एमाओवादी नेता लीलामणि पोखरेल
एमाओवादी नेता लीलामणि पोखरेल प्रखर वक्ता हुन् । कुनै विषयवस्तुमा खरो
बोल्ने उनको स्वभाव छ, चाहे त्यो खुला सभामा होस् वा संसदमा । २०४८ मा
तत्कालीन संयुक्त जनमोर्चाबाट संसदमा प्रतिनिधित्व गरेका पोखरेलले संसद्लाई
भनिदिए, ‘यो खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो ।’ संसदमै
गणतन्त्रको माग गर्ने पनि यिनै हुन् । संसदीय व्यवस्थाको विरोधी पोखरेलको
संसदीय व्यवस्थामा सम्भवत: एउटा रेकर्ड छ, संसद्मा सबैभन्दा लामो समय
बोल्ने । अहिले संसदमा नरहे पनि संसद्मा लीलामणिको प्रस्तुति धेरैको
स्मरणमा हुनुपर्छ । पोखरेलचाहिँ ०४८ सालको ‘संसदीय’ अनुभव यसरी सुनाउँछन् :०४८ को संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपालले नौ सिट ल्याएर तेस्रो पार्टी बन्यो । संसदीय दलको नेता म बनेँ । ३९ वर्षको उमेर थियो । जुँगा र दाह्री पालेको थिएँ ।
‘सिंगल लार्जेस्ट’ भएकाले कांग्रेसले सरकार बनायो, एमाले प्रमुख प्रतिपक्षी बन्यो । सभामुख दमननाथ ढुंगाना संसद चलाउनका लागि ‘स्किलफुल’ हुनुहुन्थ्यो । सायद अहिलेसम्मकै ‘स्किलफुल’ उहाँ नै होला । संसद् विपक्षको हो भन्ने उहाँको मान्यता थियो । ढुंगानाको मान्यता थियो, ‘संसद्लाई डिल गर्न सरकारले जान्नुपर्छ ।’
खसीको टाउको झुन्ड्याएर कुकुरको मासु
हाम्रो उद्देश्य नै थियो, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने । हामी संसद्को भण्डाफोर गर्न र त्यसको उपयोग गर्न त्यहाँ गएका थियौँ । हामी यो व्यवस्था बेठीक छ भनेर पुष्टि गर्न चाहन्थ्यौँ ।
संसद् बैठकमा मैले एक दिन भनिदिएँ, ‘यो संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो’ हो । सम्भवत: नेपालको संसद्मा यो कुराले प्रवेश पाएको त्यही नै पहिलो घटना हो । रुसमा लेनिनले पुँजीवादी संसद् यही भनेर टिप्पणी गर्नुभएको थियो । हामीले बारम्बार यो कुरा राखिराख्यौँ । सरकारी रवैयाले हाम्रो तर्क पुष्टि हुँदै गए ।
यथार्थमा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो नै हो । भलै यो व्यवस्था एक जमानामा प्रगतिशील थियो । बेलायतमा राजाबाट अधिकार खोसेर उदार पुँजीवादीले अधिकार प्राप्ति गर्दा त्यतिवेलाको सन्दर्भमा प्रगतिशील थियो । तर, हामी त आधुनिक नेपालमा आइसकेका थियौँ । संसारभरि समाजवादी व्यवस्था आइसकेका थिए । पुँजीवादी संसदीय व्यवस्थाको विकल्प खोजिएको थियो ।
छत्तिसे र बहत्तरे कांग्रेस
केही समयपछि नै सत्तामा रहेको कांग्रेसमा अन्तरविरोध सिर्जना भयो । कांग्रेसीहरू दुई खेमामा बाँडिए । ती खेमालाई छत्तिसे र बहत्तरे भनिन्थ्यो । कृष्णप्रसाद भट्टराईको पक्षमा रहेकालाई छत्तिसे र गिरिजाप्रसाद कोइराला पक्षकालाई बहत्तरे भनिन्थ्यो ।
सरकारले संसद्मा उद्योगसम्बन्धी एउटा विधेयक ल्यायो । त्यो विधेयक पारित गराउन कांग्रेसलाई बहुमत चाहिन्थ्यो । तर, कांग्रेसभित्रकै द्वन्द्वका कारण त्यो विधेयक पारित गराउन भएको मतदानमा कांग्रेसका ३६ सांसदले बहिष्कार गरे । ७२ जना मात्र उपस्थित भए । बहिष्कार गर्नेहरू छत्तिसे र सहभागी हुनेहरू बहत्तरे बने ।
सभामुखको इँजार चुँडियो
विधेयक पारित गर्ने या रोक्ने भन्ने निर्णय गर्नुपर्ने थियो । त्यो निर्णय गर्दा सभामुखको ‘चेयर’ मा उपसभामुख महन्थ ठाकुर हुनुहुन्थ्यो । सभामुख ढुंगाना आफ्नो चेम्बरमा हुनुहुन्थ्यो । उपसभामुखले मतदानमा भाग लिन पाउँथे । ठाकुर बहत्तरे क्याम्पमा हुनुहुन्थ्यो ।
त्यो कुनै ठूलो नीतिगत विधेयक थिएन । तर, कांग्रेसीहरूले ‘विधेयक फेल गरे सरकार फेल हुन्छ’ भन्ने सोचे । हामीलाई थाहा थियो, कांग्रेसभित्र द्वन्द्व छ र एक पक्षका सांसदहरू मतदानमा भाग लिँदैनन् । विधेयकमाथि निर्णय गर्न ठाकुरले रुलिङ गरे, ‘पक्षमा हुनेले हुन्छ भन्नुहोस् ।’ अलि कम आवाज सुनियो । फेरि रुलिङ गरे, ‘विपक्षमा हुनेले हुन्न भन्नुहोस् ।’ त्यो आवाज अलि ठूलो सुनियो । ‘भ्वाइस भोट’ भयो । कांग्रेसका ३६ जना अनुपस्थित भएपछि विपक्षीमा बहुमत भयो । तर, उपसभामुख ठाकुरले त विधेयक पारित भएको घोषणा पो गरे ।
हामी १० जना सांसद उठेर ‘हेड काउन्ट’ को माग गर्यौँ । नियमावलीमा ‘हेड काउन्ट’ गर्ने बाध्यात्मक व्यवस्था थियो । हेड काउन्ट सकिएपछि तत्कालै परिणाम घोषणा हुनुपर्ने पनि नियमावलीमै थियो । हेड काउन्ट हुँदा विधेयक तीन वा चार भोटले असफल भयो । हामीले तुरुन्त परिणाम घोषणा गर्न माग गर्यौँ । तर, ठाकुर चुप बसिराखे । आधा घन्टा बितिसक्यो, चुपचापै छन् ।
प्रतिपक्षी स्वर कडा हुँदै थियो । आक्रोश बढ्दै थियो । त्यही बीचमा कांग्रेस सांसद प्रकाश कोइराला भित्र पसे । संसदमा मतदानका वेला पाँच मिनेट घन्टी बज्छ, त्यो समयभित्र नछिरे मतदान नसकिएसम्म छिर्न पाइन्न । हामीले पस्न नदिन माग गर्यौँ । तैपनि, कोइरालालाई पस्न दिइयो । कांग्रेसलाई लागेको थियो होला, उनी भित्र पस्न पाए पक्षमा बहुमत पुग्छ । हामीले कोइरालालाई ‘भ्वाइस’ राख्नबाट रोक्यौँ । अनि, परिणाम घोषणा गर भन्यौँ ।
हाम्रो आक्रोश बढ्दै गयो । तर, उपसभामुखले परिणाम घोषणा नगरेर संसद् स्थगित भयो पो भने । प्रतिपक्ष स्वाभाविक रूपले झनै आक्रोशित बने । मारपिट नै सुरु भयो । उपसभामुख र प्रतिपक्षबीच झडप सुरु भयो । अमिक शेरचन, छक्कबहादुर लामा, स्याङ्जाका एक एमाले युवा सांसद सभामुखको कुर्सीमा पुगेर ठाकुरलाई तान्न थाले । मर्यादापालकले ठाकुरलाई बचाउन खोजे । कुर्सी प्रहार भयो । ठाकुर त बचे, तर चारैतिरबाट घेरा हालिरहेका मर्यादापालकलाई लाग्यो । तानातान हुँदै थियो, उपसभामुख ठाकुरको सुरुवालको इँजार चुँडिएछ । त्यसपछि त उनले सुरुवालमै पिसाब फेरेछन् ।
विधेयक फेल भएपछि संसद् विघटन
ठाकुरलाई मर्यादापालकले बचाएर लगे । हामी सभामुखको चेम्बरमा गएर सभामुख ढुंगानालाई भन्यौँ, ‘परिणाम तुरुन्त घोषणा गर्नुपर्छ ।’ उनले ‘हाउसलाई कसरी चलाउनुपर्छ भन्ने कुरा हाउसको ‘चेयर’ गर्नेले जान्नुपर्छ’ भने । प्रतिपक्ष मजबुत छ भन्ने कुरा थाहै नपाई नियमविपरीत बलजफ्ती गर्दा त्यसो हुन गएको हुनुपर्छ भनिदिए । डेढ घन्टापछि ढुंगानाले हाउस सुरु गरे । परिणाम घोषणा भयो । सरकारको त्यो विधेयक फेल भयो । प्रम कोइरालाले त्यसैको बहानामा सरकार अल्पमतमा पर्यो भनेर संसद् विघटन गरे ।
गिरिजाले संसद्लाई ढाँटे
प्रम कोइरालाले भारतसँग टनकपुर सन्धि गरिसकेका थिए । हामीले भन्यौँ, ‘के सम्झौता भएको छ, संसद्मा आएर जानकारी देऊ ।’ तर, कोइरालाले संसद्मा आएर ‘सम्झौता गरेका छैनौँ’ भनेर ढाँटे । हामीले संसद् अवरोध गर्यौँ ।
एउटा देशले अर्को देशसँग गरेको कुनै पनि सम्झौता गोप्य राख्न पाइँदैन । संसद्लाई जानकारी गराएर अनुमोदन गर्नुपर्छ । हामीले जानकारी गराऊ भनेर संसद्मा लडिराख्यौँ । सबै प्रतिपक्षले एक दिन लगातार आठ घन्टा नारा लगाएर सभामुखको रोस्टम घेर्यौँ । हाम्रो एउटै नारा थियो, ‘संसद् छल्न पाइँदैन । देशघात गर्न पाइँदैन ।’
सभामुख ढुंगाना आठ घन्टासम्म त्यो नारा सुनेरै बसिरहे । त्यसवेला तारानाथ रानाभाट संसदीय मामिलामन्त्री थिए । उनले सभामुखलाई ‘प्रतिपक्षले घेरा लगाए मार्सल लगाउनुस्’ भने । सभामुखले उल्टो ‘तपाईंलाई मार्सल लगाइदिन्छु’ भनेर हप्काएपछि रानाभाट लुरुक्क परे । ढुंगानाको ‘संसद्मा प्रतिपक्षले आफ्नो विचार राख्न पाउने अधिकार हो । त्यो अधिकारलाई कुण्ठित गर्न मिल्दैन’ भन्ने मान्यता थियो । आठ घन्टापछि राति आठ बजेतिर मात्र सदन स्थगन भयो । गिरिजा आएर जवाफ दिएनन् । छल्दै गए । सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले ‘संविधानको धारा १३६ अनुसार सरकारले अर्को मुलुकसँग गरेका सहमति, सम्झौता सबै सन्धि हुन्छ’ भनेर व्याख्या गरिदिएपछि त्यो सम्झौतापत्र बल्ल हामीले पाएका थियौँ ।
एकजना प्रतिपक्ष राखेर बैठक
प्रतिपक्षमा भएका हामी सबैले कुनै प्रसंगमा बैठक बहिष्कार गर्यौँ । प्रतिपक्षको सहभागिताविना संसद् बैठक बस्दैन । हामीलाई लागेको थियो, ‘अब बैठक बस्दैन ।’ तर, राप्रपाका एकजना सांसद बैठकमा गएछन् । उनी गएपछि उनैलाई राखेर बैठक चलाएछन् । पछि हामीले सार्वभौम संसद्का ९९ प्रतिशत प्रतिपक्षीलाई बाहिर राखेर संसद्ले निर्णय गर्न सक्दैन भनेर विरोध गर्यौँ ।
संसदीय व्यवस्थाकै लामो भाषण
सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्यो । त्यो कार्यक्रममा पार्टीको ‘साइज’ अनुसार टिप्पणी गर्ने समय छुट्याइन्थ्यो । कांग्रेसलाई १४ घन्टा, दोस्रो एमालेलाई आठ घन्टा र हामीलाई दुई घन्टा ३२ मिनेट थियो ।
हामीले संसदीय दलमा सल्लाह गर्यौँ, ‘नौजनाले नै बोल्दा थोरैथोरै समय पर्ने भयो । एकैजनाले बोलौँ ।’ मैले बोल्ने निर्णय भयो । विशेष तयारीका साथ म टिप्पणी गर्न रोस्टममा उभिएँ । सबै समय बोल्नुपर्ने थियो । केही मिनेट ढिला हुँदा केही कुरा छुट्न सक्थ्यो । घडी हेर्दै बोल्दै गएँ । मैले मेरो कुरा सकाएर धन्यवाद भन्नु र सभामुखले समयको जनाउ दिनु एकै समय परेछ । सभामुखले विशेष कमेन्ट गरे, ‘यति राम्रो, यति प्रस्ट र निर्धारित समयमा विचार राख्ने जुन काम गर्नुभएको छ, यो संसदीय इतिहासमै पहिलो हो ।’ संसदीय इतिहासमा संसद्मा सबैभन्दा लामो समय बोलेको त्यही नै हुनुपर्छ ।
गणतन्त्र भन्दा दरबारमा तरंग
नीति तथा कार्यक्रमको छलफलकै क्रममा नेपालमा गणतन्त्र आउनुपर्छ भनेर माग गरेको थिएँ । मैले गणतन्त्र आउनुपर्छ भन्दा कतिपय सांसदहरू तर्सिएका जस्ता देखिन्थे । कांग्रेसका सांसदहरूले उठेर ‘यो संसदीय व्यवस्थाको मान्यताविपरीत भयो, संवैधानिक राजतन्त्रात्मक मुलुकमा गणतन्त्र माग्न पाइँदैन’ भन्न थाले । अगाडि बसेका एमालेका नेता मौन थिए । तर, पछि बसेका युवाले ताली बजाएका थिए ।
मैले संसदमै गणतन्त्रको कुरा गरेपछि दरबारमा ठूलै बहस चलेछ । विवेक शाहले ‘मैले देखेको दरबार’ मा यो कुरा लेखेका छन् । कारबाही गर्नुपर्छ भन्नेसम्मको कुरा चलेछ । त्यसवेला राजा नै सार्वभौम थिए । कारबाही गरियो भने यसले के असर गर्छ भन्ने बहस पनि भएछ । तर, अन्तिममा कारबाही गर्न नसक्ने निष्कर्षमा पुगेछन् ।
गिरिजालाई उल्टो जुत्ताको ऐना
प्रधानमन्त्री कोइराला जवाफ दिन वेलावेला संसद्मा आउँथे । ०५१ तिरै हुनुपर्छ । एक दिन कोइराला सुरुको जवाफ दिएर बसिरहेका थिए । सांसदहरूले प्रश्न गर्ने र प्रधानमन्त्रीले उत्तर दिनुपर्ने थियो । हाम्रो पार्टीको सांसद कमानसिंह लामा बोल्दै थिए ।
बोल्दाबोल्दै ‘गिरिजाप्रसाद कोइरालाज्यू, तपाईंले आफ्नो कामको मूल्यांकन गर्नुभएको छ ? यदि आफ्नो कामको मूल्यांकन गर्नुभएको छैन भने’ भन्नुभयो । त्यसपछि उनी निहुरिए । उनले जुत्ता पो खोलेछन् । जुत्ता हातमा लिएर प्रधानमन्त्रीलाई देखाउँदै उनले भने, ‘आफ्नो कामको मूल्यांकन गर्नुभएको छैन भने यी यो ऐना हेरेर मूल्यांकन गर्नुस् ।’
प्रतिपक्षका माधव क्षणभरमै सत्ता पक्ष
हुन त प्रमुख प्रतिपक्षी एमाले थियो । तर, प्रमुख प्रतिपक्षीजस्तो हामी नै देखिन्थ्यौँ । राष्ट्रका ज्वलन्त ‘इस्यु’हरूमा एमाले सम्झौतावादी ढंगले बोल्थ्यो । मदन भण्डारीको निधनपछि संसदीय दलका नेता माधव नेपाल थिए । टनकपुर सन्धिको अनुमोदन गनुपर्ने वेला थियो । केही समयअगाडिसम्म विपक्षीमा भोट दिने भनेर एमालेका ९० प्रतिशत सांसद तयार भएर बसेका थिए । पहिले ‘भ्वाइस भोट’ हुन्थ्यो, पछि ‘हेड काउन्ट’ गर्नुपर्ने भयो । हामीले पक्ष र विपक्षमा हुनेलाई विभाजन गरियोस् भनेर माग गर्यौँ ।
पक्षमा हुनेहरू सभामुखको दायाँपट्टि जानुपथ्र्यो र विपक्षमा हुनेहरू बायाँपट्टि । तर, दलका नेता माधव नेपाल त जुरुक्क उठेर दायाँतिर पो लागे । दलका नेता त्यता लागेपछि त्यो ह्विप नै भयो । त्यसपछि अरू सांसद पनि टाउको निहुर्याएर सत्ता पक्षतिरै लागे । तथापि, पद्मरत्न तुलाधरलगायत चारजनाले भने क्रस गरे । हामी र नेमकिपालगायत विपक्षमा उभियौँ । एमालेकै सहयोगले सन्धि अनुमोदन भयो । एमाले त्यही घटनाबाट नांगियो ।
प्रस्तुति : मनोज घर्तीमगर

No comments:
Post a Comment