मिति : २०७१ असोज, ४ शनिबार
चैतन्य मिश्र |
हामी नेपाल र भारतवासीमध्ये धेरैजसो जातव्यवस्थाद्वारा आक्रान्त छौं। जीवन, समाज, अर्थतन्त्र, राजनीति र संस्कृतिका त्यस्ता पक्षहरू पहिचान गर्न कठिन पर्छ जुन जातव्यवस्थाबाट नितान्त अलग रहेका होऊन्। अझ भनौं भने सात समुद्रपारि गएर बस्दासमेत हामी कतिलाई जातले छाड्दैन। वा हामी जातलाई छाड्दैनौं। यस्तो लाग्छ, जात हामीमध्ये धेरैको, सायद सबैजसोको जीवन, समाज, इतिहासमा सर्वव्यापी र अक्षुण्ण बनेर रहेको छ।
तर, यो सर्वसत्य हो कि जातको असर पृथक पृथक रूपले संरचित छ। जातव्यवस्थाअनुसार दलित सबैभन्दा बढी आक्रान्त छन्। विरलै स्थान र परिप्रेक्ष्यमा मात्र दलितले अन्य जात समूहसरह आदर-सम्मान प्राप्त गर्छन्।
दलितहरूको परचक्रीकरण र 'नीचकरण' जीवन र समाजको आमपाटो बनेको छ। उँचनीचतामा दलित र अ-दलितका बीच रहेको विकराल खाडल अन्य जात समूहका बीच भेटिँदैन। तर पनि 'तल्लो' र 'माथिल्लो' जातका बीच उँचनीचता, भेदभाव, अलगाव कायम रहेको यत्रतत्र अनुभव गर्न सकिन्छ।
अब आजको विषयवस्तुको चुरो प्रश्न उठान गर्ने बिन्दुमा पुगेको छु। जातव्यवस्थाको बोलवालको बेला यो प्रश्न कतिपयका लागि नैतिक र राजनीतिक दुवै दृष्टिले विवादास्पद हुनसक्छ। साथै यो प्रश्नको जेजस्तो हल खोज्न म लागिरहेको छु, त्यसमा अपुग तत्त्वहरू त धेरै छन् नै।'तल्लो जात' माथि पुगेको केही उल्लेखनीय उदाहरण पक्कै छन्। कतिपय माथिल्लो जात तल पुगेका छन्। चाहे त्यो आर्थिक होस् वा राजनीतिक वा सांस्कृतिक रूपले। तर, 'आमसत्य' भने जातव्यवस्थाको बोलवालाकै हो। पुरानो अपवाद हाल आम बनेको छैन। यद्यपि सबै 'माथिल्ला जात'वाला कतिपय हिसाबले उच्च तहमा पनि छैनन्। तीमध्ये केही आक्रान्त नै छन्।
ती हलहरू अनुपयुक्त र त्रुटिपूर्ण पनि हुन सक्छन्। तसर्थ म यहाँ यो आशमा पनि रहेको छु कि मेरा गुरु, मित्र र विद्यार्थीहरूले यो हलहरूको समुचित समालोचना गर्नुहुनेछ र योभन्दा बढी उपयुक्त प्रश्न र हल खोज्नुहुनेछ।
चुरो कुरा
चुरो प्रश्न यो हो- के जातव्यवस्था इतिहासको कुनै विशिष्ट अवधिमा यथास्थितिवाद वा प्रतिक्रियावादको पृष्ठपोषक संरचना नभएर प्रगतिशीलता वहन गर्ने संरचना भएको हुनसक्ला वा नसक्ला? मूल प्रश्न यो हो भने केही पूरक प्रश्न निम्न हुन् : कस्तो र कुन ऐतिहासिक अवधिमा जातप्रथा हालको भन्दा नरम र कस्तो कुन अवधिमा कडा रूपमा स्थापित थिए? जातप्रथा नरम र कडा हुनु कस्तो अर्थतन्त्र, राजनीति र राज्यसत्तासँग गाँसिएको थियो?
यी प्रश्न सोध्नुका धेरै कारण छन्। सबैभन्दा मुख्य कारण भने कस्तो अर्थतन्त्र र कस्तो राज्यसत्ताअन्तर्गत जातप्रथा अपेक्षाकृत कमजोर, खुला र नरम रह्यो र कस्तो अर्थतन्त्र र कस्तो राज्यसत्ताअन्तर्गत यो अपेक्षाकृत सबल, 'बन्द' र कडा रह्यो भन्ने खोजलाई निर्देशित गर्नका लागि हो।
यो प्रश्नमा अन्तर्निहित धारणा भने जातव्यवस्था वा कुनै पनि सामाजिक व्यवस्था चिरस्थायी हुँदैन र सबै सामाजिक व्यवस्था उतारचढाव, निर्माण र ध्वंसको क्रममा रहेका हुन्छन् भन्ने हो। यदि ऐतिहासिक विश्ले षणले खासखास आर्थिक र राजनीतिक व्यवस्थाअन्तर्गत जातप्रथा बलियो वा कमजोर रहेको प्रमाणित गर्छ भने वर्तमानमा पनि उक्त विश्लेषणबाट पाठ सिक्न सकिन्छ र जातव्यवस्था कमजोर तुल्याउन सकिन्छ भन्ने हो।
जातव्यवस्थाका विश्लेषण गर्ने विद्वान्हरूमध्ये लुइ डुमोको नाम अग्रपंक्तिमा आउँछ। उनका सन् ६० र ७० का दशकमा लेखिएका लेख र पुस्तकहरूअनुसार जातव्यवस्थाद्वारा स्थापित उँचनीचता पवित्रतासम्बन्धी सोपान भारतीय समाजको सर्वकालिक मेरुदण्ड हो। र, यो नै यस्तो विशेषता हो जसले भारतीय सभ्यतालाई व्यक्ति तथा समानतामा आधारित युरोपीय सभ्यताभन्दा बेग्लै तुल्याएको छ।
तर, जातव्यवस्थाबारे अध्ययन गर्ने झन्डैझन्डै सबैजसो अरू अग्रपंक्तिका विद्वान्हरू भने डुमोसँग असहमत छन्। उनीहरूका अनुसार जातव्यवस्था भारतीय इतिहास र समाजमा महत्त्वपूर्ण रहेको त छ तर इतिहासमा जातव्यवस्थाको प्रकृतिमा धेरै फेरबदल र उतारचढाव आएका छन् र आउँदैछन्।
दोस्रो, विशिष्ट चरित्रको राज्यसत्ता स्थापित हुँदा र आर्थिक हैसियत मध्यम वा उच्च बन्नसक्दा पवित्रताका पुराना परिभाषा र आयामहरू पुनर्परिभाषित भएका उदाहरणहरू यत्रतत्र छन्। तसर्थ न पवित्रता उँचनीचताको एउटैमात्र आयाम हो, न त पवित्रता, राजनीति र आर्थिक हैसियत सधैं सँगै हिँड्छन्।
कतिपय अवस्थामा यी दुई सँगसँगै हिँडेका छन्। कतिपय अवस्थामा यीबीच चर्को अन्तर्विरोध रहेको पनि भेटिन्छ। जातीय व्यवस्थाभित्र ब्राह्मणको शास्त्रीय र कर्मकाण्डीय पवित्रता, एकातिर राजा र अन्य राजकीय शक्ति धारण गर्ने क्षत्रीय र अर्कोतिर आर्थिक हैसियतले सम्पन्न वाणिक वा वैश्यबीचको अन्तर्विरोधले यही सत्य दर्शाउँछ।
तेस्रो, डुमोले गरेको जातव्यवस्थाको व्याख्या जीवन, भोगाइ र व्यवहारको वीर नभएर शास्त्रीय ठेलीहरूमा सीमित व्याख्या रह्यो भन्नेमा उनका समालोचकहरू एकमत छन्। शास्त्रमा नियम, आदर्श आदि उल्लेख हुन्छ। अर्थात्, के गर्नु उचित र के गर्नु अनुचित हुन्छ। सोको व्याख्या शास्त्रको मर्म बन्छ। उता जीवन दैनिकी र व्यवहारले भने नियम र आदर्शलाई नजिकबाट पछ्याएको, केही मात्रामा पछ्याएको वा नपछ्याएको पनि हुनसक्छ।
चौथो, कतिपय अध्ययताका अनुसार जातव्यवस्थामात्र भारत र नेपालको संस्कृति, अर्थतन्त्र र राज्यसत्ताको अवयव होइन। अन्य कतिपय समाजमा यस्तो सोपान र उँचनीचता विद्यमान थियो र छ। युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा काला र गोराबीच यस्तो उँचनीचता कायम छ।
जापानमा 'जापानी' र बुराकुमिनबीचमा थियो र केही मात्रामा अझै छ। मुस्लिम समाजमा पनि कुल, वंश आदिमा आधारित भिन्नता र उँचनीचताले उल्लेख्य महत्त्व राख्छ। चीनमा कुल, वंशमा आधारित उँचनीचताको ठूलो भूमिका थियो।
जातव्यवस्था भएको नेपाल र भारतमा झैं यी र अन्य कतिपय संस्कृति र मुलुकहरूमा 'जातगत' मान्यताअनुरूप अन्तर्जातीय इज्जतको आदानप्रदान, खानपान, आवतजावत, विवाह आदिमा धेरै वा थोरै बन्देज थिए र छन्। यसैगरी ती संस्कृति र मुलुकहरूमा पनि भारत र नेपालमा झैं जातीय तह उक्लन कहीँ झन्डै असम्भव र कहीँ कठिन हुने गथ्र्यो र गर्छ।
पाँचौं, निकोलस डक्र्स र अन्य केही अग्रस्थानका विद्वान्हरूको मत अझ छुट्टै र लुइ डुमोको भन्दा पृथक् र रोचक छ। डक्र्सका अनुसार जातप्रथा भारतीय सभ्यताको उपज त हो नै। तर, भारतमा कायम जातव्यवस्था उत्तिकै तहमा ब्रिटिस औपनिवेशिक शासनको उपज पनि हो।
अर्थात् औपनिवेशिक शासन व्यवस्थाले भारतमा रहेको जातव्यवस्थालाई विशिष्ट किसिमले पुनर्निमार्ण गर्यो र विशिष्ट दिशा प्रदान गर्यो। अर्को शब्दमा भारतमा औपनिवेशिक शासन नहुँदो हो त त्यहाँको जातव्यवस्थाको सार, स्वरूप र दिशा छुट्टै हुन सक्थ्यो।
अर्थात्, हालको भारतमा विद्यमान जातीय व्यवस्था भारतीय सभ्यताको मात्र विशिष्ट उपज होइन। बरु त्यो जातव्यवस्था भारतीय र ब्रिटिस औपनिवेशिक राजकीय सत्ता, अर्थतन्त्र र संस्कृतिहरूको वर्णशंकर उपज हो। यसमा नितान्त भारतीय गुण विद्यमान छैन।
भारत र जातिव्यवस्था
लुई डुमोबाहेकका सबै विद्वान् र खास गरेर डक्र्सको ठम्याइले हामीलाई के पनि सिकाउँछ भने जातव्यवस्था हिन्दु धर्म, भारतीय सभ्यता आदिका मात्र उपज होइनन्। यो आफसेआफ उब्जेको व्यवस्था पनि होइन। जातव्यवस्थाको आदि कारण थिए।
जातव्यवस्थाको अन्त्य पनि हुन्छ। इतिहास यसमा आएका उतारचढावको साक्षी छ। अन्यझैं यो व्यवस्था पनि समग्र सामाजिक व्यवस्थाको अन्य पाटाहरूसँगको सहकार्य र अन्तरविरोधमा रहेका हुन्छन्। राज्यसत्ता र श्रमव्यवस्थालगायतका आर्थिक स्वरूपले जातव्यवस्थामा उतारचढाव ल्याउँछ र यसको प्रकृति परिवर्तन हुन्छ।
यो सैद्धान्तिक विवेचनापछि अब इतिहास उत्खननतिर लागौं। सुरुमा भनिएझैं यो उत्खनन त्रुटिपूर्ण हुनसक्छ। यसर्थ यसबारे यहाँहरूको आलोचनात्मक दृष्टिकोण अपेक्षित छ।
वेदकालको सुरु (सम्भवत: इसाकालको १५००—२००० वर्षअघि) मा स-साना बजार र नगरहरूमा श्रम विभाजनका हिसाबले सुरु भएको जातव्यवस्था पशुपालनका साथै जंगल फडानी र कृषिमा फड्को मार्दै अघि बढिरहेको थियो।
इरानभन्दा पश्चिम, उत्तर र दक्षिण युरोपबाट इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम-उत्तर-भारत हुँदै पूर्व आइपुगुन्जेल अर्थात् वैदिक कालको अन्त्य (इसाकालपूर्व ७००-१०००) तिर जातव्यवस्था श्रमको विविधीकरणको तहबाट उक्लेर सिंगो समाजको सोपानीकरण र उँचनीचीकरणतर्फ लम्कँदै थियो।
इसापूर्व छैटौं शताब्दीमा छेडिएको सिद्धार्थ गौतमको बौद्ध 'धर्म' आन्दोलनको एउटा प्रखर पक्ष यही सबल बन्दै गरेको जातव्यवस्थाविरुद्ध लक्षित थियो। यो आन्दोलनले जातलाई नभएर व्यक्ति र व्यक्तिको चरित्रलाई केन्द्रमा राख्यो। गैरऐतिहासिक ईश्वर होइन, एेतिहासिक पुरुष र तिनको चरित्रमा जोड दियो। जातीय सभा होइन गैरजातीय संघमा विश्वास गर्यो।
ज्ञातव्य छ, बुद्धको युगका जातव्यवस्थामाथि भएका यी प्रहार ठीक त्यसै अवधिमा भइरहेका आर्थिक विस्तार, राजनीतिक उथलपुथल र खुलापनका परिणाम हुन्। बुद्धको युग कृषिको विस्तार, बजार-सहरको विकास र व्यापारिक वर्गको उत्थानको युग पनि हो।
यो यस्तो युग प्रतीत हुन्छ, जसमा युरोप र एसियाभरि नै अर्थतन्त्र उँभो लागेको र राज्यसत्ता सापेक्षिक रूपले खुला बनेका थिए। यो युरोप र एसियाको पुनर्गठन र विकासको युग थियो। ग्रिस र मेडिटरेनियन क्षेत्रमा लोकतन्त्रको लहर चलेको थियो। सुकरात, प्लेटो र अन्य गुरुहरू पनि यही युगका उपज थिए। साइरस र डेरियसले पर्सियन साम्राज्य खडा गरेका थिए।
चीनमा कन्फ्युसियसको उदय भएको थियो। भारतमा सम्भवत: यही युग हो जसमा अन्यलगायत गंगा नदीको तिरैतिर पश्चिमबाट पूर्वतर्फ दण्डकारण्य अत्यन्त मलिलो कृषिभूमिमा परिणत हुँदै अघि बढिरहेको थियो। बलशाली मगध साम्राज्यमा राजा विम्बिसार अधीनमा थिए। महावीर र जैन धर्मको सूत्रपात पनि यही बेला भएको थियो। बुद्ध र महावीर समकालीन थिए।
पूर्वस्थापित संरचना र मूल्यमान्यता युरोप एसियाभरि नै बचावको स्थितिमा पुगेका थिए। यो उथलपुथलको युग थियो। नवीनता स्थापित हुने क्रममा थियो। सुकरात, बुद्ध, कन्फ्युसियस सबैले स्थापित संरचनाभन्दा कर्ता, व्यक्ति र साना समूहहरूमा ध्यान केन्द्रित गरेका थिए।
यो यस्तो विशिष्ट युग पनि हो जसमा श्रमको, अर्थात् कुनै पनि जात-समूहको सदस्यको-श्रमको-माग अधिक बनेको थियो र बेरोजगारी न्यून बनेको थियो। श्रमिक र गरिबको आयस्तर वृद्धि भएको थियो। यिनै कारणले गर्दा आर्थिक असमानता सापेक्षिक हिसाबले न्यून बनेको थियो।
श्रमिकको उभारले राज्यसत्तालाई केही हल्लाएको थियो। अझ बुद्धको समयमा उत्तर र मध्य भारत राजनीतिक उथलपुथलको चपेटामा पनि रहेका थिए। यी दुई राजनीतिक र आर्थिक प्रक्रियाले सम्भवत: राजनीतिक खुलापन पनि वृद्धि भएको थियो।
अर्थतन्त्रको विस्तार र राजनीतिक खुलापनको बढोत्तरीले जातव्यवस्था पनि सापेक्षिक हिसाबले खुला बन्दै गएको थियो। बुद्ध 'धर्म' र उपयुक्त राजनीतिक र आर्थिक परिवर्तनले गर्दा जातव्यवस्था अभेद्य र 'कडा' बन्न सकेको थिएन।
यो किसिमको आर्थिक विस्तार नेपालमा लिच्छविकालको सुरुमा फेरि उदय भएको थियो भन्न सकिने ठाउँ छन्। तर, यथेष्ट सूचना र ज्ञानको कमीले गर्दा अब म एकैपटक १४औं देखि १७औं शताब्दीका नेपाल र भारततिर लाग्छु र त्यहाँ जातव्यवस्थामा आएको परिवर्तनको आकलन गर्छु।
त्यो बेलाको नेपाल
यहाँ जोड दिन लायक छ कि चौधौं-सत्रौं शताब्दीमा विश्वमा दुई महाशक्ति राष्ट्र थिए- चीन र भारत। यी दुई विश्वका सबैभन्दा ठूला-खासमा धेरै गुनाले ठूला- वस्तु र सेवाका उत्पादनकर्ता थिए। यी दुई मुलुक र अर्थतन्त्रमा अन्यको भन्दा प्रतिव्यक्ति उत्पादकत्व पनि धेरै उच्च थियो।
उत्तर अमेरिका र दक्षिण अमेरिकाको त के कुरा, युरोपका मुख्य सहरहरूभन्दा यी मुलुकका सहरहरू धेरै ठूला र सम्पन्न थिए। सन् १७५०-१७७५ तिरदेखिको औद्योगिक क्रान्तिपछिमात्र युरोप चीन र भारतभन्दा अघि बढेको हो।
आमनागरिकको सार्वजनिक र राजनीतिक हैसियत पनि युरोपको दाँजोमा चीन र भारतमा उच्च थियो। यो आर्थिक सम्पन्नता र राजनीतिक खुलापनले जातव्यवस्थालाई के असर ग:यो?
पहिलो, यसले पछि आएर लोकायतको नामले चिनिने भौतिकवादमा आधारित सनातन धर्मको पुनरुत्थान गर्यो। यो अनिश्वरवादी मतको जरो कपिलमुनिदेखि तान्न सकिन्छ। खास गरेर पन्धौं-सोह्रौं शताब्दीमा केही समयका लागि यस मतको पुनरुत्थान भयो। यो मत जातव्यवस्थाको विरोधी थियो र भौतिकवादमा आधारित नवीन समाज र व्यक्तिप्रति, कर्मप्रति र श्रमप्रति यस मतको आस्था थियो।
दोस्रो, दक्षिण भारतमा निकै अघि चलेको र मत्थर भएको भक्ति आन्दोलनले पञ्जावदेखि उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, बिहार, उडिसा, बंगालमा चौधौं-सत्रौं शताब्दीमा विशाल रूप लियो।
यो मत भौतिकवादी पक्कै पनि थिएन। तर, यो प्रखर रूपले जातव्यवस्था विरोधी थियो। जातमा आधारित भएर ईश्वरको नजिक पुगिँदैन भन्ने यसको मत थियो। ईश्वरले कुनै जातलाई काखमा राख्छ, अन्यलाई पाखा पार्छ भन्ने विश्वास यो मतमा थिएन।
ईश्वर प्राप्तिको एकमात्र बाटो व्यक्तिगत सच्चरित्र र ईश्वरप्रतिको समर्पणभाव वा भक्ति थियो। स्रोतसम्पदाको स्वामित्व, जीविकोपार्जन, वर्गविन्यासजस्ता महत्त्वपूर्ण क्षेत्र र जातव्यवस्थाको अन्योन्याश्रित सम्बन्धबारे यस मतले उचित ध्यान दिएन।
स्थिति मल्ल उदाउने बखत नै काठमाडौं खाल्डोले आर्थिक कोल्टे फेर्न सुरु गरेको थियो। नवीन युग सुरु हुँदै थियो। भारत र तिब्बतसँगको व्यापारिक र अन्य लेनदेन फस्टाउँदै थियो।स्थिति मल्लले काठमाडौं, नेपाल, उत्तर भारत, तिब्बत र चीनमा उदाउँदो सम्भावना र उथलपुथलहरूको आकलन गरे र नयाँ स्थिति बाँधे।
तर, जातव्यवस्थालाई यो मतले स्वीकार पनि गरेन। यहाँ फेरि पनि जोड दिनलायक तथ्य यो छ कि यो मत त्यही युगमा चुलीमा पुग्यो जुन युगमा भारत आर्थिक हिसाबले श्रेष्ठ थियो र जुन युगमा त्यहाँ राजनीति चलायमान र खुकुलो थियो।
नेपालको स्वर्ण युग भन्न मिल्ने मल्लका पनि चौधौं-सत्रौं शताब्दीकै देन हो। मल्लकालको वैभव र कतिपय अन्य विशेषता भारत, चीनलगायत एसियाको यो क्षेत्रमा सहउपजहरू पनि हुन्। मल्ल राज्यसत्ताको केन्द्र काठमाडौं खाल्डो थियो।
तर, वरपरका क्षेत्रहरूलगायत तिब्बत र भारत छिर्ने नाकाहरू र तीमार्फत प्रवाह हुने बन्दव्यापार, सूचना आदिको आदानप्रदान अधिकांशत: मल्ल राज्यसत्ताअन्तर्गत नै सञ्चालित थियो।
र, स्थिति मल्ल
स्थिति मल्ल उदाउने बखत नै काठमाडौं खाल्डोले आर्थिक कोल्टे फेर्न सुरु गरेको थियो। नवीन युग सुरु हुँदै थियो। भारत र तिब्बतसँगको व्यापारिक र अन्य लेनदेन फस्टाउँदै थियो। स्थिति मल्लले काठमाडौं, नेपाल, उत्तर भारत, तिब्बत र चीनमा उदाउँदो सम्भावना र उथलपुथलहरूको आकलन गरे र नयाँ स्थिति बाँधे।
कानुनको अर्थात् राज्य र रैती-नागरिकबीचको सम्बन्धको, कूटनीतिको, मुद्राको, नापतौलको, नगरविकास र प्रशासनको, कर नीतिको, कर्मचारीतन्त्रको र श्रम विभाजनको। राम शाह र जंगबहादुरपछि बाँधेका स्थितिहरू यिनै स्थिति मल्लले बाँधेका स्थितिका परिस्कृत रूप थिए।
काठमाडौं खाल्डोको अभूतपूर्व आर्थिक विस्तारले तालिमको, रोजगारको र अन्यको सम्भावना बढायो। र, श्रमिकको मूल्य ह्वात्तै माथि उचाल्यो। श्रमको विशिष्टीकरणले उचाइ लियो। औद्योगिकीकरण र कारिगरीका क्षेत्रहरूमा ठूलो विस्तार र विविधीकरण भयो।
यी विशिष्टीकृत पेसाहरूअनुसारको सयौं, सायद हजारौं पेसाकर्मी, थर, जातहरूको काठमाडौं, पाटन र भक्तपुर र खाल्डोबाहिर पनि आविष्कार भयो। यी नवीन पेसाकर्मीहरूले आफू जन्मँदाको थर जात छोडे। नयाँ थर, जात लिए।
थर जातको पुनर्विन्यास भयो। श्रमको माग उच्च भएकाले वर्ग विन्यास पनि फेरियो। श्रमिकहरूको दिन खुल्यो। श्रमिकको जन्मेको जात धेरै हदमा गौण बन्यो।
ज्ञातव्य छ, नेवार समुदायमा हाल धेरै जात छन्। नेवार आफैंमा एउटा विशिष्ट जात होइन। मल्लकालको उर्लंदो भन्न सकिने अर्थतन्त्रमा स्थानीयवासीको मात्र पेसा, थर, जात फेरिएको होइन। बाहिरका श्रमिक र अन्य आगन्तुकको काठमाडौं खाल्डोमा स्वागत हुन्थ्यो।
तिनले स्थानीय भाषा सिक्थे र नेवार कहलाइन्थे। अर्थात् श्रम र सीपको माग उच्च रहेको हुँदा स्थानीय र बाहिरियाबीचको भेद न्यून थियो। मूलत: भाषाको ज्ञानसँगै भित्रिया र बाहिरियाहरूबीचको भेद न्यून थियो।
भाषाको ज्ञानसँगै बाहिरियाहरू स्थानीय बन्थे। जोड दिन लायक छ कि स्थिति मल्ल आफैं स्थानीय थिएनन्। उनी मिथिला क्षेत्रबाट काठमाडौं आएका थिए। त्योताका थर र जात दुवै पेसागत विशिष्टीकरणका द्योतक थिए।
पुस्ताहरूबीच थरको अन्तर हुन सक्थ्यो। जातको पर्खाल अधिकांशत: होचो र उल्लंघनीय थियो। पुरानो थर जात मासिने र नयाँ थर जात बन्ने क्रम चलेको थियो।
यसरी थर र जातव्यवस्थाले एकातिर विस्तार हुँदै गरेको अर्थतन्त्र र अर्कातिर सापेक्षिक हिसाबले स्थानीय र विदेशीसमेतलाई सघाएको थियो। साथै अर्थतन्त्र र राज्यसत्ता थर र जात, स्थानीय र बाहिरिया आदिका बन्देजमा कममात्र बाँधिएका थिए।
यस अर्थमा पेसा, थर र जातव्यवस्थाले सापेक्षिक हिसाबले गतिशील भूमिका निर्वाह गरिरहेका थिए। एकातिर उत्पादन व्यवस्थालाई पछाडि तान्न नभएर अघि बढाउन पेसा, थर र जातको व्यवस्थाको प्रयोग भएको थियो।
अर्कोतिर विस्तार हुँदै गरेको अर्थतन्त्रले रोजगारी खोलेर, स्थानीयमात्र होइन, बाहिरियासमेतलाई स्थानीयको सम्मान दिएर र अन्य हुन नदिई नेवार नै बनाएर श्रमको उच्च मूल्यांकन गरेको थियो।
मल्लकालको अन्त्यको विहंगम कारण विश्व पुँजीवादी व्यवस्थाको कोल्टो फेराइबाट भएको थियो। क्षेत्रीयस्तरमा यो कोल्टो फेराइ भारतमा मुगल साम्राज्यको र चीनमा मिङ वंशको वैभव र शक्तिको पतन र त्यस दौरान उब्जिएका अनेकौं कलहसँग गाँसिएको थियो।
अर्थात् चीन, नेपाल र भारतको अर्थतन्त्रको उदय र निस्तेजीकरण एकआपसमा जोडिएका थिए। भारत र चीनको सामान, सेवा, सीप, लगानी आदिको बजार सुक्दा नेपाल र काठमाडौंको अर्थतन्त्र कमजोर बन्नु स्वाभाविक बन्यो।
अर्थतन्त्र ओरालो लाग्दा, रोजगारीको ढोका बन्द हुँदा, आयस्रोत सुक्दा थर र जातका पर्खालहरू फेरि अग्ला बने। आफ्नो र बिरानो, स्थानीय र बाहिरिया, 'हामी' र 'अन्य' र अरू धेरै विभेदकारी विभाजन फेरि बलिया भए।
विभेदका नवीन पाटाहरूको सिर्जना भयो। भारतको १९औं र २०औं शताब्दीको स्वतन्त्रताको अभियान चीनको १९१० देखिको अभियान दुवैलाई यी विभेदकारी विभाजन न्यूनीकरण गर्ने प्रयत्नका रूपमा बुझ्न सकिन्छ। तर, स्वतन्त्रताको अभियानको बल विश्व पुँजीवादलाई बुझ्न, ग्रहण गर्न वा पछार्न दुवै समर्थ भएन।
तसर्थ चीनमा १९७६ देखि देङ सियाओ पिङ उदाए र १९९० मा भारतले पनि विश्व पुँजीवादसँग सहकार्य गर्ने र कालान्तरमा त्यसको नेतृत्व गर्ने अठोट ग:यो। त्यसपछिको छोटो चार दशकमा चीन, भारत र विश्व कसरी फेरियो, हाम्रो आँखा सामुन्ने छ।
तसर्थ चीनमा १९७६ देखि देङ सियाओ पिङ उदाए र १९९० मा भारतले पनि विश्व पुँजीवादसँग सहकार्य गर्ने र कालान्तरमा त्यसको नेतृत्व गर्ने अठोट ग:यो। त्यसपछिको छोटो चार दशकमा चीन, भारत र विश्व कसरी फेरियो, हाम्रो आँखा सामुन्ने छ।
निष्कर्षमा, जातव्यवस्था स्वयं निर्मित, दैवद्वारा निर्मित वा धर्मद्वारा समेत निर्मित व्यवस्था होइन। जातव्यवस्थाको सुगठितपना मूलत: अर्थतन्त्रको चरित्रको र त्यसपछि राज्यसत्ताको चरित्रको उपज हो।
द्रूत गतिमा विस्तारित हुँदै गरेको अर्थतन्त्रमा, रोजगारी विस्तार हुँदै गएको अवस्थामा भित्रिया र बाहिरियाबीच भेद गर्नु नपर्ने अवस्थामा, आयको असमानता नचर्केको अवस्थामा, सामाजिक सुरक्षाको छाता गहकिलो भएको अवस्थामा र सापेक्षिक हिसाबले राज्यसत्ता खुला रहेको, राज्यसत्तामा नागरिकको पहुँच भएको अवस्थामा अर्थात् एक तहको लोकतन्त्र स्थापित भएको अवस्थामा जातव्यवस्था कमजोर, चलायमान र होचो रहन्छ भन्न सकिन्छ।
यसको विपरीत अवस्थाहरूमा भने 'हामी' र 'अन्य' भित्रिया र बाहिरिया 'उँच' र 'नीच' आदिबीचको भेद विस्तारित हुन्छ र गहिरिन्छ भन्न सकिन्छ।
(शुक्रबारदेखि राजधानीमा सुरु भएको एनसेल नेपाल लिटरेचर फेस्टिभलमा मिश्रद्वारा व्यक्त मुख्य मन्तव्यको सम्पादित अंश।)
Annapurna Post Bata
No comments:
Post a Comment