मिति : २०७१ भदौ, ३० सोमबार
युवराज गौतम |
राष्ट्रिय भावना र सोच त्यागेर जात, दल र क्षेत्रलाई ठूलो ठान्ने प्रवृत्ति उचित मान्न सकिन्न
वीर शमशेरको परिकल्पना हो वीरगन्ज। सिद्धवीर माथेमा र ध्वजवीर माथेमा खटिए सहर बसाउने काममा। पशुपति घोष नगर पञ्चायतको प्रधानपञ्च भएका बेला धेरै सिँगारे। विमल श्रीवास्तवलगायतका तत्कालीन युवाले राम्रै काम गरे।
गोपाल गिरीजस्ता सज्जन र इमानदार नगरप्रमुखलाई गोली ठोकेर मारे कपुतहरूले। गाउँ हुन् वा केन्द्रका, निर्माताहरू वन्दनीय छन्। पुज्य र स्तुत्य छन्। असल मान्छेलाई नमस्कार र खराबलाई सदैव तिरस्कार गर्नु हाम्रो परम्परा हो।
महेन्द्र राजमार्ग बनाउने श्रेय तत्कालिन राजा महेन्द्रलाई जान्छ। काँकडभिट्टा, बिर्तामोड, दमक, इटहरी, इनरुवा, लहान, चन्द्रनिगाहपुर, हेटौंडा, चितवन, गोरुसिंगे, बुटवल, कोहलपुर, अत्तरिया र महेन्द्रनगरसम्मका दर्जनौं सहर-बजारमा लाखौंले आज पेट पालेका छन्। तर महेन्द्र मुर्दावाद भन्दै ती मूर्खहरू नै दौडिए। जुलुसमा कुदाउनेहरू निर्माता हुन् कि देश बनाउनेहरू?
तेह्रथुमदेखि झापासम्म लाखौं जनताले देवीप्रसाद उप्रेतीलाई सम्झिन्छन्। अर्बौं मूल्य पर्ने जग्गा स्कुल-कलेजलाई दिएका छन् उप्रेतीले। हरिहर शास्त्री गौतमलाई सम्झिन्छन्- खिदिमबाट बर्दियासम्मका लाखौं जनता। मोदनाथ प्रश्रित भन्छन्- हरिहर जस्ता त्यागी र दानी लाखौंमा एक जन्मिन्छन्।
ऋषिहरू धेरै छन् तर सप्तर्षि मानिन्छन् कश्यप, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, विश्वामित्र र वशिष्ठ। ज्येष्ठता मात्रले पुग्दैन, श्रेष्ठता र विशिष्टता पनि चाहिन्छ। भाषा, साहित्य, कला, संस्कृति, धर्म, परम्परा र राष्ट्रका बारेमा चिरन्तन चिन्तन गर्नेहरूलाई जनताले आदर, कदर र सम्मान गर्नुपर्छ।
डोनजोनको एउटा अंगे्रजी कविताको भावार्थ छ-कोही पनि टापुमा छैन बरु समष्टिमै घुमेको छ सृष्टि। त्यसैले प्रत्येक मान्छे निरन्तरताको अंश हो। समष्टिको एकाइ हो। टाढा बजेको घन्टी, कसका लागि बज्यो नभन्नू, त्यो तिमीलाई ब्युँझाउन बजिरहन्छ, बजिरहन्छ।
जनताका हरेक चेतावनी, चुनौती र जनादेश अरूकै लागि भन्ने बुझ्छन्- राजनीतिकर्मीहरू। निलम सञ्जीबा रेड्डीले आफ्नो भाषणमा पञ्चायतकालका एकजना प्रधानमन्त्रीलाई चारपल्ट मुख्यमन्त्री (चिफ मिनिस्टर) भने। प्रधानमन्त्रीले प्रतिवाद गरेनन्। शाखा अधिकृत परीक्षामा तीनपटक फेल भएका ती मनुवाले सायद प्राइममिनिस्टर र चिफ मिनिस्टिरको भेद बुझेनन्।
महान् हुन खोज्नेले आफैंलाई महान् भन्दैन। पुष्पकमल दाहालले आफूलाई जनताका महान् नेता भन्ने पोस्टर टाँसेर पाचक गोलीको विज्ञापन शैलीमा महानताको प्रचार गरे। नेपालका प्रथम राष्ट्रपति भन्ने प्रचार गरे। गिरिजाप्रसाद कोइरालाले प्रथम राष्ट्रपति हुने रहरमा दलको सिद्धान्त सेकुवा बनाएर खाए।
सबैलाई थाहा छ- बीपी कोइराला परिवार अभियन्ता परिवार हो, निर्माता परिवार होइन। भाषा, धर्म, संस्कृति, मूल्य मान्यता आदिमा होइन, प्रजातन्त्रमा मात्र त्यो परिवार केन्द्रित रह्यो। त्यसलाई अवमूल्यन गर्ने काम गिरिजाप्रसादबाटै भयो। यसको मूल्यांकन इतिहासले गर्नेछ।
थन्डुप नामग्याल सिक्किमका अन्तिम राजा थिए र उनका पूर्वज सिक्किमका निर्माता। भुटान बनाए वाङ्चुक राजाहरूले। आधुनिक नेपाल पृथ्वीनारायण शाह र उनका कान्छा छोरा बहादुर शाहहरूले बनाएका हुन्। बुद्धिहीन माओवादी शाहवंशका विकल्प होइनन्।
यी त युरोप, भारत र अमेरिकाले पैदा गरेका भाइरस हुन्। विदेशीका मर्सिनरी (भाडाका सिकारी) हुन्। धर्म, संस्कृति र परम्परा मास्न खोज्ने व्याधाहरू। त्यसैले निर्माताहरूसँग नराधमहरूको तुलना हुनै सक्दैन।
युद्धका बारेमा स्पष्ट धारणा भएन भने त्यो युद्ध विजय र पराजयमै टुंगिँदैन। माओवादीले आफ्नै राष्ट्रविरुद्ध गरेको कथित जनयुद्ध केका निम्ति थियो? त्यो अल-आउट युद्ध थियो? कथित दुस्मन (राज्य) लाई तर्साउने मात्रै थियो?
सीमित युद्ध गरेर लेनदेन गर्ने नियतले प्रेरित थियो? भूभाग कब्जा गरेर नयाँ राजा हुने रहर थियो? नेपाली सेना नियन्त्रणमा लिने योजना थियो? के थियो त कथित जनयुद्ध? माओवादी मौन छ तर भारतीय गुप्तचर अधिकृतहरूका किताब, लेख र प्रतिवेदनमा नेपालको माओवादी भाडाका सिकारी मात्रै हुन् भन्ने स्पष्ट पाइन्छ।
राजनीतिक दलका नेताहरू कति वर्ष बाँच्छन् भन्ने कुराले राष्ट्रिय हितमा कुनै अर्थ राख्दैन। पाँच सय वर्ष बाँचेर संविधानसभाका पचासवटा चुनाव गराए पनि राष्ट्रवादी, प्रजातान्त्रिक र जनभावना अनुकूलको संविधान दिन यिनीहरू असमर्थ देखिन्छन्।
दिल्लीमा गरिएको बाह्रबुँदे सम्झौता सरासर राष्ट्रघात थियो। नेपालमा सुदृढ राष्ट्रवादी सरकार बनेको भए घातीहरू अवश्य दण्डित हुने थिए। राज्यसत्ता पल्टाउनका लागि विदेशीसँग सम्झौता गर्ने? त्योभन्दा ठूलो राष्ट्रघात के हुन्छ?
दिल्लीका दलहरूले भारतको राजनीतिक पद्धति निर्मूल गर्न पाकिस्तान, चीन वा अमेरिकामा बसेर त्यस्तै सम्झौता गरे भने के हुन्छ? के त्यो भारतीय राष्ट्रवादीहरूले स्वीकार गर्छन्? किमार्थ स्वीकार्दैनन्। बरु जनताले राष्ट्रघातीहरूलाई नुनचुक लगाउँछन्। कठोर दण्ड दिन्छन्।
पचास वर्ष पहिले बर्माबाट लखेटिएका हजारौं नेपाली रूपन्देही र महेन्द्रनगरलगायत ठाउँमा बसोवास गरेका छन्। नेपालीहरू दु:ख पाएर स्वदेश फर्किंदा गाँस, बास र कपासको बन्दोबस्त गरिदिन्थ्यो राज्यले।
मोरङ, झापा, चितवन, रुपन्देही र महेन्द्रनगरमा लाखौं बर्मेली-नेपाली परिवारलाई बसोबास गराउने राजा महेन्द्रलाई उनकै सन्तति आज सराप्ने गर्छन्। यो कृतघ्नताको पराकाष्ठा नभए के हो?
राष्ट्रियता, राष्ट्रिय भावना र राष्ट्रिय सोच त्यागेर जात, दल र क्षेत्रलाई ठूलो ठान्ने संकीर्ण सोचका कारण निर्माताहरूलाई बिर्सने अनि विध्वंसकहरूको स्तुति गर्ने प्रवृत्ति देखिएको छ।
चीनमा सन् १९९१ को अक्टोबरमा छिन् राजाविरुद्ध सांघाईका सडकहरूमा नारा लाग्यो। जापानसँगको युद्ध, ताइवान र हङकङ गुमाउनुपरेको पीडा, विदेशीको चरम हप्तक्षेप सबैथोक सहेर पनि त्यहाँका जनताले राष्ट्रनिर्माण गर्नेहरूलाई अपमान गरेनन्।
जनरल फ्रांकोले त गणतन्त्रले राष्ट्र टुक्राटुक्रा हुने अवस्था देखेपछि स्पेनको राज्यसत्ता हुआ कार्लोसलाई नै सुम्पिदिए। प्रजातन्त्र गुम्यो भने बारम्बार फिर्ता हुन सक्छ। त्यो शरीरको आरोग्य जस्तै हो। राष्ट्रियता भनेको राष्ट्रकै प्राण हो। प्राण उडेर गएपछि फर्किदैन। नत्र सिक्किम पनि स्वाधीन बन्न सक्थ्यो।
कुनै बेला नेपाल इज्जतिलो राष्ट्र थियो। अमेरिका, फ्रान्स, ब्रिटेन, जापानलगायत सबैतिर हाम्रो इज्जत थियो। किनभने राष्ट्र हाँक्नेहरू इमानदार, त्यागी र राष्ट्रवादी थिए।
अफगानिस्तान, इजिप्ट, फ्रान्स, भारत, चीन, इन्डोनेसिया, इरान, इटली, जापान, मलेसिया, न्युजिल्यान्ड, बर्मा, पाकिस्तान, रसिया, थाइल्यान्ड, टर्की, रसिया र स्विडेनलगायतका राष्ट्र हाम्रो पुरानो दौत्य-सम्बन्ध भएका राष्ट्र हुन्।
आज त्यो मर्यादा छैन। कूटनीतिज्ञ भेषबहादुर थापा भन्छन्- विदेशी राजदूतहरू नेपालमा कूटनीतिक सीमा उल्लंघन गरिरहेका छन्। डलर डिप्लोमेसीले हामीलाई जर्जर तथा खोक्रो बनाएको छ।
सन् १९०९ बाट १९१३ सम्म अमेरिकाका राष्ट्रपति बनेका विलियम होआर्ट टाफट्ले डलर छरेर वैचारिक प्रभाव लाद्ने नीति बनाए। सेन्ट्रल अफ्रिका र क्याराबियनमा त्यो प्रभावशाली अस्त्र ठहरियो। नेपालमा डलर डिप्लोमेसी चलाइरहेका संस्था र नियोगहरूलाई सरकारले नियन्त्रण गर्न सकेन भने एकदिन गृहयुद्धको प्रारम्भ हुनसक्छ। त्यो आगोले लाखौं नेपाली र राष्ट्रलाई जलाउन सक्छ।
गणतन्त्रको आगमनपछि भ्रष्टाचार, विदेशी हस्तक्षेप, महँगी, ढिलासुस्ती, अराजकता, बेथिति सबैको गति बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च पदस्थहरू भ्रष्टाचारी नेताकै सिफारिसमा नियुक्त भएकाले पेरिसडाँडाको एघार अर्ब रुपैयाँको भ्रष्टाचारलगायत एमाले-कांग्रेस र तराईकेन्द्रित नेताहरूले गरेका आर्थिक अपराध क्षम्य छन्।
कर्मचारी कज्याउने र भ्रष्टहरूलाई रिझाउने प्रवृत्ति उस्तै छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढेर दलनायकहरू गर्व गर्छन्। विश्व स्वास्थ्य संगठनले समेत आत्महत्याको दर उच्च रहेकाले राष्ट्रहरूमा नेपाललाई राखेको छ।
आर्थिक अभाव, बेरोजगारी लगायतका कारणले गुयाना, दक्षिण कोरिया, श्रीलंका, उत्तर कोरिया, बुरुन्डी, लिथुवानिया, तान्जानिया, मोजाम्बिक, सुरिनाम र नेपाल धेरै आत्महत्या गर्नेको देशको रूपमा दर्ता भएका छन्। गणतन्त्र घोषणा भएपछि जनताको आर्थिक अवस्थामा कुनै सुधार आएको छैन भन्ने यो एउटा प्रमाण हो।
अब प्रश्न उठ्छ-गणतन्त्र किन र के का लागि? लाखौं युवा विदेशिने क्रम रोकेर गणतन्त्रले स्वदेशमै राख्न किन सकेन? गणतन्त्रपछि जनताको अवस्था किन सुध्रिन सकेन? किन बाढीपहिरो पीडितले समेत रुँदै बस्नु परेको छ?
सीमित नेताका लागि मात्र गणतन्त्र आएको हो भने जनताले किन समर्थन गर्ने? दलका केही नेता-कार्यकर्ता मात्र हाँस्ने र बाँकी जनतालाई रुवाएर राष्ट्रलाई हरिकंगाल बनाउने गणतन्त्र किन र कसका लागि?
भ्रष्ट अकर्मव्य र राष्ट्रघातीहरूको जुलुस पाल्नका लागि जनताले कहिलेसम्म संकट भोग्ने? कहिलेसम्म राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने? कहिलेसम्म राष्ट्रघातका दृश्यहरू हेरेर बस्ने?
राजनीतिक दलका नेताहरू कति वर्ष बाँच्छन् भन्ने कुराले राष्ट्रिय हितमा कुनै अर्थ राख्दैन। पाँच सय वर्ष बाँचेर संविधानसभाका पचासवटा चुनाव गराए पनि राष्ट्रवादी, प्रजातान्त्रिक र जनभावना अनुकूलको संविधान दिन यिनीहरू असमर्थ देखिन्छन्।
बुद्धले भनेका छन् - सय वर्षको अपवित्र जीवनभन्दा एकदिनको पवित्र जीवन उत्तम हुन्छ।
Annapurna Post
No comments:
Post a Comment