Saturday, September 20, 2014

के उपन्यासले कवितालाई ठेलेर भित्तोमै पुर्‍याएको हो ?


 
प्रकाशित मिति: 5:08:50 pm, September 20, 2014 
आधुनिक नेपाली आख्यानले ८० वर्ष पुरा गरीसकेको छ । अहिले साहित्य बजारमा आख्यान विधा लोकप्रिय भइरहेको छ । उपन्यास बिक्न थालेका छन् । कुनैबेला कविताको क्रेज थियो । तर अचेल कविता सुन्नेभन्दा लेख्नेहरु धेरै भएका छन् । तर उपन्यास भने जुन पनि विक्री भइरहेका छन् । किन उपन्यास विधा यसरी लोकप्रिय भयो ? प्रस्तुत छ, याम्बुरी बुक प्वाइन्टद्वारा राजधानीमा आयोजित बृहत साहित्य महोत्सवमा आख्यान क्रेजबारे उपन्यासकार नयनराज पाण्डे, ‘सेतो धरती’का लेखनक अमर न्यौपाने र समालोचक लिला लुईटेलले व्यक्त गरेका धारणाको सम्पादीत अंश :
nayan raj pandeनयनराज पाण्डे, उपन्यासकार, ‘उलार’
अहिले साहित्यका विधाहरु आपसमा मर्ज भइरहेका छन् । आत्मकथामा विस्तारै आख्यान हावी भइरहेका छन् । आख्यानहरुमा आत्मकथाहरु हावी भइरहेकाछन् । पछिल्लो मेरो उपन्यास ‘घाम किरी’मा मैले आफ्ना कुराहरु पनि समेटेको छु । आत्मकथाहरु फिक्सनाइज भइरहेका छन् । त्यसैगरी कवितामा पनि आख्यानको प्रयोग भइरहेको छ । श्रवण मुकारुङको ‘विसे नगर्चीको बयान’ जस्ता चरीत्र प्रधान कविता पनि कतै न कतै आख्यानसँग जोडिएको छ । अमर न्यौपानेको ‘सेतो धरती’ कतिपय ठाउँमा सुन्दर कविताजस्तो लाग्छ । त्यसैले सवै विधाले महत्व पाइरहेका छन् । आख्यानको दबदबाले कोही आत्तिनुपर्दैंन ।
आख्यान जुनसुकै बेलामा पनि कविताको तुलनामा बढी विक्री हुने गरेका छन् । अर्को कुरा, इन्टरनेट चलाउने सचेत पाठकले कतिपय कविका कविताहरु फेसबुक र ब्लगमा पनि पढन पाइरहेको हुन्छ । एउटा राम्रो कविका दशवटा कविता पढने हो भने उसको समग्र प्रवृत्ति थाहा हुन्छ, तर आख्यान पढन सिंगै पुस्तक पढनुपर्ने हुन्छ । आख्यान पढ्दा पाइने आनन्द बेग्लै हुन्छ, कविता पढ्दाको मजा बेग्लै हुन्छ ।
आख्यान किन बढी रुचाइन्छ भने आख्यानमा कथा हुन्छ र कथा सुन्ने हाम्रो परम्परा छ । हामी विश्वका हरेक नागरिक कुनै न कुनै कथा सुनेर नै हुर्किएका हौं । आख्यानले मानिसलाई कल्पनाशील पनि बनाउन थाल्छ । उसले आख्यानका पात्रहरुसँग आत्मीय सम्बन्ध राख्छ । त्यही हिसाबले चरीत्र विकास गर्छ । कविताको भने आफ्नै शक्ति छ । कवितामा लाक्षणीक रुपमा भन्ने जुन शक्ति छ त्यसले पार्ने प्रभाव र झट्का बेग्लै हो । हरेक मानिससँग आफनो कथा हुन्छ, आख्यानमा उसले आफु कते गाँसीएको छु भनेर खोज्छ । आख्यानमा बहृत रुपमा समस्याको पहिचान हुन्छ, कविता लाक्षणीक हुन्छ । कविताले राजा फाल्नुपर्छ भन्छ भने आख्यानले राजा किन फाल्नुपर्छ भनेर व्याख्या गर्छ । आख्यानले ठुलो भाव भूमि तयार गर्छ ।
बजारको आफ्नै किसिमको मनोविज्ञान हुन्छ । बजारमा जे बिक्छ, जे माग हुन्छ, प्रकाशकले पनि त्यही हिसाबले पुस्तक निकाल्छन् र त्यस हिसाबले मार्केटीङ गर्छन् र त्यसले पनि प्रभाव राख्छन् । तर बजार र विक्री नै साहित्यको गुणस्तर या लोकप्रियताको मापदण्ड हैन भन्ने मलाइ लाग्छ । पाठकले धेरै किने भन्दैमा कविता कम लोकप्रिय विधा हो भन्ने मलाई लाग्दैन । अहिले पनि कविता सबैभन्दा बढी पढीने र सुनीने विधा हो । अहिले पनि हरेक दिन कविहरु विभिन्न कार्यक्रममा गएर कविता सुनाइरहनुभएको छ, हामी आख्यानकारलाई त्यस्तो सुविधा छैन । अहिलेसम्म मैले कुनै कार्यक्रममा गएर उपन्यास सुनाउने मौका पाएको छैन ।
हामीले अझै पनि आख्यान कम लेखीरहेका छौं । हामीले लेख्नुपर्ने धेरै कुरा छन् । यसवीचमा नेपाली समाजले धेरै उतारचढाव भोगेको छ । शसस्त्र विद्रोह र विभिन्न परिवर्तन भोगेको छ । त्यो समस्या, पिडा र विसंगतीलाई हामीले अझै पनी लेख्न सकेका छैनौं । आख्यान अझै लोकप्रिय हुनुपर्छ, अझै लेखिनुपर्छ । किनकभने हामीले हाम्रो समाजलाई बुझ्न धेरै बाँकी छ । जातजातीका आफ्नै आख्यान छन् । ति हाम्रो समाजमा आइरहेका छैनन । आख्यानको बजार अझै छ । आख्यान लेखकको सम्भावना छ । तर आख्यानको बजार छ भन्दैमा हामी अध्ययन नगरी हचुवाका भरमा आख्यान लेखीरहेका छौं । आख्यानलाई मेहनत चाहिन्छ । कविता एक निमेषमा, एउटा सिटिङमा लेख्ने विधा हो भने उपन्यासका लागि मेहनत चाहिन्छ । अध्ययन अनुसन्धान हुनुपर्छ । अब कोठामा बसेर आख्यान सिर्जना हुन सक्दैन ।
त्यसैले कविता र आख्यानको बहस मलाई त्यति तार्किक लाग्दैन । यो बैमनस्य बजारले फैलाएको हो । फलानो उपन्यास यति प्रति विक्यो भन्ने हल्लाले कविता लेख्नेको मनमा ठेसपुग्छ । तर, बजार नै लोकप्रियता र स्तरको कसी हैन । लोकप्रियताको मानक पैसा हैन । फेसबुकमा कविता यस्तो, आख्यान यस्तो भन्ने विवाद आइरहेका छन् । र तल्लो स्तरमा गएर आख्याले कवितालाई र कविताले आख्यानलाई गाली गरेर फेसबुकका भित्ता भरीएको हामी पाउँछौं । कहिलेकाँही कविता लेख्नेहरुले आख्यान लेख्नेलाई पिटछन् की भन्ने पनि लाग्छ । म मध्यममार्गमा छु । कवितालाई पनि म उत्तिकै सम्मान गर्छु । हामीले लेख्ने शैली, शिल्प आख्यानमा चाहिन्छ । भाषालाई खेलाउन शिल्प कविताकै मर्म चाहिन्छ ।
…………..
amar neu paneअमर न्यौपाने, उपन्यासकार, ‘सेता धरती’
केटाकेटीहरु कक्षामा हल्ला गरीरहेका छन् । शिक्षकले ‘ल अब कथा सुन्ने’ भन्नासाथ उनीहरु चुप लाग्छन् । पहिला पहिला नीति शास्त्र, अर्थशास्त्र र धर्म शास्त्र कविताका छन्दमा लेखीन्थ्यो । पहिला पहिला मानिसहरु ठुलो साहित्यकार वा कवि हुन महाकाब्य लेख्नुपर्छ, कविता नै लेख्नुपर्छ भन्ने मान्यता थियो । पहिला साहित्यमा नोबेल पुरस्कार पाउनेहरु पनि धेरै कवि नै हुन्थे । अहिले पछिल्लो चरणमा नोबेल पुरस्कार पाउने अधिकांश आख्यानकार छन् । श्रवण मुकारुङले भन्नुभएको थियो, कविले कुनै ठाउँमा कविता बाचन गर्दा एक हजार जना श्रोताले सुन्छन् । तर उपन्यास त्यसरी सुनाउन सम्भव छैन ।’ त्यसैले पाठकका दृष्टिले आख्यान र कविताका पाठक बराबर छन् । तर किताब विक्रीका हिसाबले आख्यान अलिकती अगाडि हुनु स्वाभाविक हो । आख्यान एउटा उतार चढाव हो । आख्यानमा समग्र जीवनको चित्र हुन्छ । कवितामा एउटा झिल्का हुन्छ । त्यसकारण पाठकले आख्यानमा समग्र जीवन पढन पाउने भएकाले आख्यान लोकप्रिय भएको हो ।
आख्यान भनेको जीवन कथा जस्तो हो । हामी राती बसेकोृ बेलामा दुःख सुखका कथा सुन्छौं, सुनाउँछौं । साथीहरुले आफ्नो कथा सुनाउँदा अचम्म लाग्छ, हामी आफ्नै जीवनका दुःख भुल्छौं । त्यसैगरी आख्यान पढ्दा मानिसले आफुलाई विर्सन्छ । आख्यानको पात्रको जीवनसँग हामी घुलमील भइसकेका हुन्छौं । त्यसले एउटा आनन्द प्रदान गर्छ । एरीस्टोटलले भने झैं उपन्यास पढ्ने पाठक विरेचीत हुन्छ । मन विरेचीत हुन्छ । र एकछिन उसको मश्तीष्क खाली हुन्छ । लामो समयसम्म आनन्दमा डुबाउने भएकाले आख्यान लोकप्रिय भएको हो । कविता मन्त्रजस्तो हुन्छ । ति सबैका लागि सहज नहुन पनि सक्छ, तर आख्यानको विज भनेको फेरी कविता नै हो । जुन आख्यानमा कविताको बिउ छैन, त्यो शुष्क हुन्छ ।
मलाई के लाग्छ भने जीवनको अर्को नाम आख्यान हो । कसैको जीवनलाई बुझ्नु प¥यो भने कविताबाट जीवनको अनुभूतीको एक टुक्रो मात्र बुझ्न सकिन्छ । जिनवको एउटा कालखण्डलाई बुझ्नु प¥यो भने आख्यान नै चाहिन्छ । त्यसैकारण आख्यानको जहिले पनि माग छ । अझ अहिले त्यसको माग बढेको छ । हामीले सोच्दै नसोचेका विभिन्न जटील कालखण्ड इतिहास र निकट अतितमा बितायौं, ति कालखण्ड पढन चाहन्छ, मान्छे । त्यसबारेमा तथ्यगत रुपमा लेख्दा शुष्क हुनसक्छ, त्यो रमाइलो नहुनसक्छ । साधारण पाठकलाई त्यो मन नपर्न सक्छ । त्यसैले आख्यानबाट लेख्दा लेखक स्वतन्त्र हुन्छ र त्यो सरस र सरल र सर्वप्रिय भएको हो ।
आत्मवृत्तान्तमा आख्यानात्मक शैली अपनाउन थालिएको छ । कुनै न कुनै रुपले हामी बिगतमा भएका इतिहासका कालखण्ड पढन चाहिरहेका छौं । पाठकहरुले आत्मकथा पढन चाहनुको कारण पनि त्यही हो । देशका विभिन्न मानिसहरु जो ति कालखण्ड बिताए उनीहरुका अनुभव पढन चाहन्छन, पाठक । उनीहरुको व्यक्तिगत कथा भन्दा पनि त्यो कालखण्ड पढ्न चाहन्छन् । आत्मकथा कुनै पनि मानिसले बाँचेको समयको बयान हो ।


lila luitelलिला लुईंटेल, समालोचक
आख्यान किन बढी बिकेको हो भने कविताले कुनै पनि कुराको संकेत मात्र गरेर छोड्छ, त्यसले व्याख्या विश्लेषण गर्दैन । कविताको भाषा खँदिलो हुन्छ । तर आख्यानले विस्तृत व्याख्या विश्लेषणका साथ जीवनलाई देखाइदिन्छ । आख्यान सहज र सरल सम्प्रेषण गरिएको हुन्छ । आख्यानको माग सँधै बढी हुन्छ । मानव सभ्यताको विकास नै हजुरआमाको कथाबाट सुरु हुन्छ । विषयवस्तु समयले तय गर्छ । २०५२ साल अघि हामीले शसस्त्र संघर्षको कुरा लेख्न सकेनौं । गणतन्त्रअघि हामी राजतन्त्रका बारेमा लेख्न सक्दैनथ्यौं । यो समयले तय गर्ने कुरा हो । जहाँसम्म कविता र आख्यानको कुरा छ, आख्यानको माग संसारमा सदा छ । कविता शक्तिशाली विधा हो । कविता लोकप्रिय नभएको हैन । यसमा म नयनराज पाण्डेप्रति सहमत छु की कविता भनेको भावनाको एक आवेगमा लेखिने कुरा हो, आख्यानका लागि धेरै मेहनत गर्नुपर्छ ।
Rato Pati

No comments:

Post a Comment