मदनमणि दीक्षित, लेखक
पुृष्पलालसँग मेरो पहिलो भेट वीरगञ्जमा ००७ साल पुसमा भएको हो ।
निरञ्जनगोविन्द बैद्यले हाम्रो भेट गराउनुभएको थियो । पुष्पलालसँग भेटेर
पार्टी सदस्यता माग्ने मेरो उद्देश्य थियो । मलाई लिन पुष्पलालका साथी
निरञ्जनगोविन्द मेरो निवासमा आउनुभयो । म उहाँको पछिपछि लागेँ ।
पुष्पलालसँग भूमिगत तवरले भेट गराउनुपर्ने भएकाले उहाँले मलाई वीरगञ्जका
गल्लीमा निकैबेर घुमाउनुभयो । एउटै बाटो दशौँपटकसम्म घुमियो । अन्त्यमा
मलाई धनुषचन्द्र गौतमको घरमा पुर्याउनुभयो, जहाँ पुष्पलालले सेल्टर
लिनुभएको रहेछ । मेरो निवासबाट धनुषचन्द्रको घर छेवैमा थियो, कौसीबाटै कुरा
गर्न सकिन्थ्यो । यति नजिकै पुग्न मैले सवाघन्टा हिँड्नुपर्यो ।
हामीबीच करिब डेढ घन्टा कुराकानी भयो । कुराकानीकै बीचमा मैले भागवत्
गीतामा कृष्णको भूमिकाका आधारमा उहाँलाई त्यस समयको क्रान्तिकारी नेता भनेँ
। गीतामा वर्णित कर्मयोग र ज्ञानयोगले सम्राट अशोक र ग्रिसका सिकन्दर
महान्भन्दा अघिका कृष्णलाई क्रान्तिकारी नेताका रूपमा स्थापित गरेको
मान्यतामा म अझै अडिग छु । तर, पुष्पलाललाई मेरो कुरा चित्त बुझेनछ । ‘त्यो
मदनमणि कृष्णलाई क्रान्तिकारी भन्दै कम्युनिस्ट पार्टीको सदस्यता लिन पो
आउँदो रहेछ,’ उहाँले भन्नुभएछ । उहाँले मलाई सदस्यता दिनुभएन ।
पार्टी सदस्यता पाउन मैले ००८ साल वैशाखसम्म पर्खिनुपर्यो । धनुषचन्द्र
गौतम, भाइ महेशमणि, निरञ्जनगोविन्दलगायतको सहयोगबाट मैले सदस्यता पाएको
थिएँ । तर, पुष्पलालमा मप्रति पछिसम्मै रिजर्भेसन रहिरह्यो ।
भेट हुनुभन्दा पहिले मैले पुष्पलालबारे सुनिसकेको थिएँ । ००७ साल
कात्तिकमा नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गरेपछि बनारसबाट
शैलेन्द्रकुमार उपाध्यायले कम्युनिस्ट भइसकेका मेरा भाइ महेशमणिलगायत १२/१५
कार्यकर्तालाई लिएर पटनामा गई सुवर्ण शमशेरसँग भेट्नुभएछ र मुक्तिसेनामा
भर्ना भएर क्रान्तिमा सरिक हुन्छौँ भन्नुभएछ । कांग्रेसको झन्डामुनि बसेर
क्रान्तिमा सरिक हुनुपर्ने सर्त सुवर्ण शमशेरले तेस्र्याउनुभएछ । त्यही दिन
कलकत्तामा रहनुभएका पुष्पलालले वक्तव्य जारी गरी क्रान्तिलाई दुई
राजपरिवारको द्वन्द्व भन्नुभएको हामीले पढ्यौँ । यसमा कम्युनिस्ट पार्टीको
कुनै सरोकार नरहेको उहाँले बताउनुभएको थियो ।
वक्तव्यले मुक्तिसेनामा आबद्ध भएर क्रान्तिमा सरिक हुने प्रबल इच्छा बोकेका
कम्युनिस्ट युवाहरूलाई समस्यामा पार्यो । कुरो मिलाउन शैलेन्द्रकुमार
कलकत्ता पुग्नुभयो र पुष्पलाललाई सम्झाउनुभयो । त्यसपछि मात्र पुष्पलालले
जनक्रान्तिको समर्थन गर्नुभयो ।
पुष्पलाल १९९७ मा सहिद भएका गंगालाल श्रेष्ठका सहोदर भाइ भएकाले उहाँमा
सुरुदेखि नै लोकतन्त्रको आवश्यकताबारे चेतना जागृत भएको थियो । पैसा नभई
राजनीति गर्न सकिँदैन भन्ने मान्यता उहाँमा थियो । नेपालका चैत्य र स्तुपको
जगमा पैसा रहेको कतैबाट सुनेपछि उहाँले साथी शम्भुराम श्रेष्ठसँग मिलेर
सानो कुटो लिई काठमाडौंका केही साना चैत्यको जग खन्नुभएको रहेछ । पैसा
नभेटिएपछि उहाँहरूले यस्तो प्रयास छोडिदिनुभएछ । पुष्पलाल र शम्भुराम
स्वयंले मलाई यसबारे बताउनुभएको थियो ।
त्रिचन्द्र कलेको पढाइ बीचैमा छोडेर पुष्पलाल भारततिर जानुभएको थियो । उहाँ
डिल्लीरमण रेग्मीको राष्ट्रिय कांग्रेस पार्टीमा प्रवेश गरेर महासचिव
बन्नुभयो । रेग्मीसँग चित्त नबुझेपछि पार्टी परित्याग गरी उहाँ दार्जिलिङ
जानुभयो, जहाँ ‘कान्छा बाजे’ नाम गरेका एक ब्राह्मणसँग उहाँको भेट भयो ।
त्यहीँ रहँदाबस्दा उहाँ भारतीय कम्युनिस्ट पार्टीका नेता बिटी रणदिवको
प्रभावमा पर्नुभयो र कम्युनिस्ट बन्नुभयो । त्यसपछि उहाँले कम्युनिस्ट
घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र नेपालमा कम्युनिस्ट पार्टी स्थापना
गर्नुभयो ।
त्यतिवेला नेपालमा जहानिया शासनको समाप्तिका लागि भारतमा रहेका नेपालीहरूको
पार्टी जुर्मुराउन थालेको थियो । पार्टीको केन्द्रीय समितिका तर्फबाट
नेपाली जनतालाई उहाँले राणाशाहीविरुद्ध लाग्न आह्वान गर्नुभयो । उहाँको
आह्वानबाट बनारसमा रहेका जुझारु युवा, रौतहटका किसान, विराटनगर र धरानका
युवामा माक्र्सवाद लेनिनवादप्रति आकर्षण सुरु भयो ।
पुष्पलाल नेपालको समग्र कम्युनिस्ट आन्दोलनकै शिखर पुरुष हुनुभएकोमा
कुनै शंका छैन । उहाँमा बलियो आत्मानुशासन थियो । ००८ सालको चैततिर
काठमाडौंमा पार्टीको पोलिट्ब्युरो बैठक बस्यो । पाँच सदस्यीय पोलिट्ब्युरो
थियो, जसमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय,
डिपी अधिकारी र तुलसीलाल हुनुहुन्थ्यो । बैठकमा शैलेन्द्रकुमारले
पुष्पलालभन्दा मनमोहन अधिकारी देशको चप्पाचप्पा पुगेको र त्यहाँको माटोसँग
बढी परिचित भएकाले पुष्पलालले महासचिव पद मनमोहनलाई हस्तान्तरण गर्नुपर्ने
प्रस्ताव गर्नुभयो । मनमोहनसँग पुष्पलालले ‘महासचिवको जिम्मेवारी लिन तयार
हुनुहुन्छ ?’ भनी सोध्दा मनमोहनले ‘छु’ भन्नुभयो । यतिकै आधारमा उहाँले
महासचिव पद त्याग्नुभयो । शैलेन्द्रकुमार र मनमोहनले मेरै उपस्थितिमा मेरो
घरमा यसबारे चर्चा गर्नुभएको थियो ।पुष्पलाल कुशल संगठनकर्ता हुनुहुन्थ्यो । कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको संगठन क्षमता पनि पुष्पलालको जति थिएन । धैर्य नगुमाउने र बिघ्नबाधाका बीच पनि निरन्तर ध्येयमा लागिरहने स्वभाव उहाँमा थियो । एक समय नेपालका कम्युनिस्ट पार्टीमा फुटको शृंखला यस्तोसँग चल्यो कि देशभरिमा ५४ वटा कम्युनिस्ट पार्टी गठन भए । तर, पुष्पलालले हरेश खानुभएन । उहाँले अन्तिम सास लिने वेलामा कम्युनिस्ट पार्टीको संख्या १० मा सीमित हुनपुगेको थियो । त्यो उहाँकै मिहिनेत र क्रियाशीलताको उपज थियो ।
आलोचना सहनसक्ने र आलोचकलाई झट्ट प्रतिक्रिया जनाइनहाल्ने राजनीतिक
सुझबुझपूर्ण चरित्र उहाँको थियो । तेस्रो महाधिवेशनपछि मोहनविक्रम सिंहले
पुष्पलाललाई गद्दार भने र ‘गद्दार पुष्पलाल’ शीर्षकको सानो पम्प्लेट लेखे ।
आफूमाथि यस्तो गम्भीर आरोप लाग्दा पनि उहाँले सहनुभयो, वादविवादमा
उत्रिनुभएन । त्यो चानचुने राजनीतिक चरित्र थिएन ।
एकपटक म बनारस गएको थिएँ । पुष्पलाल त्यतिवेला बनारसमै बस्नुहुन्थ्यो ।
उहाँसँग भेट नभएको धेरै भएको थियो । भेट्नुपर्यो भन्ने ठानेँ र एउटा दुध
पसलमा सोधेँ, ‘पुष्पलाल कहाँ बस्नुहुन्छ ?’ पसलबाट तीन मिनेटको पैदल दुरीमा
उहाँको डेरा रहेछ, गएँ । हामीबीच करिब डेढ घन्टा कुराकानी भयो ।
बिहानीपखको समय थियो । कुराकानीकै बीचमा उहाँले मसँग चन्दा माग्नुभयो ।
मैले भनेँ, ‘पुष्पलालजी, म बनारस र गोरखपुर दुवै कंग्रेसको विरोधी हुँ ।
यस्तोमा मैले तपाईंलाई कसरी चन्दा दिन सक्छु ?’
‘चन्दा नदिए पनि मलाई अहिलेको खाना त खुवाउनुहुन्छ होला नि ?,’ उहाँले भन्नुभयो । खाना खुवाउन म तयार भएँ ।
बनारसको निसाध सिनेमा हलको ठिक तल एउटा रेस्टुरेन्ट थियो । त्यो
रेस्टुरेन्ट अझै छ । हामी त्यहाँ गयौँ र खसीको मासुसँग टन्न खाना खायौँ ।
एक क्वार्टर रम पनि घुट्क्यायौँ । रेस्टुरेन्टमा मैले ४४ रूपैयाँ तिरेँ ।
त्यस्तो जीवन बाँच्नुभएको थियो, पुष्पलालले ।
फर्किंदै गर्दा मैले सोधेँ, ‘तपाईं मस्कोसमर्थक हो कि पेकिङसमर्थक ?’
उहाँले केही भन्नुभएन । पहिले उहाँ मस्कोसमर्थक हुनुहुन्थ्यो, पछि चीनतिर
ढल्किनुभयो । मस्को क्याम्प छोड्ने उहाँको निर्णय कालान्तरमा सही साबित भयो
। किनकि त्यसको ३० वर्षपछि सोभियत संघ पतन भयो ।
केशरजंग रायमाझीका कारण पनि पुष्पलालले रुसी क्याम्प छोड्नुपरेको थियो ।
किनकि, रुससँग रायमाझी निकट हुनुहुन्थ्यो । पुष्पलाल र रायमाझीबीच ठूलो
मतभिन्नता थियो । रायमाझी दरबारपरस्त हुनुहुन्थ्यो ।
रुसकै कारण पनि रायमाझी दरबारपरस्त हुनुभएको रहेछ । रुसी कम्युनिस्ट
पार्टीको २४औँ महाधिवेशनमा सहभागी हुन जाँदा उहाँले रुसी कम्युनिस्ट
पार्टीका एकजना पोलिट्ब्युरो सदस्यसँग भेट गर्नुभएछ । ती रुसी नेताको नाम
अहिले बिर्सिएँ । तिनले ‘नेसनल डेमोक्रेसी भर्सेज सोसलिजम’ किताब लेखेका
थिए । अहिलेको मुख्य अन्तर्विरोध सोभियत संघ र अमेरिकाबीच भएकाले
संसारभरिका कम्युनिस्टको दायित्व सोभियत संघको समर्थन गर्नु हो भन्ने
किताबमा लेखिएको थियो ।
अमेरिका कमजोर भए सोभियत संघ स्वत: बलियो
हुनेछ र संसारभरि कम्युनिजम आउनेछ भन्ने किताबको तर्क थियो । यो तर्कबाट
रायमाझी कन्भिन्स हुनुभयो । अमेरिकाविरुद्ध विजयी भएपछि सोभियत सेनाले
नेपालमा समाजवाद ल्याइदेला भन्नेमा आशावादी हुनुभयो । रुसी नेताहरूको
नेपालको राजसंस्थाप्रतिको सकारात्मक धारणाले पनि उहाँलाई दरबारपरस्त बनाएको
हो ।
एक दिन नेपालस्थित रुसी दूतावासका फस्र्ट सेक्रेटरीले मलाई भेट्न खोज्नुभयो
। त्यतिवेला म समीक्षा साप्ताहिकको सम्पादक थिएँ । हामीबीच रुसी सूचना
केन्द्रमा कुराकानी भयो । अहिले रुसी सांस्कृतिक केन्द्र रहेको
कमलपोखरीस्थित भवनमा त्यतिवेला सूचना केन्द्र थियो ।
कुराकानीकै बीचमा फस्र्ट सेक्रेटरीले भन्नुभयो, ‘तपाईं राजा महेन्द्रको
विरोध गर्न बन्द गर्नुस्, किनकि रुस र अमेरिकाबीचको अन्तर्विरोधको छिनोफानो
भएपछि नेपालमा कम्युनिजम स्वत: आइहाल्छ ।’
मैले भनेँ, ‘म महेन्द्रको विरोधी होइन, उहाँले पार्टीमाथि लगाएको
प्रतिबन्धको विरोधी हुँ । घुमाइफिराइ विरोध गर्ने क्रमलाई म जारी राख्छु ।’
घुमाइफिराइ पनि विरोध नगर्न उनले भने । मैले मानिनँ । रुसीहरूको यस्तै
इच्छा बुझेर होला, रायमाझी राजावादी हुनुभएको ।
रायमाझीको यस्तो विचारको विपरीत पुष्पलालले राजसंस्थाविरुद्ध कांग्रेससँग
मिलेर संघर्ष गर्नुपर्ने लाइन लिनुभयो । ०२४ सालसम्म उहाँहरूबीच मतभेद थियो
। त्यसपछि बोलचालै हुन छोड्यो ।
कार्यकर्तासँग घुलमिल हुने, उनीहरूको पिरमर्का बुझ्ने सवालमा पनि
रायमाझीलगायत अन्य समकालीन कम्युनिस्ट नेताभन्दा पुष्पलाल अगाडि
हुनुहुन्थ्यो ।
पुष्पलाल र रायमाझीबीचको स्वभावमा अर्को भिन्नता पनि थियो । एउटा घटना
सम्झिँदा मलाई अहिले पनि हाँस उठ्छ । रायमाझी पुन: रुस जानुभयो । फर्किएपछि
हामीसँग भन्नुभयो, ‘मैले क्युवाली नेता फिडेल क्यास्ट्रोसँग यसपालि
मस्कोमा भेट गरेँ ।’
उहाँको कुराबाट हामी उत्सुक भयौँ र थप जिज्ञासा राख्यौँ । हौसिँदै उहाँले
सुनाउनुभयो, ‘क्यास्ट्रोसँग मेरो सुरुमा त घम्साघम्सी नै पर्यो नि ।’ ‘किन
?’
‘सुरुमा उहाँले नेपाली राजसंस्थाको बेइज्जत हुनेगरी विरोधमा कुरा गर्नुभयो ।
तर, मैले आधा घन्टा लगाएर उहाँलाई नेपाल र नेपाली कम्युनिस्ट आन्दोलनका
लागि राजतन्त्र आवश्यक छ भन्नेमा कन्भिन्स गराएँ ।’
त्यसको केही समयपछि म पनि रुस गएँ । रायमाझीको दुर्भाग्य नै भनूँ, उहाँ
मस्को जाँदा दोभासे बनेका व्यक्तिलाई मेरो दोभासे बनाएर खटाइएको रहेछ ।
दोभासेसँग मैले भनेँ, ‘रुस आएको वेला क्यास्ट्रोले नेपाली राजसंस्थाप्रति समर्थन जनाउनुभएछ नि, है ?’
नबुझेझैँ गरी उनले सोधे, ‘के रे ? क्यास्ट्रो कहिले रुस आउनुभयो र ?’
वास्तवमा क्यास्ट्रो रुस पुगेकै रहेनछन् । रायमाझीले जस्तो गफ हानेको
पुष्पलालबाट मैले सुन्नुपरेन ।
संगठन क्षमता राम्रो भए पनि पुष्पलालमा माक्र्सवाद र लेलिनवादबारे गहिरो
ज्ञान थिएन । आजको मितिसम्म माक्र्सवाद पढ्दा पनि माक्र्सवाद गहिरोसँग
बझेको छुजस्तो मलाई लाग्दैन । त्यतिवेलाका कम्युनिस्ट नेताहरूले घरमा
माक्र्स र लेनिनका रचनाका ठेली सजाएर राखेका हुन्थे । मैले पनि घरमा सजाएर
राखेको थिएँ ।
लेनिनका रचनाहरू ५४ भोल्युममा उपलब्ध छन् ।
रायमाझी, मलगायत कतिपयका घरमा ५४ वटै भोल्युम थिए । कसैले आध्योपान्त
पढेको भने थिएन । पुष्पलालको घरमा भने सबै भोल्युम थिएन । अखबारमा प्रकाशित
माक्र्सवादसम्बन्धी धारणा र भारतीय नेताहरूसँगको संगतका आधारमा
पुष्पलाललगायत कम्युनिस्ट नेताहरूले माक्र्सवादबारे थोरबहुत ज्ञान हासिल
गर्नुभएको थियो ।
प्रस्तुति: सुजित मैनाली
No comments:
Post a Comment