Thursday, July 24, 2014

आफ्नो समयका किशोर नेपाल

झलक सुवेदी,
किशोर नेपालका बारेमा केही लेख्नु जोखिमपूर्ण छ । उनी अझै पनि सक्रिय लेखनमा छन् र अझ अखबारी लेखनमा उनी आफ्नो उमेर समूहबाट धेरै पछिका सक्रिय र उदीयमान लेखकलाई पछि पार्ने गरी लेख्छन् । उनी केबल उहिल्यै बिताएका जीवनका बासी सम्झना उग्राएर दिन बिताउने अल्छे अधेडावस्थाका गफाडी पनि होइनन् । अहिले पनि देशका कुनाकाप्चा पुग्छन्, सहर र गाउँ, तराई र पहाड जताततै पुग्छन् र साधारण मानिसका सामयिक चिन्ता अनुभव गर्छन् अनि त्यसैलाई आफ्नो भाषिक चातुर्यसहित पाठककहाँ पुर्‍याउँछन् । दूरदराजका साधारण मानिस र काठमाडौंका कुलीनका कक्टेल पार्टीसम्म समान पहुँच राख्ने, सत्तावृत्तका घरेलु तथा आयातीत षड्यन्त्रका तानाबाना बुन्नेसँग एकैपटकमा संवाद स्थापना गर्ने सम्भवत: उनी पहिलो नम्बरका नेपाली पत्रकार हुन् । उनका विचार र उनका राजनीतिक अर्थ बोक्ने टिप्पणीमा सहमत या असहमत हुन सकिन्छ तर केदारभक्त माथेमाले भनेजस्तै तिनको लेखनलाई बेवास्ता गर्न सकिन्न । यस्तो लेखकबारे अर्को लेखकले टिप्पणी गर्नु सहज हुँदैन (थोरै तलमाथि भयो र उनलाई चित्त बुझेन भने उल्टो झापड खाइन्छ भनेरचाहिँ होइन) । त्यसमाथि आफू परियो दर्तावाला वामपन्थी । किशोर नेपाल अर्कै कित्ताका (केही समयपछि प्रजातन्त्रलाई आफ्नो जिजुबाजेदेखिको बपौती ठान्ने एउटा पंक्तिले उनलाई पनि धकेलेर वामपन्थी कित्तामा पछार्ने प्रयास गरेको पनि हेरिएकै हो तर कित्ता त कित्तै हो अरूले जे भने पनि ) । कुनै समय छोटो समयका लागि नेपाल साप्ताहिकमा रहँदा म उनीमातहतको कामचलाउ पत्रकार थिएँ र उनी थिए मेरा सम्पादक । त्यसवेलादेखि नै व्यक्तिगत रूपमा उनीसँग सम्बन्ध रह्यो । अघिल्लो पुस्ताका पत्रकार र लेखकका रूपमा, पत्रकार महासंघको सभापति, प्रधानमन्त्रीका प्रेस सल्लाहकार र अनेक दैनिक, साप्ताहिक पत्रिकाका सम्पादक तथा कतिपय विदेशी समाचार संस्थाका संवाददाता भइसकेका उनीसँग संगत केही दूरी र केही निकटताको मोहसहित अघि बढेको छ । यसअघि उनका केही थान उपन्यास र कथा पढिसकेको र कतिपय स्तम्भको नियमित पाठक रहेकाले धरै चिनेको झैँ लागेका तर पूरा भने नचिनिएका उनी हाम्रा सामु नखुलेका जिन्दगीका अनेक पाटा खुलाउँदै संस्मरणात्मक पुस्तक लिएर आएका छन् । उनको पुस्तक मेरो समय हात परेर पढेको पनि कैयन साता बितेपछि म यो सानो टिप्पणी लेख्न बसेको छु (वास्तवमा म अलिअलि आग्रहबाट पीडित पनि थिएँ, नियमित स्तम्भका लागि अर्को सहज विषय हात परेको भए आज पनि लेख्ने थिइनँ होला) । उनको पुस्तक र किशोर नेपालको जीवन सार्वजनिक छ, मैले त्यसबाट खोट र गुण केलाउने जमर्को गर्नु नै व्यर्थ हुनेछ । उनले हकदाबी गरेर मेरो भनेको समयको पछिल्लो हिस्सा मेरो पनि हो, हाम्रो पनि हो । त्यही उनीसँग सेयर भएको समयका सेरोफेरोमा उनको लेखनको छिद्रान्वेषण गर्दै उनीसँग अलिकति यात्रा गर्नु यो आलेखको प्रयास हुनेछ (पाठकलाई भ्रम नहोस् यो कुनै पनि दृष्टिले पुस्तक समीक्षा होइन, यति सानो आलेखमा ४७६ पृष्ठको मोटो तथा झन्डै ४५ वर्षको नेपाली समाज र राजनीतिका उहापोहको इतिहास समेटिएको पुस्तकको समीक्षा गर्नु सम्भव पनि छैन ) ।
किशोर नेपालको संस्मरण मेरो समयमा समानान्तर दुईवटा समय छन् : पहिलो हो किशोर नेपालले भोगेको र गुजारेको नितान्त वैयक्तिक जीवन र दोस्रो हो उनी हुर्केको, उनले सम्बन्ध राखेको नेपाली समाज र राजनीति तथा उनले भोगेको, पढेर या सुनेर जानेको विश्व राजनीतिको समय । उनकै कथालाई आधार बनाउँदा यो समयले सन् १९६० को वरपरबाट अगाडि पछाडि गर्दै झन्डै उनको उमेरभन्दा लामो कथा भन्छ । विषयका दृष्टिले यसमा राजनीति, पत्रकारिता र काठमाडौंको समाजका पत्र पाइन्छन् । उनले आफ्नो लेखन आफ्ना जीवनको आँखीझ्यालबाट नियालेर विश्वभर छरेका छन्, कहीँ कतै पारिवारिक र निजी सम्बन्धका वरपर, घरपरिवार र बिस्तराका वरपर रुमल्याएका छैनन् । हरेक मानिसको झैँ उनको पनि निजी जीवन छ, परिवारका दु:खसुख, आरोह–अवरोह छन्, स्त्री–पुरुष सम्बन्धका पत्र छन् र यो पुस्तकमा कतै सांकेतिक रूपमा कतै अलि विस्तारमा ती सन्दर्भ आएका छन् । तर, लेखक चलाखीपूर्वक पाठकलाई आफ्नो परिवारभित्र सीधा प्रवेश गराउने र अल्झाउने काम गर्दैनन्, बरु समय र आफ्नो जीवनबीच अनिवार्य देखापर्ने सन्दर्भ सामग्रीका रूपमा मात्रै पारिवारिक जीवनलाई प्रस्तुत गरेका छन् ।
किशोरको निजी कथा प्रारम्भमा त्यति स्वादिलो र लोभलाग्दो छैन । पिता सानैमा बितेपछि समाजले दु:ख दिएकी विधवा माता र राणाहरूले वृद्धावस्था बिताउनका लागि दिएको खान्की र आवास पाएकी फुपूको लालनपालनमा हुर्केका किशोर नेपाल दश–बाह्र वर्षको उमेरमै आफ्ना लागि स्कुले खर्च जुटाउन पत्रिकाको हकर बन्छन् । दु:ख गरेरै विद्यालयस्तरको पढाइ सक्छन् । पढाइ सक्दा नसक्दा खलासी बनेर वीरगन्जतिर थोत्रो बसमा ढ्याकढ्याक गर्छन् । सरकारी अड्डाको सहायकस्तरको कर्मचारी बनेर बुटवल भैरहवामा काम गर्छन् । ग्वालियरकी महारानीको सेवामा पुगेकी उनकी आमा उतै थला पर्छिन् र किशोरले आमाका इच्छा पूरा गराउने क्रममा कासीमा आमाको देहान्त हुन्छ । उनको पारिवारिक जीवन कुनै पनि मानेमा लोभलाग्दो छैन, बरु औसत नेपालीको भन्दा भिन्दै दु:खले जेलिएको छ । उनी मूलत: आफ्नै बलबुतामा धुलोबाट उठेर त्यसलाई टक्टकाउँदै आफ्नो बाटो पहिल्याउने यात्री देखिन्छन् । मजस्तो मध्यमवर्गीय किसान परिवारमा जन्मी हुर्केर गाउँमा सामान्य जीवन बिताएको नेपालीका लागि किशोरको जीवन अकल्पनीय हो । किशोरको कथा उनको निजी जीवनको कथा भनिँदा पनि त्यतिवेलाको नेपाली समाजको एउटा चित्र हो, त्यतिवेलाको भर्खर आधुनिकतामा प्रवेश गर्न थालेको काठमाडौंलाई चियाउने एउटा आँखीझ्याल हो ।
बाबुको लाडप्यार या हप्कीदप्की दुवैविना हुर्केका, आफ्ना लागि आफैँले जोहो गर्नुपर्ने आर्थिक अवस्थाका उनको जीवनको धेरैजसो समय यायावरीजस्तो लाग्छ, कतै स्थिर भएर नअडिएको, धेरै तानाबानाले नजेलिएको, कसैको नियन्त्रण नभएको । उनी आफ्नै रुचिले भारतीय पुस्तकालयसम्म पुग्छन् र ज्ञानको भोक मेटाउने प्रयास गर्छन् । त्यही पुस्तकालयमा पढ्दापढ्दै भारतीय समाजवादी नेता राममनोहर लोहियालाई पत्र लेख्छन् । यो पत्र नै उनको जीवनलाई मोड दिने महत्त्वपूर्ण दस्ताबेज बन्छ । उक्त पत्र पुग्नुअघि नै लोहियाको मृत्यु भइसकेको हुन्छ । नेताका सहयोगीले उनको पत्र प्रदीप गिरीसमक्ष पठाइदिन्छ । उनको पत्र पनि साथमै भएका गिरी काठमाडौं आइपुग्छन् र किशोरलाई भेट्छन् । यति नै कारण बन्छ उनको जेलयात्रा प्रारम्भ हुनुको । जेलबाट निस्केपछि राजनीति र पत्रकारिता फेरि सुरु हुन्छ । उनको जीवनलाई अब प्रभावित गरिदिन्छन् कृष्णप्रसाद भट्टराई, दमन ढुंगाना, प्रदीप गिरी र सबैभन्दा बढी सरोज कोइरालाले । माथि नाम लिइएका सबै तत्कालीन नेपालको प्रतिपक्षीय राजनीतिका हस्ती थिए । दमन ढुंगानाबाहेक अरू सबै पेसेवर राजनीतिज्ञ थिए । उनीहरूको सान्निध्य र संगत, पछि सूर्यप्रसाद उपाध्यायहरूको संगत, चन्द्रकिशोर झाजस्ता पत्रकारमातहतको पत्रकारिता, दिनमानको संवाददाता, गोरखापत्रमा भारतदत्त कोइरालाको मातहत ग्रामीण तथा विकासे पत्रकारिता, जनमत संग्रहकालमा बिपीको प्रेस सहयोगीका रूपमा सक्रिय, देशान्तरलगायत पत्रिका आफ्नै पहलमा प्रकाशन, रोयटर्सको संवाददाता तथा स्ट्यानफोर्ड युनिभर्सिटीमा छात्रवृत्तिसहित आमसञ्चारको अध्ययन । यी सबै यस्ता कुरा थिए, जसले उनलाई तत्कालीन नेपाली राजनीतिका सबैजसो खेल र खेलाडीसँग प्रत्यक्ष रूपमा गाँसिदिएको थियो । कांग्रेसमा उनको संलग्नता र सम्बन्धले निकै पछि उनलाई प्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकार बनाएको थियो । यस्ता अवसर र तिनका जोखिमसँग खेल्ने उनको लतले नै सायद नेपाली राजनीतिक टिप्पणीकारको बजारमा किशोर नेपाल अहिलेसम्म टिकेका मात्र छैनन्, बरु त्यसमा आफ्नो अलग स्थान र परिचय कायम राखेका छन् । यही राजनीतिसँग गाँसिएको उनको जीवनका कालखण्डहरू, जेल जीवन र संघर्ष यसका पठनीय पक्ष पनि हुन् ।
उनको यो पुस्तक उनको मात्र कथा र उनको मात्र समय भने होइन । यो अलिकति समाजशास्त्र, अलिकति राजनीतिक इतिहास, अलिकति साहित्य, अलिकति पत्रकारिता र अलिकति उमेर गुज्रिसकेका मानिसले स्वाभाविक रूपमा पाल्ने आग्रह समेटिएको समयको अभिलेखन हो । यसमा उनी कति इमानदार छन् भन्ने मूल्यांकन तत्–तत् समय र सन्दर्भ बुझेका पात्रले भन्न सक्लान्, त्यही समय उनको निकट रहेका पाठकले ठम्याउलान् । वामपन्थीबारे भने उनी अलिकति आग्रह पालेका र अलिकति कम सूचित रहेका देखिन्छन् । ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा माले पार्टीले भाग लिएको र सूर्यबहादुर थापाको सहयोगमा केही सिट जितेको भन्ने उनको लेखाइ (पेज २०९) तथ्य र इतिहास दुवै हिसाबले गलत छ । मालेले ०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचनमा आफ्ना उम्मेदवार उठाएको हो तर त्यो कुनै अर्थमा पनि थापासँग साँठगाँठमा आधारित थिएन । उनी वामपन्थीप्रतिको आग्रह कत्ति लुकाउँदैनन् पनि । लेख्छन्, ‘वामपन्थीहरूसँग बसेर रक्सी पिउन जति रमाइलो हुन्छ, बौद्धिक संसर्ग गर्न त्यति नै कठिन ।’ (पेज २१४) हेर न कति हेपेका वामपन्थीलाई । यति त दाबीसाथ भन्न सकिन्छ कि समकालीन सन्दर्भमा बौद्धिक विमर्श वामपन्थीले नै गरिरहेका छन् । कसले कति सूचना र विचारमा दखल राख्छ त्यो भने असमान हुनसक्छ ।
‘मस्र्याङ्दी भेगमा सक्रिय रहेका वामपन्थीहरू जनपक्षीय उम्मेदवारको पक्षमा बुथ लुट्ने तरखरमा लागेका थिए ।’ (पेज २५४) यो भनाइ पनि इतिहासको कुनै सन्दर्भसँग मेल खाँदैन कतै पनि । ‘मलाई वामपन्थीहरूको डबल स्ट्यान्डर्ड देखेर उदेक लाग्थ्यो । लेख्ने र बोल्ने एउटा, गर्ने अर्कै । खास गरेर, लेखक साहित्यकार, कवि, कलाकार र पत्रकार जातिका वामपन्थीको दरिद्र मानसिकता निकै टिठलाग्दो देखिन्थ्यो । राम्रो लगाउने, राम्रो खाने, राम्रो हेर्ने कसैप्रति पनि उनीहरू राम्रो धारणा राख्नै नसक्ने ।’ (पेज ३०३) । यो पनि अर्धसत्य मात्रै हो । त्यतिका धेरै मानिसको संगत गरेका किशोर नेपालले कस्ता वामपन्थी भेटेछन् कुन्नि ?

No comments:

Post a Comment