गोपाल किराती
स्थायी समिति सदस्य, एमाओवादी
स्थायी समिति सदस्य, एमाओवादी
हालै एमाले अध्यक्षमा निर्वाचित
केपी शर्मा ओलीलाई संविधानसभा चुनावमा चुनौती दिएका थिए एमाओवादीका गोपाल
किरातीले । झापा–७ को सो ‘हाइभोल्टेज’ भिडन्तमा बाजी मारे ओलीले । उनी
सभासद् मात्रै चुनिएनन्, आफ्नो पार्टीको संसदीय दलका नेता पनि भए र त्यसपछि
पार्टी अध्यक्ष ।
वैचारिक दृष्टिले ओलीका कटु आलोचक
हुन् किराती । जातीय पहिचानसहितको संघीयताको कुरा सुन्न पनि नचाहने ओली र
ज्यानको बाजी लगाएर भए पनि जातीय पहिचानसहितको संघीयता ल्याउँछु भन्ने
किराती । एमाओवादी स्थायी समिति सदस्य किरातीको नजरमा प्रतिस्पर्धी दलका
प्रमुख नेता ओली कस्ता छन् त ?
०५१ मा म किरात स्वायत्त प्रदेश प्राप्तिका लागि भूमिगत सशस्त्र आन्दोलनको अन्तिम तयारीमा थिएँ । त्यहीवेला खड्गप्रसाद (केपी) ओली गृहमन्त्री भए । उनी गृहमन्त्रीको कुर्सीमा आसिन भएकै दिनदेखि थाहा भयो, ‘केपी ओली भन्ने नेपालमा एकजना नेता छन् ।’
त्यसयता केपीबारे निरन्तर सुन्दै आएँ ।
मेरो मानसपटलमा उनी अनुदार, हेपाहा, मिचाहा स्वभाव र खराब प्रस्तुतिका छन्
भन्ने छाप बस्दै आयो । र, झापा आन्दोलनमा सकारात्मक भूमिका खेले पनि
पछिल्लो समय उनी परिवर्तनविरोधी भएका छन् भन्ने बुझेँ । अनि मलाई लाग्न
थाल्यो, ‘ए यी त खराब मान्छे पो रहेछन् त ।’ तर, कहिलेकाहीँ सोच्थेँ, ‘यी
केपीलाई भेटेरै कुरा गर्न पाए कस्ता हुँदा हुन् ?’ तर जम्काभेटको मौका धेरै
पछि मात्र जुर्यो ।
०००
०६३ असारतिर नेपाल टेलिभिजनले सार्वजनिक
सुनुवाई राखेको रहेछ । त्यसअघि टेलिभिजन कार्यक्रममा म सहभागी भएको थिइनँ ।
अलिक अगाडि पुगेकाले मैले उद्घोषकलाई सोधेँ, ‘अरू को–को छन्, वक्ता ?’
उनले उपप्रधान तथा परराष्ट्रमन्त्री केपी ओली, कांग्रेसका मधु आचार्य
हुनुहुन्छ भने । मैले मनमनै भनेँ ‘ए केपी ओली पो आउँदै रहेछन्, जो मलाई
व्यक्तिगत रूपमा मन पर्दैनन् ।’ तथापि, सोचेँ, ‘गाँठे यी त नेता पो हुन् ।
उपप्रधानमन्त्री हुन् । मैले आदर नै गर्नुपर्छ । आदरपूर्वक बोल्छु
।’दलबलसहित आए केपी । हेर्दै रिसाहाजस्ता । हातै मिलाएनन् । मानौँ उनको
खुट्टा भुइँमा छैन । तर, म भुइँमा छु । भुइँमा खुट्टा नभएकाले भुइँमा भएको
मसँग हात मिलाउन आवश्यक ठानेनन् होला । म पनि माओवादीको केन्द्रीय सदस्य
थिएँ । ‘उमेर पनि जेठो, फरक पार्टी भए पनि ठूलै नेता, देशका
उपप्रधानमन्त्री । आदरपूर्वक व्यवहार गर्नुपर्छ’ भन्ने मेरो सोचाइले काम
गरेन ।
उनी ‘हतियारको दम्भ देखाउने ? हतियार
बोकेर हिँड्ने ?’ भन्दै माओवादीलाई गाली पो गर्न थाले । मैले पनि मर्यादाको
कुरा राख्ने कुरा भएन । उनीजस्तो बोल्न मलाई पनि के समस्या ? भनिदिएँ,
‘कसले बोकेको छ हतियार ? म केन्द्रीय सदस्य हुँ । खोइ कहाँ छ मेरो हतियार ?
हतियार त बरु तपाईंको छ । तपाईंको गार्डसँग छ ।’
अरू–अरूमा पनि चर्काचर्की भयो । कार्यक्रम
आकर्षक भयो । उद्घोषक बीचमा थिए । केपी दायाँतिर र म बायाँतिर थिएँ ।
कार्यक्रम सकिएपछि उनी जुरुक्क उठेर हिँडे, हात मिलाएनन् । उनको बारेमा
मैले जे सुनेको, बुझेको थिएँ, त्यहाँ उनले देखाएको व्यवहारले पुष्टि गर्यो
।
०००
म संघीय मामिलामन्त्री थिएँ, ०६८ मा ।
राज्यपुनर्संरचना आयोग गठन गर्न शीर्ष नेताहरूसँग छलफल भयो । शान्ति
मन्त्रालयमा भएको छलफल लामै भएको थियो । दोस्रो भेट केपीसँग त्यहीँ भयो ।
त्यसवेला बल्ल उनले हात मिलाए । उनी उपप्रधानमन्त्रीको कुर्सीबाट झरिसकेका
थिए, त्यही भएर होला खुट्टा पनि भुइँमै थिए ।
तेस्रो भेट झापामा भयो, ०७० को संविधानसभा
निर्वाचनमा । किरात धर्मगुरु फाल्गुनन्द लिङदेनको जन्म दिवसको कार्यक्रममा
झापा ७ का सबै उम्मेदवारलाई बोलाइएको थियो । उद्घोषकले भने, ‘कृपया
पाँच–पाँच मिनेटमा मन्तव्य सकाइदिनु होला ।’
तर, केपीजीले आफ्नो विशेषता जाहेर गरिहाले
। धाँधली नै गरे । हामीभन्दा पहिल्यै बोले । पाँच मिनेट भनिएकोमा १४ मिनेट
पो बोले । मैले भनेँ, ‘तपाईंले धाँधली गर्नुभयो ।’ ‘कहाँ धाँधली गरेँ ?’
भनेर उनले प्रश्न गरे । ‘पाँच मिनेट भनेकोमा १४ मिनेट बोलेपछि धाँधली भएन
त’ भनेर जवाफ दिएपछि फिस्स हाँसे र निस्किए ।
०००
झापा विद्रोहबारे मैले जे सुनेको र बुझेको
छु, त्यसमा केपीजीको सकारात्मक भूमिका रह्यो । त्यसवेला उनी असाध्यै
सुरवीर, असाध्यै काममा खट्ने थिए रे । गरिब परिवारबाट आएको मान्छे रे ।
झापाका अग्रजहरू कहिलेकाहीँ उनीबारे भन्छन्, ‘केपी गरिब परिवारबाट आएको
राम्रो, असाध्यै खट्ने मान्छे । तर, बोलिचाली र व्यवहार भने असाध्यै रुखो
।’
गरिब परिवारबाट आएका केपीको आर्थिक जीवनले
अहिले त निकै छलाङ मारिसकेको छ । सम्भ्रान्त वर्गमा रूपान्तरित भएका छन् ।
अर्थात्, एमाले जस्तो, केपी त्यस्तै भएका छन् । एमालेले केपीजस्तालाई फेरे
कि केपीजस्ताले एमालेलाई फेरे, त्यो त उनीहरूलाई नै थाहा होला ।
उनको राम्रो पक्ष भनेको निर्णय क्षमता हो ।
तर, त्यो निर्णय क्षमतालाई उनले सदुपयोग होइन दुरूपयोग गर्दै आएका छन् ।
उनको विचार प्रतिगामी छ । प्रतिगामी विचार भएकाले राम्रो निर्णय क्षमता भए
पनि त्यो क्षमताले जनतालाई हित गर्दैन, गरेको छैन । उनी निर्णय क्षमता भएका
तर देश र जनताको पक्षमा नभएका जस्ता देखिन्छन् । प्रतिगामीका नेता भएका
छन् ।
०००
उनी मलाई निकै अनुदार नेता लाग्छ ।
माओवादीप्रति त हुनसम्मको अनुदार । मिडियामा सुन्छु, गुन्डाहरूको संरक्षण र
भरणपोषण भने राम्रै गर्छन् रे । तर, परिवर्तन चाहने, क्रान्तिकारीहरूप्रति
हदैसम्मको अनुदार छन् । क्रान्ति र परिवर्तनविरोधी उनको चेतले काम गरेको
हुनुपर्छ, अनुदार हुनुमा ।
उनको व्यंग्य, उखान–टुक्का सुन्दा हाँसो
लाग्छ । उनी राजनीतिमा नआएर टेलिभिजन कार्यक्रम चलाएर बसेको भए देशका लागि
बढी फाइदा हुने थियो । उनीजस्ता कलाकार पाउनु राष्ट्रलाई फाइदैको कुरा
हुन्थ्यो ।
०००
केपी जनजाति, मधेसी, महिला, दलित मुस्लिम
समुदायप्रति बढी अनुदार देखिन्छन्, जसले अधिकार मागिरहेका छन् । जातीय
सामुदायिक रूपमा उनी कुमाई समुदायका मान्छे । पूर्वमा कुमाईलाई असाध्यै
खतरनाक चलखेल गर्ने भनेर बुझिन्छ ।
को कुन समुदायमा जन्मियो भन्ने प्रधान
कुरा होइन । केपीजी बाहुन समुदायमा जन्मनुमा कुनै दोष छैन । तर, उनी एक
नम्बर बाहुनवादी हुन् । उनको बाहुनवादी सोच जनयुद्ध, जनआन्दोलन, मधेस
आन्दोलन, महिला, मुस्लिम, जनजाति, दलितलगायत न्यायपूर्ण आन्दोलनको
उपलब्धिलाई ध्वस्त पार्ने कसरत देखिन्छ । पहिचानसहितको संघीयताका विरोधी
भएका छन् ।
प्रचण्ड बाहुन र केपी बाहुनमा
आकाश–पातालको भिन्नता छ । प्रचण्ड जन्मले मात्रै बाहुन हुन् । माक्र्स र
लेनिन जन्मले यहुदी थिए । यहुदी युरोपको सबैभन्दा बदमास जाति थियो । तर,
माक्र्सले विज्ञान दर्शन स्थापना गरेर गरिब दु:खीको पक्षमा र ती बदमासका
विरुद्ध संघर्ष गरे । लेनिन रसियन उत्पीडक जातिका थिए । उनी त्यहीँ
उत्पीडकका विरुद्ध र उत्पीडितका पक्षमा लडे । माओ हान जातिका थिए । उनी
हानको अहंकारविरुद्ध लडे । प्रचण्ड बाहुन हुन् । तर, बाहुनवादको विरुद्धमा
लडे ।
०००
पार्टीले जसको जिम्मेवारी जहाँ छ,
त्यहीँबाट निर्वाचन लड्ने नीति बनायो । म किरातको इन्चार्जबाट कोचिलाको
इन्चार्ज बनेँ । नीतिगत निर्णयपछि म झापा, मोरङ र सुनसरीमध्ये कुनै
क्षेत्रबाट लड्नुपथ्र्यो । साथीहरूले सुनसरी १ बाट लड्नुपर्छ भने । झापाका
साथीहरू, अझ धर्मशिला चापागाईंको बढी जोड भयो, ‘वर्षमान पुन र तपाईंमध्ये
एकजना झापा ७ बाट लड्नैपर्छ ।’ अरू उम्मेदवार बन्नुको अर्थ हुँदैन भनेपछि
झापा ७ बाट म नै कस्सिएँ । केपी ओलीसँग व्यक्तिगत प्रतिस्पर्धा गर्न गएको
थिइनँ । पार्टीको प्रतिस्पर्धा थियो । वैचारिक प्रतिस्पर्धै थियो ।
झापामा जितेपछि केपीजी जितेको जित्यै छन् ।
दलको नेता जिते, पार्टीको अध्यक्ष जिते । स्वास्थ्यलाई मात्र हो जित्न
नसकेको । जित्दै प्रतिक्रान्तिको नेतृत्व गर्दै छन् ।
मलाई अन्तिमसम्मै केपीलाई हराउँछु भन्ने
लागेको थियो । सबैतिर राम्रो थियो । मंसिर ४ मा मतदान सकियो । भोलिपल्ट
बिहान ६ बजे मतदान केन्द्रमा भेटघाट गर्न हिँडियो । एमालेका साथीहरू कालो
नीलो अुनहारमा देखिन्थे । साँझ पर्दै थियो । मतपेटिका लिएर जाने गाडीमा
हाम्रो पार्टीको प्रतिनिधिलाई बस्न नदिइएको खबर आयो । कसले रोक्यो ? भन्दा
साथीहरूले ‘सेना र पुलिसले’ भनेपछि मैले बुझेँ, ‘अब परिणाम नकारात्मक आउँछ
।’
केपीले चुनावका वेला मलाई व्यंग्य गर्दै
भनेका थिए, ‘सातु र सामल बोकेर पहाडबाट झरेको छ । सकिएपछि उतै फर्कन्छ ।’
त्यो निकै अराजनीतिक थियो । उनी पनि तेह्रथुमबाट झापा गएर चुनाव लडेका हुन्
। म सोलुबाट झरेको हुँ । केपीजीलाई अहिले पनि थाहा होला किरातीको छोरा
झापातिरै छ । सोलु फर्केको छैन ।
०००
केपी एमाले अध्यक्ष बनेका छन् । उनलाई
कार्यकाल सफलताको शुभकामना छ । मैले महाविधेशन अगाडि नै भनेको थिएँ, ‘ओलीले
जित्नुपर्छ ।’ केपीले पहिलो भेटमै ममाथि हैकमवादी स्वभाव देखाए पनि झापाकै
बासिन्दा भएकाले सद्भाव राखेको हुँ । मसँग चुनावी प्रतिस्पर्धामा पनि
पार्टी अध्यक्ष बन्छु, प्रधानमन्त्री बन्छु भनेका थिए ।
अर्कोतिर राजनीतिक रूपमा एमाले नेतृत्वमा
केपी आए भने उनको स्वभाव र चरित्रअनुसार वार कि पारको परिस्थितिमा जान्छ
भन्ने हिसाब गरेको थिएँ । झलनाथ खनाल र माधवकुमार नेपालको ‘लिङरिङ’ तरिका
थियो । न यता न उता हुनसक्ने । केपीको तरिकाले ‘फाइट टु फिनिस’को अवस्थामा
जान्छ । संक्रमणकालको अन्त्यका लागि उनको चरित्र मिल्छ । उनले
प्रतिक्रान्ति गरे हामी लड्छौँ ।
म त भन्छु, केपीजी प्रतिक्रान्तिकारी
विचार त्याग्नुस् । पहिचानसहितको संघीयताविनाको संविधान, मधेस, थारुवान,
लिम्बुवान, नेवा: प्रदेशविनाको संविधान लागू हुँदैन । त्यसतर्फ ध्यान
दिनुस् र स्विकार्नुस् । नेपाली समाजको वस्तुगत र ऐतिहासिक अवाश्यकतालाई
बोध गर्नुस् ।
०००
पहिले–पहिले ‘भेडाको छाला ओढेको
ब्वाँसो’को चर्चा सुनिन्थ्यो । अब एमाले कम्युनिस्ट पार्टी रहेन । एमालेको
वर्गचरित्र भनेको सामाजिक लोकतान्त्रिक चरित्र हो, जसलाई नेपालमा
प्रजातान्त्रिक समाजवाद भन्ने कांग्रेसको पुच्छर मान्न सकिन्छ । एमालेले
अहिलेको चुनावमा चिठ्ठा पार्यो । हाम्रो गल्ती पनि भयो । यथार्थ पृथ्वी
घुम्छ ।
०००
केपीजी अहिले बिरामी छन् । तीन महिनामा
तीनपटक उपचारका लागि विदेश गइसके । अध्यक्ष बनेपछि फेरि सिंगापुर गएका छन् ।
उनी स्वस्थ होऊन् । स्वास्थ्यलाभको कामना छ ।
शिक्षा नियमावलीमा ‘शिक्षकहरू स्वस्थ र
निरोगी हुनुपर्छ’ भनिएको छ । राजनीति गर्नेहरूलाई पनि त्यो लागू हुन्छ कि ।
स्वास्थ्य भन्ने कुरा कसैले चाहेर नचाहेर भन्दा पनि आइपर्ने समस्या हो ।
यो त सबैलाई आइपर्छ । तर, प्रधानमन्त्रीसमेत रहेका मुलुकको ठूलो पार्टीका
प्रमुख, दोस्रो पार्टीका अध्यक्ष तथा दलका नेता पालैपालो उपचारका लागि
विदेश गइराखेका छन् । दीर्घरोगी नेताका कारण शान्ति र संविधान निर्माणमा
चुनौती थपिएको छ । यो त राष्ट्रको बेइज्जत भइसक्यो । सम्बन्धित पार्टीका
नेताहरूले यसमा विचार गर्नुपर्छ । स्वस्थ र खट्नसक्नेहरूलाई नेतृत्वमा
ल्याएर अस्वस्थहरूलाई उपचार र आरामका लागि समय दिनुपर्छ ।
प्रस्तुति : मनोज घर्तीमगर
No comments:
Post a Comment