Thursday, July 24, 2014

पुष्पलालले भन्नुभयो-चन्दा नदिए पनि भात त खुवाउनुस्

मदनमणि दीक्षित, लेखक
पुृष्पलालसँग मेरो पहिलो भेट वीरगञ्जमा ००७ साल पुसमा भएको हो । निरञ्जनगोविन्द बैद्यले हाम्रो भेट गराउनुभएको थियो । पुष्पलालसँग भेटेर पार्टी सदस्यता माग्ने मेरो उद्देश्य थियो । मलाई लिन पुष्पलालका साथी निरञ्जनगोविन्द मेरो निवासमा आउनुभयो । म उहाँको पछिपछि लागेँ । पुष्पलालसँग भूमिगत तवरले भेट गराउनुपर्ने भएकाले उहाँले मलाई वीरगञ्जका गल्लीमा निकैबेर घुमाउनुभयो । एउटै बाटो दशौँपटकसम्म घुमियो । अन्त्यमा मलाई धनुषचन्द्र गौतमको घरमा पुर्‍याउनुभयो, जहाँ पुष्पलालले सेल्टर लिनुभएको रहेछ । मेरो निवासबाट धनुषचन्द्रको घर छेवैमा थियो, कौसीबाटै कुरा गर्न सकिन्थ्यो । यति नजिकै पुग्न मैले सवाघन्टा हिँड्नुपर्‍यो ।
हामीबीच करिब डेढ घन्टा कुराकानी भयो । कुराकानीकै बीचमा मैले भागवत् गीतामा कृष्णको भूमिकाका आधारमा उहाँलाई त्यस समयको क्रान्तिकारी नेता भनेँ । गीतामा वर्णित कर्मयोग र ज्ञानयोगले सम्राट अशोक र ग्रिसका सिकन्दर महान्भन्दा अघिका कृष्णलाई क्रान्तिकारी नेताका रूपमा स्थापित गरेको मान्यतामा म अझै अडिग छु । तर, पुष्पलाललाई मेरो कुरा चित्त बुझेनछ । ‘त्यो मदनमणि कृष्णलाई क्रान्तिकारी भन्दै कम्युनिस्ट पार्टीको सदस्यता लिन पो आउँदो रहेछ,’ उहाँले भन्नुभएछ । उहाँले मलाई सदस्यता दिनुभएन ।
पार्टी सदस्यता पाउन मैले ००८ साल वैशाखसम्म पर्खिनुपर्‍यो । धनुषचन्द्र गौतम, भाइ महेशमणि, निरञ्जनगोविन्दलगायतको सहयोगबाट मैले सदस्यता पाएको थिएँ । तर, पुष्पलालमा मप्रति पछिसम्मै रिजर्भेसन रहिरह्यो ।
भेट हुनुभन्दा पहिले मैले पुष्पलालबारे सुनिसकेको थिएँ । ००७ साल कात्तिकमा नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गरेपछि बनारसबाट शैलेन्द्रकुमार उपाध्यायले कम्युनिस्ट भइसकेका मेरा भाइ महेशमणिलगायत १२/१५ कार्यकर्तालाई लिएर पटनामा गई सुवर्ण शमशेरसँग भेट्नुभएछ र मुक्तिसेनामा भर्ना भएर क्रान्तिमा सरिक हुन्छौँ भन्नुभएछ । कांग्रेसको झन्डामुनि बसेर क्रान्तिमा सरिक हुनुपर्ने सर्त सुवर्ण शमशेरले तेस्र्याउनुभएछ । त्यही दिन कलकत्तामा रहनुभएका पुष्पलालले वक्तव्य जारी गरी क्रान्तिलाई दुई राजपरिवारको द्वन्द्व भन्नुभएको हामीले पढ्यौँ । यसमा कम्युनिस्ट पार्टीको कुनै सरोकार नरहेको उहाँले बताउनुभएको थियो ।
वक्तव्यले मुक्तिसेनामा आबद्ध भएर क्रान्तिमा सरिक हुने प्रबल इच्छा बोकेका कम्युनिस्ट युवाहरूलाई समस्यामा पार्‍यो । कुरो मिलाउन शैलेन्द्रकुमार कलकत्ता पुग्नुभयो र पुष्पलाललाई सम्झाउनुभयो । त्यसपछि मात्र पुष्पलालले जनक्रान्तिको समर्थन गर्नुभयो ।
पुष्पलाल १९९७ मा सहिद भएका गंगालाल श्रेष्ठका सहोदर भाइ भएकाले उहाँमा सुरुदेखि नै लोकतन्त्रको आवश्यकताबारे चेतना जागृत भएको थियो । पैसा नभई राजनीति गर्न सकिँदैन भन्ने मान्यता उहाँमा थियो । नेपालका चैत्य र स्तुपको जगमा पैसा रहेको कतैबाट सुनेपछि उहाँले साथी शम्भुराम श्रेष्ठसँग मिलेर सानो कुटो लिई काठमाडौंका केही साना चैत्यको जग खन्नुभएको रहेछ । पैसा नभेटिएपछि उहाँहरूले यस्तो प्रयास छोडिदिनुभएछ । पुष्पलाल र शम्भुराम स्वयंले मलाई यसबारे बताउनुभएको थियो ।
त्रिचन्द्र कलेको पढाइ बीचैमा छोडेर पुष्पलाल भारततिर जानुभएको थियो । उहाँ डिल्लीरमण रेग्मीको राष्ट्रिय कांग्रेस पार्टीमा प्रवेश गरेर महासचिव बन्नुभयो । रेग्मीसँग चित्त नबुझेपछि पार्टी परित्याग गरी उहाँ दार्जिलिङ जानुभयो, जहाँ ‘कान्छा बाजे’ नाम गरेका एक ब्राह्मणसँग उहाँको भेट भयो । त्यहीँ रहँदाबस्दा उहाँ भारतीय कम्युनिस्ट पार्टीका नेता बिटी रणदिवको प्रभावमा पर्नुभयो र कम्युनिस्ट बन्नुभयो । त्यसपछि उहाँले कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो ।
त्यतिवेला नेपालमा जहानिया शासनको समाप्तिका लागि भारतमा रहेका नेपालीहरूको पार्टी जुर्मुराउन थालेको थियो । पार्टीको केन्द्रीय समितिका तर्फबाट नेपाली जनतालाई उहाँले राणाशाहीविरुद्ध लाग्न आह्वान गर्नुभयो । उहाँको आह्वानबाट बनारसमा रहेका जुझारु युवा, रौतहटका किसान, विराटनगर र धरानका युवामा माक्र्सवाद लेनिनवादप्रति आकर्षण सुरु भयो ।
पुष्पलाल नेपालको समग्र कम्युनिस्ट आन्दोलनकै शिखर पुरुष हुनुभएकोमा कुनै शंका छैन । उहाँमा बलियो आत्मानुशासन थियो । ००८ सालको चैततिर काठमाडौंमा पार्टीको पोलिट्ब्युरो बैठक बस्यो । पाँच सदस्यीय पोलिट्ब्युरो थियो, जसमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी र तुलसीलाल हुनुहुन्थ्यो । बैठकमा शैलेन्द्रकुमारले पुष्पलालभन्दा मनमोहन अधिकारी देशको चप्पाचप्पा पुगेको र त्यहाँको माटोसँग बढी परिचित भएकाले पुष्पलालले महासचिव पद मनमोहनलाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभयो । मनमोहनसँग पुष्पलालले ‘महासचिवको जिम्मेवारी लिन तयार हुनुहुन्छ ?’ भनी सोध्दा मनमोहनले ‘छु’ भन्नुभयो । यतिकै आधारमा उहाँले महासचिव पद त्याग्नुभयो । शैलेन्द्रकुमार र मनमोहनले मेरै उपस्थितिमा मेरो घरमा यसबारे चर्चा गर्नुभएको थियो ।
पुष्पलाल कुशल संगठनकर्ता हुनुहुन्थ्यो । कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको संगठन क्षमता पनि पुष्पलालको जति थिएन । धैर्य नगुमाउने र बिघ्नबाधाका बीच पनि निरन्तर ध्येयमा लागिरहने स्वभाव उहाँमा थियो । एक समय नेपालका कम्युनिस्ट पार्टीमा फुटको शृंखला यस्तोसँग चल्यो कि देशभरिमा ५४ वटा कम्युनिस्ट पार्टी गठन भए । तर, पुष्पलालले हरेश खानुभएन । उहाँले अन्तिम सास लिने वेलामा कम्युनिस्ट पार्टीको संख्या १० मा सीमित हुनपुगेको थियो । त्यो उहाँकै मिहिनेत र क्रियाशीलताको उपज थियो ।
आलोचना सहनसक्ने र आलोचकलाई झट्ट प्रतिक्रिया जनाइनहाल्ने राजनीतिक सुझबुझपूर्ण चरित्र उहाँको थियो । तेस्रो महाधिवेशनपछि मोहनविक्रम सिंहले पुष्पलाललाई गद्दार भने र ‘गद्दार पुष्पलाल’ शीर्षकको सानो पम्प्लेट लेखे । आफूमाथि यस्तो गम्भीर आरोप लाग्दा पनि उहाँले सहनुभयो, वादविवादमा उत्रिनुभएन । त्यो चानचुने राजनीतिक चरित्र थिएन ।
एकपटक म बनारस गएको थिएँ । पुष्पलाल त्यतिवेला बनारसमै बस्नुहुन्थ्यो । उहाँसँग भेट नभएको धेरै भएको थियो । भेट्नुपर्‍यो भन्ने ठानेँ र एउटा दुध पसलमा सोधेँ, ‘पुष्पलाल कहाँ बस्नुहुन्छ ?’ पसलबाट तीन मिनेटको पैदल दुरीमा उहाँको डेरा रहेछ, गएँ । हामीबीच करिब डेढ घन्टा कुराकानी भयो ।
बिहानीपखको समय थियो । कुराकानीकै बीचमा उहाँले मसँग चन्दा माग्नुभयो । मैले भनेँ, ‘पुष्पलालजी, म बनारस र गोरखपुर दुवै कंग्रेसको विरोधी हुँ । यस्तोमा मैले तपाईंलाई कसरी चन्दा दिन सक्छु ?’
‘चन्दा नदिए पनि मलाई अहिलेको खाना त खुवाउनुहुन्छ होला नि ?,’ उहाँले भन्नुभयो । खाना खुवाउन म तयार भएँ ।
बनारसको निसाध सिनेमा हलको ठिक तल एउटा रेस्टुरेन्ट थियो । त्यो रेस्टुरेन्ट अझै छ । हामी त्यहाँ गयौँ र खसीको मासुसँग टन्न खाना खायौँ । एक क्वार्टर रम पनि घुट्क्यायौँ । रेस्टुरेन्टमा मैले ४४ रूपैयाँ तिरेँ । त्यस्तो जीवन बाँच्नुभएको थियो, पुष्पलालले ।
फर्किंदै गर्दा मैले सोधेँ, ‘तपाईं मस्कोसमर्थक हो कि पेकिङसमर्थक ?’ उहाँले केही भन्नुभएन । पहिले उहाँ मस्कोसमर्थक हुनुहुन्थ्यो, पछि चीनतिर ढल्किनुभयो । मस्को क्याम्प छोड्ने उहाँको निर्णय कालान्तरमा सही साबित भयो । किनकि त्यसको ३० वर्षपछि सोभियत संघ पतन भयो ।
केशरजंग रायमाझीका कारण पनि पुष्पलालले रुसी क्याम्प छोड्नुपरेको थियो । किनकि, रुससँग रायमाझी निकट हुनुहुन्थ्यो । पुष्पलाल र रायमाझीबीच ठूलो मतभिन्नता थियो । रायमाझी दरबारपरस्त हुनुहुन्थ्यो ।
रुसकै कारण पनि रायमाझी दरबारपरस्त हुनुभएको रहेछ । रुसी कम्युनिस्ट पार्टीको २४औँ महाधिवेशनमा सहभागी हुन जाँदा उहाँले रुसी कम्युनिस्ट पार्टीका एकजना पोलिट्ब्युरो सदस्यसँग भेट गर्नुभएछ । ती रुसी नेताको नाम अहिले बिर्सिएँ । तिनले ‘नेसनल डेमोक्रेसी भर्सेज सोसलिजम’ किताब लेखेका थिए । अहिलेको मुख्य अन्तर्विरोध सोभियत संघ र अमेरिकाबीच भएकाले संसारभरिका कम्युनिस्टको दायित्व सोभियत संघको समर्थन गर्नु हो भन्ने किताबमा लेखिएको थियो ।
अमेरिका कमजोर भए सोभियत संघ स्वत: बलियो हुनेछ र संसारभरि कम्युनिजम आउनेछ भन्ने किताबको तर्क थियो । यो तर्कबाट रायमाझी कन्भिन्स हुनुभयो । अमेरिकाविरुद्ध विजयी भएपछि सोभियत सेनाले नेपालमा समाजवाद ल्याइदेला भन्नेमा आशावादी हुनुभयो । रुसी नेताहरूको नेपालको राजसंस्थाप्रतिको सकारात्मक धारणाले पनि उहाँलाई दरबारपरस्त बनाएको हो ।
एक दिन नेपालस्थित रुसी दूतावासका फस्र्ट सेक्रेटरीले मलाई भेट्न खोज्नुभयो । त्यतिवेला म समीक्षा साप्ताहिकको सम्पादक थिएँ । हामीबीच रुसी सूचना केन्द्रमा कुराकानी भयो । अहिले रुसी सांस्कृतिक केन्द्र रहेको कमलपोखरीस्थित भवनमा त्यतिवेला सूचना केन्द्र थियो ।
कुराकानीकै बीचमा फस्र्ट सेक्रेटरीले भन्नुभयो, ‘तपाईं राजा महेन्द्रको विरोध गर्न बन्द गर्नुस्, किनकि रुस र अमेरिकाबीचको अन्तर्विरोधको छिनोफानो भएपछि नेपालमा कम्युनिजम स्वत: आइहाल्छ ।’
मैले भनेँ, ‘म महेन्द्रको विरोधी होइन, उहाँले पार्टीमाथि लगाएको प्रतिबन्धको विरोधी हुँ । घुमाइफिराइ विरोध गर्ने क्रमलाई म जारी राख्छु ।’ घुमाइफिराइ पनि विरोध नगर्न उनले भने । मैले मानिनँ । रुसीहरूको यस्तै इच्छा बुझेर होला, रायमाझी राजावादी हुनुभएको ।
रायमाझीको यस्तो विचारको विपरीत पुष्पलालले राजसंस्थाविरुद्ध कांग्रेससँग मिलेर संघर्ष गर्नुपर्ने लाइन लिनुभयो । ०२४ सालसम्म उहाँहरूबीच मतभेद थियो । त्यसपछि बोलचालै हुन छोड्यो ।
कार्यकर्तासँग घुलमिल हुने, उनीहरूको पिरमर्का बुझ्ने सवालमा पनि रायमाझीलगायत अन्य समकालीन कम्युनिस्ट नेताभन्दा पुष्पलाल अगाडि हुनुहुन्थ्यो ।
पुष्पलाल र रायमाझीबीचको स्वभावमा अर्को भिन्नता पनि थियो । एउटा घटना सम्झिँदा मलाई अहिले पनि हाँस उठ्छ । रायमाझी पुन: रुस जानुभयो । फर्किएपछि हामीसँग भन्नुभयो, ‘मैले क्युवाली नेता फिडेल क्यास्ट्रोसँग यसपालि मस्कोमा भेट गरेँ ।’
उहाँको कुराबाट हामी उत्सुक भयौँ र थप जिज्ञासा राख्यौँ । हौसिँदै उहाँले सुनाउनुभयो, ‘क्यास्ट्रोसँग मेरो सुरुमा त घम्साघम्सी नै पर्‍यो नि ।’ ‘किन ?’
‘सुरुमा उहाँले नेपाली राजसंस्थाको बेइज्जत हुनेगरी विरोधमा कुरा गर्नुभयो । तर, मैले आधा घन्टा लगाएर उहाँलाई नेपाल र नेपाली कम्युनिस्ट आन्दोलनका लागि राजतन्त्र आवश्यक छ भन्नेमा कन्भिन्स गराएँ ।’
त्यसको केही समयपछि म पनि रुस गएँ । रायमाझीको दुर्भाग्य नै भनूँ, उहाँ मस्को जाँदा दोभासे बनेका व्यक्तिलाई मेरो दोभासे बनाएर खटाइएको रहेछ ।
दोभासेसँग मैले भनेँ, ‘रुस आएको वेला क्यास्ट्रोले नेपाली राजसंस्थाप्रति समर्थन जनाउनुभएछ नि, है ?’
नबुझेझैँ गरी उनले सोधे, ‘के रे ? क्यास्ट्रो कहिले रुस आउनुभयो र ?’ वास्तवमा क्यास्ट्रो रुस पुगेकै रहेनछन् । रायमाझीले जस्तो गफ हानेको पुष्पलालबाट मैले सुन्नुपरेन ।
संगठन क्षमता राम्रो भए पनि पुष्पलालमा माक्र्सवाद र लेलिनवादबारे गहिरो ज्ञान थिएन । आजको मितिसम्म माक्र्सवाद पढ्दा पनि माक्र्सवाद गहिरोसँग बझेको छुजस्तो मलाई लाग्दैन । त्यतिवेलाका कम्युनिस्ट नेताहरूले घरमा माक्र्स र लेनिनका रचनाका ठेली सजाएर राखेका हुन्थे । मैले पनि घरमा सजाएर राखेको थिएँ ।
लेनिनका रचनाहरू ५४ भोल्युममा उपलब्ध छन् । रायमाझी, मलगायत कतिपयका घरमा ५४ वटै भोल्युम थिए । कसैले आध्योपान्त पढेको भने थिएन । पुष्पलालको घरमा भने सबै भोल्युम थिएन । अखबारमा प्रकाशित माक्र्सवादसम्बन्धी धारणा र भारतीय नेताहरूसँगको संगतका आधारमा पुष्पलाललगायत कम्युनिस्ट नेताहरूले माक्र्सवादबारे थोरबहुत ज्ञान हासिल गर्नुभएको थियो ।
प्रस्तुति: सुजित मैनाली

No comments:

Post a Comment