोर्खाली शासकका निमित्त बने । गोर्खालीहरूले जुम्ला कब्जा गरेपछि पनि ठकुरीहरू पुनः ग्रामीण शासक नै चुनिन पाए । तर त्यहाँका आदिवासी र अन्य समुदायले आफूहरूलाई राज्यले मान्छेको व्यवहार गर्छ भन्ने भुलेको अवस्था हो ।
यो अनुभव क्रमशः चल्दै जाँदा संस्कारमा बदलियो । गोर्खालीहरूको निमित्त, स्थानीय ठकुरी शासकहरूबाट हुने गरेको ज्यादतीको विरोध गर्दा हुम्लाको निन्वा (चार गाउँ बाह्र थपाल्या) मात्रका विभिन्न पौ (पैकेला)हरूमा उनीहरू मारिएको र मासिएको तथ्यमा आधारित जीवनगाथा गाउँघरमा सुनाउने प्रचलन जारी छ । उनीहरूका करङलाई आफ्नो कुल देउताका साथमा राखेर ल्होसारमा दियो बाल्ने चलन अझै छ । जसमा लिमाटाङ गाउँका खांसारी घर, टल्की गाउँ, तोर्पा गाउँको खिम्न्याङमा घर र बरगाउको हैतीमैती घरका पैकेलाहरूलाई लिन सकिन्छ ।
यसकारण उनीहरू विगत दशवर्षे माओवादी जनयुद्धमा जागिर पाएसरह लामबद्ध भएर लागेका थिए । उक्त आन्दोलन विभिन्न कारणले विघटनको डिलमा पुगे पनि आम समुदायमा आत्मजागरण आउने क्रम सुरु भएको छ । यो सब समस्या काठमाडौंका शासकहरूको अदूरदर्शिताका कारण उत्पन्न भएको हो । विद्यमान अवस्थालाई सूक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने आदिवासी तथा पछाडि पारिएका समुदायका दृष्टिकोणबाट मात्र होइन, सिङ्गो कर्णालीवासीले राज्यसँग विद्रोह गर्नैपर्ने अवस्था छ । पछाडि परेका आदिवासी तथा समुदायलाई राज्यले गर्नुपर्ने कर्तव्य बिर्सेको छ ।
हिन्दुकरण
एक, प्राचीन कालमा ब्यासीहरूलाई आफ्नो थर फाल्न लगाएर हिन्दुकरण गरियो । उनीहरूले भाषासमेत भुलिसकेका छन् । बाह्य रूपमा मतवाली क्षेत्रीका रूपमा चिनाउन खोजे पनि सामाजिक र सांस्कृतिक रूपमा उनीहरूले त्यो सम्मान पाउन सकेका छैनन् । उनीहरूको जन्मसंस्कार र केही सामाजिक मान्यतामा हिन्दुकरण भएको छ भने विवाह तथा मृत्युसंस्कार र नयाँवर्ष तथा सामाजिक कुलीय मान्यतामा आधारित परम्परा चल्दै आएको पाइन्छ ।
दुई, आधुनिक कालमा भोतका भोटेहरूलाई राजा महेन्द्रको कथित राष्ट्रवादले चलाएको स्कुलिङ र प्रशासनबाट भयो । (हेर्नुहोस्ः म छेवाङ, मलाई छक्कबहादुर लामा बनाइयो) यसबाट भू–राजनीतिक सिमानालाई प्रयोग गरी परम्परागत जनस्तरको सम्बन्धलाई कटाउने, शासकीय स्तरमा नयाँ सम्बन्ध कायम गर्ने र स्थानीय भोटे समुदायलाई हिन्दुकरण गराउने अभ्यास गरियो ।
जयस्थिति मल्ल होस् वा जङ्गबहादुर राणा । उनीहरूले ल्याएको मुलुकी ऐनले व्यवस्था गरेको जातअनुसार यी समुदाय (ब्यासी र भोटे) सामाजिक तथा सांस्कृतिक रूपमा ‘पेरिफेरी’मा नै परे । त्यसमा नेपाली भाषाका कारण मातृभाषा, रहनसहन, धर्म, मनोविज्ञान, समग्र सोच्ने शैली नै ओझेलमा पर्दै गयो । यस कार्यबाट शासकले अँगालेको पद्धति सबै समुदायले जान्नैपर्ने तर पछाडि पारिएका समुदायको बारेमा कसले जान्ने, बुझ्ने र सोचिदिने भन्ने स्थिति आयो । सिङ्गो समुदाय पनि राज्यका कारण यसरी पछि पर्ने रहेछन् भन्ने पनि देखियो ।
यहाँ यो कुरो पनि सम्झनलायक छ कि हिमालको चिसो हावापानी भएको क्षेत्रमा बस्ने जाड ब्यासीको पहिरन ऊनको बख्खु हो । यसले चिसोबाट बचाउँछ । यही प्रभावमा परेर स्थानीय शासकका रूपमा चिनिएका ठकुरीहरूले पनि बख्खुलाई आफ्नो पहिरनका रूपमा स्वीकारेको पाइन्छ । यस्तै गरी नेपालको शासक जातिको एकलजातीय पहिरनको रूपमा चिनिने टोपी, दौरा, सुरुवाल राष्ट्रिय पोशाकको नाममा जनजातिहरूले बाध्य भएर लगाउन परिरहेको थियो । जसरी उता भूटानमा डुक्पाहरूको पहिरन ‘ग्घ्व–क्यारा’ (बख्खु र पाउरो) त्यहाँका ल्होछाम्पा नेपाली भाषी भुटानीहरूले राष्ट्रिय पोशाकको रूपमा लगाउन बाध्य पारेजस्तै थियो ।
म छेवाङलाई छक्कबहादुर लामा बनाइयो
तिब्बतका तिब्बतीहरू र नेपालका तिब्बती भाषीहरूलाई छुट्याउन जङ्गबहादुर राणाले नेपालका सबै तिब्बती भाषीहरूलाई सोलोडोलो रूपमा तामाङझैं मानी त्यसअन्तर्गत राखिदिएका थिए । यद्यपि मध्य नेपालमा बसोबास गर्ने तामाङ समुदायसित उनीहरूको धेरै कुरा मिल्दाजुल्दा थिएनन् । तिब्बती भाषीहरूलाई यसप्रकार हिन्दु परिभाषाअन्र्तगत ल्याइएको थियो । त्यसपछि उनीहरूले ‘लामा’ थर धारण गरी लामाका रूपमा चिनिने भएका हुन् ।
तिब्बती भाषीहरूलाई राँगा वा गाईको मासु खानबाट रोकियो । उनीहरूले पनि अछूत होइएला भन्ने डरले खाएनन् । हिन्दुहरूको सांस्कृतिक प्रभावमा परेका धेरै तिब्बती भाषी समुदायले बिस्तारै आफ्नो मातृभाषासमेत बोल्न छाडे । तिब्बती भाषालाई गाई खानेहरूको भाषा भनेर हेयका दृष्टिले हेरिन थाल्यो ।
तल्लो हिमाली भेगमा बसोबास गर्ने धेरै तिब्बती भाषीहरूले आफ्नो भाषा र संस्कृति छाडेर खस (हिन्दु) जीवनपद्धति अँगाल्न थाले । यसरी उनीहरू विस्तारै हिन्दु वर्णाश्रम व्यवस्थाभित्र छिरे । तर, त्यसको तल्लो श्रेणीबाट माथि उक्लन सकेनन् । कर्णाली क्षेत्रमा खस भाषामा हिन्दु वर्णाश्रम व्यवस्था मान्ने खस (आर्य)लाई ‘थर’ र नमान्ने तिब्बती–बर्मेली समुदायलाई (अनार्य) वा ‘थपाल्या’ (थर–फाल्या अर्थात् थर फालेको वा थर नभएको वा अरू थरलाई पाल्ने) भन्ने गरेको पाइन्छ ।
हुम्लाको बराई, भुवा, कल्लाँस, कुती, पुमा र नेप्का आदि गाउँहरूले सांस्कृतिक रूपमा सीमान्तकृत भई विशेषतः स्थानीय ठकुरी शासकहरूको दबाबमा परेर आफ्नो तिब्बती भाषा र संस्कृतिलाई छाडेका छन् । त्यहाँका मानिसहरु आफ्ना थरहरू तामाङ, बुढा आदि लेख्ने गर्दछन् । मतवाली क्षेत्री भनेर परिचय दिन चाहन्छन् । २÷३ पुस्ता अघिसम्म यिनीहरू तिब्बती भाषा बोल्ने गर्थे, हाल आएर मतवाली क्षेत्री भई धामी–झाँक्रीवादी परम्परा र हिन्दुधर्म मिलेको समायोजित धर्म मान्दछन् । यिनीहरूले अझै पनि मृत्यु संस्कारमा पुरोहितको रूपमा बौद्ध धर्मका लामा राख्ने गर्दछन् ।
१९१० सालको मुलुकी ऐनको कानुनी व्यवस्थाअनुसार भोटबर्मेली भाषीहरूलाई जातपातको परिधिभित्र ल्याइए पनि धेरैजसो उत्तरी सीमानाका तिब्बती भाषीहरू दक्षिणबाट पृथक र तिब्बती सांस्कृतिक केन्द्रहरूको निकट सम्पर्कमा रहँदै आएका छन् । तर, तिनीहरूले हिन्दु वर्णाश्रम व्यवस्था भएको देश नेपालमा बस्दा संस्कारगत रूपमा नामपछि कृत्रिम ‘थर’ (surname) थप्न बाध्य भएका छन् । उत्तर तिब्बतमा सामाजिक रूपमा वर्णाश्रम व्यवस्था छैन । व्यापार–व्यवसायको सिलसिलामा त्यहाँ पुग्दा नेपालमा प्रयोग गर्ने नामपछिको थर झिक्नुपर्ने हुन्छ । यी दुवै चलनको मार हामी नेपाली भोटेहरूले खेप्नुपरेको छ ।
हिमाली ‘रोङ’हरूमा बस्ने तिब्बती भाषीहरू नेपालका मूलधारको चेपुवामा परी ‘न यता न उता’को अवस्थामा परेका छौँ । हामीले आफ्नो जीवनलाई ‘यार्चा–गुम्बु’ (वर्षामा घाँस र हिउँदमा कीरा)को रूपमा सामाजिक जीवन व्यतीत गर्नुपरिरहेको छ । वर्षामा तिब्बतमा जाँदा शुद्ध बौद्ध धर्मावलम्बी हुनुपर्ने र हिउँदमा नेपाल आउँदा हिन्दु वर्णाश्रम व्यवस्था मानेको देखाउनुपर्ने बाध्यता छ । यो अवस्थामा हिमाल–वारपार गरी जीविकोपार्जन गर्ने हामी भोतवासीहरूले आफ्नो पहिचानलाई दोधारे रूपमा देखाउनुपरेको छ । एकछिनको निम्ति आफ्ना वास्तविक अल्पसङ्ख्यक आदिवासी पहिचानलाई थाती राखी उत्तर र दक्षिणमा बस्ने मूलधारका संस्कृतिका मानिसहरूसँग आफूलाई समायोजन गराउन बाध्य छौँ ।
पञ्चायत कालमा राजा महेन्द्रले हिन्दु धर्मलाई उत्तरी क्षेत्रको भित्रीभागसम्मै प्रवेश गराए । महेन्द्र जनजागृति पाठशाला खोलेर थुप्रै भाषा पाठशाला स्थापना गरे । ती पाठशालाको उद्देश्य शैक्षिकभन्दा राजनीतिक थियो । त्यसैले ती स्कूललाई जिल्ला शिक्षा अधिकारीको मातहत पनि नराखी तत्कालीन अञ्चलाधीशको मातहतमा राखिएका थिए । नेपाली पाठशालाहरू विशेष गरी तिब्बती भाषीहरूलाई लक्ष्य गरेर खोलिएका थिए । त्यहाँ तिब्बती भाषाको शिक्षा प्रणालीभन्दा बेग्लै खस हिन्दु जीवनपद्धति सिकाइन्थ्यो । शिक्षकहरूले स्थानीय विद्यार्थीहरूको नाम परिवर्तन गर्दै नेपाली नाम राख्न थाले । मेरो गाउँ हुम्लाको तोर्पामा रहेको महेन्द्र जनजागृति पाठशालामा पढ्नेहरूमध्ये म पनि एक थिएँ । मेरो बुबा हाम्रो समाजको पुरोहित लामा हुनुहुन्थ्यो । उहाँले राख्नुभएको मेरो नाम छेवाङलाई ती शिक्षकले छक्कबहादुर लामा बनाइदिए ।
त्यसैगरी अर्कोतर्फ हाम्रो हेलमेल दक्षिणका छिमेकी खस बस्तीहरूसँग हुँदै आएकाले स्थानीय ठाउँका नामहरू पनि खसकरणमा परेको देखिन्छ । मेरो गाउँ तोत्पा तोर्पा बन्न गयो भने टाङ्स्योत् बुराउँसे र भारखाङ्लाई बरगाउँ ।
राजा महेन्द्र चलाख राजा रहेछन् । उनले हामीलाई तिब्बती सम्पर्कबाट छुट्याउन यस्तो नीति अख्तियार गरे । जनता–जनता स्तरको सम्बन्ध तोडाउने र शासक–शासक तहमा मात्र सम्बन्ध कायम गर्ने काम गरे । यो कार्य उनी मुगुको रारा ताल हेर्न गएको बेला एकजना भोटेलाई ‘तिमीहरूको राजा को हो ?’ भनी सोध्दा स्थानीय भोटेले ‘हाम्रो राजा दलाई लामा हो’ भनेर सुनाएपछि यो कार्य गरेको हो भन्ने गरिन्छ । नेपालमा केन्द्रीकृत राज्य व्यवस्थाको अवधारणअनुसार जताजतै जनजातिलाई हिन्दुकरण गरियो तर कर्णालीमा हिन्दुकरणको प्रक्रिया भने तिब्बतसँगको सम्बन्धले गर्दा अलिकति चर्को भयो । हिन्दुकरण हुनुभनेको केवल धर्म (यो या त्यो)को मात्रै विषय नभएर, भाषा, संस्कृति, रीतिरिवाजबाट पनि बाहिर पर्नु हो ।
साड्ग्रिला बुक्सद्वारा प्रकाशित तथा सोमत घिमिरे र टीका भट्टराईद्वारा सम्पादित नयाँ पुस्तक “समृद्ध कर्णालीको दु:ख” बाट ।

No comments:

Post a Comment