Saturday, July 19, 2014

मार्खेज र मूर्खज

सरकारबाट निस्कनुपरेको 'गम'मा आयोजना गरिएको चिया पार्टीपछि हाम्रो टोली ठमेल पुगेको थियो । भदौ महिना भए पनि गर्मी र पानीका कारण ठमेलको भित्री चोक जाने बाटो असारमा हिल्याएको खेतभन्दा कम थिएन । चियाले मात्र गम भुलाउन मनले नमानेपछि थप सान्त्वनाको खोजीमा टोली ठमेल पुगेको थियो । ठमेलको एउटा पुस्तक पसलमा पढिसकेका ताजा सहित्यक पुस्तकहरू पाइन्छन् भन्ने मैले हल्ला सुनेको थिएँ । तर, कहिल्यै पसलभित्र पसेको थिइनँ ।

'गम भुलाउने अर्को मेलो त किताब पनि त हो नि !' किताब पसलतिर हेर्दै, ह्विस्कीको चुस्की लिइरहेकै बेला मेरो मुखबाट अनायास निस्कियो । तर मेरो कुरालाई कसैले त्यति ध्यान दिएनन् । वा भनौं कुराको उठान नै मैले गलत समयमा उठााए कि भन्ने म आफैंलाई पनि लाग्यो । पढैयाहरू, त्यसमाथि लेखक, उपन्यासकार, नाम चलेका कविहरूका अगाडि म धक मान्दै पिइरहें । त्यस दिनको त्यो टिममा मबाहेक सबै साहित्यकारहरू थिए ।

हिङ नभए पनि हिङको टालो ठानिएको मनमोहन अधिकारीको नेतृत्वको एमाले सरकारको देहावसानबाट प्रगतिशीलफाँटका लेखक कविहरू दुःखी थिए । सरकार ढल्नुमा कसको कति कमजोरी भयो ? सर्वोच्च अदालतले के गर्नुपथ्र्यो के गर्‍यो ? उही प्रकृतिको मुद्दामा अघिल्लो सरकारले निर्वाचन गराउन पाउने र पछिल्लोले किन नपाउने ? यस्तै कुराहरू धेरै भए । एकाध घन्टापछि हामी बाटो लाग्यौं, म पुस्तक पसल छिर्न चाहन्थें तर दारु पिएर पसल पस्नु हुन्न भन्ने सिद्धान्त तत्काल बनाएर तत्काल लागू गरेर हामी बाटो लाग्यौं । मेरो डेरा पुगियो । सांसद नारायण ढकाल उर्फ सम्पादक उर्फ साहित्यकार मसँग हुनुहुन्थ्यो । कोठाभित्र पसेपछि उहाँले मलाई सोध्नु भो, 'होइन तपाईंले के किताब किन्न खोज्नु भा हो ?'

मैले भनें, 'तपाईंहरू जस्ता पढैया साहित्यकार साथीहरू भएको बेला केही उपन्यास, केही कथा केही कविताका किताब किन्न मन थियो ।'

उहाँले सोध्नुभयो, 'तपाईंले मार्खेज पढ्नु भा छ ?'

'नाम पनि आजै सुन्दै छु ।'

'मूर्ख ! यो देशमा एमए पास गरेर प्रगतिशील राजनीति गर्छु भन्नेहरूले मार्खेजका किताबहरू प्ाढ्न त परै जावस् नाम पनि सुनेका छैनन् । क्या विडम्बना !'

न्ारायणजीलाई मैले जिस्क्याउने सुरमा भने 'मूर्ख होइन मूर्खज भन्नुस् । ममात्र होइन मजस्ता अनपढहरूको लामो लाइन छ यो देशमा ।'

'मूर्ख'को उपाधि लिँदै मैले पहिलोपटक भरखरै दिवंगत हुनुभएका कोलेम्बियन उपन्यासकार, पत्रकार र सन् १९८२ मा साहित्यमा नोबल पुरस्कार प्राप्त ग्याबि्रयल गार्सिया मार्खेजको नाम सुन्ने अवसर पाएको थिएँ । सुत्ने बेलामा नारायणजीले मार्खेजबारे झन्डै आधा घन्टा प्रवचन दिनुभयो । उहाँ मार्खेजबाट साँच्चिकै प्रभावित हुनुहुन्थ्यो भन्ने बुझिन्थ्यो । तर उहाँको कुराले मलाई भने खोइ प्रभाव पार्‍यो पारेन ? अहिले सम्झना छैन ।



काठमाडांैमा कहाँ कस्ता किताब पाइन्छन् भन्ने पनि वास्तवमा म मूर्खलाई थाहा थिएन । ठमेलमुनि रहेको सोह्रखुट्टे थानामा झन्डै एक महिना खोरमा बस्नुपरे पनि ठमेल र पकनाजोलमा राम्रा पुस्तक पसल छन् भन्नेसम्म पनि थाहा थिएन । विश्वविद्यालयसम्म पुग्दा विद्यार्थी राजनीति, त्यसलाई गाइड गर्ने नेपालीमा छापिएको कम्युनिस्ट पार्टीको घोषणापत्र, दर्शनशास्त्रका प्रारम्भिक ज्ञान बाध्य भएर पढियो किनकि राजनीतिको दुनो सोझ्याउन त्यो जरुरी थियो । पाठ्यपुस्तकभन्दा बढी दायाँबायाँ पढ्नुपर्छ भन्ने कहिल्यै लागेन । २०४६ सालभन्दा अगाडि लगभग पौने आठ वर्षको जेल बसाइमा पनि किताब पढ्नुपर्छ भनेर एकजनाबाहेक जेल बसेका अग्रजहरूले प्रोत्साहित गरेको मैले चाल पाइनँ । लामो जेल बसेका हालका एमाले सभासद मनकुमार गौतमले एक दिन सोधेका थिए, 'कामरेड घरमुनि जंगल छ छैन ?' मैले भनेकोे थिएँ, 'हाम्रो घरमुनि मधेससम्मै जोडिएको जंगल छ । किन ?' 'ए ! कामरेडले त अध्यक्ष माओत्सेतुङको रेड बुक नै पढ्नु भा रैनछ ।' उनले भने । दुई वर्षको जेल अवधि सिध्याएर बाहिर आएपछि भोटाहिटी पुगेर मैले पहिलो रेडबुक किनेको थिएँ । यद्यपि सोभियत संघ समर्थित कम्युनिस्ट पार्टीमा माओ जे दुङ पढिन्नथ्यो । जुन ठाउँमा म संगठित थिएँ ।

तै जेलमा बस्दा समय व्यतीत गर्न गफ गर्ने मानिस नभएपछि र एउटै कुरा हजार बार सुन्ने झन्झटबाट पार पाउनका लागि पढियो । केही चल्तीका रसियन तथा चिनियाँ लेखकहरूका कृति । त्यो पनि हिन्दी र नेपालीमा अनूदित । त्यसपछि इब्ने सफी बीए, कर्णेल रन्जित, रानो, युधीर थापा, सुवास घिसिङ आदि पढियो । पछिल्लाहरूमा स्वाद पो बसेछ ! अनि त्यतै बल गरिएछ । आज सम्भिmँदा के पो पढिएछजस्तो लागेको छ ।

नेपाली र हिन्दीबाहेक केही जान्न र सुन्न सिकिएको थिएन । मार्खेज त स्पेनीभाषी थिए कसरी पढ्नु

स्पेनी ? अंग्रेजीमा मट्ठु । भोलम खरिद गरेर के गर्नु भाषा जानेको भा पो ? डेरामा किताव राखेर पढैया कहलिनुको कुनै अर्थ थिएन । बिचरा 'म' केही अंग्रेजी साहित्यमा राम्रो दखल भएका साथीहरूलाई ठमेल लिएर गएर सेकेन्डह्यान्ड दुई दर्जन  साहित्यका किताब खरिद गरेर ल्याएँ । पढ्नका लागि पहिलो किताब मार्खेज कै 'वान हन्र्डेड इएर्स अफ सोलिच्युड' छानें । पहिला अर्थ नजानेका शब्द चिन्ह लगाएँ त्यसपछि डिक्सनरी राखेर माथिबाट अर्थ लेखें । अनि दोस्रोपटक पढें । कुरा पटक्कै सजिलो थिएन । तर सधैंभरि 'मूर्ख' कहलिन पनि मन थिएन । के नाम गरेको पात्रले के भन्यो भन्ने थाहा पउनलाई पनि अलि दिमाग खन्याउनैपर्ने भो । हिन्दी, नेपाली, चिनियाँ र रसियन पात्र आफूलाई सजिला लाग्थे, अब स्पेनिस नाम याद गर्नुपर्ने भो । दोस्रो र अझ भनौं तेस्रोपटक पढेपछि मात्रै उपन्यासको मीठास थाहा भयो । लाजले गर्दा त्यसबेला धन्यवाद नदिए पनि नारायणजी र किताब छान्न सहयोग पुर्‍याएकी मित्र मञ्जुश्रीलाई मनले धन्यवाद दिएँ ।

साँच्चै भनांै भने गम्भीर किताब पढ्ने लत त्यसपछि सुरु भयो । 'लभ इन द टाइम अफ कोलेरा', 'क्रोनिकल अफ अ डेथ फरटोल्ड', 'न्युज अफ किड्न्यापिङ' खोटाङ/काठमाडौं/दिल्ली बसाइमा पढ्न भ्याइयो । मार्खेज मलाई सारै मन परे । उनको लेखकीय बान्की मैले पहिले पढेका साहित्यभन्दा भिन्न थिए । उनका पात्रहरूले गरेका संघर्ष, पात्रहरूको ऐतिहासिकतामा नयाँपन थियो कतिपय त हाम्रा आफ्नै घटना र प्रवृत्तिहरूसँग मिल्दाजुल्दा थिए । उनको लेखनमा सादगी थियो । यद्यपि उनका प्रख्यात किताब 'दी जेनरल इन हिज लेबि्रन्थ' र 'दी अटमन अफ पेटि्रआर्क' पढ्ने धोको अझै अधुरो छ । उनका अन्य कति कृति त हाम्रो पुस्तक बजारमा पाइन्नन् ।



मलाई म्ाार्खेज मन पर्नुको कारण अर्को पनि छ । त्यो हो उनको आजन्म क्रियाशीलता । विचलनविहीन सोच अर्थात् आफूले बनाएको सोच र विचारधारामाथि अटुट विश्वास । उनी क्युबाली क्रान्तिका ठूला हिमायती थिए । फिडेल क्यास्ट्रोसँग उनको अजीव दोस्ती थियो । पछिल्लो घडीमा ल्याटिन अमेरिकी मुलुकहरूमा आएका परिवर्तनहरूमा उनको राजनीतिक वा सामाजिक टिप्पणीहरू ब्यापक रूपमा नआएका भए पनि उनको सदाशयता रहेको ल्याटिन प्रेसहरूका रिपोर्टबाट बुझिन्छ । उनी समाजवाद र सामाजिक न्यायको पक्षमा सधैं उभिए । एउटा लामो अनुभवी पत्रकारको हैसियतले उनले अगस्टे पिनोचेले गरेको सैनिक 'कु' अनि चिलीका निर्वाचित राष्ट्रपति साल्भाडोर अलान्डेको हत्याको धूवाँधार विरोध गरेका थिए । फोकल्यान्ड युद्धमा बेलायतले गरेको ज्यादतीको भन्डाफोर गरेका थिए । सायद त्यही कारणलेे होला उनलाई अमेरिका र बेलायतले प्रवेशाज्ञा -भिसा) बन्द गरेका थिए । तैपनि, मार्खेज झुकेनन् । तिनका मुलुक जान झोली थापेनन् । पछिल्लो समय मेक्सिको सिटीमा घर किनेर अवकाशकालीन जीवन जिए ।

कोलम्बियाको उत्तरी किनारास्थित सानो बजारमा ६ मार्च १९२७ मा जन्मिएका गार्सिया मार्खेज स्कुल जाने भएपछि आफ्ना हजुरबा- हजुरआमाको संरक्षणमा हुर्किए । त्यसपछि राजधानी बोगोटामा पत्रकारिता पढ्न पुगेका थिए । पत्रकारिता पढ्दा पढ्दै उनी युरोपेली पत्रिकाका लागि कोलम्बिया संवाददाता बन्न पुगे । यो सन् १९५५ को कुरा थियो । त्यही वर्ष उनको एउटा कथासंग्रह र अर्को छोटो उपन्यास 'लिफ स्टर्म' छापियो । उनका हजुरबाले स्पेनविरुद्धको ल्याटिन अमेरिकी युद्ध बेहोरेका थिए । हजुरबाले लडेका भोगेका, हजुरआमाले आत्मसात् गरेका भोगेका अनगिन्ती भोगाइहरू, Smथानक पारामा उनले हजुरआमाका मुखबाट सुनेका थिए । सन् १९८१ मा 'पेरिस रिभ्यु'लाई दिएको अन्तर्वार्तामा उनले हजुरआमाको कथावाचन शैलीको आफूमा ठूलो प्रभाव रहेको बताएका थिए । उनले लेखन शैली हजुरआमाबाटै सिकेको कुरा बताएका थिए ।

प्रख्यात उपन्यास 'वान हन्डे्रड इएर्स अफ सोलिच्युड' उनले १८ महिने एकान्तवासमा लेखेका थिए । कर्नेल औरेलियानो बौन्दियाको परिवारले १९ सौं र २०औं शताब्दीमा काल्पनिक क्यारेबियन गाउँ माकोन्दोमा भोगेको सात पुस्ता लामो दुर्भाग्यको कथा हो त्यो उपन्यास । एउटा भग्नाशेष भएको सहरका बारे उनले गजब वर्णन गरेका छन् । हजुरआमाले भन्ने गरेका भूतका कथा, दन्त्यकथाहरू तथा साँच्चिकै प्राकृतिक बिपद आइपर्दा हुने घटनाहरूको त्रासदीको चित्रण गरिएको छ उपन्यासमा । साहित्यको कारीगरी नबुझ्ने मजस्ता लठुवा पाठकलाई पनि त्यो कारीगरीले मन्त्रमुग्ध पार्छ । '...सोलिच्युड' उनको चौथो किताब हो जुन सन् १९६७ मा अर्जेन्टिनामा छापिएको थियो । पहिलो चरणमा जम्मा ८ हजार कपी मात्रै छापिएको थियो । तर बिस्तारै यसको चर्चा देशदेशान्तरसम्म फैलियो र तीसभन्दा बढी भाषामा तीन करोडभन्दा बढी कपी छापिन पुग्यो ।

स्पेनी भाषाका आजसम्मकै सबैभन्दा ठूला कोलेम्बियाली उपन्यासकार ग्रावियल गार्सिया मार्खेजको ८७ वर्षको उमेरमा निमोनियाबाट थलिएर १७ अपि्रल २०१४ का दिन मेक्सिको सिटीमा देहान्त हुन पुग्यो । संसारभर उनका पाठक, लेखक शुभचिन्तकहरूले उनीमाथि श्रद्धा व्यक्त गरे । चुनावी माहोलमा रंगिएको भारतमा उनको मृत्युले कति हलचल ल्यायो भन्न सकिन्न तर छिमेकी चीनमा उनको मृत्युवरणमा शोक मनाउन नोबेल पुरस्कार विजेता साहित्यकार मो यानलगायत प्रख्यात लेखकहरू जम्मा भएका थिए । सन् १९८४ मै गैरकानुनी रूपमा चिनियाँ भाषामा मार्खेजका किताबहरू अनुदित हुन थालेका थिए सन् २०११ मा कानुनी तवरमा उनका कृतिहरू ४० लाख प्रति छापिएको कुरा थिंकडम मिडियाका सम्पादक ली इयाओले जनाएका छन् । त्यसमध्ये २६ लाख प्रति 'वान हन्ड्रेड इयर्स अफ सोलिच्युड' नै छापिएको थियो ।

दक्षिणी गोलार्द्धका यी महान् लेखकबाट सिक्ने धेरै कुरा छन् । म भने फेरि पनि नारायण ढकालप्रति आभारी छु जसले पृथ्वीको अर्को गोलार्द्धको अर्को छेउको महान् लेखक चिन्न मलाई सहयोग गरेकोमा ।



२०७१ वैशाख १३ Kantipur Daily

No comments:

Post a Comment