राजकुमार दिक्पाल |
भर्खरै वीरेन्द्रकेशरी पोखरेल चिफ इन्जिनियर भएका थिए। उनी बेलाबेलामा हेलिकोप्टर लिएर खोटाङका गाउँमा पुग्थे। त्यसबेला गाउँलेहरूलाई लाग्थ्यो, उनी सामान्य मानिस होइन, उनी त भगवान् हुन्। यस्तो सोच्नेमा खोटाङ रतन्छाका बालक मदनकुमार राई पनि एक थिए। उनी पनि चाहन्थे इन्जिनियर बन्न।
उच्च शिक्षाको यात्रा पूरा गर्न निक्कै कठिन थियो, उनका लागि। उनी दुई वर्षकै छँदा बाबुले घर छाडेपछि बाजे र आमाको छत्रछायामा हुर्केका थिए, उनी। एसएलसी सकेपछि उनी बाबु खोज्न निस्के, त्यसबेला उनका बाबु कर्मकुमार जनकपुरमा इन्स्पेक्टर थिए। उनको बाबुले उनलाई काठमाडौं पठाए।
काठमाडौंमा घुम्दै जादा संयोगले साथी नारायण राईसँग भेट हुनु उनको लागि अर्को सौभाग्यपूर्ण घटना बन्न पुग्यो। त्यसबेला नारायणको हातमा एउटा कागज थियो। मदनले थाहा पाए, त्यो कागज सैनिक छात्रावासमा भर्नाका लागि भरिने आवेदन फारम थियो। उनले पनि भरे, नाम निकाले।
मदनले जिन्दगीमा कैयौं रोचक संयोगहरूसँग जम्काभेट गरेका छन्। अर्का एकजना साथीले प्रमाणपत्र तहको पढाइ सकेपछि उनलाई एउटा फारम भर्न उकासेछन्। उनले पनि त्यो फारम भरे। 'फारम भर्दा म त्यति उत्साहित थिइनँ', उनी सम्झन्छन्। त्यो थियो, भारतमा कृषि विज्ञानका लागि बीएस्सी पढ्न पाउने अवसरको फारम। मन लागिनलागी फारम भरे, उनैको नाम निस्क्यो।
हो, त्यहीँ घटनापछि उनको जीवनले 'यु टर्न' गर्यो। अहिले तरकारीमा विषादीको चर्चा चलिरहेको बेला कृषि वैज्ञानिक मदनसँग परामर्श लिनेहरूको ताती लाग्न थालेको छ। हिजो उनी सरकारी जागिरमा छँदा फिस्स हाँस्दै 'आलु हाकिम', 'तरकारी हाकिम' भनी गिज्याउनेहरू आज उनीसँग परामर्श लिँदै भन्न थालेका छन्,'रिटायर्ड भइयो, गाउँमा मेरो पनि यति रोपनी जग्गा छ, के गर्ने होला मदनजी?' बहालवाला ठूल्ठूला मान्छे पनि उनीकहाँ पुग्छन् र भन्छन्,'रिटायर्ड भएपछि त, खेतीपाती गर्ने हो, के गर्ने होला सर?'
...
यो पंक्तिकार ललितपुर धोलाहिटीस्थित उनको कार्यकक्षमा पुग्दा उनले एउटा बाल्टी देखाएर भने, 'म यो बाल्टीमा दिसा गर्छु।' उनले बाहिर बरन्डामा ल्याए र एउटा बट्टा देखाउँदै भने, 'यो मैले आज बिहान फेरेको दुई लिटर पिसाब हो।' फेरि उनले बाहिर रहेको लुगा धुने र नुहाउने ठाउँ देखाउँदै भने, 'त्यो मयल संकलन गर्ने ठाउँ हो। यी सबैलाई तह लगाउने हामीकहाँ एउटा भान्साघर छ, त्यहाँ भान्सेहरू खटिरहेका छन्।'
'भान्साघर पनि हेरौं न !' पंक्तिकारको प्रस्तावपछि उनले सरासरी प्लास्टिकको छानो भएको ठाउँमा लगेर गए। त्यहाँ केही कोट्याउँदै भने, 'मैले यहाँ दिसा राखिदिएको छु।' त्यहाँ सक्रिय थिए, कीराहरू। उनले भने,'यी कीराहरू भान्से हुन्। यिनीहरूले हाम्रा बोटबिरुवाका लागि खाना तयार गरिरहेका छन्।' फेरि छेउमा रहेको दुईवटा फोहोर पानी भरिएको सानो ट्यांकीलाई देखाउँदै भने, 'हामीले यी फोहोर छिमेकीबाट लिएका हौं। हो, यही फोहोरलाई हामी मोहरमा परिणत गरिरहेका छौं।' न त्यहाँ कुनै दुर्गन्ध थियो, तर झिंगा भन्किरहेका। उनले तयार भएको मल हत्केलामा लिएर पंक्तिकारलाई सुँघ्न लगाएर सोधे, 'गनायो त?' त्यसमा कुनै दुर्गन्ध थिएन। फेरि उनले भने, 'यी सबै हाम्रा दिसाबाट बनेको हो।'
उनको घरको शौचालय पनि गजबको छ। त्यहाँ एकातिर दिसा जम्मा हुन्छ भने, अर्कोतिर पिसाब। ती सबै ड्रममा जम्मा हुन्छन्। उनको भनाइमा दिसा तीन महिना र पिसाब एक महिनामा मलको रूपमा परिपक्व हुन्छ र प्रयोग गर्न मिल्छ। 'सबै हामीकहाँ छ भने हामी शून्य शुल्कमा काम गर्न सक्छौं, यसबारेमा आत्मज्ञान हुनुपर्यो', उनले भने।
...
भारतबाट कृषि विज्ञानमा स्नातक गरेर फर्केपछि उनले सरकारी जागिर सुरु गरे। आधुनिक बीउविजन, कृषि औजार, विषादी र रासायनिक मलको प्रयोग गर्ने सरकारको नीतिको कार्यान्वयन गर्ने नेपालका पहिलो अधिकृत हुन्, उनी। त्यसको केही समयपछि नै लोकसेवा आयोग पास गरेर कृषि अधिकृत बने, २५ वर्षको लोर्के जोवनमा।
उनको दरबन्दी थियो, मुस्ताङको मार्फा फार्ममा। पोखराबाट हिँडेर जानुपर्ने। 'जति उकालो लाग्दै गयो, नेपाल उत्ति नै भव्य र अनौठो लाग्दै गयो', उनी सम्झन्छन्, आजभन्दा ४१ वर्षअघिको कुरा। मार्फामा भर्खरै स्याउ लगाइएको थियो। उनले १२ वर्ष स्याहारे, त्यहाँको स्याउलाई। बिहान ७ बजेदेखि उनी बगैंचामा हुन्थे, अनि हरेक शनिबार बिहान किसानको खेतबारीमा। 'मैले त्यतिखेरै थाहा पाएँ, थकालीहरूको प्रगतिको कारण', उनी भन्छन्,'त्यति दुर्गम स्थानमा भए पनि थकालीहरूको दिमाग र हातसँगसँगै चलेको पाएँ। मानिसले दिमाग र हात सँगसँगै चलाउन सकेन भने कहिल्यै प्रगति गर्न सक्दैनन्।'
१२ वर्ष सरकारी अधिकृतको रूपमा मार्फामा बिताएपछि उनी संयुक्त राष्ट्रसंघको जागिरमा लागे। त्यहाँबाट निवृत्त भएपछि उनी अहिले समाजसेवा र कृषि जागरणमा सक्रिय छन्। उनी भन्छन्,'हाम्रो जिन्दगी बोटबिरुवासँग जोडिएको छ। बोटबिरुवा भनेको आमाको पनि आमा हो।'
...
उनी अहिले व्यावहारिक शिक्षा दिइरहेका छन्, एक सय २५ जना विद्यार्थीलाई, खोटाङमा। संयोग पनि कस्तो प:यो भने उनलाई भेट्न जादा खोटाङबाट उनका विद्यार्थी मकैको थाक्रा लगाउन लगाइरहेका थिए। अनि मदन मकैका बारेमा पढाइरहेका। 'अब किताबमात्रै पढेर काम छैन', उनले भने।
उनको विद्यालयको नाम हो, नयाँ विद्यालय। उनको परिकल्पनाअनुसार त्यहाँ केही वर्षपछि पाँच सय विद्यार्थी हुनेछन्, सबै जिल्लाका, सबै भाषाका र सबै जातका। अबका विद्यार्थीले आफ्नो लागि आफैं खाना उब्जाउनुपर्नेछ। 'त्यसका लागि खोटाङमा मात्रै मैले एक हजार रोपनी जग्गा किनिदिएको छु, त्यहाँ व्यावहारिक शिक्षा लिँदै काम गर्ने हो, आफ्नो लागि खाना उब्जाउने हो', उनले भने,'अन्डा खान मन छ भने म कुखुराको व्यवस्था गरिदिन्छु, त्यसलाई अन्डा पार्न योग्य बनाउने काम विद्यार्थीको हो।'
उनी यतिखेर नेपालको चारवटा हावापानी भएको क्षेत्रमा कृषिको प्रयोग गरिरहेका छन्। उनको मार्फामा १० रोपनी जग्गा छ, त्यहाँ हिमाली हावापानीअनुसार खेती हुनेछ। चितवनमा मिश्रित खेती छ, अन्न र फलफूलको। खोटाङ पहाडी क्षेत्र भइहाल्यो, उदयपुरको चुरे क्षेत्रमा पनि उनले कृषिको प्रयोग गरिरहेका छन्। उनी भन्छन्,'हेर्नोस्, म त खाली खुट्टा काठमाडौं आएको मान्छे, मैले स्वदेश तथा विदेशमा पाएको प्रमाणपत्र मात्रै तीन किलो जति छ। ती सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने काम गरिरहेको छु। माटो नछोई कृषिमा विज्ञ भइन्न।'
मदनको सिद्धान्त छ, सिक, गर, कमाऊ, बचाऊ र नाफाका लागि लगानी गर। त्यसैले उनका विद्यार्थी बिहानदेखि बेलुकासम्म घाम भइन्जेल कृषि र अन्य व्यावहारिक प्रयोगमा हुन्छन्, अनि साँझ परेपछिमात्रै कागजी ज्ञानमा। उनको सिद्धान्त र कर्म देख्दा लाग्छ, नेपालमा पनि यस्ता मान्छे छन्?
Annapurna Post
No comments:
Post a Comment